विचार

‘कूटनीतिक राहदानी चोरी भएपछि...’ को जवाफको जवाफमा

मोहनकृष्ण श्रेष्ठ |
चैत २०, २०७७ शुक्रबार १८:२५ बजे

कूटनीतिक सेवाको कुल ३१ वर्षे अवधिमा शिष्टाचार अधिकृत, नायव शिष्टाचार महापाल, निमित्त शिष्टाचार महापाल तथा सन् २००९/१० मा शिष्टाचार महापालको पदमा कार्य अनुभव हासिल गरेपछि शिष्टाचारसम्बन्धी राम्रो अनुभव प्राप्त भयो । 

शिष्टाचार महापालको अवधिमा धेरै नै चुनौती सामना गर्नुपर्यो । तर पनि आफ्नो दायित्व पूरा गर्न कुनै कसर बाँकी राखिनँ । कुल सेवा अवधिमा सरकारी तथा निजी गरी जम्मा ७४ देशको भ्रमण गर्ने अवसर मिल्यो । कूटनीतिक सेवामा रहँदा एउटा बिर्सनै नसकिने घटना थियो, नेपाली प्रतिनिधिमण्डलको कूटनीतिक राहदानी चोरी । 


त्यो घटना १९९८ सेप्टेम्बर ४ का दिन करिब बिहान सवा नौ बजेतिर दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गमा घटेको थियो । त्यो पनि मेरै आँखाको सामुन्ने र शिष्टाचार अधिकृत राजाराम बर्तौला थिए । उहाँले प्रतिनिधि मण्डलको २६ वटा कूटनैतिक राहदानी तथा टिकट भएको सानो कालो ब्याग इमिरेट्स एयरलायन्सको काउन्टरमा कार्यरत स्टाफलाई दिन यसो के राखेका थिए, एउटा अपरिचित व्यक्ति आएर क्षणभरमै लिएर भाग्यो । हामी सबै अवाक् भयौँ । यो के भएको ? सायद त्यो अपरिचित चोरले चोर्नकै लागि हामीलाई पछ्याएको हुनुपर्छ । 

त्यो अति दुर्भाग्यपूर्ण घटना भएकाले जनतालाई तथा परराष्ट्र मन्त्रालयमा काम गर्ने युवा पिँढीहरूलाई यस्तो घटना पनि हुनसक्छ भन्ने महसुस भएकाले एउटा जानकारीमूलक लेख इकागज अनलाइनमा प्रकाशन भएको थियो । यसको केही दिनपछि बर्तौलाजीले मेरो लेखका सम्बन्धमा कमेन्ट लेखी अलि पछि लेख नै लेखेको इकागजमै पढेँ ।

उहाँले लेखेको लेखमा असत्य कुरा धेरै छन् । हुन त यस्तो झुटको पुलिन्दाको जवाफ दिन आवश्यक थिएन । तर पनि झुटले सत्यलाई जित्न दिनुहुन्न भन्ने महसुस गर्दै आएकाले पुनः एकपल्ट साँचो कुरा के हो भने जानकारी सबैमा गराउन चाहन्छु । सबैभन्दा पहिला बर्तौलाजीले त्यो घटना डरबन एयरपोर्टमा घटेको भनेर लेखेको पाएँ । यो कुरा शतप्रतिशत मात्र हैन, हजार प्रतिशत झुट हो । किनकि यो घटना माथि उल्लेख गरेझैँ जोहानेसबर्ग एयरपोर्टमै घटेको घटना थियो । 

यस सम्बन्धमा मैले पूर्वराजदूत श्री गोपीनाथ दवाडीसँग पनि सम्पर्क गरेँ । उहाँ त्यसबेला इजिप्टका लागि राजदूत भई दक्षिण अफ्रिकाका लागि पनि प्रमाणित हुनु भएकाले नेपाली प्रतिनिधि मण्डलमा सम्मिलित हुनुहुन्थ्यो । साथै तत्कालीन निमित्त शिष्टाचार महापाल श्री वनमाली प्रसाद लाकौलसँग पनि कुरा गरेँ । दुवैले त्यो घटना जोहानेसबर्ग एयरपोर्टमै भए घटेको भनेर ठोकुवा गर्नुभयो । यसमा कुनै प्रकारको द्विविधा नै थिएन । 

उहाँले मेरो कूटनैतिक राहदानी त्यो घटनामा चोरी भएकै थिएन भनी लेख्नुभएको पाएँ । यो पनि सरासर झुट हो । मलाई विश्वास नै लाग्दैन कि मेरो मित्र तथा सुमधुर सम्बन्ध भएका बर्तौलाजीले यस्तो सफेद झुट कसरी लेख्न सकेको, अचम्म लाग्यो । जबकि सबै प्रतिनिधि मण्डलको राहदानी उहाँले नै बोक्नुभएको थियो । अर्को कुरा उहाँले ४४ वटा पासपोर्ट थिए भनेर उल्लेख गरेको देखियो जबकि त्यो नेपाली प्रतिनिधि मण्डलमा जम्मा जम्मी २६ जना मात्र थिए । 

असत्य लेख लेखेर सत्य घटनालाई ओझेलमा पार्ने कुत्सित प्रयास गर्ने ? उहाँ मेरो मित्र भए तापनि यो दुष्प्रयासका लागि खेद प्रकट गर्दछु । 

 

उहाँको लेखमा राहदानी चोरिएको घटनामा मेरो कुनै सरोकार नै छैन भनी लेखिएको रहेछ । जबकि म, लाकौल, रमेश खनाल र उहाँ स्वयं भएर नेपाली प्रतिनिधिमण्डलका सदस्यलाई राहदानी चोरिए तापनि हामी ट्राभल डकुमेन्ट बनाएर सबै फर्कन सक्छौँ भनी आश्वस्त पारेका थियौँ । त्यसपश्चात् म र खनाल इमिरेट्सको अफिस गएर बोर्डिङ पास लिएर आयौँ । जबकि लाकौल तथा बर्तौला ट्राभल डकुमेन्ट बनाउनतिर लागे । त्यसपश्चात् म, हरि शर्मा सर तथा अन्य केही उच्च पदस्थ व्यक्तिहरू एयरपोर्टको भीआईपी रुम उपलब्ध भएकाले त्यतातिर लाग्यौँ ।

उहाँले यस्तो राष्ट्रियस्तरमै लज्जाबोध भएको विषयवस्तु, अकल्पनीय घटनालाई निजीकरण गरेर मानौँ कि त्यो उहाँको निजी घटना देखाउन प्रयास गरेको देखिन्छ, बुझिन्छ । यो अति नै अपच र खेदजनक छ । उहाँले मेरो आँखाको सामुन्ने घटेको घटनालाई आफू भन्दा सिनियर अधिकृतको सरोकार नै छैन भनेर लेख्ने दुस्साहस गरको बुझिनसक्दो छ । 

मेरो किताब ‘कूटनीतिमा तीन दशक’ पाँच वर्षभन्दा अघि नै बजारमा आइसकेको थियो । आफू सम्बन्धित घटनालाई समेटेर यी सबै कुरा उल्लेख गरेको थिएँ । उहाँले मेरो किताब पनि अवश्य पढ्नुभयो होला । त्यो बेला उहाँलाई कपाल किन नदुखेको, अनि अहिले आएर असत्य लेख लेखेर सत्य घटनालाई ओझेलमा पार्ने कुत्सित प्रयास गर्ने ? उहाँ मेरो मित्र भए तापनि यो दुष्प्रयासका लागि खेद प्रकट गर्दछु । 

साधारणतया नेपाली प्रतिनिधि मण्डलको राहदानी टिकट तथा लगेजहरूको व्यवस्थापन गर्ने मेरो जिम्मेवारी होइन, त्यो सबै शिष्टाचार अधिकृतले नै गर्ने काम हो । यत्रो घटना घटे तापनि उहाँले आफ्ना कमी-कमजोरीबारे न त एक शब्द दुःख प्रकट गर्नुभयो, न त आफ्नो अक्षमताका लागि क्षमाप्रार्थी हुनुभयो । उहाँले घटनालाई आफ्नो निजी सम्पत्तिका रूपमा लिएको बुझिन्छ । यो जायज होइन । अर्कोतर्पm हरि शर्मा सर हालसम्म सकुशल नै हुनुहुन्छ । एउटा कल गरेर मेरो प्रश्नको जवाफमा उहाँले के जवाफ दिनुभएको थियो, सोधेको भए सच्चा जवाफ हरि सरबाट पाउँथे होला नि । यसरी कल्पना गरेर खिसिट्युरी गर्न मिल्छ र ?

सत्य–तथ्य के हो त भनेर पत्ता लगाउन एउटा मिटिङ अथवा अन्तक्र्रिया कार्यक्रम आयोजनाका लागि अनुरोध गरेको छु । साथै आवश्यक परे जोहानेसबर्ग जान पनि तयार छु । २३ वर्ष अगाडिको घटना भए पनि जोहानेसबर्ग पुलिसको रेकर्डमा केही त होला नि ।

प्रधानमन्त्री तथा प्रतिनिधि मण्डलका अन्य केही गन्यमान्य व्यक्ति डरबनबाट जोहानेसबर्ग आइपुगेपछि साधारणतया भीभीआईपी रुममा लिएर गयो होला भन्ने मैले अनुमान गरेर लेखेको हुँ । किनकि हाम्रो चलन पनि यस्तै छ । भीभीआईपी पाहुना आउँदा पहिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी वे-मा स्वागत-सत्कार गरिन्छ अनि मात्र होटेलतिर लाने प्रचलन हो । 

पुनश्च, हामी सबै नेपाली प्रतिनिधि मण्डल दक्षिण अफ्रिकाबाट फर्किएपछि त्यहाँ सम्पर्क गर्ने व्यक्ति कोही पनि नभएकाले डरबनको हामी बसेको होटल किनलोइका म्यानेजर मिस्टर सिलभनलाई राहदानी फिर्ता पाउने कामका लागि जोहानेसबर्गको पुलिससँग समन्वयकारी भूमिकाका लागि आग्रह गरेको थिएँ । उहाँले हामीलाई निकै सहयोग गर्नुभयो र अन्ततः २६ वटा राहदानी जोहानेसबर्ग पुलिसबाट प्राप्त भएपछि डिएचएलबाट पठाउनुभयो । १६ सेप्टेम्बरका दिन मेरो कार्यालयमा आइपुग्यो । तत्कालीन परराष्ट्र सचिव मुरारीराज शर्मालाई राहदानी देखाएँ र उहाँकै निर्देशनअनुसार सबै राहदानी शिष्टाचार महापालको महाशाखामा पठाइदिएको कुरा अहिलेसम्म पूरा याद छ । 

त्यस घटनाका सम्बन्धमा जानकारी राख्ने पूर्वराजदूत गोपीनाथ दवाडी, हरि शर्मा सर, वनमालीप्रसाद लाकौल, रमेशप्रसाद खनाल, बर्तौला र म स्वयं छौँ । मैले इकागजलाई यस सम्बन्धमा सत्य–तथ्य के हो त भनेर पत्ता लगाउन एउटा मिटिङ अथवा अन्तक्र्रिया कार्यक्रम आयोजनाका लागि अनुरोध गरेको छु । साथै आवश्यक परे जोहानेसबर्ग जान पनि तयार छु । २३ वर्ष अगाडिको घटना भए पनि जोहानेसबर्ग पुलिसको रेकर्डमा केही त होला नि ।

अन्त्यमा,

म यो कुरा यकिनसाथ भन्दछु कि ४ सेप्टेम्बर १९९८ का दिन बिहान करिब सवा ९ बजेको त्यो घटना जोहानेसबर्ग एयरपोर्ट नै हो, डरबनमा होइन । बर्तौलालाई सायद सहरको नामबारे कन्फयुज भएको हुन सक्छ । डरबनबाट जोहानेसबर्ग आउने फ्लाइट डोमेस्टिक फलाइट हो । अनि फेरि डरबनबाट दुबई आउन इमिरेट्स एयरलाइन्सको फ्लाइट नै थिएन । हामीले इमिरेट्सको फ्लाइटबाट आऊ–जाऊ गरेका थियौँ । अनि अर्को कुरा, म तथा रमेशप्रसाद खनाल प्रधानमन्त्रीको कतारको द्विपक्षीय औपचारिक भ्रमणमा नपरेकाले हामी दुईजना दुबईबाट नेपाल फर्कियौँ । 

आपूmले लेखेको कुरा जतिसुकै मीठो भाषामा पाठकहरूसामु प्रस्तुत गरे तापनि झुट कुरा आखिर झुट नै ठहर्छ । झुटले सत्यलाई कुनै हालतमा पनि जित्न सक्दैन । अतः यस सम्बन्धमा उहाँसँग जहाँ जतिबेला पनि छलफल गर्न तयार छु । पाठक वर्गमा यही सत्य कुराको जानकारी गराएको छु । गोपीनाथ दवाडीबाहेक अरु सबैको राहदानी चोरिएकै हो । किनकि उहाँ जोहानेसबर्गबाट दुबई हुँदै कायरो फर्कंदै हुनुहुन्थ्यो । अपरिचित चोरले मलाई विशेष माया गरेर मेरो राहदानी नचोरेको होइन । 

मेरो लेखमा यस घटनाका सम्बन्धमा आफू सम्बन्धित कुरा मात्रै लेखेको हुँ । नेपाली प्रतिनिधिमण्डलको सम्पूर्ण जिम्मेवारीमाथि उल्लेख गरेझैँ शिष्टाचार अधिकृतले हेर्ने कुरा थियो । उहाँको भाग्य थियो- यति ठूलो घटना हुँदा पनि त्यो बेलाका उच्चपदस्थ नेतृत्व वर्गले सजायको भागिदार बनाएनन् । सत्य कुरा यही हो । उहाँले असत्यको सहारा लिई धाकधक्कु देखाएर सिक्का जमाउनुको कुनै अर्थ रहँदैन । 

र, यो पनि

 

 

 


 


Author

मोहनकृष्ण श्रेष्ठ

लेखक फ्रान्सका लागि नेपालका पूर्वराजदूत हुन् । ‘कूटनीतिमा तीन दशक’ उनको पुस्तक हो ।


थप समाचार
x