विचार

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रार नियुक्तिमा देवेन्द्र पौडेलले दिएको दुःख

प्रा.डा. त्रिरत्‍न मानन्धर |
असार १४, २०७९ २१:१२ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयमा खड्गमान श्रेष्ठको रजिस्ट्रारको चार वर्षे कार्यकाल मंसिर ९, २०६८ मा समाप्त भयो । नेपाल सरकारका विभिन्न शैक्षिक निकायहरूमा लामो समय संलग्न रही अनुभव बटुलेका श्रेष्ठले विश्वविद्यालयमा महत्त्वपूर्ण योगदान दिएका छन् । त्यसैले अर्को एक कार्यकाल काम गर्ने कि भनेर मैले उनलाई सोधेँ । उमेरको कारणले गर्दा उनले पदमा रही काम गर्न चाहेनन् ।

हुन त म उपकुलपतिमा नियुक्ति हुनेबित्तिकै केहीले उनलाई रजिस्ट्रारबाट हटाउन चाहेका थिए । उनीहरूले शिक्षामन्त्रीसम्म कुरा पुर्याइसकेका थिए, तर मैले मानिनँ । त्यतिखेर तीनओटा नयाँ विश्वविद्यालयका साथै त्रिभुवन विश्वविद्यालयमा पनि रजिस्ट्रार नियुक्त हुन बाँकी थियो ।


सबै विश्वविद्यालयका कुलपति रहेका तात्कालिक प्रधानमन्त्री बाबुराम भट्टराईले हामी पाँचै जना उपकुलपतिलाई डाकी रजिस्ट्रार नियुक्ति सम्बन्धमा माओवादी नेता देवेन्द्र पौडेलसँग सल्लाह गरी छिटै काम सम्पन्न गर्न निर्देशन दिए ।

अरूले के गरे मलाई थाहा भएन, मैले चाहिँ उतिखेरै पौडेलसँग रजिस्ट्रार नियुक्तिको लागि के गर्ने भनी सोधें । उनले बायोडाटासहित दुई जनाको नाम अनौपचारिक रूपमा पठाइदिन भने ।

विश्वविद्यालयको ऐनअनुसार कुलपतिले उपकुलपतिको सिफारिसमा रजिस्ट्रार नियुक्त गर्ने प्रावधान थियो । तर पौडेलले उपकुलपतिबाट औपचारिक सिफारिस लिन चाहेनन् । मलाई त्यति बेला नै यो नियुक्तिले कुन रूप लिने हो भन्ने शंका लागिसकेको थियो ।

तैपनि उनले भनेबमोजिम दुई जनाको नाम बायोडाटासहित पठाइदिएँ । १०–१५ दिनपछि विश्वविद्यालयका एक जना कर्मचारीमार्फत पौडेलले अरू दुइटा नाम बायोडाटा सहित पठाइदिन खबर पठाए । मैले अरू दुई जनाको नाम बायोडाटासहित पठाइदिएँ । त्यसको पनि दुई हप्ता जतिपछि पौडेलले रजिस्ट्रार नियुक्तिसम्बन्धी कुरा गर्न भनी प्रधानमन्त्रीको कार्यालयमा बोलाए ।

‘मैले सिफारिस गरेका चार जनामध्ये जसलाई नियुक्त गरे पनि स्वीकार्छु भन्ने मनस्थिति बनाई म सिंहदरबार पुगेँ । तर उनीहरूको योजना अर्कै रहेछ । मैले पठाएका चार जनाको नामलाई एकातिर पन्छाई उनले अर्कै व्यक्तिलाई सिफारिस गर्न दबाब दिए । उनीहरूले  छानेका व्यक्तिले नेपाली गजलमा पीएचडी गरेका रहेछन् । उनी योग्य पनि होलान्, तर उनीहरूको काम गर्ने तौरतरिका मलाई पटक्कै चित्त बुझेन । 

मैले बौद्ध विश्वविद्यालयमा ‘बौद्ध–अध्ययनसँग केही सम्बन्ध नभएको व्यक्तिलाई कसरी नियुक्त गर्ने भनेर सोधें । बौद्ध–अध्ययनको जानकार तपाई हुँदै हुनुहुन्छ, रजिस्ट्रारलाई त्यो ज्ञान किन चाहियो भनेर पौडेलले गर्ने छन्, हामी सम्झाइदिउँला भनी ठाडो जवाफ दिए । तपाईंले भने बमोजिम उनले काम उनले मलाई फकाउन पनि खोजे । उनीसँग विवाद गर्नु मैले निरर्थक सम्झें, र विचार गरौंला भनी म उठेँ । उनले धम्कीपूर्ण भाषामा भने, ‘हामी उनीबाहेक अरूको नाम मान्दैनौँ ।’


केही दिनसम्म म चुप लागेर बसेँ । करिब १०–१२ दिनपछि पौडेलले फोन गरी सिफारिस तुरुन्तै पठाउन भने । मैले स्पष्ट जवाफ दिएँ, ‘हेर्नुहोस्, बौद्ध–अध्ययनसँग कुनै सम्बन्ध नभएको व्यक्तिलाई म रजिस्ट्रारका निम्ति सिफारिस गर्न सक्तिनँ ।’ र, उनको जवाफै नपर्खी मैले फोन राखिदिएँ । त्यसको करिब एक महिनासम्म मेरो प्रधानमन्त्री कार्यालयसँग कुनै संवाद भएन । एक दिन आफूलाई उदय तिवारी बताउने व्यक्तिले फोन गरेर रजिस्ट्रार नियुक्ति सम्बन्धमा कुरा गर्न चाहेको बताए । मैले भोलिपल्ट भृकुटीमण्डपस्थित कार्यालयमा बोलाएँ । उनी आए; मधेसवादी दलका कार्यकर्ता रहेछन् ।

उनले भने, ‘यो विश्वविद्यालयको निम्ति रजिस्ट्रारको नाम सिफारिस गर्ने जिम्मा हाम्रो दललाई दिएको छ, तपाईंलाई कस्तो मानिस चाहिन्छ ?’ 
मैले भनेँ, ‘हेर्नुहोस्, बौद्ध विश्वविद्यालयको रजिस्ट्रार हुने व्यक्ति बौद्ध–अध्ययनको जानकार हुन अति जरुरी छ । सकिन्छ भने बौद्ध–अध्ययनमा डिग्री हासिल गरेको व्यक्ति, सकिँदैन भने बौद्ध–अध्ययनसँग सम्बन्धित विषयहरू जस्तै दर्शनशास्त्र, इतिहास वा संस्कृतिमा एमए गरेको व्यक्ति हुनुपर्नेछ । साथै, सो व्यक्तिले पीएचडी गरेको र कम्तीमा सहप्राध्यापक सरहको व्यक्ति हुनुपर्नेछ ।’

करिब एक हप्तापछि तिवारी म कहाँ आए र उनको दलले सिफारिस गरेको व्यक्तिको नाम र बायोडाटा दिए । उनी थिए, त्रिविको महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराजमा इतिहास विषयका सह–प्राध्यापक डा. पीताम्बरलाल यादव । यादव मेरा पुराना विद्यार्थी भएकाले उनले इमानदारीपूर्वक सहयोग गर्लान् भन्ने ठानेँ । सिफारिस गरिएको नाम मलाई मन्जुर छ, प्रधानमन्त्री कार्यालयले माग्नेबित्तिकै म औपचारिक सिफारिस पठाउनेछु भनी तिवारीलाई जवाफ दिएँ ।

केही दिनपछि प्रधानमन्त्री कार्यालयबाट फोन आयो । यसपल्ट फोन गर्ने व्यक्ति देवेन्द्र पौडेलका सहायक थिए । उनले यादवको नाम एक नम्बरमा राखी अन्य दुई जनाको नाम पनि राखी औपचारिक सिफारिस पठाउन भने । अन्य दुई जनामध्ये एउटा नाम उनीहरूले पहिले सिफारिस गरेको व्यक्ति हुनुपर्ने पनि उनले बताए । 
मैले ऐनमा त तीन जनाको नाम पठाउनुपर्ने प्रावधान छैन भनेँ । उनले ऐनमा जे भए पनि तीन जनाको नाम पठाउने परम्परा भएकाले सोही अनुसार गर्नुहोस् भने । उनले थपे, ‘तीन जनाको नाम पठाएर के भो र, नियुक्ति त हामी नम्बर एकलाई नै गर्छौं ।’ 

सत्तामा पुगेका हाम्रा नेताहरूलाई संस्थाको उन्नति र विकासबारे कुनै चिन्ता छैन; उनीहरू जहाँ जसरी भए पनि आफ्ना मान्छे मात्रै घुसाउन चाहन्छन् ।

उनीहरूको कुरामा विश्वास गर्ने कुनै आधार मैले देखिनँ । तीन जनाको नाम पठाएपछि तीमध्ये जसलाई नियुक्ति गरे पनि मैले बाध्य भएर मान्नुपर्ने स्थिति आउँथ्यो । त्यसैले मैले सिफारिस नै पठाइनँ । एक हप्तापछि रजिस्ट्रार नियुक्ति विवादले अन्तिम मोड लियो ।

प्रधानमन्त्री कार्यालयबाट ‘लौ, तपाईं हामीले भनेको कुरा मान्नुहुन्न, अब तपाईंले नै भनेको मानिसको नाम मात्रै राखेर भए पनि आजै सिफारिस पठाउनुहोस्’ भनेर फोन आयो । मैले आधा घण्टाभित्रै औपचारिक सिफारिसपत्र तयार गरी पठाइदिएँ । अन्ततः रजिस्ट्रार पद खाली भएको साढे तीन महिनापछि पीताम्बरलाल यादवको सो पदमा नियुक्ति भयो ।

यो लामो विवादबाट मैले निकालेको निष्कर्ष हो– सत्तामा पुगेका हाम्रा नेताहरूलाई संस्थाको उन्नति र विकासबारे कुनै चिन्ता छैन; उनीहरू जहाँ जसरी भए पनि आफ्ना मान्छे मात्रै घुसाउन चाहन्छन् । यो हाम्रो देशको दुर्भाग्य हो । त्यसको करिब एक वर्षपछि अर्थात् माघ २०६९ को अन्तिम सप्ताहमा डीन शंकर थापाको कार्यकाल पूरा भयो । ऐनले डीनको नियुक्ति उपकुलपतिले गर्ने भनेकाले त्यसमा कुनै समस्या आएन । लामो समयदेखि बौद्ध–अध्ययनमा संलग्न तथा विश्वविद्यालय अन्तर्गतको लोटस एकेडेमिक कलेजको प्रिन्सिपलको रूपमा कार्यरत भद्ररत्न वज्राचार्यलाई मैले डीन नियुक्त गरेँ ।

(इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालय र क्याम्ब्रिज विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेका हुन् । त्रिविमा ४० वर्षसम्म इतिहास विषय प्राध्यापन गरेका मानन्धरका इतिहास र संस्कृतिसम्बन्धी करिब दुई दर्जन पुस्तक तथा १५० भन्दा बढी शोध लेख प्रकाशित छन् । यो लेख मार्टिन चौतारीको वार्षिक जर्नल ‘समाज अध्ययन’ (अंक १७, २०७९) मा प्रकाशित ‘लुम्बिनी बौद्ध विश्वविद्यालयमा चार वर्ष (वि.सं.२०६६–२०७०)’ को अंश हो । जर्नलको यही अंकमा प्रा.डा. पीताम्बर शर्मा, प्रा.डा. अभि सुवेदीका त्रिवि अनुभव–लेख पनि पठनीय छन् ।)
 



Author

थप समाचार
ad
x