रोजगारीमा सीपको योगदान
परिचय
व्यक्तिको क्षमता वा दक्षता नै सीप हो । सीप भनेको कुनै काम वा क्रियाकलापलाई दक्षतापूर्वक प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक विशेष ज्ञान, क्षमता, योग्यता हो । यो व्यक्तिगत वा पेशागत कामकाजमा प्रयोग गरिने व्यावहारिक ज्ञान, व्यवहार र विधिलाई जनाउँछ । कुनै विशिष्ट कार्यमा अनुभव, अभ्यास वा प्रशिक्षणको माध्यमबाट विकसित हुने क्षमतालाई जनाउँछ । सीपले व्यक्तिलाई विशिष्ट कार्यहरूमा निपुण बनाउँछ ।
सीपले व्यक्तिलाई आफ्नो काम प्रभावकारी रूपमा सम्पादन गर्न सक्षम बनाउँछ । सीपले व्यक्तिको रोजगार योग्य क्षमतालाई बढाउँछ । सीप काम वा रोजगारीसँग जोडिएको हुन्छ । सीप प्रशिक्षण वा अभ्यास मार्फत प्राप्त गर्न, विकसित गर्न वा अधिग्रहण गर्न सकिन्छ । प्राविधिक सीप, सञ्चार सीप, व्यवस्थापन सीप, हस्तकला र परम्परागत सीप, व्यावसायिक सीप, सामाजिक सीप, कला र सिर्जनात्मक सीप वा कुनै विशिष्ट कामको लागि आवश्यक शारीरिक सीप गरी विभिन्न प्रकारका सीपहरू हुन्छन् । सीप विकास भन्नाले विभिन्न प्रकारका सीप, योग्यता र दक्षताहरू प्राप्त गर्ने, सुधार गर्ने र अभिवृद्धि गर्ने प्रक्रियालाई बुझाउँछ ।
सीपको अवस्था
ग्लोबल स्किल रिपोर्ट, २०२३ अनुसार विश्व सीप रैंकिङ्गमा नेपाल ८०औं स्थानमा रहेको थियो भने ग्लोबल स्किल रिपोर्ट, २०२४ का अनुसार विश्व सीप रैंकिङ्गमा नेपाल १०८औं स्थानमा रहेको छ । सीप रैंकिङ्गमा एसिया प्यासिफिक क्षेत्रमा नेपाल २३औं स्थानमा रहेको छ । विश्व सीप रैंकिङ्गमा नेपाल अन्तिमबाट दोस्रो स्थानमा र एसिया प्यासिफिक क्षेत्रमा अन्तिम स्थानमा रहेको छ । विश्व सीप रैंकिङ्गमा स्विटजरल्याण्ड पहिलो स्थानमा र सुडान अन्तिम स्थानमा रहेका छन् ।
ओभरसिज डेभेलपमेन्ट ईन्स्टिच्यूटले २०१७ मा गरेको एक अध्ययन अनुसार भविष्यमा नेपालको आर्थिक विकासमा अहम् भूमिका खेल्न सक्ने मुख्य चारवटा क्षेत्रहरू पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषिको पहिचान गरेको छ । विश्व बैंकले २०१८ मा गरेको नेपाल सिस्टेमेटिक कन्ट्री डायग्नोस्टिक नामक अध्ययनमा भविष्यमा नेपालको वृद्धिको लागि बलियो र तुलनात्मक रुपमा बढी लाभ हुने प्रमुख तीन क्षेत्रहरू जलविद्युत, पर्यटन र कृषि तथा सिमेन्ट रहने औंल्याएको छ ।
आर्थिक सहयोग तथा विकास संगठन (OECD) को एक सर्वेक्षणका अनुसार सीपले व्यक्तिको आधारभूत सीपमा प्राप्त दक्षताले राम्रो काम गर्ने अवस्थाको साथसाथै उच्च आम्दानी प्राप्त हुने काम वा रोजगारीको पहुँचमा मात्र सुधार गर्दैन्, यसले राम्रो स्वास्थ्य तथा उच्च सामाजिक र राजनीतिक सहभागितामा पनि पहुँच विस्तार गर्ने काम गर्छ ।
ब्राजिलमा व्यावसायिक कार्यक्रमहरूमा स्नातक गरेकाहरूले सामान्य माध्यमिक शिक्षा हासिल गरेकाहरू भन्दा लगभग १० प्रतिशत बढी ज्याला कमाउँछन् । पर्याप्त सीपको अभावका कारण १० मध्ये ७ जना युवाहरू श्रम बजारमा आर्थिक रूपमा विचलित हुने गर्छन् । अधिकांश देशहरूले वयस्कहरूको आजीवन सिकाई शिक्षामा विश्वव्यापी कुल गार्हस्थ उत्पादनको ०.५ प्रतिशत भन्दा कम लगानी गर्ने गर्छन् ।
कोरियामा 'कोरिया ड्वल प्रोग्राम' ले कम्पनीहरूको सहकार्यमा कम्पनीको आवश्यकता अनुरूपको दक्ष पेशागत जनशक्ति उत्पादन गर्दछ । सिंगापुरको 'स्किल फ्युचर' कार्यक्रमले व्यक्तिहरूलाई आजीवन सिकाइ र सीप विकासको अवसर प्रदान गर्छ । जर्मनीको 'Apprenticeship Programs' ले व्यावसायिक तालिम र औपचारिक शिक्षालाई एकीकृत गरेर उच्च सीपयुक्त श्रमिक उत्पादन गर्छ । भारतको राष्ट्रिय सीप विकास निगमले विभिन्न क्षेत्रमा सीप विकासका कार्यक्रमहरू सञ्चालन गरेर लाखौं व्यक्तिहरूलाई सीप विकास तालिम दिने गरेको छ ।
आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान २४.०९ प्रतिशत, उद्योग क्षेत्रको योगदान १३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.९० प्रतिशत रहेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको र सेवा क्षेत्रको योगदान क्रमशः बढ्दै गएको देखिन्छ । आन्तरिक रोजगारीका हिसाबले प्रमुख सम्भावनायुक्त क्षेत्रका रुपमा सेवा क्षेत्र र कृषि नै अगाडि रहेको भए तापनि सेवा क्षेत्रमा अझै पनि दक्ष एवम् सीपयुक्त जनशक्तिको कमी नै रहेका देखिन्छन् । सेवा क्षेत्रमा अधिकांश भारतीय मूलका जनशक्तिहरूको वर्चस्व रहेका छन् भने कृषि उत्पादनमा अझै आत्मनिर्भर हुन सकेको छैन ।
राष्ट्रिय जनगणना २०७८ अनुसार देशको कुल जनसंख्याको ६७ प्रतिशत जनसंख्या उत्पादनशील उमेर समूहभित्रका रहेका छन् । वि.स. २१०३ सम्म यस्तो जनसाङ्ख्यिक लाभको अवस्था रहने भएकोले विद्यमान जनसाङ्ख्यिक लाभलाई अधिकतम उपयोग गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न श्रम बजारको आवश्यकतानुसारका नवीन् प्रविधिमैत्री, सीपयुक्त, कर्मशील, प्रतिस्पर्धी श्रम शक्तिको उत्पादन र परिचालन गर्न जरुरी रहेको छ ।
सीप विकासमा देखिएका बाधकहरू
नेपालमा मानिस बेरोजगार हुनुको मुख्य कारणहरू मध्ये सीप वा इलम नहुनु, सीपको कमी हुनु वा सीपको बेमेल हुनु पनि हो । श्रम बजारमा प्रवेश गर्ने अधिकांश श्रमशक्तिहरूसँग कुनै किसिमको सीप नभएको वा भएको सीपको श्रम बजारमा कुनै माग नरहेको अवस्था छ । त्यसैले नेपाल जस्तो विकासोन्मुख देशले सीप विकासमा निम्न मुख्य बाधा अवरोधहरूको सामना गरिरहेको देखिन्छ ।
- जानकारीको कमी: विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश व्यक्तिहरूलाई सीप विकास कार्यक्रमहरू र तिनीहरूका फाइदाहरूको बारेमा जानकारी वा चेतनाको कमी रहनु ।
- उद्योगसँगको सम्बन्धमा कमी: सीप विकास तालिम केन्द्रहरू र उद्योगहरू बीचको सीमित सहकार्यले तालिमका विषयवस्तु वा सिकाई र श्रम बजारको माग अनुसारको सीपको अन्तर (Skill Gap) लाई बढावा दिनु ।
- पहुँचको कमी: दुर्गम वा ग्रामीण क्षेत्रमा बस्ने गरिब विपन्न वर्गका व्यक्तिहरूको सीप विकास कार्यक्रमहरूमा पहुँचको अभाव हुनु, उपलब्ध सीप विकासका अवसरहरूमा कसरी पहुँच गर्ने भन्ने बारेमा सर्वसाधारणलाई जानकारी नहुनु ।
- प्रविधिको कमीः विश्व श्रम बजारको बदलिँदो परिवेश अनुसार द्रुत रुपमा प्रविधिको विकास वा परिवर्तन भईरहेकोले नयाँ नयाँ प्रविधि र औद्योगिक आवश्यकता अनुसारको सीप विकास गर्नु तथा प्रविधिमा सहज पहुँचका लागि प्रविधि पूर्वाधारमा लगानी गरी ई-लर्निङ्ग प्लेटफर्मको विकास गर्नु ।
सीप विकासका लागि श्रम बजारको विश्लेषण
श्रम बजारको मागको विश्लेषणले अर्थतन्त्रको वर्तमान अवस्था, उद्योगहरूको आवश्यकता र रोजगारीका प्रवृत्तिहरूको अध्ययन विश्लेषणले श्रम बजारमा के कस्ता सीपको माग र उपलब्धता रहेको छ । आगामी दिनमा श्रम बजारमा के कस्ता सीप भएको श्रमशक्तिहरूको माग आउन सक्छ, सो को आँकलन र विश्लेषण गरेर मात्र सीप विकासका क्रियाकलापहरु सञ्चालन गर्नु पर्दछ ।
- औद्योगिक प्रवृत्तिः कुन क्षेत्रका उद्योगहरूको वृद्धि एवम् विकास तीव्र गतिमा भइरहेका छन् । ती उद्योगहरूमा के कस्ता प्रकारका सीपहरूको माग छ र ती सीपहरुको श्रम बजारमा उपलब्धताको अवस्था के छ भन्ने बुझ्न एकदम आवश्यक हुन्छ । जस्तैः सूचना प्रविधि, स्वास्थ्य सेवा, हरित ऊर्जा र वित्तीय सेवाहरू अहिले तीव्र विकासमा रहेका क्षेत्र छन् ।
- प्रविधिको विकासः विश्व श्रम बजारमा विभिन्न किसिमका नयाँ नयाँ प्रविधिहरूको विकास र आगमनले श्रम बजारमा ठूलो प्रभाव पार्ने गरेको छ । डिजिटलाइजेशन, आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसन जस्ता प्रविधिहरूले नयाँ नयाँ सीपहरूको आवश्यकता सिर्जना गर्ने गर्दछ ।
- जनसाङ्ख्यिकीय परिवर्तन: उमेर समूह अनुसार जनसंख्यामा भएको परिवर्तन, शैक्षिक अवस्था र आप्रवासनका प्रवृत्तिहरूले श्रम बजारको मागमा समेत प्रभाव पार्दछ । उदाहरणका लागि वृद्ध जनसंख्याले स्वास्थ्य सेवा क्षेत्रमा श्रमिकहरूको माग बढाउँछ ।
- शैक्षिक प्रणाली: शैक्षिक प्रणाली एवम् व्यवसायिक सीप विकास तालिमहरुले श्रमिकहरूको सीप र योग्यता निर्धारण गर्दछ । श्रम बजारको माग र आवश्यकता पूरा गर्न शैक्षिक संस्था र तालिम केन्द्रहरूले उद्योगहरूको आवश्यकतालाई ध्यानमा राखेर पाठ्यक्रम निर्माण र जनशक्ति तयार गर्नु पर्दछ ।
- उद्योगसँगको साझेदारी: ससरकार, उद्योग र शैक्षिक संस्थाहरूबीचको साझेदारीले श्रम बजारको माग अनुसार कार्यस्थलमा आधारित तालिमहरु वा पढदै कमाउँदै जस्ता तालिम कार्यक्रमहरूको विकास गरी दक्ष पेशागत जनशक्ति तयार गर्नु पर्दछ ।
- श्रम बजारको सर्वेक्षण: श्रम बजारको वर्तमान र भविष्यको माग तथा आवश्यकताको विश्लेषण गर्न श्रम बजारको सर्वेक्षण, फोरकास्ट, रोजगारीको अवस्था सर्वेक्षण लगायतका अन्य जनसांख्यिकीय डाटाको प्रयोग महत्वपूर्ण हुन्छ । आर्थिक नीति, मौद्रिक नीति, श्रम र रोजगार नीति आदिले श्रम बजारको माग र आपूर्तिमा ठूलो भूमिका खेल्ने गर्दछ ।
यी पक्षहरूको विश्लेषणले श्रम बजारको वर्तमान र भविष्यको माग तथा आवश्यकताको स्पष्ट दिशा निर्देश गर्दछ । भविष्यको रोजगारीका प्रवृत्तिहरूको पूर्वानुमान गर्न मद्दत गर्दछ । यसले नीति निर्माता, शिक्षा प्रदायक र रोजगारदाता आदि सबै पक्षहरूलाई सीप विकास सम्बन्धी प्रभावकारी योजना तथा कार्यक्रम बनाउन सहयोग गर्छ ।
रोजगारीमा सीपको योगदान
सीपको विकास गर्नु भन्दा पहिले श्रम बजारको माग र आवश्यकता अनुसारको सीपको पहिचान गर्नु जरुरी हुन्छ । ताकी सीपले रोजगारदाताहरूको आवश्यकताहरू पूरा गर्न योग्य, दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्न मद्दत पुर्याउँछ । रोजगारीमा सीपको धेरै महत्त्वपूर्ण योगदान रहेको हुन्छ ।
- रोजगारीको सम्भावना बढाउनुः सीप विकासले व्यक्तिहरूलाई दक्ष र कुशल बनाउँछ । सीप भएका व्यक्तिहरूको रोजगारी प्राप्त गर्ने सम्भावनालाई बढाउँछ । रोजगारदाताहरूले दक्ष, सीपयुक्त र व्यवसायिक जनशक्तिहरूलाई नै प्राथमिकता दिने गर्दछ ।
- रोजगारीका अवसरहरूको सिर्जना: सीप विकासले नयाँ नयाँ उद्योगहरूको स्थापना गर्न मद्दत गर्छ । सीप विकासले व्यक्तिहरूलाई नवीन विचार र प्रविधिहरू ल्याउन प्रोत्साहित गर्छ । जसले उद्योगहरूको विकासमा योगदान पुर्याउँछ र विभिन्न क्षेत्रहरू जस्तैः सूचना प्रविधि, निर्माण, कृषि आदिमा रोजगारीका नयाँ नयाँ अवसरहरूको सिर्जना गर्दछ ।
- स्वरोजगारी र उद्यमशीलता: दक्ष र सीपयुक्त कामदारहरूले गुणस्तरीय काम गर्न सक्छन् । पर्याप्त सीप भएका व्यक्तिहरूले आफ्नै व्यवसाय सुरु गर्न र सफलतापूर्वक सञ्चालन गर्न सक्षम हुने गर्दछ । जसले रोजगारी वा स्वरोजगारीका विभिन्न नयाँ नयाँ अवसरहरू सिर्जना सघाउँछ ।
- उत्पादकत्व र दक्षता सुधार: सीपयुक्त श्रमशक्तिहरूले आफ्नो काम छिटो छरितो र गुणस्तरीय रूपमा सम्पादन गर्न सक्छन् । सीपयुक्त श्रमशक्तिले उद्योगहरूको उत्पादनशीलता एवम् दक्षता वृद्धि हुने गर्छ । उत्पादनशीलता र कार्यक्षमतामा भएको सुधारले देशको आर्थिक वृद्धि एवम् विकासमा योगदान पुर्याउँछ र नयाँ रोजगारी सिर्जना गर्न मद्दत गर्छ । जसले बेरोजगारी दर घटाउन सहयोग पुर्याउँछ ।
- प्रतिस्पर्धात्मक लाभः उद्योगहरूको प्रतिस्पर्धामा अगाडि राख्न सीपयुक्त श्रमशक्तिहरूको ठूलो भूमिका हुन्छ । यो विशेष गरी प्रविधिमा भइरहेको तिब्र विकास र परिवर्तनका कारण उद्योगहरूमा सीपयुक्त जनशक्तिहरूले नयाँ प्रविधिहरूलाई छिटो, सहज र प्रभावकारी रूपमा अपनाउन सक्छन् । जसले रोजगारीका नयाँ अवसरहरूको सिर्जना गर्दछ ।
- सामाजिक स्थिरता र सशक्तीकरण: सीप विकासले व्यक्तिहरूलाई आत्मनिर्भर बनाउँछ । जसले गरिबी निवारणमा योगदान पुर्याउँछ र उनीहरूको जीवनस्तर सुधार गर्छ । सीपले सामाजिक स्थिरता, समृद्धि र शान्ति निर्माणमा समेत योगदान गर्छ । सीपले समाजमा सकारात्मक प्रभाव पार्छ । बेरोजगारीको समस्या समाधान गर्न सीपको भूमिका महत्त्वपूर्ण हुन्छ ।
श्रम बजारमा विद्यमान सीप विहीनता र सीपको बेमेलको अवस्थाको अन्त्य गर्न रोजगारदाताको माग बमोजिम वा उपलब्ध रोजगारीका अवसर बमोजिमको सीपयुक्त दक्ष जनशक्ति तयार गर्न कार्यस्थलमा आधारित तालिमहरू सञ्चालन गर्नु जरुरी छ । स्थानीय, राष्ट्रिय तथा विश्व श्रम बजारमा खपत हुने सीपहरूको पहिचान एवम् वर्गीकरण गरि छोटो अवधिका रोजगार उन्मुख सीप विकास तालिमहरू सञ्चालन गर्नु पर्दछ ।
निष्कर्ष
सीप नभएका वा सीपको कमी भएका व्यक्तिहरूसँग सीमित रोजगारीका अवसरहरू वा जीविकोपार्जन विकल्पहरू हुन्छन् । यसरी सीपको कमीले गरिबी, बेरोजगारी र असमानताको दुष्चक्रलाई निरन्तरता प्रदान गर्दछ । सीपले रोजगारी सिर्जना गर्न, उत्पादकत्व बढाउन तथा जीवनस्तरमा सुधार ल्याउने काम गर्छ । सीप विकासले रोजगारीमा बढोत्तरी एवम् श्रम उत्पादकत्व वृद्धि गरी देशलाई थप प्रतिस्पर्धी बन्न मद्दत गर्नुको साथै संरचनात्मक रूपान्तरण र आर्थिक वृद्धिमा योगदान पुर्याउँछ । सीपले रोजगारीको गुणस्तर र मात्रामा सुधार ल्याउँछ ।
जसले व्यक्तिको व्यक्तिगत, सामाजिक र आर्थिक जीवनमा सकारात्मक प्रभाव पार्छ । सीपले व्यक्तिहरूलाई आत्मनिर्भर, समाजलाई समृद्ध र अर्थतन्त्रलाई दिगो बनाउन महत्त्वपूर्ण भूमिका खेल्दैछ । त्यसैले सीप विकास कार्यक्रमहरूलाई एकीकृत रुपमा एकद्वार प्रणाली मार्फत प्रभावकारी एवम् व्यवस्थित रुपमा सञ्चालन गरी अझ व्यापक र दिगो बनाउन जरुरी छ । विश्व श्रम बजारमा सीप विकासको अवस्था देश अनुसार फरक भए पनि प्रभावकारी नीति, शिक्षा प्रणाली र प्रविधिको समुचित उपयोगले सीप विकासमा उल्लेखनीय प्रगति गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया