विचार-वार्ता

कमरेड कन्हैया कुमार किन कांग्रेसतिर लागे ?

नीरज लवजू |
असोज १४, २०७८ बिहीबार १५:४२ बजे

भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का युवा नेता कन्हैया कुमार भारतीय काङ्ग्रेसमा प्रवेश गरेको खबरको नेपालमा पनि मनग्य चर्चा भयो । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का विद्यार्थी युनियनका पूर्वसभापति कन्हैया नेपालका युवा–विद्यार्थीबीच पनि लोकप्रिय व्यक्ति हुन् । उनको आत्मवृत्तान्त ‘फ्रम बिहार टु तिहाड’ नेपालका युवा–विद्यार्थीले पनि स्वाद मानेर पढेका थिए । 

२०१६ को फेब्रुअरीमा प्रहरीले कन्हैया कुमारलगायत केही विद्यार्थी नेतालाई जेएनयूबाट गिरफ्तार गरेपछि उनको चर्चा चुलिएको थियो । भारतको संसद्मा हमला गरेका अभियुक्त अफजल गुरुलाई ज्यान सजाय दिइएको दोस्रो वर्ष पुगेको अवसरमा जेएनयूको एउटा विद्यार्थी समूहले आयोजना गरेको कार्यक्रममा ‘भारतविरोधी’, ‘पाकिस्तान समर्थक’ नारा लगाएको अभियोगमा प्रहरीले विद्यार्थी युनियन सभापति कन्हैयालाई गिरफ्तार गरेको थियो । गिरफ्तारीबाट जोगिन विद्यार्थी नेताहरू उमार खालिद, अनरव भट्टाचार्य, राम नागा, अनन्त प्रकाश र अशुतोष कुमार भूमिगत हुनुपरेको थियो । जेल बसाइको क्रममा पटाया अदालतमा कन्हैयामाथिको दुव्र्यवहारले पनि उनको थप चर्चा भयो ।


सत्तारूढ भारतीय जनता पार्टीसम्बद्ध अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) र हिन्दू अतिवादी शक्तिको प्रत्यक्ष संलग्नतामा नक्कली भिडियो बनाएर कन्हैयालगायत विद्यार्थी नेताहरूले भारतविरोधी नारा लगाएको झूटा आरोप लगाइएको थियो । वामपन्थी विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी नेताहरूमाथि षड्यन्त्रमूलक ढंगले गरिएको दमनको विरोधमा जेएनयूलगायत भारतका धेरै विश्वविद्यालयमा सरकारविरोधी प्रदर्शन र सभा भएका थिए । मोदी फासीवादविरुद्ध भित्रभित्र गुम्सिएका भारतीय बुद्धिजीवी र प्राध्यापकहरू पनि त्यही मौकामा सरकारको विरोधमा उत्रेका थिए ।

अल्पसङ्ख्यक, दलित, वामपन्थी र राजनीतिक विपक्षीलाई अनेकन् बहाना बनाएर दमनमा उत्रेको मोदी सरकारलाई चुनौती दिन त्यो घटना भारतीय वामपन्थीमात्र होइन, उदारपन्थी र प्रजातन्त्रवादीहरूका लागि पनि राम्रो अवसर बनेको थियो । त्यही क्रममा कन्हैया प्रतिरोध आन्दोलनका ‘आइकन’ बने । कन्हैयाको प्रभावशाली वाक् क्षमताले उनलाई त्यो सङ्घर्षको अग्रभागमा पुर्‍यायो । उनी मोदी फासीवादविरोधी प्रतिपक्ष खेमाका प्रवक्ताजस्तै बने । जेएनयू मोदी सरकारका निम्ति फलामको चिउरा साबित भयो । 

सामाजिक सञ्जालको युगमा कन्हैयाको लोकप्रियता जेएनयू र भारतमा मात्र सीमित रहेन । बरु दक्षिण एसियाका धेरै देशमा उनी प्रतिरोध आन्दोलनका उदीयमान आइकनको रूपमा देखापरे । उनका भाषण सामाजिक सञ्जालमार्फत युवा–विद्यार्थीका हातहातमा पुग्यो । जनताको लवजमा दिने उनका प्रभावशाली भाषणले जोसिला युवालाई प्रभावित बनाउन धेरै समय लागेन । भारतको कुरा छोडौँ, तिनताक नेपालकै कैयौँ युवा–विद्यार्थीले समेत आफ्नो फेसबुकको ‘प्रोफाइल पिक्चर’मा कन्हैयाको फोटो राखेका थिए । कन्हैयाका भाषण नियमित सुन्ने गर्थे । उनका गतिविधिबारे ‘अपडेट’ हुन उनलाई सामाजिक सञ्जालमा फलो र लाइक गरेका थिए । त्यसो गर्नु मोदी फासीवादविरुद्ध भारतीय विद्यार्थी र बुद्धिजीवीहरूको आन्दोलनप्रतिको ऐक्यबद्धता पनि थियो । 

कम्युनिस्ट र काङ्ग्रेसबीचको राजनीतिक र वर्गीय अन्तर के कन्हैयाजस्तो बौद्धिक नेताले नबुझेका हुन् र ? 

सन् २०१९ को भारतको सङ्घीय संसद्को निर्वाचनमा कन्हैयाले आफ्नै जिल्ला बिहारको बेगुसरायबाट चुनाव लडे । उनी भारतीय कम्युनिस्ट पार्टीका उम्मेदवार थिए । जेएनयूको विद्यार्थी आन्दोलनले दिएको लोकप्रियता र आफ्नै वाककलाको कारण चुनावमा उनले जित्ने अपेक्षा गरिएको थियो । तर, परिणाम भने अपेक्षित भएन । भाजपाकै गिरिराज सिंहले उनलाई चुनावमा पराजित गरे ।

सङ्घीय संसद्मा गएर मोदी सरकारविरुद्ध दमदार राजनीति गर्ने कन्हैयाको सपना एक लाख ५२ हजारको मतान्तरले साकार हुन सकेन । बिहारको सो चुनावमा भाकपाले काङ्ग्रेसलगायत अन्य क्षेत्रीय दलसँग मोर्चाबन्दी गर्ने प्रयास पनि सीटको कुरा नमिल्दा असफल भएको थियो । तथापि, कन्हैयाप्रतिको युवा आकर्षण भने घटेको थिएन । तर, मङ्गलबार बिहारमा आयोजित एक प्रेस सम्मेलनमार्फत कन्हैया भारतीय काङ्ग्रेसमा प्रवेश गरेको समाचारले भने नेपालकै युवा–विद्यार्थीहरूलाई पनि खिन्न बनाएको छ ।

कन्हैयाप्रति विशेषतः नेपालका वामपन्थी युवा–विद्यार्थीको आकर्षणका केही कारण छन् । पहिलो, आजको भारतको कम्युनिस्ट आन्दोलनका निकै थोरै मात्र नेतृत्व चिनेका नेपाली युवाहरू आफ्नै उमेर समूहका एक युवाको उदाउँदो अवस्थाप्रति आकर्षित हुनु स्वाभाविक हो । दोस्रो, मोदी फासीवादविरुद्ध सशक्तरूपमा तर्कसहित बोल्न सक्ने कन्हैयाको वाक्कला र उनका भाषण सामाजिक सञ्जालमार्फत युवा विद्यार्थीसम्म पुगेकाले पनि उनीप्रतिको आकर्षण बढेको हो । तेस्रो, भारतीय सत्ताको केन्द्रमा नै धावा बोलिरहेको एकजना जुझारु युवा कम्युनिस्ट पार्टीको झन्डा बोकेर अघि बढ्दै गरेको हँसिया र हथौडा अंकित झन्डाप्रति आकर्षित नेपाली युवाहरूको निम्ति चासो र आकर्षणको विषय बन्नु स्वाभाविक हो ।

चौथो, कन्हैयाका भाषण सस्तो लोकप्रियतावादी र अतिरञ्जनापूर्ण, आक्रोशको अभिव्यक्तिमात्र हुने गरेको थिएन, बरु बौद्धिक समुदायबीच बहस छेड्ने खालको हुनुले पनि उनीप्रतिको आकर्षणको कारण हो । पाँचौँ कारण, युवावयको रोमाञ्चकारी भावनाले पनि कतिपय युवाहरू उनीप्रति सतही रूपमै आकर्षित भए । जसरी कतिपय युवाहरू नजानेर नै चे ग्वेभाराका टोपी, लकेट, टी–सर्ट लगाउने गर्छन् । 

अब पाठकलाई लागेको हुनसक्छ– यो सब त ठीक छ । तर, उनी काङ्ग्रेस पार्टीमा गए किन ? कम्युनिस्ट र काङ्ग्रेसबीचको राजनीतिक र वर्गीय अन्तर के कन्हैयाजस्तो बौद्धिक नेताले नबुझेका हुन् र ?  मङ्गलबार काङ्ग्रेस पार्टी प्रवेशको औपचारिक घोषणा गर्न आयोजित पत्रकार भेटघाटमा कन्हैया आफैँले पनि यसको लामो प्रस्टीकरण दिइसकेका छन् । पत्रकार भेटघाटमा उनले आफ्नो निर्णयको प्रतिरक्षा गर्दै भने, ‘काङ्ग्रेसजस्तो ठूलो शक्तिको रक्षा भएन भने अब भारतको लोकतन्त्र जोगिँदैन ।’ उनको तात्पर्य, मोदी सरकारले लोकतन्त्र सिध्याउन खोज्यो ।

त्यसो हुन नदिने एउटै बाटो भनेको काङ्ग्रेसजस्तो ‘ठूलो शक्ति’लाई जोगाउनु हो । कम्युनिस्ट पार्टी छोडेर काङ्ग्रेसमा सामेल हुने कदमको प्रतिरक्षा गर्न उनले आफ्नो वक्तव्यमा पटक–पटक भगत सिंहको नामोच्चारण गरे । उनले पहिलेदेखि निकै नाम लिने गरेका भारतीय नेता बाबा भीमराव अम्बेडकरको नाम पनि बारम्बार लिए । कतिसम्म भने उनले काङ्ग्रेस अध्यक्ष राहुल गान्धीसँगको भेटमा महात्मा गान्धी, भगत सिंह र अम्बेडकरको तस्बिर एउटै फ्रेममा राखेर हस्तान्तरण गरेका थिए । काङ्ग्रेसप्रति आफ्नो भिन्न मत दर्शाउन उनले आफ्नो वक्तव्यमा ‘परिवारवाद’को पनि विरोध गरेका थिए । तर, आफ्नो पुस्ट्याइँका लागि उनले गरेको भाषण सुन्दा धेरैलाई लागेको हुनसक्छ, ‘कन्हैया त काङ्ग्रेस पार्टीलाई सुधार्न वा जोगाउन पो त्यता गएका रहेछन् !’ 

कन्हैयाले काङ्ग्रेसलाई बदल्ने वा सुधार्ने कुरामा विश्वास गर्ने कमै होलान् । तर, उनी भने काङ्ग्रेसमा गएर पक्कै बदलिनेछन् । के कन्हैया काङ्ग्रेसमा जानु वास्तवमै आश्चर्य वा अकल्पनीय कुरा हो ? यो प्रश्नको उत्तरको लागि भने कन्हैयाको पृष्ठभूमि बुझ्नु उपयुक्त हुन्छ । कन्हैया जन्मे–हुर्केको गाउँ बिहारको बेगुसराय धेरै अघिदेखि नै कम्युनिस्टहरूको बलियो प्रभाव भएको ठाउँ हो । नेपालकै कतिपय कम्युनिस्ट नेताहरूले निर्वासन जीवन बिताएको ठाउँ हो – बेगुसराय । तर, स्तालिनपछिको सोभियत सङ्घलाई हेर्ने दृष्टिकोण, चीनसँग भारतको लडाइँ आदि विषयमा भारतीय कम्युनिस्ट पार्टीमा आएको विभाजनपछि त्यो ठाउँमा मूलतः तत्कालीन सोभियत संशोधनवाद पक्षधर डाँगे समूहको प्रभाव पर्‍यो ।

डाँगे समूहलाई नेपालको रायमाझी समूहसँग तुलना गर्नु उपयुक्त हुन्छ । सोभियत सङ्घ र चीनबीच भएको सैद्धान्तिक सङ्घर्षको क्रममा डाँगे समूहले सोभियत संशोधनवादको बाटो पछ्यायो । चीन–भारत युद्धमा डाँगे समूहले जवाहरलाल नेहरु सरकारलाई समर्थन गरेर अन्धराष्ट्रवादको समर्थन गर्‍यो । त्यस अर्थमा, कन्हैया आबद्ध भाकपालाई उतिबेलै काङ्ग्रेसको पछि लागेको दल मानिन्छ । नाममा कम्युनिस्ट भए पनि भाकपाको सैद्धान्तिक हिसाबमा त्यही बेलादेखि काङ्ग्रेसभन्दा ठूलो अन्तर थिएन । भाकपाले कम्युनिस्ट पार्टीको हँसिया हथौडाको झन्डा अवश्य बोकेको छ ।

तर, पार्टीको सैद्धान्तिक र वैचारिक कार्यक्रमको हिसाबमा मौलिकताको हिसाबमा त्यो काङ्ग्रेसभन्दा भिन्न दल थिएन÷होइन । इतिहासको यो कसीमा घोटेर हेर्दा कन्हैयाको पछिल्लो कदमलाई खास अनौठो मान्नुपर्ने छैन । कन्हैयाको काङ्ग्रेस प्रवेशपछाडि उनको व्यक्तिगत महत्वाकाङ्क्षा भएको भनाइ निराधार पक्कै नहोला । विशेषतः हिजोआज सामाजिक सञ्जाल र सञ्चारमाध्यमले जनमत सिर्जना गर्न (म्यानुफ्याक्चरिङ अफ कन्सेन्ट, नोम चोम्स्की) अवस्थामा खास घटनामा कोही एक जना व्यक्तिलाई एकाएक लोकप्रिय बनाइन्छ र त्यस्तो लोकप्रियताले कतिपय मानिसको व्यक्तिगत महत्वाकाङ्क्षा बढेर शिखरमा पुगेको हुन्छ ।

त्यस्ता विद्यार्थी नेताहरू नेपालमा पनि कम छैन । बलियो जगमा नउभिएको यस्तो महत्वाकाङ्क्षा यति खतरनाक हुन्छ कि कतिपय मानिसलाई पथभ्रष्ट र विचलितसमेत बनाउने गर्छ । कन्हैया यसको उपयुक्त उदाहरण बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । कन्हैयाको यो कदम चुनावी विजय वा आफ्नो व्यक्तिगत राजनीतिक भविष्यका लागि हुनसक्ने बुझाइलाई गलत मान्न सकिन्न । यस्तो प्रवृत्ति खासमा राजनीतिक अवसरवाद हो र यस्तो प्रवृत्ति सामान्यतः किनारा लाग्न नसकेको डुंगाजस्तै हुने गर्छ ।

कन्हैयाको कदमले कमजोर बन्दै गएको भाकपालाई मात्र होइन, सिङ्गो भारतीय कम्युनिस्ट आन्दोलनलाई नै नकारात्मक प्रभाव पार्नेछ । काङ्ग्रेसको हकमा भोलि कन्हैया आफूसँगै रहे पनि नरहे पनि अल्पकालीनरूपमा मोदीको जग हल्लाउन कन्हैयाको आगमन लाभदायक नै हुनेछ । कन्हैया आफैँले यो कदमलाई समयान्तरमा कसरी पुष्टि गर्नेछन्, त्यो भविष्यले देखाउला । तर, उनको यो कदमले अल्पकालीन रूपमा उनको हाइहाइ भए पनि समयान्तरमा कन्हैया बिहारी राजनीतिको एक आम पात्रमा परिणत हुने सम्भावना पनि उत्तिकै छ ।


Author

थप समाचार
x