बीपी र लोकतन्त्र
बीपी प्रजातन्त्र (लोकतन्त्र) विना देश रहँदैन भन्ने अभिव्यक्ति दिन्थे । प्रजातन्त्रलाई मुलुक संस्थागत गर्ने प्रक्रियाका रुपमा लिन्थे । विकासका लागि प्रजातन्त्र अपरिहार्य मान्दथे । प्रजातन्त्रको लागतमा विकास दिन खाजेका महेन्द्र, सुकार्नो, सादातहरूको रवैयाले पनि त्यसको पुष्टि गरिरहेको थियो । उनीहरूले लोकतन्त्र दिन सकेनन् नै, अनुशासनलाई लादेर विकास गर्न सकिन्छ भन्ने सोच पनि गलत देखियो ।
लोकतन्त्र आम नागरिकको दैनिकीलाई सहज बनाउने अभियानमा सतत् रहन्छ भन्ने बीपीको चिन्तन थियो । व्यक्तिका सीमा र सम्भावना, राज्यका दायित्व र अधिकार, नागरिका हक र कत्र्तव्य प्रचलनका लागि लोकतन्त्र नै चाहिन्छ भन्ने उनको सङ्घर्षको सार थियो । लोकतन्त्रमा नागरिक आफूले के गर्ने, के गर्न पाउने र नपाउने, के अवसर लिने र लिन नहुने जस्ता पक्षहरूमा आफै विवेचित हुन्छ, अनुशासित हुन्छ ।
अर्को अर्थमा लोकतन्त्र भनेको नागरिक अवसरको निर्माण र उपयोग गर्ने निरन्तरको पद्धति हो । स्वअनुशासनको पद्धति हो । त्यसैले यो जीवनशैली पनि हो, प्राकृतिक पनि हुन्छ । यी गुणबाट अलग्गिएको व्यवस्थामा यान्त्रिक निरङ्कुशता मात्र बाँकी रहन्छ । विकास र समृद्धि स्वतन्त्रताको कमाइ हो, त्यस अवस्थामा पुर्याउनु लोकतन्त्रको कार्य हो ।
प्रजातन्त्र समाजवादबाट छुट्टिँदा समाजमा व्यवस्था र विकास संस्थागत नभएको र प्रजातन्त्र जनताको विषय नबनेकोमा बीपीको चिन्ता थियो । भनांै, प्रजातन्त्रलाई समाजका सबै पहलुमा पुर्याउनु पर्ने मान्यता उनको थियो । प्रजातन्त्र राजनैतिक र प्राविधिक विषयभन्दा माथिको विषय हो भन्ने दृष्टिकोणका साथ प्रजातान्त्रिक समाजवादको अवधारणा विकास गरिएको थियो ।
चिन्तक प्रदीप गिरिका अनुसार आचार्य नरेन्द्र देवको दर्शनबाट प्रभावित बीपी, जयप्रकाश र राममनोहर लोहियामा एसियाली समाजवादको सपना थियो । तेस्रो किसिमको व्यवस्था थियो । भनिएको एसियाली समाजवाद ‘क्रूर र निर्मम नाफामा आधारित पूजिँवादले दुनियालाई शान्ति र सुव्यवस्था दिन सक्दैन । सँगसँगै नागरिक स्वतन्त्रताको चिहानमा उभिएको कुनै पनि व्यवस्थाले समता र स्वतन्त्रताको प्राप्तिको समाजवादी लक्ष्यमा पुर्याउन सक्दैन’ ।
अर्थात सामाजिक लोकतन्त्र बीपीको दृष्टिकोण थियो,जहाँ लोकतन्त्रले राजनैतिक अर्थवत्ता मात्र राख्दैन, सामाजिक न्याय र लोककल्याणमार्फत जनजीवनमा पुग्छ, तर वैयक्तिक स्वतन्त्रतालाई आँच पुर्याउदैन । राजा महेन्द्र र तत्कालीन अवस्थामा राजाबाहिर रहेका शक्तिले यस प्रकारको तेस्रो राजनैतिक धार बुझेनन् वा बुझ्न चाहेन । वैचारिक रुपमा यस दृष्टिकोणलाई उनले जयप्रकाश र लोहियसँगको सहकार्य र सोसलिस्ट इन्टरनेसनलका माध्यमबाट प्रसार गर्न भने चुकेनन् ।
निरङ्कुश पञ्चायतका समयमा जेलमा रहँदा होस् वा निर्वासन वा नियन्त्रित स्थान हदमा रहँदा होस्, प्रजातन्त्रप्रति बीपी अविचलित गतिशीलतामा रहे । जसमा उनले प्रजातन्त्रका तीन आधार सर्तलाई उजागर गरिरहे । पहिलो, नागरिकको मौलिक अधिकार, दोस्रो, विधिको प्रक्रिया र तेस्रो, राज्यको नीति निर्माण र शक्ति अभ्यासमा आम नागरिकको निर्वाध सहभागिता ।
उनका यी मान्यताले नागरिक निस्क्रिय उपभोक्ता मात्र होइन, उत्पादक पनि हो, मूल्यसर्जक पनि हो, त्यसैले प्रक्रिया प्राविधिक मात्र भएर पुग्दैन, सारभूत हुनुपर्दछ, जसले राजकीय अवसर निर्माण र उपयोगमा समान्याय पुष्टि गर्दछ भन्ने निष्कर्ष निकाल्थ्यो । अर्को अर्थमा भन्दा बीपी समग्र लोकतन्त्रका पक्षपाती थिए । जसले आजभोलि भन्ने गरिएको समावेशिता र सामाजिक लोकतन्त्रको सन्देश दिइरहेको थियो । प्रजातन्त्र भनेको कसैले दिने र कोहीले पाउने विषय होइन, अवसरको सिर्जना र सोको निरन्तर विस्तार भनेको थियो ।
बीपी लोकतन्त्र संस्थागत गर्न नागरिक, राजनैतिक दल र संविधानको उल्लेख गर्दै आएका थिए । कर्तव्य नभएको नागरिक, नागरिक भावना परिचालित नगर्ने राजनीतिक दल र प्रक्रिया संस्थागत नगर्ने संवैधानिक संरचनाले लोकतन्त्रलाई फेक बनाइदिन्छ । लोकतन्त्रका सन्दर्भमा हुने टीकाटिप्पणीहरू लोकतन्त्रले गर्नुपर्ने काम नगरेका कारणले हो । यदि लोकतन्त्र कार्यमुलक भएन भने, जनताको मन–मुटुमा पुगेन भने त्यस अवस्थामा नागरिक र राज्य प्रक्रिया छुट्टिन्छ, त्यसपछि सरकार जनताको हुन्न, नागरिकहरू दुःखी हुन्छन्, अवसरहरू सम्भ्रान्तले हडप्छन् । त्यसैले उतिखेर नै बीपीले समग्र र विस्तृत लोकतन्त्रको कल्पना गरेका थिए, जसलाई दार्शनिक रुपमा प्रजातन्त्रको तेस्रो मोडेल (प्रजातान्त्रिक समाजवाद) नाम दिइएको थियो । जसको भावभूमि पूर्वीय आर्थिक दर्शन र आदर्श थियो ।
महापुरुषहरू व्यावहारिक सरलताबाट ठूला अपेक्षाका गन्तव्यमा पुग्ने गर्दछन् । ससाना कुराहरूको अन्तरबोध गर्दै उपलब्धिको सगरमाथा चढ्ने गर्दछन् । बीपीको लोकतान्त्रिक समाजवादको वैचारिक उपलब्धिलाई यही रुपमा लिनु पर्दछ । बीपीको लोकतन्त्र सम्बन्धी अवधारणा आम सर्वसाधारणको चुल्होदेखि शासकीय समृद्धिसम्मलाई अन्तरबोध गरिरहेको छ । समानता, स्वतन्त्रता र न्याय उनको लोकतन्त्र भनौं वा प्रजातान्त्रिक समाजवाद भनौँ, त्यसको सार थियो । जसरी फ्रान्सेली आन्दोलनमा भातृत्व, समानता र न्यायको आदर्शवाक्य स्थापित थियो । यिनै विचारधारा समकालीन विश्वमा समाजवादी आन्दोलनका अन्य प्रणेताहरू विली ब्रान्ड्ट, ब्रुनो काइस्की र ओलोफ पाल्मेले युरोपमा कार्यान्वयनमा ल्याए । संयुक्त राष्ट «सङ्घ लगायत मानवतावादी विश्व संस्थाहरूले पनि यो विचार दर्शनलाई विकासमूलक आयामबाट व्याख्या गर्ने, संस्थागत गर्ने क्रममा छन् ।
अमेरिकी युवा अभियान्ता एन्ड्रयू योङ (जो राष्ट्रपति चुनावको डेमेक्रेटिक पार्टीको प्राइमरीमा मात्र सीमित भए) आधारभूत सेवाको सामाजिकीकरणका नाममा समाजवादको उत्तरआधुनिक ढाँचा प्रकाशमा ल्याइरहेका छन् । बीपीको लोकतन्त्रसम्बन्धी यी धारणाले दुई कुराको सन्देश दिन्छ, पहिलो लोकतन्त्र कार्यमूलक हुनुपर्छ, दोस्रो सामाजिक परिवेशले यसलाई निरन्तर परिमार्जन गरिरहन्छ । विश्व विकास र सामाजिक लोकतन्त्रको अवधारणा पाँच दशक अघि नै बीपीले कल्पना गरेका थिए, जसबाट उनको दृष्टिकोण कति दूरदर्शी रहेछ भन्ने देखिएको छ । यस शताव्दीका चिन्तक चिन्तक युभल नोह हरारीले भने झैँ लामो दृष्टिकोण नभएको नेता आफैँमा गतावधिक हो, गतावधिकहरू प्रतिगमनको उल्टो यात्रा गर्छन । यसले अहिलेका राजनीतिकर्मीलाई दृष्टिबोधी र जनमुखी हुन शिक्षा दिएको हुनुपर्छ ।
बीपी कोइराला प्रधानमन्त्रीको छोटो कार्यकालमा रहँदा स्वाभाविक रुपमा राष्ट्रिय योजना परिषद्का अध्यक्ष भए । त्यस समयमा उनले योजना बनाउँदा हलो जोतिरहेको किसान र ग्रामीण महिलाको तस्बिर अघिल्तिर राख्न गरेको अनुरोध राष्ट्रिय योजना आयोग र सम्बद्ध आलेखहरूमा अहिले पनि सुरक्षित हुनुपर्छ । प्रजातन्त्रलाई जनता तहसम्म पुर्याउने माध्यम योजना प्रणालीले हो । उनको यो भनाइले दुई कुराको सन्देश दिन्छ, पहिलो गरीबी उन्मुलनविना प्रजातन्त्र संस्थागत गर्न सकिदैन, र प्रजातन्त्रको सवलीकरणविना गरिबी निवारण गर्न सकिदैन ।
दोस्रो, नेपाल गाउँँ नै गाउँँले भरिएको मुलुक भएकोले विकासको प्रक्रिया गाउँलाई सम्वोधन गर्न र त्यहाको सम्भावना उपयोग गर्न निर्दिष्ट हुनुपर्छ । रवर्ट चेम्बरहरूले भनेजस्तो विकासमा रहने आग्रहलाई हटाउन वा आजभोलि भन्ने गरिएजस्तो विकासलाई मानवीकरण गर्न बीपी विचारले लोकतन्त्र र योजना प्रक्रियालाई आवद्धीकरण गरेको छ । उनले भनेको तेस्रो ढाँचाको राजनैतिक शासकीय ढाँचा वा एसियाली समाजवाद राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिब जनतालाई सेवासुविधामा केन्द्रित थियो । एसियाका सफल अर्थतन्त्रले यसलाई कुनै रुपमा अपनाएका छन् ।
उनका जति पनि प्रजातन्त्रसम्बन्धी अभिव्यक्तिहरू छन्, सबैमा प्रजातन्त्र र आर्थिक समृद्धिलाई साथसाथ लैजान निर्दिष्ट छन् । बीपीको विकासवादी सोचलाई आधुनिक भाष्यमा नागरिक सशक्तीकरण र संविधानको भाषामा समाजवाद उन्मुख अर्थतन्त्र हो । स्केन्डेनिभियन मुलुकहरू यसलाई बुटिक समाजवाद भन्न रुचाउँछन् । ओलोफ पाल्मे र बीपीको सामाजिक लोकतन्त्र संस्थागत गर्ने सिद्धान्त एकै थियो ।
बीपी समाज पूर्ण दैवी संरचना होइन, शुद्ध भौतिक संरचना हो भन्दै कार्ल मार्क्स र साम्यवादीसँग नजिक हुनपुग्छन् तर समाज सदस्यहरूको आकाङ्क्षा र आवश्यकताको भौतिक मात्र नभै वैयक्तिक प्राज्ञ अनि स्वतन्त्रताको वकालत गर्दै जिएन ज्याकुस रुसो नजिक हुन पुग्छन् । दुवै विचारको संयोजनमा प्रजातान्त्रिक समाजवादको कल्पना गर्दछन् । याने कि लोकतन्त्रलाई वास्तविक बनाउन, जनताको मन मुटुसम्म पुर्याउन प्रजातान्त्रिक समाजवाद एक दार्शनिक तर गतिशील अवधारणा थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया