विचार

हात्ती–मानिस हत्या शृंखला : माथिका मान्छे कहिले सुध्रिन्छन् ?

मिलन मनुवा दाहाल |
साउन ८, २०७९ आइतबार १९:३३ बजे

नेपालको पूर्वी तराईमा हात्ती र मानवबीचको द्वन्द्व झन् झन् पेचिलो बन्दै गएको छ । २०७८ असोजमा कोशी टप्पु आरक्ष नजिकै मकुना हात्ती करेन्ट लागेर मरेको अवस्थामा भेटिएको थियो । हात्ती मारिने क्रम जारी छ । गत असार महिनामा मात्र झापामा २ वटा मारिए । डिभिजन वन कार्यालय, झापाकाअनुसार गत दश वर्षमा ५३ जना मानिस र १० वटा हात्ती आपसी द्वन्द्वमा मारिएका छन् । हात्तीको बासस्थान मासिँदै जाँदा यो समस्या वर्षेनि बढ्दो छ । हात्तीको समस्या आम चुनावमा मुद्दा बन्न थालेको छ । 

चुनावी मुद्दामा नयाँ विषय : वन्यजन्तु–मानव द्वन्द्व


२०७४ सालको संसदीय चुनावमा झापा क्षेत्र नंं. १ का उम्मेदवार राम कार्कीले हात्तीको समस्या उठाएका थिए । आसामबाट आउने हात्ती नेपाल प्रवेश गर्ने विन्दु बाहुनडाँगी हो । जुन झापा क्षेत्र नं. १ मा पर्छ । सडक, बिजुली, विद्यालय, खानेपानी जस्ता आधारभूत सुविधाहरू पूर्वी तराईका जिल्लाहरूमा धेरै बनिसकेका छन् । त्यसैले मतदाताको भोट तान्न नयाँ मुद्दाहरूको खोजी गर्नुपर्ने भएको छ । भर्खरै सम्पन्न स्थानीय चुनावमा ठूल्ठूला नारा दिनेभन्दा पनि सम्भव र ससाना विषय उठाउने उम्मेदवारप्रति जनता आकर्षित भए । 

पहाडी क्षेत्रमा बाँदर र बँदेलबाट बालीनाली जोगाउन मुस्किल परेको गुनासो राष्ट्रिय चर्चाको विषय हुन थालेको छ । पश्चिम तराईमा बाघको आक्रमणको घटना बढ्दै गएको छ । चितवन निकुन्ज वरपरको क्षेत्रमा गैंडाको समस्या सदाबहार विषय नै हो । हिमाली क्षेत्रमा ब्वाँसोले चौपाया मारेको घटना पनि यदाकदा सुनिने गरेको छ। 

वन्यजन्तु–मानव द्वन्द्वमा विज्ञहरूको राय छ कि कुनै भौगोलिक स्थानमा त्यहाँको प्राकृतिक अवस्थाले जति वन्यजन्तु धान्न सक्छ, त्यति मात्र वन्यजन्तु पालन गरौं । पूर्वी तराईको हात्तीको सन्दर्भमा यो लागू हँुदैन । हात्ती ठूलो जनावर भएकाले हात्तीको चलखेल गर्ने क्षेत्र निकै ठूलो चाहिन्छ । वैज्ञानिक अध्ययनअनुसार ५ देखि २० वटा संख्यामा रहेका एसियाली हात्तीको झुण्डलाई एक सयदेखि एक हजार वर्ग किलोमिटरको क्षेत्रफल आवश्यक पर्छ । 

पूर्व–पश्चिम फैलिएको चुरे पहाडमुनिको चारकोसे झाडी भनिने जंगल परापूर्वकालदेखि हात्तीको प्राकृतिक वासस्थान हो । त्यसैले हरेक वर्ष भारतको आसाम, पश्चिम बंगालबाट झापा हुँदै कोशीटप्पु र पर्सासम्म हात्तीको बथान ओहोरदोहोर गरिरहन्छ । हात्तीको यही जैविक मार्गमा मानिसको बसोबास र गतिविधि दिन प्रतिदिन बढ्दै जाँदा हात्ती र मान्छेबीच द्वन्द्व चर्किंदै गएको हो । समस्याको जड यही हो । सबैलाई यो कुरा थाहा छ । 

मेचीदेखि महाकालीसम्म चुरे फेदी हुँदै मदन भण्डारी राजमार्ग निर्माणाधीन छ । यस राजमार्गले गर्ने वातावरणीय विनाश र यस राजमार्गको औचित्यबारे छुट्टै चर्चा गरौंला । अहिलेलाई यत्ति भनी राखौं कि यो राजमार्ग नेपाली आवश्यकताभन्दा पनि भारतको नदी जोड परियोजनाको प्रवेशमार्गका रूपमा लोकप्रिय वामपन्थी नेताको नाममा अघि बढाइएको हो । 

हात्ती कानुनी रूपमा संरक्षित प्राणी भएकाले हात्तीलाई मार्न पाइँदैन । बढ्दो जनसंख्या र मानवीय गतिविधिलाई पनि नियन्त्रण गर्न सकिँदैन । त्यसो भए, समाधान के त ?

हात्तीको समस्या सम्बोधनका प्रयास

हात्तीलाई मानव बस्ती तथा खेतबारीमा आउन नदिन विद्युतीय तारबार लगाउने गरिएको छ । बाहुनडाँगी र हल्दीबारीमा यस्तो विद्युतीय तारबार लगाइएको छ । तारबारले सामान्य रूपमा हात्तीलाई आउन रोके पनि विद्युतीय तारबार खासै प्रभावकारी हुन सकेको छैन । विद्युतीय तारबार महँगो लागत पर्ने र मर्मतसम्भार गरिराख्नुपर्ने हुन्छ । झापामा करोडौं रूपैयाँ सरकारी बजेट विद्युतीय तारबारका लागि खर्च भइसकेको छ । हात्ती बुद्धिमान् प्राणी भएकाले सुकेका हाँगाबिँगाले हिर्काएर विद्युतीय तारबार भत्काई हात्तीले आफ्नो बाटो खोल्ने गर्छ । 

२०७४ सालको संसदीय चुनावी भाषणमा राम कार्कीले भनेका थिए— मेची नदीको किनारै किनार हात्ती उक्लन नसक्ने गरी अग्लो तटबन्ध बनाएर त्यसमाथि सडक बनाउनेछु । उनले झापा क्षेत्र नं. १ बाट चुनाव जिते, राजधानीतर्फ लागे, उनको भाषण हावादारी गफ साबित भयो । वास्तवमा हात्तीको ओहोरदोहोर रोक्नलाई मेची नदी किनारमा त्यस्तो संरचना बनाउन असम्भव नभए पनि, पूर्णतः अव्यावहारिक छ । कुनै घर वा भौतिक संरचनाको वरिपरि हात्ती नाघ्न नसक्ने गरी खाल्डो (ट्रेन्च) बनाउन भने सकिन्छ । 

हात्ती विज्ञका रूपमा नेपालमा काम गर्दै आउनु भएका डा. नरेन्द्र प्रधानसँग केही समयअघि यस लेखकले हात्ती समस्याबारे छलफल गरेको थियो । डा. प्रधानको तर्क थियो— विद्युतीय तारबारजस्ता उपायहरू भन्दा पनि हात्ती–मानव द्वन्द्व न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक छ । 

चितवन तथा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरूमा विश्व वन्यजन्तु कोषको सहयोगमा डा. प्रधानले जनचेतनामूलक कार्यक्रम चलाएका छन् । जसबाट मानवीय मृत्यु तथा क्षति कम हुँदै गएको तथ्यांकले देखाउँछ । 

बाहुनडाँगी क्षेत्रमा हात्तीसम्बन्धी गैरसरकारी संस्थाहरू अस्तित्वमा छन् । तर तिनीहरूले जनचेतनामूलक कार्यक्रममा ध्यान दिएका छैनन् ।

हात्तीको आक्रमणबाट मृत्यु भएमा वा कृृषि बालीनाली क्षति भएमा सरकारको तर्फबाट क्षतिपूर्ति दिने व्यवस्था छ । डिभिजन वन कार्यालयमार्फत हात्ती पीडितलाई दिइने क्षतिपूर्तिको प्रक्रिया झन्झटिलो छ । त्यसैले हात्तीले बालीनाली, खासगरी धानबाली नोक्सानी गरे तापनि किसानहरू क्षतिपूर्तिका लागि पहल गर्दैनन् । क्षतिपूर्तिको प्रक्रिया सरलीकृत गर्ने र पालिकाबाट भुक्तानी दिने व्यवस्था भएमा किसानहरू हात्ती लखेट्न जाँदैनन्, हात्ती पनि उत्तेजित भएर मानिसलाई आक्रमण गर्दैन । 

हात्ती संरक्षण पार्कको प्रस्तावना

हात्ती र मानव द्वन्द्व निर्मूल गर्ने त्यस्तो अचूक समाधान कसैसँग छैन । हात्ती र मानवबीच सहअस्तित्व कायम गर्नैपर्छ । हात्ती–मानव द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारबार, जनचेतनामूलक कार्यक्रम र सरल क्षतिपूर्तिको व्यवस्थालाई निरन्तरता दिनुपर्छ । त्यसबाहेक हात्ती संरक्षण पार्कको प्रस्तावना यहाँ अघि सारिएको छ । जुन मैले वन्यजन्तु प्रेमीको नाताले आफ्नो अनुभव र ज्ञानको आधारमा खाका कोरेको छु । 

हात्ती–मानव द्वन्द्व नेपालको मात्र समस्या होइन । हात्ती पाइने अन्य ठाउँहरूमा यो समस्या रहेको छ । तर थाइल्यान्ड, श्रीलंका जस्ता पर्यटनमा अग्रणी देशहरूले हात्तीको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्रका रूपमा हात्ती संरक्षण पार्क सञ्चालन गरेका छन् । 

उत्तरी थाइल्यान्डको चियाङ्गमाई सहर नजिक त्यस्ता हात्ती संरक्षण पार्क रहेका छन् । टिम्बर उद्योगमा मेसिनले कामदार हात्तीहरू विस्थापित भएपछि बेकामे हात्तीहरूलाई संरक्षण पार्कमा राखिएका छन् । यो लेखक सन् २०१७ मा चियाङ्गमाईको हात्ती पार्कमा घुमेको थियो भने, त्यहीँबाट हात्तीको देश लाओससम्म पुगेको थियो । त्यसैगरी, लेखकले गत २०२१ को अन्ततिर श्रीलंकाको क्यान्डी सहरको नजिक पिनावाला भन्ने स्थानमा हात्ती पार्क भ्रमण गरेको थियो । चियाङ्गमाईका हात्ती पार्कहरू निजी व्यवसायीले सञ्चालन गरेका छन् भने श्रीलंकाको पिनावाला हात्ती पार्क सरकारीस्तरमा सञ्चालन गरिएको छ । क्यान्डी सहरबाट करिब ४० किलोमिटर बाहिर रहेको पिनावाला भन्ने सानो गाउँमा दर्जनौं होटल, रिसोर्टहरू खुलेका छन् ।

मेची नदी किनारसँग जोडिएको बाहुनडाँगीको उत्तरपूर्व कुनामा सामुदायिक वन क्षेत्र रहेको छ । सो स्थान लगायत वरपरको क्षेत्रलाई समेटेर हात्ती संरक्षण पार्क बनाउन सकिन्छ । घरपालुवा हात्तीलाई जस्तो जंगली हात्तीलाई व्यवस्थापन गर्न सजिलो छैन । यद्यपि यस पार्कमा भारतबाट नेपाल प्रवेश गर्ने हात्तीको बथानका लागि विश्रामस्थल बनाउन सकिन्छ भने झापामा डुलिहिँडने करिब एक दर्जन रैथाने हात्तीलाई पनि त्यहाँ लगेर व्यवस्थापन गर्न सकिन्छ । यसका लागि संघीय वन तथा वातावरण मन्त्रालयको पहल तथा स्थानीय निकायको साझेदारीमा हात्ती संरक्षण पार्कको योजना कार्यान्वयन गरिनुपर्छ ।


 


 


Author

थप समाचार
x