विचार-वार्ता

यौनिकताबारे तपाईं के सोच्‍नुहुन्छ ?

सरिता लामिछाने |
मंसिर १३, २०७८ १७:४३ बजे

यौनिकताले यौन, लैङ्गिक पहिचान, यौनिक अभिमुखीकरण, आनन्द, घनिष्ठता र प्रजनन जस्ता पाटो समेट्छ । यौनिकता मानिसको विचार, कल्पना, इच्छा, विश्वास, सोच, मूल्यमान्यता, व्यवहार, भूमिका र सम्बन्धहरूबाट अनुभव वा व्यक्त गर्न सकिन्छ । प्रश्न उठ्छ, के यस्ता अनुभूति सबै समुदाय र व्यक्तिहरूले गर्न पाएका छन् त ? अझै पनि कतिपय समुदायमा यो सीमितता र अवरोधको घेराभित्र विद्यमान छ । सन्दर्भ यहाँ अपाङ्गता भएका महिलाहरूको हो । 

नेपालको संविधानले सूचनाको हकलाई मौलिक हकअन्तर्गत राखे तापनि प्याड र गर्भनिरोधको साधनहरूमा ब्रेललिपिमा नलेखिदिँदा दृष्टिसम्बन्धी अपाङ्गता भएका महिलाहरू म्याद कटिसकेको सामान प्रयोग गर्न बाध्य छन्।


अपाङ्गता भएका व्यक्ति त्यसमा पनि महिलाहरू यौनिकतासँग सम्बन्धित सेवा लिन स्वास्थ्य निकायमा जाँदा आफ्नो समस्या अथवा सवाललाई महत्व दिएको अनुभूति अपाङ्गता भएका महिलाहरूले विरलै गर्दछन् । यहाँ एक दृष्टिसम्बन्धी अपाङ्गता भएकी महिलाको अनुभवलाई जोडौँ : ‘म मेरो गर्भ अवस्थाको परीक्षण गर्न अस्पताल जाँदा डक्टरले म जुन कारणले अस्पतालमा गएको थिएँ । त्यो परीक्षणसँग सम्बन्धित प्रश्नहरू नसोधी तिम्रो आँखा कहिलेबाट यस्तो भएको हो ? आँखाले एक चिम्टी पनि देख्दैन ? कति पढ्यौ जस्ता प्रश्न सोधेको थियो । जुन कुरा त्यो समयमा त्यति सान्दर्भिक थिएन । अझ अचम्मको कुरा त मेरो गर्भ अवस्थाको परामर्श चाहिँ मलाई नदिई मसँगै त्यहाँ जानु भएको मेरो दिदीलाई दिएको थियो । काठमाडौँको मुटुमा रहेको अस्पतालको चिकित्सकबाट यस्तो व्यवहार भोग्नुपर्दा म छक्क परेँ ।’

प्रायःजसो अपाङ्गता भएका महिलाहरूले आफ्नो किशोर अवस्था पार गरिसकेपछि मात्र यौनिकताको सवालमा जानकारीहरू प्राप्त गर्ने गर्दछन् । यहाँ एक शारीरिक अपाङ्गता भएका महिलाको अनुभवलाई जोडौँ : ‘मेरो महिनावरी १० वर्षबाट सुरु भएको थियो । तथापि मैले १८ वर्ष पुगेपछि मात्र रजस्वला चक्रबारे जानकारी प्राप्त गरेँ ।’ यौनिकताको छलफलमा आनन्द, अनुभूति, रोमाञ्च र सेवाहरूको पहुँचयुक्तताभन्दा पनि हिंसालाई बढी जोड दिइएको पाइन्छ । यहाँ पुनः एक बहिरा महिलाको अनुभव जोडौँ ः म स्रोत कक्षा सञ्चालन भएको विद्यालयमा पढ्दा फेरि त्यहाँको दिदीले मलाई हाँस्दै बाहिर हिँड्ने नगर तिमीलाई केटाहरूले जिस्काएको जस्तो गरेर छाती समाइदिन्छन्, त्यति बेला सम्हालिन सक्दैनौ अनि जिन्दगी नै बर्बाद हुन्छ भन्नुभयो ।’ 

यौनिकताको सवालमा बोल्न तत्पर युवा महिलाहरू पनि अभिव्यक्ति प्रस्तुत गरेपश्चात् भोग्नुपर्ने पूर्वाग्रही प्रश्न र नियमित रूपमा हुने व्यंग्यका कारण आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याएर बस्न विवश छन् ।

अहिले सोचिरहन्छु, के अपाङ्गता भएका महिलाहरूले कुरा गर्ने भनेको हिंसाको मात्र हो ? अपाङ्गता भएका अधिकारकर्मी स्वयंले पनि यौनिकताको सवाललाई उत्थान गर्दा प्राथमिकतामा हिंसालाई नै राख्ने गरेको पाइन्छ ।

समाज अपाङ्गता भएका महिलाहरूलाई एचआईभी हुँदैन भन्ने भ्रममा बाँचेको पाइन्छ । अर्काे अनुभव : ‘म ह्विलचेयर प्रयोगकर्ता महिला हुँ । मैले अस्पतालमा गएर डक्टरलाई म एचआईभी परीक्षण गर्न आएको भन्दा डाक्टरले अचम्म मानेर शिरदेखि पाउसम्म हेरे ।’

यौनिकताको अभिमुखीकरणमा पनि त्यतिकै चुनौती झेल्नुपर्छ । अझै पनि अपाङ्गता क्षेत्रका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले आफ्नो छनौटअनुसार जीवन जिउन पाएका छैनन् । कतिपयलाई तिमीले आफ्नो पहिचान खुलाउनु पर्दछ तिमीले नै आफूलाई स्वीकार नगरे अरुले कसरी स्वीकार गर्दछ भन्दै आफ्नो पहिचान खुलाउन दबाब दिने गरेको तीतो यथार्थ पनि छिटपुट रूपमा देख्न पाइन्छ ।  

सवालको मूलप्रवाहीकरणको कुरा गर्दा विभिन्न सङ्घ–संस्था र दातृनिकायले यौनिकताको सवालमा काम गरे तापनि कार्यक्रममा अर्थपूर्ण समावेशिताको प्रत्याभूति हुन सकेको छैन । यौनिकताको सवालमा तालिमहरू सञ्चालन गरे तापनि त्यसमा अपाङ्गता र यौनिकताको विषयवस्तुले स्थान पाएको देखिँदैन । त्यहाँ कुनै अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता भएर सवाल उजागर भएमा सारै सान्दर्भिक कुरा उठाउनुभयो भनेर सवाल उठाउन अभिप्रेरित गरेको पाइन्छ । तथापि निश्चित कार्यक्रमको समापनपश्चात् सवाल छायाँमा पर्दछ । सोझो अर्थमा भन्नुपर्दा महासन्धिहरूको प्रगति प्रतिवेदन प्रक्रियालाई समावेशी देखाउनबाहेक यौनिकताको सवालमा सञ्चालन गरिने अन्य नियमित गतिविधिहरूमा अपाङ्गताको सवाललाई प्राथमिकतामा राखेको पाइँदैन ।

यस सवालमा केही अनुसन्धानहरू भए तापनि स्वयं अनुसन्धानकर्ताहरूले अधिकारमुखीभन्दा पनि संरक्षणमुखी अभिप्रायबाट अनुसन्धानहरू गर्ने गरेको पाइन्छ । प्रायःजसो अनुसन्धानकर्ताहरू अनुसन्धानको सिद्धान्तमा अल्मलिएर वास्तविक समस्या पहिचानमा पछि हट्ने गर्दछन् । यौनिकताको सवालमा बोल्न तत्पर युवा महिलाहरू पनि अभिव्यक्ति प्रस्तुत गरेपश्चात् भोग्नुपर्ने पूर्वाग्रही प्रश्न र नियमित रूपमा हुने व्यंग्यका कारण आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याएर बस्न विवश छन् । समग्रमा हेर्दा यौनिकता अझै पनि अपाङ्गता भएका व्यक्तिहरूको सवालमा विवशता, बाध्यता, अवरोध र सीमितताको घेराभित्र घुमिरहेको छ ।

जबसम्म प्रगतिशील सोच राखी यौनिकता र प्रजनन स्वास्थ्य शिक्षा सबै वर्ग–समुदायसम्म पुर्‍याइँदैन, यस्ता समस्या बढी नै रहनेछन् । साथै यससम्बन्धी सूचना, परामर्श र सेवाबाट वञ्चित भइरहेका समुदाय विशेष गरी अपांगता भएका व्यक्तिहरूलाई समेटेर उनीहरूलाई स्वस्थ यौन जीवनयापनका लागि सहयोग गर्न सरोकारवाला सबैमा दायित्वबोध गराउन अवश्य पनि आवश्यक छ ।

(लेखक अपांगता र लैंगिकताको सवालमा संलग्‍न छिन् )



Author

थप समाचार