विचार

राजनीतिक दलहरूलाई अन्तिम अनुरोध !

‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’

डा. ठाकुरमोहन श्रेष्ठ |
साउन २, २०७९ सोमबार ६:५४ बजे

आधुनिक कालखण्डका रूपमा राजनीतिमा पछिल्लो सात दशकको व्याख्या र विवेचना हुँदै आएको छ । यस बीचमा नेपाली जनताले जहानियाँ राणाशासन, संक्रमणकालीन प्रजातान्त्रिक व्यवस्था, पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रात्मक बहुदलीय प्रजातान्त्रिक व्यवस्था र पछिल्लो आयातित गणतन्त्रात्मकसहित पाँचवटा शासन व्यवस्थाको स्वाद लिइसकेका छन् । 

राणाकालीन संवैधानिक व्यवस्था वा संविधान २००४ सालको अन्तरिम संविधानदेखि २०७२ को नेपालको गणतन्त्रात्मक संविधानसमेत गरी पछिल्ला सात दशकमा आठवटा संवैधानिक व्यवस्थाका अभ्यास भए । निकट भविष्यमा थप आठौं÷नवौं संवैधानिक प्रावधान तयारी हुँदै गरेका सुनिन्छ । यो अवधिले संविधान फेरेर मात्र मुलुकको मुहार फेर्न सकिँदोरहेनछ भन्ने प्रमाणित भयो ।


अब प्रश्न उठछ, त्यति छोटो अवधिमा यति धेरै राजनीतिक प्रणाली र संवैधानिक व्यवस्थाको प्रयोग हाम्रो नियति हो वा वैदेशिक प्रभावको दुष्परिणाम, यसको यकिन गरी आवश्यक कदम उठाउने समय आइसकेको छ ।

वैदिक सनातन दृष्टिकोणको व्याख्या गर्दा वर्तमानमा नेपाली जनताले भोगिरहेको आत्मघाती पीडा हाम्रो नियति नभई नेपाली जनताको अल्पज्ञान र वैदेशिक प्रभावकै दुष्परिणाम हो । यहाँ प्रश्न उठ्छ, केही सीमित धुन्धुकारी विदेशी दलालका लागि नेपाली जनताले कहिलेसम्म आफ्नो आत्मसम्मान र पीडालाई तिलाञ्जली दिइरहने ? अब यिनका विरुद्ध एकजुट हुने समय आएन र ? 

विश्वमा विकसित अन्यौल र शक्ति राष्ट्रहरूको प्रतिस्पर्धामा कूटनीतिक क्षमता प्रदर्शन गर्न नसक्ने, व्यक्तिगत आर्थिक एवं राजनीतिक लाभका लागि समेत पछि नपर्ने राजनीतिक नेतृत्वविरुद्ध हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अभिव्यक्त सचेत र सजग सहरी जनताको अभिमतलाई सांकेतिक विद्रोहको अर्थमा बुझ्ने कि नबुझ्ने ? स्थानीय तह निर्वाचनको परिणामलाई त्यसरी नबुझ्ने हो भने संसदीय निर्वाचनको परिणाम विस्फोटक हुने देखिन्छ ।

विगत सरकार एवं राजनीतिक दलका नेताहरू दृश्य एवं अदृश्य कुनै पनि सजीव वा निर्जीव वस्तु वा प्राणीलाई व्यक्तिगत हितका लागि विदेशीका पोल्टामा सुम्पन आतुर रहे । राज्यको ढुकुटीको दुरुपयोग एवं प्राकृतिक साधान स्रोतको अवैध दोहन तथा मुलुकका नदीनाला, डाँडाकाँडा र सांस्कृतिक धरोहरसमेत मासेर विदेशीको सेवामा लम्पसार परेको परिणाम स्वरूप नेपाली जनतामा व्याप्त वितृष्णा स्थानीय तह निर्वाचनमा अभिमतमार्फत व्यक्त भएको भन्ने बुझ्ने कि नबुझ्ने ? 

माथि उल्लिखित कूटनीतिक क्षमताको कुरा गर्दा मित्र राष्ट्रका सरकार प्रमुख तथा  प्रमुख व्यक्तित्वले सामाजिक एवं धार्मिक सद्भाव देखाइरहने तर राजधानी काठमाडौं आएर नेपाली जनतालाई आश्वस्त पार्न नचाहने अवस्था छ । काठमाडौं आइहाले पनि सरकारी तहभन्दा पार्टीगत नेताहरूको तहमा मात्रै सम्बन्ध विकास गर्ने प्रवृत्तिले विदेशी मित्रहरूले समेत नेपालका नेतालाई लेन्डुप मार्गमा डोर्‍याउन चाहेको स्पष्ट हुँदैन र ?

मुलुकमा विकसित यस्तो पृष्ठभूमिमा अर्थात् व्यक्तिगत तहमा सम्बन्ध विकास गर्ने वैदेशिक प्रवृत्तिले राष्ट्रवादी स्वतन्त्र समूहहरूको नाममा नेपाली समाजमा परिचित एवं स्वतन्त्र सेलिब्रेटीको जमातलाई उपयोग गर्दै भावनात्मक आवेगमा उन्मुक्त युवा जमातलाई भविष्यमा लेन्डुप मार्गमा डोर्‍याउने सम्भावनालाई नकार्न सकिँदैन । 

केही समययता भारतमा धार्मिक द्वन्द्व÷अतिवादको व्यापक बहस भइरहेको र भारतीय समाज धार्मिक पृष्ठभूमिमै सरकार निर्माण हुने क्रम चलिरहँदा नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा धर्म निरपेक्षताको खारेजी र संघीयताबारे पुनरावलोकन हुनुपर्ने मुद्दा लिखित रूपमा दर्ता भई व्यापक चर्चा हुनुलाई संयोग मात्रै मान्ने कि कुन हिसाबमा बुझ्ने ? नेपालमा धर्म निरपेक्षता र संघीयता असफल भइसकेको अर्थमा किन नबुझ्ने ? एकथरिले अबको दशक धार्मिक द्वन्द्वको दशक हुने र त्यसको प्रारम्भ भारतबाटै हुने आसयसमेत अभिव्यक्ति गरेको र त्यसका बाछिटाबाट नेपालसमेत अछुतो नरहने आशंका गरेका कुराका गाम्भीर्यता त्यत्तिकै महत्वपूर्ण छ । 

सत्तामा पुगेपछि जे पनि छूट छ भन्ने मानसिकताले नेपाली राजनीतिलाई मात्र होइन दललाई नै स्खलित बनाइरहेको छ । ठूला भनिएका सबै दल र तिनका नेतामा यो भावना व्याप्त रहेको व्यवहारले नै पुष्टि गरेको छ । भ्रष्टाचार एवं न्यायिक विचलनले नेपाली समाज आक्रान्त छ । स्मरण रहोस् यी र यस्तै सोचले श्रीलंका टाट पल्टेको र श्रीलंकाका जनताले त्यस्ता प्रवृत्तिविरुद्ध क्रान्तिको ज्वाला दन्काएका छन् ।

नेपाली राजनीतिमा आफूलाई ‘बा’, ‘दाइ’ र ‘कमरेड’ भनाउँदाहरूलाई पनि नेपाली जनताले व्यभिचारी शासक होइन, सदाचारी सेवक बन्न अभिमत प्रकट गरेका छन् । जनमतको उपेक्षा गर्दा श्रीलंकाली जनताले दन्काएको विद्रोहको ज्वाला तिनीहरूको राजनीतिक अस्तित्वलाई भष्म गरे पनि मुलुकबाट भाग्न सफल हुँदा भौतिक अस्तित्व कायम राख्न सफल देखिन्छ । हाम्रो जस्तो भूपरिवेष्ठित मुलुक, आत्मकेन्द्रित समाजमा दलाल नेतृत्व, नेता र सम्बद्ध व्यक्तिविशेषले यस्तो उन्मुक्तिको अवसर प्राप्त गर्न सक्नु होला वा नहोला, त्यसको कल्पना मात्र गर्न सकिन्छ ।

नेपाल तीन ढुंगाबीचको तरूल बनाइएको छ । नेपालको मात्र होइन एसियाकै भूराजनीतिक मौसम फेरबदल भइरहेको छ । कूटनीतिमा वैचारिक स्खलन र पराजय हुनु, विदेशी शक्तिको सामरिक राडारको फोकसमा पर्नु नेपाल र नेपालीको हकहितमा छैन । मूलतः नेपालमा राज्यका सबै प्रमुख अंगको नुर गिराइएको छ । नेपाललाई बाह्य शक्तिको खेल मैदानका रूपमा विकसित गरी कम्बोडिया, फिजी, युक्रेन वा सिक्किम बनाउने खेलको आधारशिला बनाउने रणनीतिक षड्यन्त्रको चेपुवामा रहेको महसुस हुन्छ । 

नेपाल भूमण्डलीय तथा क्षेत्रीय सामरिक लक्ष्य र परिवेशमा आन्तरिक तथा वैदेशिक रूपमा निर्णायक समयको अवस्थामा आइपुगेको छ । विगतबाट पाठ सिकेर बाह्य हस्तक्षेपको चक्रव्यूहबाट मुलुकलाई उम्काउनु आजको आवश्यकता र बाध्यता हो । 

श्रीलंका र भारत वर्षसँग सम्बद्ध रामायण र महाभारतकै कुरा गर्दा केही महत्वपूर्ण अंश उल्लेख गर्नुपर्ने हुन्छ । महाबलीका नामले परिचित रावणले असहाय बनेर एक्लै प्राण गुमाउनु पर्‍यो । राजा दशरथले चार पुत्र हुँदाहुँदै पुत्र वियोगकै कारण प्राण त्याग्नु पर्‍यो । सीता अपहरणमा पर्दा पति राम सहारा बन्न सकेनन् । 

द्रौपदीका पाँच–पाँचवटा महान् योद्धा पतिहरू भए पनि नियतिका अगाडि तिनै पतिका सामुन्ने निर्वस्त्र हुनु पर्दा कसैले पनि रक्षा गर्न सकेनन् । सबै युद्धकलामा निपूण महान् योद्धा अभिमन्यू अर्जुनका सुपुत्र तथा भगवान् श्रीकृष्णका भाञ्जा थिए, तर समयको नियतिले चक्रव्यूह तोड्न नसक्दा असमयमै बीभत्स हत्या भयो । 

तसर्थ, हे नेपाली राजनीतिका दुर्योधन दुःशासनहरू हो, श्रीकृष्णका भाइ शिशुपालले जस्तै तिमीहरूले एक सस अक्षम्य पाप गरिसकेका छौ । अब अन्तिममा मुलुकको अस्मितालाई नै दाउमा लगाउने काम नगरौं । अन्यथा श्रीकृष्णले आफ्नो भाइ शिशुपालको टाउको छिनाएजस्तै  श्रीलंकाका जनताले प्रदर्शन गरेको नियति तिमीहरूले भोग्नु नपरोस् भन्ने सदाशयता व्यक्त गर्न चहान्छु । 

विगत सात दशकयता आधा दर्जनभन्दा बढी राजनीतिक शासन प्रणाली र संवैधानिक प्रावधानहरूको प्रयोगशालाका रूपमा उपयोग हुँदा नेपाली भूमिमा पटकपटक अभिव्यक्त जनमतले न जनतालाई सुशासन दिन सक्यो न त राष्ट्र, राष्ट्रियता र सांस्कृतिक धरोहरहरूको संरक्षण र सवद्र्धन नै गर्न सक्यो ।  

वैदेशिक प्रभाव र निर्देशनमा व्यक्तिगत स्वार्थका लागि भए÷गरेका यस्ता राष्ट्रघाती प्रयोग र परीक्षणले मुलुकको राजनीतिक एवं कूटनीतिक क्षमतालाई धुलिसात् पारेका छन् । मुलुकको शासन प्रणाली नै खण्डीकरण हुँदै आएको छ । साथै आफ्नो विरासत मास्दै वैदेशिक सिको गर्दै जाँदा कालान्तरमा मुलुकको अस्मितामाथि नै आँच आउन सक्छ भन्ने विषयमा राष्ट्रका लुटेरा धृतराष्ट्रले बुझ्न नसक्दा राजनीतिक दलहरूको विश्वसनीयता शून्यमा झरेको समेत प्रमुख नेतृत्वले पत्तो पाएन । मतियार बने इतिहासले मूल्यांकन गर्नेछ ।

अझै पनि समय छ, वैदेशिक चलखेलका मोहरा र लुटेरा धृतराष्ट्रलाई नेपाली जनताले समयमै कज्याउन र नकारात्मक सोच भएका तिनका सन्ततिलाई समेत नंग्याएर समाजमा बहिष्कार गर्ने एवं नेपाल बनाउन र नेपाली बचाउने वातावरण निर्माण गर्न सम्पूर्ण तह र तप्काका नेपाली जनतालाई एकजुट हुन हामी आग्रह गर्दछौं । समयमै सचेत र सजग भएर एकजुट हुनसके मुलुकलाई डुब्नबाट जोगाउन सकिनेछ । यहाँनेर राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेलाई स्मरण गर्न चाहन्छु, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।’

श्रेष्ठका यसअघिका लेखहरू


Author

डा. ठाकुरमोहन श्रेष्ठ

श्रेष्ठ नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक तथा सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन् ।


थप समाचार
x