विचार

हाम्रो भोट पाएर लुट्‍न जाने ?

सुशीला कार्की |
कात्तिक २४, २०७७ १६:२४ बजे

अन्ततः अमेरिकामा डेमोक्र्याट जो बाइडन ४६औँ राष्ट्रपति बन्‍न सफल भएसँगै डोनाल्ड ट्रम्पको हार भएको छ । अमेरिकाको राष्ट्रपतीय चुनाव पध्दति अत्यधिक रूपमा कठिन देखिन्छ । सामान्य मानिसलाई यो निर्वाचन पध्दति बुझ्‍न निक्कै अपठ्यारो पर्न सक्नेछ । त्यहाँ राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउने बेलासम्म पनि कुन दलका उम्मेदवारले सफलता हासिल गर्नेछन् भनी अनुमान गर्न कठिन हुन्छ । 

अमेरिकामा बसोवास गर्ने नेपालीहरूको नेपालमा आऊजाऊ र भेटघाट गर्ने क्रममा तिनको अनुमान र भनाइ थियो कि डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कालमा कुनै सर्तमा पनि सफलता हासिल गर्नेछन् । यद्यपि ट्रम्पले पाएको मत पनि साधारण होइन । यसरी मूल्यांकन गर्दा उनको विचार र कार्यशैलीबाट अमेरिकी जनता प्रभावित भएको पनि देखिन्छ । उनले करको अधिक भार जनतामाथि नपार्ने सिध्दान्तलाई अमेरिकीले रुचाएका थिए । 


उनी मूलतः अमेरिका र अमेरिकीहरूका निम्ति मात्र राज्यको सुविधा स्थापित गर्ने पक्षमा थिए । उनी आप्रवासी अमेरिकीलाई मुलुकबाट कुनै सर्तमा पनि हटाउने पक्षमा देखिए, केहीलाई निष्काशित गरे । जसको पक्षमा अमेरिकीहरू उनीसँग सहमत थिए । तर फेरि उनको आलोचना गर्ने पनि कम छैनन् । 

अमेरिका यस्तो मुलुक हो, जहाँ प्रजातन्त्र र मौलिक अधिकार स्थापनाका निम्ति ‘विल अफ राइट’को लागू भयो । त्यस्तै, त्यहाँको संविधान सन् १७८७ मा मस्यौदा कोर्न सुरु गरी सन् १७८९ मा लागू भएको हो । 

अमेरिकामा प्रजातन्त्र स्थापनाको इतिहास झन्डै तीन सय वर्ष पुगिसकेको छ । त्यो मुलुकले एउटा शक्तिशाली राष्ट्रका रूपमा आफूलाई स्थापित गरी संसारमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । त्यो यस्तो राष्ट्र हो, जसको अभ्युदय नै युरोप महादेशका आप्रवासी, ल्याटिन अमेरिका, अफ्रिकाका केही र सानो संख्यामा एसिया समेतका आप्रवासी बसोवासमा राष्ट्र खडा भएको हो । 

अमेरिकामा आप्रवासी तिरस्कारको चलन थिएन । बरु स्वागत गरिन्थ्यो । अमेरिकामा मूलबासी भनेका ‘रेड इन्डियन’हरू हुन् । अमेरिकामा आप्रवासीहरू कसरी आएका हुन् ? कहाँ–कहाँबाट आएका हुन् ? र त्यहाँ आएर बसोवास गरेका हुन्, त्यसको प्रमाण न्युयोर्कको ‘स्ट्याच्यु अफ लिबर्टी’ नजिककै म्युजियममा खडा भएको स्तम्भमा देखिन्छ । परापूर्वदेखि अमेरिका प्रवेश गर्ने पूर्वपुर्खाहरूको नाम र तिनका मुलुक उल्लेख छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा उनले लिएका विदेश नीति हेर्दै भनिन्छ । साउदी अरबका शासक जसको शासनशैली गैरप्रजातान्त्रिक छ, तिनको उनले प्रशंसा गरेको देखियो । जबकि त्यस मुलुकबाट पलायन हुँदै अमेरिकामा बसोबास गरेका पत्रकार खसोगीको हत्या टर्कीमा रहेको साउदी अरबको राजदूतावासमा जिउँदैमा काटेर टुक्रा पारी निर्मतासाथ हत्या गरिएको पुष्टि भएको छ । उक्त हिंसात्मक कार्यको निन्दा संसारले गरेका थिए । साउदी शासक वा तिनका मिलोमतोका पदाधिकारीहरूको मानवता विरोधी अपराध थियो । जसबारे ट्रम्पले कुनै आलोचनासम्म नगरी तिनै तानाशाहलाई असल मित्र मानी प्रशंसा गरेका थिए । त्यसपछि उनको सम्बन्ध उत्तर कोरियाका शासक किम जोङ उनसँग देखियो । जबकि किम जोङ उन सनकी शासक हुन्, जसले आफ्ना नाताका फूपु फूपाजु, काका, मामा, दाजु र उच्च पदाधिकारीको निर्ममता साथ हत्या गर्न बाँकी राखेनन् ।

डोनाल्ड ट्रम्पले चीनको हकमा जहिले पनि कोभिड–१९ उत्पत्ति गर्ने राष्ट्रका रूपमा सम्बोधन गरे । जसले चीनका राष्ट्रपति मात्र होइन कि चिनियाँ जनता पनि खुसी भएनन् । अमेरिकी सरकारको आजसम्मको व्यवहार जे-जस्तो देखिए पनि मूल नीति चाहिँ प्रजातन्त्र स्थापनामा सहयोग गर्ने, निरंकुश तानाशाही सरकारको विरोध गर्दै आएको छ । मानवअधिकार बहालीका निम्ति संसारभरि पहल गरेको देखिन्छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब मुलुकका केही तानाशाही सरकारको प्रसंशा मात्र गरेनन्, तिनको कामलाई उचित ठहर्‍याएको पनि देखियो । उनले पेरिस सम्मेलनमा सहभागिता दिन र त्यसलाई मान्यता दिन इन्कार गरे ।

यहाँ चुनावमा टिकट पाउन ठूलो रकम दलको नेतालाई भेटी चढाउनुपर्‍यो । अनि आफ्ना पछाडि लाग्ने दलबल–फौजलाई दिनदिनै भत्ता, मासु, रक्सी खान दिन सक्नुपर्‍यो । 

उनले विश्व स्वास्थ्य संगठनलाई चीनपरस्त दोषारोपण गरी अमेरिकी सहयोग हठात रोकिदिए । मानव अधिकार संरक्षणको नाममा दिने सहायता तथा अविकसित राष्ट्रलाई दिँदै आएको सहयोगमा कटौती गर्ने उनको लक्ष्य रह्यो । स्वयं उनकै मुलुकभित्र फैलिएको कोभिड-१९ को वैज्ञानिक उपचारको पध्दतिको सन्दर्भमा जहिले पनि उनको नकारात्मक अवधारणा रहेको छ । उनले कोभिड-१९ महामारी गम्भीरता साथले कहिल्यै पनि हेरेनन् । उनले मास्कको उपयोगलाई इन्कार गरे । निर्वाचन प्रचारका क्रममा उनले भीड जम्मा गरी भाषण गरेको हँुदा स्वयं कोभिडबाट प्रभावित पनि भए ।

लकडाउन हुन दिएनन् र सदैव सहर-नगरलाई व्यापार सञ्चालन खुला राखे । जबकि लकडाउन र मास्क संसारभरिका राष्ट्रले प्रयोग गर्छन् । यही कारण उनको सरुवा रोगसम्बन्धी विशेषज्ञ डा. एन्थोनी इस्टफेन फाउसीसँग ठूलो मतभेद रह्यो । निर्वाचनमा सफलता पाएलगत्तै पहिलो योजना फौसीलाई पदच्यूत गर्ने उनले घोषणा गरेका थिए । उपचारका सन्दर्भमा उनको यस किसिमको व्यवहारबाट उनकै मुलुकका अन्दाजी कोभिड–१९ बाट एक करोड अमेरिकी प्रभावित भए । उनको विचारसँग प्रभावित नागरिकले उनलाई मतदान गरे तापनि उनको अमेरिकामा नेतृत्वदायी भूमिका कायम रहेसम्म अमेरिकाले युरोपीय मुलुक र संसारका अन्य प्रजातान्त्रिक मुलुकको संरक्षण र सहयोगबाट हात झिक्ने हो कि भन्‍ने विषयमा धेरै मुलुकले आशंका गरेका थिए । 

ट्रम्प एउटा व्यापारी घरानाका सन्तान हुन् । उनी आजन्म अनुभवी व्यापारी हुन् । उनमा राजनीतिको भन्दा पनि व्यापारको नाफा–घाटाको अथाह ज्ञान थियो । उनी स्पष्टवक्ता पनि हुन् । उनमा कुरा लुकाउने बानी कहिल्यै पनि देखिएन । जे देख्छन्, त्यही खुला रूपमा बोले । 

राजनीति गर्दा राजनीतिज्ञले सतर्कतासाथ विचार आदान-प्रदान गर्ने गर्नुपर्छ । किनकि आलोचकहरूले शब्द-शब्दको मूल्यांकन गर्छन् । ट्रम्पलाई के बोल्दा के फरक पर्छ भन्ने सवालसँग कुनै सरोकार राखेको देखिएन । उनी यस्ता विषयमा सधैँ लापरबाहमै रहे । जबकि बाइडन जीवन्त राजनीति गरेका व्यक्ति हुन् । उनले बोल्दा भावावेश र आवेश कहिल्यै पनि प्रकट गरेनन् । दुई उम्मेदवारको संयुक्त भाषण प्रस्तुतिमा पनि ट्रम्पमा भन्दा कता हो कता बाइडनमा शालीनता देखिएको थियो । उनले चुनाव, मतगन्ती भइरहँदा पनि जनतासँग एउटै कुरा अनुरोध गरिरहे, ‘शान्ति कायम गरौँ, धैर्य राखौँ, नआत्तियौँ, जित निश्चित छ र हाम्रो नै हुनेछ ।’ 

बाइडनको व्यक्तित्व शालीन र भद्र देखियो । उनी मध्यमार्गी पनि हुन् । हुन त, उनलाई अमेरिकामा कार्य सञ्चालन गर्न केही समय कठिनाइ पर्ने जस्तो देखिन्छ । एक त, ट्रम्पले आफ्नो हारको स्वीकार आजका दिनसम्म गरेको पाइँदैन । 

तर उनकै दलबाट नेतृत्व गर्ने पूर्वराष्ट्रपति जर्ज बुसले पनि दोस्रो निर्वाचनमा हारेका थिए । तर उनले हारलाई तत्काल  स्वीकार्दै बिल क्लिन्टनलाई उनले लिखित बधाइपत्र पठाएका थिए । रिपब्लिकन दलका नेताहरूले यो हारलाई स्वीकार्दै हारमा भएको दलीय त्रुटिलाई सच्याउँदै सन् २०२४ को निर्वाचनलाई लिएर लक्ष्य बनाउने र तयारी गर्ने अभिव्यक्ति दिएकोसम्म देखिन्छ । लोकतन्त्रमा शासन गर्दा आफूलाई जिताउने समूहको हितलाई मात्र हेर्न मिल्दैन । अल्पमतको भावनाको पनि कदर गर्न सक्नुपर्ने हुन्छ । ट्रम्प शासनकालमा देखिएको त्रुटि र राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्बन्ध जहाँ चिसिएको छ, त्यहाँ बाइडनले सुधार्नुपर्ने हुन्छ । 

मतगणना गर्दागर्दै हार्ने सम्भावना भयो भने मतपत्र च्यातिन्छ, चपाइन्छ, लुटिन्छ, मतपत्रमा मसी पोखिन्छ । बिजुली बत्ती निभाएर जित्ने उम्मेदवारको मतपत्र गायब गरिन्छ । 

किनकि डेमोक्र्याट दल एउटा उदार अवधारणा भएको दल हो । यसरी मुलुकभित्र ट्रम्प शासनले ल्याएको केही अनुदार कदमलाई सच्याउँदै, ठूलो संख्यामा रहेका अल्पमतका मतदाताहरूको कदर गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा सुधारसाथ साथै राष्ट्रका उन्‍नतिको दायित्व बाइडनको काँधमा अब आएको छ । उनमा हतास देखिँदैन, उनी एक प्रकारले गम्भीर देखिएका छन् । उनले राम्रा सल्लाहकारहरूको सहयोगमा कार्य गरी अमेरिकी आमजनताको भावना जित्न सक्नुपर्छ । ताकि उनको दोस्रो कार्यकाल पनि उनको हातमा नै पर्न सकोस् ।

अमेरिका-नेपालबीच जहिले पनि सौहाद्र सम्बन्ध छ । दुवै असल मित्रराष्ट्र हुन् । धेरै नेपालीहरूको अमेरिकामा बसोबास पनि छ । नेपालको विकासमा अमेरिकाको ठूलो सहयोग रहेको देखिँदै आएको छ । तथापि भनिन्छ, अमेरिकामा भएको यस पटकको निर्वाचन ऐतिहासिक निर्वाचन हो । यस पटकको निर्वाचनमा अमेरिकी जनताको उपस्थिति र सहभागिता यति धेरै सम्भवतः कहिल्यै पनि भएको देखिएको थिएन । यसलाई प्रजातन्त्रका निम्ति ठूलो अभ्यास भएको मान्‍नुपर्छ । 

ट्रम्पले निर्वाचनमा धाँधली भएको भनेपछि त्यहाँको मतगणना गर्ने प्रत्येक राज्यका अधिकृतहरूले तिनको काम–कारबाहीमा शुध्दता देखाउनैका निम्ति बडो सतर्कतासाथ पूर्णतः समय लगाएर पनि मतगणना गरे । कतिपय राज्यमा पनि मतगणना जारी छ । ट्रम्पसँग तागत थियो, उनी जे भए पनि राष्ट्रपति थिए । उनले आफू विजयी हुन ती तागतको दुरुपयोग गर्न पनि सक्ने थिए । तर, उनले चाहेर वा नचाहेर हुने होइन, किनकि अमेरिकी जनता, त्यहाँका अधिकृत कर्मचारी त्यति भ्रष्ट छैनन् । जहाँ नकारात्मक प्रभाव पारेर जितेकालाई हराउने र हारेकालाई जिताउने सोच राखुन् ।

हाम्रो मुलुकमा मतगणना गर्दागर्दै हार्ने सम्भावना भयो भने मत पत्र च्यातिन्छ, चपाइन्छ, लुटिन्छ, मतपत्रमा मसी पोखिन्छ । बिजुली बत्ती निभाएर जित्ने उम्मेदवारको मतपत्र गायब गरिन्छ । अझ भएन भने जित्‍ने उम्मेदवारको प्रतिनिधिलाई खरिद गरी हार्नेको नाममा मत बढी आएको घोषणा गराई विजयी गराउने चलन पनि छ । नेपालमा पैसा नकमाउनेले चुनाव लड्न सक्दैन । किनकि एउटा सांसद बन्‍न ठाउँ हेरी चार-पाँच करोडको जोगाड हुनैपर्छ । पहिले त, टिकट पाउन ठूलो रकम दलको नेतालाई भेटी चढाउनुपर्‍यो । त्यसपछि आफ्ना पछाडि लाग्‍ने दलबल फौजलाई दिनदिनै भत्ता, मासु, रक्सी, खान दिन सक्नुपर्‍यो । त्यो पनि मानिसमा कस्तो चरित्रको निर्माण भएको छ भने पैसाका निम्ति बिहान रुख, दिउँसो सूर्य र राति हलोको चिन्ह बोकेर हिँड्छन् ।

अर्कातिर निर्वाचनमा उम्मेदवारले प्रचार-प्रसारका निम्ति गाडी भाडामा लिनैपर्‍यो, गाडीमा तेल हाल्नैपर्‍यो । अब त आमजनताले पनि निर्वाचनमा के बुझेका छन् भने नेताले चुनाव जितेपछि कुर्सीमा बसेर ब्रह्मलुट गर्न जाने हो । त्यसले हाम्रो भोट पाएर लुट्न जाने, हामी चाहिँ किन सित्तैमा त्यसलाई भोट दिने ? त्यसैले प्रत्येक पाँच वर्षमा मतदाताले निर्वाचनको बखत दसैँ पर्व आएको सम्झन्छन् । अनि मतको मोलतोल हुने गर्छ । त्यस्तै अर्को षड्यन्त्र पनि हुन सक्छ, आफ्नै दलका मित्र मिलेर दलभित्रैको सदस्यलाई चुनाव हराउने दाउपेच पनि चल्न सक्छ । यो कस्तो लोकतन्त्र हो ?
 


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
ad
x