मौलिकता र संस्कृति गुमाउँदै छ देश
मौलिकता सफा पानीको तालतलैया जस्तो हो । जब मौलिकता जोगाउन सक्दैनौँ, गुमाउँछौँ, अनि समाज दुर्गन्धित हुने हो । जीवनयापनका अभिन्न तीन आधारभूत आवश्यकता गाँस, बास र कपासबाट चर्चा सुरु गरौँ ।
गाँस : हाम्रो मौलिक खाना के हो, के थियो ? बाँच्नका लागि कि शरीरलाई ऊर्जा र सु–स्वास्थ्य प्रदान गर्न ? सफा कि मीठो ? केबाट बनेको र स्वास्थ्य मापदण्ड के के ? मलाई लाग्छ, यो धेरैको चासोको विषय नै छैन/होइन । खर्च गर्ने सामर्थ्य छ भने सबै खाना जायज, स्वास्थ्यवर्धक मान्नुपर्ने बाध्यता छ । उदाहरणका लागि समोसा, पकौडा, आलुचप, पानीपुरी, चटपट आदि इत्यादि, यी खानाहरू हाम्रो मौलिक खाना होइनन् ।
वर्षौंदेखि भारतमा कामको खोजीमा बाहिरिएका नेपालीले सिकेको सीप र भारतीयहरूले नै स्थापना गरेको शाकाहारी रेस्टुरेन्टहरूमा पाइने खानाहरू जिब्रोका लागि स्वादिला भए पनि स्वास्थ्यका लागि कति लाभदायक भन्ने खोज र टुङ्गो नलाग्दा नलाग्दै खानाको रुपमा स्थापित भयो । केसँग के खाने, के नखाने, स्वादिलो भए पुग्ने भयो । चिया पिउने चलन ग्रामीण क्षेत्रमा भएको जस्तो लाग्दैन, बिस्तारै चलन बन्दै गयो, दूध र चिनीविनाको चिया बनाउनुपर्दा लज्जाबोध हुने गर्दथ्यो ।
एकातिर आयातित खाद्य र पेय पदार्थहरूले हाम्रो समाजमा जरो गाड्दै गएको छ भने अर्कोतिर पदार्थहरूले स्वास्थ्यमा प्रतिकूल असार पार्दै गएको भेटिए पनि ठोस रुपमा बजारमा पाइने खानाहरूलाई वर्गीकरण गरेको पाइँदैन, जसले जे बनाउन जान्यो त्यो खाना नै फेसन बनेको छ । कोकाकोला र पेप्सीकोला जस्ता पेय पदार्थहरूको व्यापकता बढेपछि दूधजन्य खाद्य तथा पेय पदार्थहरू दही, मही, लस्सीप्रतिको उपभोक्ताहरूको मोह काम हुँदै गएको र उत्पादन गर्ने उद्यमीहरू विस्थापित भई अरु पेसातर्फ मोडिन बाध्य हुँदै गएको भेटिएको छ ।
कोकाकोला र पेप्सीकोला जस्ता पेय पदार्थहरूको व्यापकता बढेपछि दूधजन्य खाद्य तथा पेय पदार्थहरू दही, मही, लस्सी लोप हुँदै गएको भेटिएको छ । म:म (जसलाई अंग्रेजीमा डम्प्लिङ भनिन्छ) र चाउमिन पनि आयातित नै हुन । चाउचाउको प्रवेशसँगै तयारी र सिन्के चाउचाउले चाउमिनको रुप लियो । बर्गर पिज्जाको पनि चर्चा नगराँै, प्याकेटमा पाइने कुरकुरे, कुरमुरे, लेजको त कुरै नगरौँ, केटाकेटीको रोजाइमा पहिलो नम्बरमा नै पर्न जान्छ । हाम्रो मौलिक खाना किन मासिँदै गयो ? काठमाडौँ उपत्यकाभित्र केही नेवारी खाना बाहेको नेपाली मौलिक मेनु दाल, भात, तरकारीबाहेक अरु हुन सकेन, कोसिस पनि नभएको हुन सक्छ ।
बास : इन्जिनियरविना नै बनेका घरहरू पनि १०० देखि २०० वर्ष टिकेको व्यापक भेटिन्छन् । खरको छानो टिन, टायल, झिगटीका घरहरूबाट पुस्तान्तर हुँदै सिमेन्टको प्रचुर उत्पादन हुन थालेपछि आरसीसी घरहरू थपिँदै गए तर अफसोच प्रविधि पूर्णरुपमा अगाल्न सकिएको छैन । तीन तलाभन्दा माथिका घरहरूमा विद्युतीय भर्याङ (एलिभेटर) को बारेमा कसैले पनि सोच्न भ्याएको देखिँदैन । हिँडेर नै तल माथि गर्नुपर्ने बाध्यता देखिएको छ । पुराना शैलीका घरहरूलाई पछ्याएर केही तारे होटलहरू, सपिङ मलहरू बनेको देखिए तापनि आधुनिक घरहरूमा भने विदेशी प्रभाव नै देखिन्छ तर हुनुपर्ने सम्पूर्ण पूर्वाधार एलिभेटर, अग्नि नियन्त्रण गर्ने यन्त्र (फायर हाइड्रान), चट्याङ संरक्षण यन्त्र (एलपीएस), स्वचालित पिउने पानी शुद्ध गर्ने यन्त्र, फोहोर पानी जाने नाली जस्ता महत्वपूर्ण पक्षहरू समावेश भएको देखिँदैन । ।
कपास : पुराना फोटोहरू हेर्दा नेपालको मौलिक भेषभुषा, दौरा, सुरुवाल, कछाड, टोपी, गलबन्दी, गुन्यु, चोली पहाडमा, हिमालमा बख्खु र तराईमा कुर्ता सुरुवाल, घाँघर यस्तै यस्तै हो जस्तो देखिन्छ तर अहिले देश विदेशमा नेपालीहरू बाको आवतजावत हुन थालेपश्चात् भने भेषभूषामा व्यापक परिवर्तन भएको छ । नाटक तथा सिनेमा र केही कर्मकाण्डी, औपचारिकता बाहेक मौलिक भेषभुषामा कसैले चासो राखेको भेटिँदैन । सिधै अनुहार नहेरेसम्म केटा र केटी पनि छुट्ट्याउन मुश्किल हुन थालेको छ ।
कम्तीमा चाडपर्व, बिहे, व्रतबन्ध, सामूहिक पूजाआजा जस्ता महत्वपूर्ण क्रियाकलापहरू हुँदा निर्धारित मौलिक पोसाक अनिवार्य हुनुपर्दछ । त्यो पनि कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री नेपालमै उत्पादन गर्न सकियोस्, गरियोस् ।
पहाडै पहाडले भरिएको मुलुक, हिउँ र हिमतालहरू भएको मुलुकमा प्रशोधित पानी पिउनुपर्ने बाध्यता छ र पानीको मूल्य खुद्रामा प्रतिलिटर २५ रुपैयाँ र प्रति जार ५० रुपैयाँ भइसकेको छ । हाम्रो मुलुकको पानी भन्दा भेनेज्युएलाको पेट्रोल सस्तो छ । हाम्रोमा पेट्रोल उत्पादन हुने भए कतिमा बेच्थ्यौँ होला ? सहरहरू हरिया देख्न छाडे, बढ्दो पूर्वाधार, निर्माण कार्यमा ढिलाइका कारण पुराना रुखहरू काटिए र नयाँ रोपिएन, यही पारा जारी रह्यो भने कुनै दिन साच्चै नै पिउनलाई बोतलको पानी बाध्यता भए जस्तो सासका लागि (शुद्ध वायु) अक्सिजन सिलिन्डर पिठ्युँमा बोकेर हिँड्नुपर्ने दिन नआउला भन्न सकिन्न ।
मौलिकताको प्रसङ्ग नै जारी छ र सङ्गीतमा जोडौँ । डाँडापाखा पखेराका, चरा च्याखुराका बोली र गीत, झरनाको सुसाइ इत्यादिले घाँस, दाउरा, कृषि कर्मका दैनिकीका बाबजुद पनि गीत–संगीतमा झुम्थ्यो नेपाली समाज जसलाई हामी लोकगीत भन्ने गर्छौं । हालसालका दिनहरूमा लोकगीत, दोहोरी गीतमा पनि विकृति देखिन थालेका छन् । गीत रचना हुन्छ, रेकर्डिङ पनि हुन्छ र व्यवसायीकरणका लागि म्युजिक भिडियो बनाइन्छ र अभिनय गर्नेहरूको भेषभूषा हेर्यो भने भाषा मात्र नेपाली अभिनय गर्नेहरू भारतीय, बंगलादेशी, पाकिस्तानी को हुन् भनेर व्याख्या नै गर्नुपर्ने तीतो अनुभव यो पंक्तिकारले बेहोरेको छ ।
आफ्नो निजी घरमा नै म्युजिक भिडियो हेरिरहेको बेलामा भारतीय साथीले सोध्यो, तिमीहरूको भेषभुषा पाकिस्तानीसँग मिल्ने रहेछ (अनुवाद गरेर उद्धृत) भन्यो म लाजले भुतुक्कै भए र भने पछिल्लो दिनमा हाम्रो नेपालमा केटा होस् या केटी कुर्ता सलवार पनि सामान्य भएको छ भनेर स्पष्टीकरण दिनुपरेको थियो । भेषभूषा मात्र होइन, लोक गीत संगीतमा पनि मौलिक रस हराउँदै गएको छ, यदाकदा बाटो फेर्न खोजेको हो कि जस्तो भान पनि हुन्छ ।
कुनै पनि राष्ट्रको मूल जरो भनेको मौलिकता र संस्कृति नै हो । चाडपर्व, नातासम्बन्ध, मनोरञ्जन, विविध घटनाक्रमहरूलाई संस्कृति र मौलिकताले एउटै सूत्रमा बाँधेको हुन्छ र बाँध्नुपर्ने नै हुन्छ, नत्र पहिचान नै मेटिन्छ । कम्तीमा चाडपर्व, बिहे, व्रतबन्ध, सामूहिक पूजाआजा जस्ता महत्वपूर्ण क्रियाकलापहरू हुँदा निर्धारित मौलिक पोसाक अनिवार्य हुनुपर्दछ । त्यो पनि कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री नेपालमै उत्पादन गर्न सकियोस्, गरियोस् । अहिले बजारमा ढाका टोपीको पनि ढाँचा फेरिएको छ । सुनिन्छ, यो पनि भारतमा सस्तोमा उत्पादन गरिन्छ रे । ढाका टोपीमा ढाका पाइनै छाडिसकेको छ ।
हाम्रो मौलिक संस्कृति भनेको लिने भन्दा पनि सित्तैमा दिने बढी थियो । पानी त के, सित्तैमा मही दिइने गरिन्थ्यो । आन्तरिक र बाह्य पर्यटन विकास गर्ने हो भने हाम्रो संस्कृतिको जगेर्ना गर्नैपर्छ । पर्यटकलाई नि:शुल्क पानी दिन सकियोस्, मुख्य मुख्य चाडपर्वहरूमा कम्तीमा एक दिन होटेल त लज सञ्चालकहरू तथा होमस्टे व्यवस्थापकहरूद्वारा नि:शुल्क खाना र आवास दिन सकियोस् त्यो संस्कृतिको चर्चा पर्यटकले नजिकका साथीभाइ, ईष्टमित्रहरूसँग आफ्नो मुलुकमा गर्छ र विश्वभर हाम्रो संस्कृतिको सुगन्ध फैलिँदै जान्छ ।
दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ र तेस्रो छिट्टै सञ्चालनमा आउँदै छ । हामीले पर्यटन भित्र्याउन सकेनौँ भने हाम्रो जनशक्ति बेचेर मात्रै हामी विमानस्थलको व्ययभार धान्न सक्दैनौँ । विनाशकारी भूकम्प, नाकाबन्दी, कोभिड महामारीका चुनौतीहरूले सर्वसाधारण र मुलुक दुवैको आर्थिक स्वास्थ्य बिग्रेको छ ।
‘अथिति देवो भव’लाई मूलमन्त्र बनाई पर्यटन भित्र्याउनका लागि बृहत् राष्ट्रिय मन्थन गरी गुरुयोजना तयार पार्न सकिएन विदेशिएका नेपाली र विद्यार्थी कसैलाई पनि देशप्रेम, वीरताका गाथा र राष्ट्रियगान मात्र सुनाएर नेपालमा टिकाउन सकिनेछैन भने नेपालका मुख्य सहरहरू केही वर्षमा खण्डहरमा परिणत हुँदै जानेछन् । न हामी माग्ने थियौँ, न हाम्रो संस्कृति माग्ने थियो । पहिले आफूलाई परिवर्तन गरौँ, परिवर्तनको आशा गरौँ, गाह्रो अवश्य छ असम्भव छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया