विचार

दलीय कार्यकर्ताले सय खुन गरे पनि माफ दिने र चोख्याउने प्रवृत्ति

सुशीला कार्की |
चैत २२, २०७७ आइतबार ९:५ बजे

इलामको नागरिक सेवा समाजले सञ्‍चालन गरेको (सहकार्य दृष्टि नेपाल ठेगाना : रोङ नपा, इलाम) महिला हिंसाविरुद्ध सशक्तीकरण कार्यक्रमसँग सम्बन्धित एकजना भाइले फोनमा मसँग केही दिनपूर्व सल्लाह माग्‍नुभएको थियो । उहाँको भनाइ थियो, ‘हाम्रो क्षेत्रमा आत्महत्याको प्रतिशत अत्यन्त बढेर गएको छ । सायद गत वर्ष मुलुकमा सबैभन्दा बढी त्यस किसिमका घटना जिल्लामा भएको हुनुपर्छ ।’
 
सम्भवतः नेपाली समाजमा पारिवारिक द्वन्द्व धेरै नै बढेर गएको छ । त्यसैले गर्दा हिंसाका घटना पनि बढेर गएको हुनुपर्छ । त्यसमाथि ‘युट्युब’हरूले प्रत्येक स-साना घटनालाई पनि नुन, खुर्सानी, मरिच, जिरा, धनियाँ, तेलसमेत भए/भरका मरमसला लगाई रोचक बनाई प्रस्तुत गर्छन् । प्रत्येक घटनामा पचहत्तर प्रतिशत मसला थपी घटना भयावह बनाई पस्कने गरेका छन् । युट्युबका दर्शकहरूले त्यसैलाई शतप्रतिशत सत्य मानी धारणा बनाउने गरेका छन् । तिनले  युट्युबरहरूको फगत यो एउटा व्यपारसम्म हो भन्ने यथार्थको पाटोलाई समेत बुझेका पनि हुँदैन ।

नेपाली समाजमा रहेका हरएक महिला, गरिब, दुःखी, नाबालक, नाबालिकाविरुद्धको हिंसा सम्बोधन नगरपालिकाअन्तर्गतको न्यायिक समितिबाट पनि सम्भव छैन । किनकि उक्त समितिले पाउनुपर्ने भौतिक सुविधा र आवश्यक साधन र सहयोग तथा चाहिने प्रविधि, उत्कृष्ट तालिमको अभाव छ । त्यसमाथि हामी यति धेरै राजनीतिक अवधारणाबाट ग्रस्त छौँ कि हर स-साना विषयलाई राजनीतिक चस्मा भिरेर नै मूल्यांङ्कन गर्ने गर्छौ । आफ्नो दलसँग आबद्ध दलीय कार्यकर्ताले सय खुन गरे पनि माफ दिने र चोख्याउने हाम्रो प्रवृत्ति छ । यस्तो भएपछि दुःखी, गरिब, असहायको हकमा न्याय कसरी पर्न सक्छ ? यस्तो सामाजिक विभेदबाट समन्वय वा न्यायमा समानता नै निःसृत हुन सक्दैन ।


इलामको भाइलाई मैले दिएको सल्लाह थियो, ‘समाजबाट हिंसा वा महिला हिंसा हटाउन आर्थिक समानता हुन जरुरी छ । मानिसले चाहे महिला हुन् वा पुरुष हुन्, तिनले सक्दो मुलुकभित्रै रोजगारी पाउनु पर्छ । सरकारले मुलुकभित्र साना, ठूला रोजगारीका क्षेत्रहरूको व्यवस्था गर्न सक्नुपर्छ । किनकि हाल वैदेशिक रोजगारीको पेसाले मुलुकभित्र ज्यादै ठूलो भयावहको वातावरण खडा गरेको छ ।’
 
रोजगारीमा जाने पुरुष या त अकाल मृत्युवरण गरेका छन् वा विदेशमा नै पलायन भएका छन् । तिनका श्रीमती कतिपय सन्तानसहित वा तिनलाई पनि छाडेर भएजत्तिको श्रीमान्ले श्रमबाट कमाएको झिटीगुन्टा बोकेर पलायन भएका छन् वा परपुरुषसँग फरार छन् । कतिको हकमा मरीमरी परिश्रम गरी कमाएर पठाएको पैसाले नेपालमा पासिएकी श्रीमती र तिनको प्रेमीले नेपाल आएपछि निर्मम हत्या गरी मृत्युवरण गरिदिएको उदाहरण पनि छ ।

कति महिला पनि विदेशमा रोगाउँदै मरेका छन् वा आततायीहरूबाट ज्यानै गुमाएका छन् । वैदेशिक रोजगारले विदेशको धनभन्दा पनि नेपालमा धेरैलाई मानसिक, शारीरिक चोटको प्रहारबाट कहिले निको नहुने घाउ दिएको छ ।
 
इलाम जिल्ला विकासको प्रचुर सम्भावना भएको स्थान हो । दार्जीलिङको छेउमा रहेको पर्यटकीय सम्भावना बोकेको स्थान, एक पाइलो तल झापामा त्यति धेरै गर्मी छ भने जेठ असार महिनाको मध्य गर्मीमा पनि फिक्कल चाहिँ एक पाइलोमाथि थरथरी काम्ने जाडो हुन्छ । पानी पनि निरन्तर परिरहन्छ । तर त्यस ठाउँको  विकास काठमाडौंको जस्तो विनायोजना गर्न भने हुन्‍न ।
 
काठमाडौं कुनै बेला महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविवर लेखनाथ पौड्यालको समयमा स्वर्ग थियो । प्रकृतिले नै सिँगारेको अनुपम स्वर्ग जस्तो प्राचीन नगरी । त्यसैले रचियो, आदिकविबाट अलकापुरी कान्तिपुरी नगरी । काठमाडौंको स्वरूप जीवनभरि दलालहरूको मण्डीमा जबर्जस्ती बेचिएकी चेलीले मन मारेर दबाब र प्रभावमा परी वेश्यवृत्ति गरी जीवनको उत्तरार्धमा रोग, भोक, शोकले ग्रस्त भएकी वृद्ध असहाय महिलाको अवस्था जस्तै छ ।
 
जग्गाका दलाल, वनका तस्कर, भूमाफिया, गिट्टी, बालुवा, ढुङ्गाका तस्करले रातोदिन चिथोरेका छन् । खनेका छन् । काटेका छन् । फोरेका छन् । यो क्रम निरन्तर जारी छ ।

अघिल्लो दिन बिहान देखेको वन र त्यहाँका रुख भोलिपल्ट बिहान घुम्न जाँदा मासेर नास्तानामुद भइसकेको हुन्छ । अनि आधुनिक भाषाको शब्द प्लटिङले काम पाइसकेको हुन्छ । यो कसले गर्छ ? किन गर्र्छ त्यसको जानकारी हुन गाह्रो छ । यति त सबैलाई थाहा भएकै कुरा हो कि यो जे जहाँ भइरहेको छ, त्यो पैसैका लागि ठूलाबडाबाट भएको हो, अन्य कुनै कारण नै छैन ।

काठमाडौंको स्वरूप जीवनभरि दलालहरूको मण्डीमा जबर्जस्ती बेचिएकी चेलीले दबाब र प्रभावमा परी मन मारेर वेश्यावृत्ति गरी जीवनको उत्तरार्धमा रोग, भोक, शोकले ग्रस्त भएकी वृद्ध असहाय महिलाजस्तै छ । 

नेपाल खाल्डोभित्र जग्गा जमिनको एउटा ठूलो व्यापार छ । यदि पैसा छर्न सके पैसा डबल्याउन कठिन छैन । सायद, अमेरिकाको न्युयोर्क सहरभित्र पनि यसरी दिन दुई गुना, रात चारगुना भाउवृद्धि विरलै होला । काठमाडौंमा अघिल्लो वर्ष एघार लाख आनामा खरिद गरेको जग्गाको मूल्य यो वर्ष तीस लाख पुगेपछि व्यापार र लगानीकर्तालाई त्यो भन्दा बढी अरु के चाहियो ?

त्यसैले काठमाडौंमा फर्सी झुण्डिएर हल्लिने ५० फिटको अग्लो भीर जग्गाको मूल्य पनि सानो छैन । पाँच वर्षपूर्व म बसेको टोखा नगरपालिकाको धापासी भन्‍ने ठाउँ मलाई स्वर्ग जस्तो लागेको थियो । वरिपरि वन थियो । हराभरा शीतल हावा, झन् फागुन चैतमा रङ-रङका फूल रुखहरूमा फुल्थे । अनि परदेशिएर दक्षिण भारत र सम्भवतः थाइल्यान्डसम्म पुगेका कोइली चरीहरू यसबेला घर सम्झेर फर्किन्थे । वरिपरिको वातावरणलाई मनोरम बनाउँथे ।

म विगत पाँच वर्षदेखि प्रत्येक वर्षजसो यो समयको पर्खाइमा हुन्थेँ । तर यस वर्ष जसै रुख काटेर डाँडाभाँटा जति नाङ्गो भयो र तत्कालै पहिरो जान पनि थाल्यो । त्यसपछि भने मैले यस वर्ष ती कोइलीको स्वर सुनेको छैन । सायद, यहाँको बेहाल देखेर होला, तिनले आफ्नो वासस्थान यस वर्ष अन्यत्र सारेको हुनुपर्छ । 

यसपटक मैले सुनेँ कि सरकारले बसोबास गर्ने आमजनताको आफ्नो आसपासको वनजंगल, अर्तापर्ता, भीरपाखा, पहरो सबै भोग्‍नेलाई नै दर्ता गर्न दिने नियम बनाएको छ अरे । सायद, मन्त्रिपरिषद्ले निर्वाचनमा मत पाउने उद्देश्यले शासक दलले यस्तो नियम बनाएको हुनुपर्छ । किनकि यस्ता नियम अघिपछि पनि बन्‍ने गरेका हुन् । बेलाबेलामा बन्‍ने यस्ता जग्गा वितरण आयोगहरूले जग्गा बाँड्ने नाममा मनग्य रकम पनि दर्तावालासँग उठाउने गर्थे ।

काठमाडौंमा अब कतै पनि ऐलानी, पर्ती वन बेटेन बाँकी छैन । ती सबै धनी ठूला ठालु व्यापारी र पहुँचवालाहरूको प्लटिङबाट कमाइ खाने भाँडो बनेको छ । गरिबले त्यस्तो दर्ता गर्न पाउने सम्भावना हुँदैन नेपालमा । धनी, चाटुकार र एउटा खुट्टा राजनीतिमा र एउटा खुट्टा पैसा कमाउने धन्दामा हुनेले मात्र त्यस्तो काम दरोसँग गर्न र पैसा कमाउन सक्छन् ।

काठमाडौंको भौगोलिक भविष्य निकै जोखिमपूर्ण अवस्थामा देखिएको छ ।  परम्परागतदेखि बहेका धेरै साना, ठूला नदी पुरिएका छन् । तिनमाथि कतिपय स्थानमा पक्की घर बनेका छन् । आलाकाँचा पहाड खोतलिएका छन् । तिनलाई संरक्षण गर्ने रुख, पात, वन जंगल मासिएका छन् । यसरी प्रकृतिको अस्तित्वमाथि नै चुनौती दिने कार्य भएको छ । 

भनिन्छ, बाह्र वर्षमा खोला फर्किन सक्छ । त्यस्तोमा डाँडाभाँटा बग्न वा भूखस्लन हुन वा पुरिन सक्छ । यस्तो कुनै दिन हुनै सक्दैन भन्‍न सकिन्‍न । तसर्थ अब यो ठाउँ जोखिमपूर्ण देखिएको छ ।

जेलनेल र डण्डा भोग्‍ने बेलामा कार्यकर्ता र आमजनता हुने तर नियुक्ति र पद पाउने बेलामा सन्तान र आफन्त खोज्‍ने  प्रवृत्ति छ ।

म इलामको कुरा गर्दै थिएँ । इलाम अ शब्दले प्रख्यात छ । अलैँची, ओलन, अम्लिसो, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, आलु र अतिथि सत्कार । यसबाहेक अरु पनि सम्भाव्यता खोजी गरेमा पाउन सकिन्छ । यसको विकास गर्न सके यो दार्जीलिङको हाराहारीमा पुग्‍न सक्नेछ ।

यसको विकास गर्नु भनेको स्थानीय आमजनताको आय, रोजगारी र सहर-गाउँको विकास गर्नु हो । यसरी विकास गरे रोजगारीमा वृद्धि हुनेछ । त्यसका लागि स्थानीय जनता नै सक्रिय हुन जरुरी छ । निःस्वार्थ भावले विनाराजनीतिक दाउपेच र विभेद आपसमा एक हुन जरुरी छ । आम जनताको विकास गर्न वा आय आर्जनमा यी आठ किसिमका ‘अ’को उत्पादन र व्यापारमा उत्पादकहरूले सही मुनाफा पाउन र तिनलाई शोषणको शिकार हुन नदिन प्रयत्न गर्न जरुरी छ ।
 
यो अभियानमा राजनीतिक भागबण्डाको संस्कारलाई पटक्कै प्रवेश गर्न दिनुहुन्न । किनकि त्यहाँ संकुचन छ । बृहत् चिन्तन कहिले पनि राखिँदैन । आमराजनीतिज्ञको सोच कस्तो देखिन्छ भने प्रत्येक कुरालाई आफ्नो नियन्त्रमा राख्नैपर्ने । प्रत्येक कुरालाई भोटको नजरबाट हेरिने ।
 
फेरि राजनीतिज्ञहरूमा कुनै पनि कुरा आफूलाई थाहा नभएको भनी भन्‍न र सुन्‍नसम्म नचाहिने प्रवृत्ति हुन्छ । जेलनेल र डण्डा भोग्‍ने बेलामा कार्यकर्ताहरू र आमजनता हुने तर नियुक्ति र पद पाउने बेलामा सन्तान छोरा-छोरी र आफन्त खोज्‍ने तिनमा प्रवृत्ति छ ।

यो आनीबानी धेरैले थाहा नपाएर कष्ट भोगेका छन् । कतिपय विदेशमा हुने नेपाली नेपालमा बसेर केही गरौं भनी फर्किएका छन् । र, प्रयास पनि गरेका छन् । नेताहरूकहाँ नेपालको विविध विकासको योजनाहरू लिएर धाएका छन् ।
 
तिनले ती योजनाहरूको सञ्चालनका निम्ति आफूले रकमको चोखो रकमको लगानी पनि गरेको उदाहरण छ । तर सरकारले भने कार्यक्रम पनि बनाउँछ, संस्था पनि खडा हुन्छ तर तिनै मानिस ती योजनामा समावेश नगरी दूधमा डुबेको झिँगा जस्तो गरी फ्याँकिन्छन् । आफन्त उक्त विषयबारे क, ख, गसम्म थाहा नपाउनेको नियुक्ति भएको दृष्टान्त छन् । जसलाई जुन विषय थाहा हुन्‍न, व्यक्तिगत फाइदा र स्वार्थका निम्ति तिनलाई नै भर्ती गरिन्छ । नेपाल बिग्रिएको मूलकारण पनि यही हो ।

समृद्ध र सुखी नेपालीको नारा भित्ताभित्तामा कोरिए पनि यस्तो लाग्छ, राजधानीमा बस्ने हामी आममानिस वास्तवमा नर्क भोग्‍न नै आएका हौँ ।

काठमाडौँको उदाहरण लिऊँ, यहाँ तरकारीमा सय प्रतिशत भाउ एक हप्तामा बढेकोसम्म देखियो । दुई हप्तापूर्व ३०-३५ रुपैयाँ किलोको मुला ८० रुपैयाँ पुगेको छ । १५० रुपैयाँ किलोको कागती एक डेढ हप्तामा ३ सय रुपैयाँ पुगेको छ । सबैको भाउ करिब करिब यस्तै हो । यस्तो शतप्रतिशत भाउ वृद्धि संसारमा विरलै होला । यस्तो व्यापार गर्न पाउने छुट व्यापारीका निम्ति यो स्वर्ग हो । वास्तवमा त्यही अनुपातको भाउ उत्पादकले शरीर सुकाएर रोग, भोकको पर्वाह नगरी काम गर्नेले कहिले पनि थाहा पाउँदैन । यो वृद्धिको रकम नाफाखोर दलालहरूको पोल्टासम्म जाने हो ।

यहाँ कुनै कुरामा नियन्त्रण छैन । जसले जे गरे पनि हुन्छ । आम जनताको हैसियत पनि खाद्यवस्तुको भाउ अचाक्ली बढेमा बरु पेट कस्छन्, तर बोल्दैनन् । खर्चिलो र महँगो स्कुल कलेजमा छोराछोरी पढाएर तिनका सञ्चालकको व्यापारलाई यिनै आमजनताले चलाइदिएकै छन् ।

महँगा अस्पताललाई पनि पेट कसेर भए पनि धानिदिएकै छन् । बाँचुन्जेल पद र पैसामा लिप्त भएर आर्यघाटसम्म पुग्दा पनि जनताको भीड लागेर सजल नेत्रका साथ अन्तिम बिदाइको आकांक्षा राख्‍ने नेतालाई पटक पटक भनेको बेला भोट दिएर खुसी पारेकै छन् । समृद्ध र सुखी नेपालीको नारा भित्ता भित्तामा कोरिए पनि यस्तो लाग्छ, राजधानीमा बस्ने हामी आममानिस वास्तवमा नर्क भोग्‍न नै आएका हौँ ।


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
x