सार्वजनिक विद्यालय : ब्यारेक बन्ने कि विलय हुने ?
अर्जुन अपवाद
एसईईको नतिजा आयो । राम्रो ग्रेड ल्याउने विद्यार्थीको हाईहाई छ । पढ्न नसक्ने अझ नपढाइएका विद्यार्थीहरू पनि त्यस्तो सारो चिन्तित छैनन् । किनभने पास हुन गारो छैन । सरकार यसै पनि विद्यार्थीको नाम गरेर शिक्षकहरूप्रति उदार छ । उसले शिक्षकहरूलाई मेहनत गरेर पढाउनैपर्ने वातावरण बिस्तारै भत्काउँदै लगेको छ । गणितमा ऐकिक नियम गाह्रो भो । उसले पाठ नै हटाइदियो ।
एसएलसी हुँदासम्म यसको परीक्षाफल प्रकाशन भएपछि शिक्षामा कहाँ समस्या छन् । कुन विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण भए । यसबारे धेरथोर बहस हुन्थ्यो । सरकार जब एसईईमा लाग्यो । नतिजा अंकबाट अक्षरमा सर्यो । धेरै कुराहरू अक्षरजस्तै नबुझिने भए । हामीलाई समानता चाहिएको छ । समानता चाहिने समाजमा अघि पछि किन देखाउने ।
यसरी सरकार सबै विद्यार्थी पास गराउन कम्मर कसेर लागेको छ । शिक्षामा मात्रै हैन संख्या धेरै देखाउन ऊ सबैतिर यस्तै उदार छ । संख्या धेरै भएपछि उसलाई फाइदा छ । गुणस्तरतिर लागे भोलिलाई फाइदा होला । भोलिसम्म पर्खने किन ? आजै फाइदा हुन्छ भने ! आखिर हामी पीपल हुर्काउने ‘प्रतिगामी’ समय छाडेर उत्तीस हुर्काउने ‘अग्रगामी’ समयका मानिस न हौं !
नेपालका लागि सही किसिमको शिक्षा के हुने हो ? जमानामा बुर्जुवा शिक्षाको काम छैन भन्दै क्रान्ति गरेको दल माओवादी सरकारमा छ । अझ त्यही दलका शिक्षामन्त्री छन् । उनीहरूले कल्पना गरेको शिक्षा प्रणाली कस्तो हो भन्ने विषयमा अरुलाई देखाइदिने यो गज्जबको समय थियो होला । योभन्दा २०६४ मा पहिलो दल भएको बेलामा झनै गज्जब हुनपर्ने हो । खै केही गरेको त देखिएन । सायद त्यो पुरा हुन नसक्ने जुन टिप्ने सपना पो रैछ कि !
नयाँ संविधानले माध्यमिक तहसम्मको शिक्षामा स्थानीय तहलाई अधिकार दिएको छ । यो अधिकार पहिलो कार्यकालमा कति कार्यान्वयन भयो ? यसमा कहाँ समस्या थियो भन्नेमा धेरै बहस सुनिएको छैन । शिक्षामा लगानीलाई अर्को पुस्ताको लगानी मानिन्छ । बहस पनि अर्कै पुस्तामा हुने हो कि !
गुरुपूर्णिमाको दिन ! चोकमा भेटिए विद्यालय क्षेत्रमा केही गरौं भन्ने हुटहुटी भएका प्रधानाध्यापक । उनले १० वर्ष अगाडि नै आफूले नेतृत्व गर्ने विद्यालयमा केही सकरात्मक सुरुवात गरेका थिए । समयक्रममा तिनलाई निरन्तरता दिन सकेनन् त्यो भिन्नै कुरा हो । उनको विद्यालयमा १५ मिनेटको विद्यालयमा जान छोडेर आधा घण्टा पैदल यात्रा गरेर विद्यार्थी पढ्न आउँथे । उनीसँगको चियागफमा मैले सोधें अहिले शिक्षाको अवस्था के छ ? उनी उत्साहित देखिएनन् भने ‘विद्यार्थी छैनन् । सरकारले विद्यालयमा भौतिक सुविधा त पु¥यायो तर गुणस्तर दिन सकेन ।’
शिक्षा क्षेत्रमा एक मापक थियो एसएलसी । अहिले यो मापन गर्ने कुनै तह छैन भन्दा पनि हुन्छ । विश्वविद्यालयका परीक्षामा प्रश्नपत्रहरू अघिल्ला वर्षका हुबहु निकाल्ने प्रशासन छ । गेसपेपर गाइड सार्न नपाए दुई शब्द लेख्न नसक्ने विद्यार्थी । बिग्रेको भत्केको एकातिर मात्रै त कहाँ छ र !
एक गाउँपालिकाका शिक्षा अधिकृतले चिया गफमा सुनाए । पालिकाले आठ कक्षामा पालिकाले प्रश्नपत्र तयार ग¥यो र उत्तर पुस्तिका आफैँले जाँच ग¥यो । परिक्षामा सहभागी पालिकाभरका विद्यालयका ४ सय जना । सबै विषयमा पास हुने मुस्किलले २५ जना । पालिकाभित्रको एउटा विद्यालयबाहेक सबै विद्यालयका विद्यार्थी अनुत्तीर्ण । आठ कक्षा मात्रै हैन ५ कक्षामा पढ्ने विद्यार्थीलाई शुद्धसँग अंग्रेजीमा नाम लेख्न नआउने अवस्था छ । उदार कक्षोन्नतिका कारण विद्यार्थीले केही नसिके पनि पास भएकै छ । जस्तो खालको नतिजा भए पनि दण्ड पुरस्कार नपाइने भएपछि केही गरौं भन्ने निराश छ । कामचोरहरूलाई त योभन्दा राम्रो अवस्था के होला र !
चिया गफमा शिक्षा अधिकृतले भनेको कुरा अपवाद हैन आम समस्या हो । यो एउटा पालिकाको मात्रै अवस्था हैन धेरै पालिकाको अवस्था लगभग यस्तै यस्तै छ । पालिकाहरूको ध्यान सडक र भवन अनि मन्दिरमा मात्रै हुँदा यो अवस्था आएको हो । विकास भनेको बाटोमात्रै हैन शिक्षा स्वास्थ्य र रोजगार पनि हो भन्ने अवस्थामा हामी कुनै दिन पुग्नैपर्छ । त्यहाँ पुग्दा सम्म कति समय लाग्छ र कति क्षति हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । यो लेखमा उठाउन खोजिएको विषय त्यहि हो ।
एसईई उत्तीर्ण गरेको जनशक्ति अहिले सामान्य चिठी लेख्न नसक्ने छ । सामान्य २ अंकसम्मका हिसाब हैन ४ र ५ को योगफल जान्न क्यालकुलेटर नभई हुँदैन । आफ्नो वडामा को जनप्रतिनिधि चुनियो उसलाई पत्ता छैन । हामीले के सिकाइरहेका छौं । विद्यार्थीले विद्यालय आइदिए पुग्ने हो ? शिक्षक विद्यालय गइदिए पुग्ने हो ?
असारको मध्यतिर म एउटा गाउँपालिकाले आयोजना गरेको नमुना गाउँसभा सञ्चालन कार्यक्रमको प्रशिक्षकका रूपमा एउटा विद्यालयमा थिएँ । युवाहरूका लागि भनेको कार्यक्रममा धेरै सहभागी ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरू थिए । उद्घाटनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पनि बोलाइएका थिए । मैले सहभागीहरूलाई सोधें तपाईंको वडामा यो पटक चुनिनुभएको जनप्रतिनिधिको नाम थाहा छ ? अधिक सहभागी यसकाबारे बेखबर थिए । केहीले भने म राजनीतिलाई घृणा गर्छु ।
समाज कस्तो बन्छ भन्ने कुराको निर्धारक हो राजनीति । राजनीतिका बारेमा १५÷१६ वर्षको किशोरले कुनै कुरा जान्दैन भने विद्यालय के सिकाउँछ ? १८ वर्ष पुरा भएका दिन पासपोर्ट बनाएर खाडी जाने जनशक्ति । वा अलिक राम्रो पढ्ने रैछ भने जापान अस्ट्रेलिया पढ्न भन्दै काम खोज्न जाने कामदार ।
शिक्षा क्षेत्रको सुधार अहिलेको प्रमुख एजेन्डा हो र हुनैपर्छ । शिक्षामा गुणस्तरीयता कायम गर्नु अहिलेको पहिलो प्राथमिकता हो । यसमा गर्न सकिने केही कामहरू छन् । तिनबारे अब चर्चा गरिनेछ ।
विद्यालय क्षेत्रमा व्यापक सुधारको खाँचो छ । गाउँहरू दिनानुदिन रित्तो बनिरहेका छन् । त्यसको एक प्रमुख कारण गाउँगाउँमा खुलेका विद्यालयमा शिक्षा गुणस्तरीय छैन भन्ने अभिभावकको बुझाइ हो । यो बुझाइमा एक हदसम्म सत्यता पनि छ । यसलाई चिर्न तत्कालै गम्भीर खालका कदम चाल्नु जरुरी भइसकेको छ । सामुदायिक विद्यालयमा सरकारले प्रतिविद्यार्थी खर्च गर्ने रकम निजी विद्यालयले लिने शुल्कभन्दा कता हो कता धेरै छ । हामीले हिसाब गर्न अल्छी गरेका मात्रै हौं ।
गाउँका विद्यालयमा विद्यार्थी शिक्षक ३ घण्टासम्म हिँडेर आउनपर्ने अवस्था छ । यसरी दिनमै छ घण्टा हिँड्नुपरेपछि उसले के सिक्छ, के सिकाउँछ शिक्षक र विद्यार्थी बराबर हुन लागिसकेको अवस्था छ । तैपनि विद्यार्थी केही सिकिरहेको छैन वा शिक्षक केही सिकाउँदैन । विद्यार्थीको सिकाइस्तर त लगातार कमजोर बनिरहेछ किन ?
गाउँमा भएका विद्यालयमा पहिला कक्षाअनुसार विद्यार्थी पूर्ण गर्ने अभियान चलाऔं । विद्यालयमा भवनहरू गज्जब गज्जबका बनाइए । अब तिनमा आवासीय किसिमबाट विद्यालयहरू सञ्चालन गरौं । तिनमा विद्यार्थी र शिक्षक दुवैलाई आवासीय प्रबन्ध गरौं । प्रत्येक कक्षामा परीक्षाका लागि प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणमा बाह्य परीक्षकहरूको व्यवस्था गरौं । यसबाट जसले राम्रो नतिजा ल्याउँछ, उसलाई प्रोत्साहन गर्ने पद्धति विकास गरौं । यसले गर्दा पाठ्यक्रममा नपुगे पनि पाठ्यपुस्तकमा शिक्षकहरू पुग्नेछन् । शिक्षामा गरिएको लगानीको प्रतिफल वृद्धि हुनेछ ।
गाउँका विद्यालयमा गुणस्तरीय शिक्षा दिइन्छ भन्ने प्रमाणित गर्न सक्यौं भने यसले आफ्ना बालबालिकालाई असल शिक्षा दिन सहरमा बस्न थालेको परिवार गाउँ फर्कन्छ । त्यो परिवार गाउँमा फर्कंदा त्यसले सानै मात्रामा सही गाउँमा उत्पादनको लहर सुरु गर्छ । यसो हुनु भनेको हाम्रो उपभोक्ता जीवनशैली फेरिनु हो । यसले धेरैतिर दीर्घकालीन असर छाड्छ नै ।
म बस्ने ठाउँ नजिकै सेनाको ब्यारेक छ । सेनाको ब्यारेकको नाम वर्ष÷२ वर्षमा फेरिन्छ । त्यो नाम फेरिँदा त्यहाँका सबै जनशक्ति फेरिँदा रहेछन् । चल सम्पत्ति पनि सेनाले लानुपर्ने हुँदो रैछ । यसो हुँदा संरचना तिनैमा पनि नयाँ नयाँ जनशक्तिले काम गरिरह्यो । अब विद्यालय यही मोडलका किन नहुने ?
विद्यालयहरूमा आवासीय व्यवस्था गर्न थाल्यौं भने समय समयमा विद्यालयहरू सबै सेनाको ब्यारेकजस्तै सार्न मिल्छ । खान बस्न मिल्ने संरचनाहरू प्रत्येक विद्यालयमा हुनेछन् । यसो हुँदा महिना दुई महिनाका लागि एक विद्यालयका सबै विद्यार्थी तथा शिक्षक नयाँ ठाउँमा सर्न सार्न कुनै समस्या हुनेछैन । यसरी नयाँ ठाउँमा जाने विद्यार्थी तथा शिक्षकले नयाँ भूगोल, संस्कार तथा संस्कृति सिक्न पाउँछन् । यसले हामीलाई सबै जातजाति, भाषा, धर्मलाई आदर गर्ने बानीको विकास हुन्छ । हामीले परिकल्पना गरेको नयाँ नेपाल भनेको यस्तै हैन र !
अन्तमा, रुसले अन्तरिक्षमा युरी गागरिन उतारेपछि अमेरिका आत्तियो । कारण खोज्यो रुसको प्रगतिको । शिक्षा भन्ने पत्ता लगाएपछि उसले निधो ग¥यो अब हामी अन्तरिक्ष हैन, चन्द्रमा पुग्नपर्छ । त्यसका लागि शिक्षा सुधारौं । ऊ अहिले चन्द्रमा मात्रै हैन, मंगल पुगिसक्यो । हामीमा पनि तमाम समस्या हिजो थिए । आज पनि छन् । भोलि पनि रहनेछन् । तर भोलिलाई सपार्ने शिक्षा क्षेत्रमा भएका समस्याको जरो खोतल्न भने ढिला भैसकेको छ । अझै पनि सुध्रने समय छ । सुध्रिऔं, नभए सकिनुबाहेक अर्को बाटो छ र ?
अपवादका अरु पनि पढ्नुहोस् :
सुरेल : के सडकको धुलो खानु मात्रै विकास हो ?
के सोच्थेँ पहिले, के भयो अहिले ?
पीडकप्रति घृणा कि जे भयो भयो भनेर अब बिर्सने ?
दोष व्यवस्थाको कि व्यवस्थापकको ?
बर्बादी-विपत्तिको अपजस राष्ट्रपति–प्रधानमन्त्रीले मात्र बोक्नुुपर्ने हो ?
जनताका लागि नेताले के-केसम्म गरोस् !
हामी सबै ‘डबल रोल’ खेल्छौँ अनि नेतालाई मात्र गाली किन ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया