विचार

संवैधानिक र कूटनीतिक विश्वसनीयता संकटमा

डा. ठाकुरमोहन श्रेष्ठ |
असार १६, २०७८ बुधबार ९:११ बजे

राष्ट्रपति र प्रधानमन्त्रीका कारण मुलुकको संवैधानिक र कूटनीतिक विश्वसनीयता संकटमा परेको छ । पछिल्लो ६ महिनायता बाह्य मुलुकले नेपाल सरकारप्रति देखाएको व्यवहारले यसलाई पुष्टि गरेको छ । मूल्य-मान्यताको राजनीति, कुशल राजनेता, सन्तुलित संविधान, सर्वमान्य राष्ट्रिय मूलनीतिको अभावका कारण मुलुकको कूटनीतिक छविमा दाग लाग्यो । यसले गर्दा मुलुकमा नयाँ द्वन्द्व उत्पन्‍न हुने खतरा बढ्दो छ । भएका त्रुटि र कमी-कमजोरी सुधार्ने साहस, क्षमता र प्रयास भएन भने भविष्यका सम्भावना र योजनासमेत कामयाबी हुने छैनन् ।

कुनै पनि मुलुकको कथित लोकतान्त्रिक सरकारले निर्माण गरेको संविधान, नीति, नियम र आफ्ना नागरिक तथा सार्वभौमिकता र अखण्डताविरुद्ध यत्तिको ज्यादती र गैरजिम्मेवारी यसअघि कहिल्यै प्रकट भएका थिएनन् । सरकारका यस्ता हर्कतका पछाडि सामान्य दृष्टिमा त सत्ता लम्ब्याउने स्वार्थ (सत्ता स्वार्थ) मात्रै देखिन्छ ।


तर आफू सत्तामा नरहने अवस्थामा सरकारका यस्ता दुष्प्रयासले मुलुकमा निम्त्याउन सक्ने संवैधानिक एवं कूटनीतिक संकटप्रति यो सरकार जानीजानी मौन छ ? वा अन्य केही कूटनीतिक खेल छ ? यो त आगामी दिनमा मुलुक र नागरिकले भोग्ने कष्टबाट अनुमान लगाउन सकिएला ?

राजनीतिक दलका लागि सत्ता भनेको विषय जनहितमा गरिएका कार्यको आवधिक मूल्यांकनका आधारमा आउने र जाने नियमित राजनीतिक प्रक्रिया हो । आफ्नो सत्ता (सरकार) टिकाइराख्‍न संसद्‌बाटै सार्वजनिक रूपमा कूटनीतिक मर्यादाको घोर उल्लंघन (सिंहमेव जयते भन्दै भारतको विरोध) गर्नेदेखि मुलुकको भौगोलिक सीमासमेत हेरफेर र दुरुपयोग गरी, महाभारतकालीन शकुनि चाललाई समेत माथ गरेको देखिन्छ ।

यो सरकारले सम्पूर्ण कूटनीतिक मर्यादाको घोर उल्लघंन गर्दै तिनै भारतीयसँग मध्यरातमा बालुवाटारको शयन कक्षभित्रै लडीबुडी खेल्नसमेत पछि परेन । त्यसपछिका सम्पूर्ण राजनीतिक, संवैधानिक एवं कूटनीतिक क्रियाकलापबाट निर्देशित र परिचालित भएको आम जनमानसले प्रत्यक्ष अनुभव गर्नुले, आन्तरिक रूपमा सम्पूर्ण संवैधानिक मर्यादाको चीरहरण गर्दै कूटनीतिक लज्जाको पराकाष्ठा नाघिसकेको प्रतीत हुन्छ । 

सरकारका यस्ता गैरकूटनीतिक क्रियाकलापमा अंकुश लगाई संवैधानिक प्रावधान र प्रणालीको रक्षा गर्नुपर्ने गहन दायित्व बोकेको राष्ट्रपतीय संस्थाले पनि आफ्नो जिम्मेवारी र भूमिका छोडेर, प्रधानमन्त्रीको खोपीभित्रको देवताको भूमिका निभाउँदा उक्त संस्थाकै गरिमा धुलीसात् भएको छ ।

यस्तै गुटगत र झुटगत गतिविधिमै संलग्न रही संस्थागत मर्यादा उल्लंघन गरेकाले अन्तर्राष्ट्रिय समुदायले समेत राष्ट्रपतिलाई कूटनीतिक मर्यादामा राख्‍न छाडेको छ । कोरोना महामारीका कारण समस्त विश्वमा भ्याक्सिन राजनीति उच्च स्थानमा रहेको देखिँदा देखिँदै वर्तमान सरकारले विगत तीन वर्षमा छ पटक स्वास्थ्यमन्त्री फेरेर खोप भित्र्याउन होइन, कमिसन कुम्ल्याउने होडबाजी छौं भन्‍ने अनुभूति नेपालीलाई मात्र होइन विश्व जगत्लाई नै दिइसकेको थियो ।

भानुभक्त ढकालले त ईश्वर पोखरेलको छत्रछायामा ओम्नीको छाता ओडेर कमिसन मात्र कुम्ल्याएनन्, गुणस्तरहीन स्वास्थ्य सामग्री पनि भित्र्याएको सबैले देखेजानेकै हो । त्यसपछि हृदयेश त्रिपाठीले कहिले रसियन स्पुस्तनिक कहिले चिनियाँ भेरोसिल भन्दै कमिसनको जोखना हेर्दाहेर्दै अन्त्यमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारतर्फ भ्रष्टाचारको सुई घुमाएर पदमुक्त भए ।

यहीकारण अन्तर्राष्ट्रिय जगत्ले कूटनीतिक व्यवहार गर्न छाडेपछि राष्ट्रपति विद्यादेवी भण्डारी प्रयोग गरियो । राष्ट्रपतिमार्फत अमेरिका, भारत, चीन, र रुसलगायतका राष्ट्रप्रमुखसँग गरिएको एक महिना पुग्दा पनि कूटनीतिक पत्राचारको सामान्य जवाफसमेत प्राप्त भएको छैन । अन्तर्राष्ट्रिय जगतमा हाम्रो राष्ट्रपति संस्था र प्रधानमन्त्रीको कूटनीतिक विश्वसनीयता गुमाइसकेकै हो त ?

मुलुकभित्र र बाहिर सम्पूर्णरूपमा संंवैधानिक एवं कूटनीतिक रूपमा विफल भई एक्लिँदै गइरहेको वर्तमान राज्यसंयन्त्रले अझै पनि सत्ता जोगाउन बजेटमै नीतिगत व्यवस्था गरी चुरोको दोहन गरी तराई-मधेसलाई मरुभूमीकरण गरिदिनसमेत बिन्ती बिसाएको छ ।

अर्को त, संसद् छल्दै नागरिकता वितरणको अध्यादेशको त्यही संकेत के हो ? नांगै नाच्नुभन्दा कछाड वा लगौटी भए पनि लगाएर नाच्‍नुपर्‍यो भनी आदेश दिने सर्वोच्च अदालतलाई समेत प्रधानमन्त्री र राष्ट्रपतिले लिखित जवाफका माध्ममबाटै धम्क्याउन छाडेका छैनन् ।

मुलुकभित्र मात्र होइन, सरकारले मुलुकबाहिरका गतिविधिमा समेत असफलता व्यहोरिरहेको छ । जुन २०२० को पहिलो हप्तामा इजरायल र प्यालेस्टिनबीचको संघर्षमा नेपाल सरकारले प्रकाशित गरेको असन्तुलित विज्ञप्तिप्रति इजरायल सरकारले असहमति जनाएको विषय कूटनीतिक विषयका जानकारले बताइरहेका छन् । 

छिमेकी मित्रराष्ट्र भारतकै कुरा गरौँ, वर्षौंअघि आफैँले गठन गरेको नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनसमेत बुझ्न मानिरहेको छैन । तर नेपालले पश्चिमी सीमावर्ती महाकाली करिडोरमा भारतलाई एकतर्फी निर्माण नगर्न तीन-तीनवटा कूटनीतिक नोट पठाउँदासमेत वास्ता नगरी भारतले निर्माण कार्य जारी राखेको छ ।

पढे-लेखेका धूर्त नै समय र स्थानअनुसार ‘युटर्न’ गर्न माहिर भएपछि के अपेक्षा गर्ने ? 

त्यसैले त कमजोर कूटनीतिक पृष्ठभूमि र भाषागत ज्ञानका कारण पनि स्वाभिमानी नेपालीले शिर निहुर्‍याउनुपरेको छ । राजदूत नियुक्तिका लागि निर्धारित विश्वविद्यालयको न्यूनतम शैक्षिक योग्यतासमेत आवश्यक नपर्ने अध्यादेश जारी गराई दलका हरुवा-चरुवा र ज्यानमारा गोठालालाई वैदेशिक रोजगारीमा पठाउने उद्देश्य राखेपछि मुलुकले कति हण्डर व्यहोर्नुपर्ला ? 

पढे-लेखेका धूर्त नै समय र स्थानअनुसार ‘युटर्न’ गर्न माहिर भएपछि अशिक्षित वा हरुवा वा चरुवाबाट के अपेक्षा गर्ने ? नेपालमा रहँदा एमाले भएर पनि २४ सै घण्टा दौरा-सुरुवालमा ठाटिएर बस्ने युवराज खतिवडा राजदूत भएर अमेरिका छिरेपछि आफ्नो राष्ट्रिय पोसाकलाई सकेट बिर्सिए । पढेलेखेका यस्ता धूर्तहरूले राजदूत पदलाई राष्ट्रिय स्वार्थमा नभई व्यक्तिगत लाभहानिका लागि प्रयोग गर्दा रहेछन भन्‍ने स्पष्ट भएको छ ।

यस्तो कमजोर कूटनीतिक धरातल कायम राखेर कूटनीतिक पदलाई वैदेशिक रोजगारमा परिचित गर्दै जाने हो भने यो सरकारलाई मातृभूमिको बलात्कार गरेको आरोप लगाउनेहरू अन्ततः सत्य साबित हुनेछन् । विगत ३० वर्षदेखि चल्दै आएका सरकारहरूले पनि जनताको मत जित्नुको साटो छलछाम र जालझेल मात्र गरेनन् मुलुक लुटेर व्यक्तिगत र पार्टीगत गुजारा चलाउँदै आएको स्पष्ट छ ।

झन् अहिलेका राष्ट्र तथा सरकारप्रमुखले त पुराना घटना बिर्साउने गरी सत्ता स्वार्थका लागि त्योभन्दा पनि निकृष्टता प्रदर्शन गरे । हालको जस्तो संवैधानिक चीरहरण र कूटनीतिक नालायकी विगतमा यो रूपमा प्रदर्शन भएको थिएन । यसको दुष्परिणाम दीर्घकालीन रूपमा मुलुकले चुकाउनुपर्नेछ । 

राष्ट्रपति र प्रधानमन्त्रीले मुलुकको कूटनीतिक विश्वसनीयतालाई असफलताको अन्तिम किनारमा त  पुर्‍याए नै अदालतलाई धम्क्याएर कार्यपालिका र न्यायपालिकाबीच द्वन्द्व निम्त्याउन खोजेको पनि पछिल्ला पत्राचार र व्यवहारबाट पुष्टि हुन्छ । सत्ता स्वार्थका लागि मातृभूमि बन्धक राख्‍न पछि नपर्ने यस्ता कुपात्रलाई राष्ट्रद्रोहको मुद्दा किन नलगाउने भन्‍ने प्रश्न आम सरोकारको विषय बनेको छ । 

मुलुक नाजुक अवस्थामा छ । संवैधानिक, कूटनीतिक सिद्धान्त र  मूल्यमान्यता संकटमा परेका छन् । यसरी नै संसद्, सरकार र संविधान असफल हुने, दल र नेता अक्षम हुँदै जाने हो भने मुलुकको स्वाभिमान के होला ? केही वर्षयता भारत र चीनको उल्लिखित ‘एग्रेसिभ’ विचारको प्रभाव वा राजनीतिक दलहरूमा परिरहेको छ । भारत र चीनले अवलम्बन गरेको २‍.१ को कूटनीतिमा त्रिपक्षीय सरोकारका विषयवस्तुमा समेत नेपाललाई सहभागी नबनाइएको विगतको कटु अनुभव नेपालसँग छ ।

नेपालको जमिन तथा आकाश छिमेकी भारत र चीनको विरुद्ध प्रयोग नहोस् तथा असंलग्न परराष्ट्र नीतिको आदर्शलाई पालना गर्न सक्नु पनि नेपालको भूराजनीति र कूटनीतिका अवसर र चुनौती हुन् । देशको आन्तरिक राजनीति शून्य अवस्थामा पुर्‍याइएको छ । मुलुकको राष्ट्रियता तथा राष्ट्रिय स्वाधीनतालाई कूटनीतिभन्दा माथि उच्चस्थानमा राख्‍न नसक्ने पात्र र प्रवृत्ति देशहितमा हुन सक्दैन । 
(श्रेष्ठ नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक तथा सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन् ।)


Author

डा. ठाकुरमोहन श्रेष्ठ

श्रेष्ठ नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक तथा सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन् ।


थप समाचार
x