विचार

निजामती सेवा दिवस

‘इमानदार बन्‍न नपाइने हो कि’

गोपीनाथ मैनाली |
भदौ २२, २०७८ मंगलबार ९:२५ बजे

भनिन्छ, कामबाहेक कर्मचारीको नाम र पहिचान हँुदैन । काममार्फत नागरिकका मनसम्म पुग्ने, काममार्फत नै राज्य प्रणाली निर्माण गर्ने र काममार्फत नै सरकारलाई चलायमान बनाउने भएकाले कर्मचारीको मूल्य, आचरण, वृत्ति अनि प्रवृत्ति पनि काम नै हो । राज्यइच्छा अभिव्यक्त भएका संविधान, नीति र कानुन सवैलाई सजीव बनाउने कर्मले हो । कर्म नै कर्मचारीका आचरण हो, त्यसैले उसलाई कर्मचारी भनिएको हो । 

शासनको प्रशासन, नीतिको नियमन र व्यवस्थाको व्यवस्थापन कर्मचारीको कर्म हो । राज गर्ने राजनेताहरू कर्म गर्ने कर्मचारीको सक्रियताविना निर्जीव हुन्छन् । त्यसैले भनिएको होला, कुनै पनि सरकार त्यहाँको प्रशासनले अनुमति दिएभन्दा राम्रो बन्‍न सक्तैन । 


विड्रो विल्सनले एक प्रसंगमा यसलाई राज्यको चौथो अंग पनि भनिदिएका थिए । आधुनिक राज्य व्यवस्थाको केन्द्रस्थमा विना विकल्प कर्म, समर्पण र क्रियाशीलतामा निजामती सेवा रहन्छ । निजामती सेवाको आविष्कार राज्य सञ्चालनमा प्राण भर्न भएको थियो । त्यसैले निरन्तर रहिरहने मानव संस्था राज्य रहेसम्म राज्य प्रणालीलाई स्वचालित क्रियाशीलतामा परिमार्जन र परिष्कार गर्दै, अनि आफैँ पनि परिष्कार हँुदै जान्छ निजामती सेवा । यस अर्थमा निजामती सेवा र राज्यप्रणाली अभेद्य पारस्पारिकतामा रहन्छन् । एकविना अर्कोको कल्पना पनि गर्न सकिँदैन । 

काम गर्नेबाट नै अपेक्षा गरिने हो । निजामती सेवासँग पनि थुप्रै अपेक्षा छन् । अपेक्षा भएकाले आलोचना पनि छ । आलोचना यदाकदा आक्रमण र अतिक्रमणमा समेत पोखिने गरेको छ । सर्वसाधारणहरू सेवाग्राहीका हैसियतमा छिटो, छरितो, मितव्ययी, विनाझञ्झट, मधुर बोलीसहित सेवा-व्यवहारको अपेक्षामा छन् । सेवाग्राहीकै लागि कर्मचारी उपस्थित छ, सेवाग्राहीकै पसिना तलब सुविधा उपयोग गर्छ । यस अर्थमा सेवाग्राहीका अपेक्षा स्वाभाविक हुन् । तर उसबाट पोखिने मुस्कान, उसको मधुर बोली मनकै पोखाई हो । उसको सक्रियता, सामर्थ्य र शक्तिको जोड हो, जुन स्वःप्रेरित भएमा, प्रोत्साहित भएमा, स्वस्थ भएमा र उसमाथि निष्पक्ष व्यवहार भएमा मात्र देखिने हुन् । 

बुझ्नुपर्ने कुरा के हो भने सेवाग्राहीका अपेक्षा पूरा गर्न कर्मचारीलाई पदसोपान, संगठनसीमा र उभयपक्षबाट हुने दवाव-प्रभावले ङ्याक्न सक्छ । कार्यवातावरण, हौसला र शक्ति स्रोतले सेवाग्राहीको मन जित्ने सामर्थ्य बटुल्ने हो, सहयोग र स्यावासीले हौसिने हो । सर्वसाधारणलाई थाहा छ, सेवा वितरणका काउन्टरहरूमा अहोरात्र उपस्थित कर्मचारी वास्तवमा नेपथ्यको पात्र हो, नामरहित पात्र हो । जनताका लागि गरिने सवै काममा निर्देशक मगजको भूमिका राजनीतिको हो, राजनीतिक कार्यकारीको हो ।

सम्पादित काम निर्देशक मगजका नामबाट नै गरिने हुन् । निर्देशकको आदेशबेगर प्रणालीलाई क्रियाशील पार्ने लामा हातहरू क्रियाशील हुन सक्तैनन् । हौसला नपाई समर्पित अग्रसरतामा पुग्नै सक्तैनन् । पात्र लगातार काम गर्छ तर निर्देशकबाट हुने अस्वस्थ्य आदेश र फितलो दिशाबोधको प्रतिरोध गर्न सक्तैन । कतिपय अवस्थामा निर्देशक मगज नै लामा हात तेर्स्याउन पछि पर्दैन, अनि निजामती सेवा आफू निर्देशक मगज पनि बन्‍ने कि परिभाषित भूमिकामा रहने भन्‍ने अन्यमनस्कमा पर्छ ।

इमानदारहरूले इमानदार बन्दा पटक-पटक चोट पाए, तर प्रणाली मौन रह्यो ।

राजनीति र प्रशासनको सम्बन्ध र सीमाको लक्ष्मणरेखाले कार्य, भूमिका, बृत्ति र मूल्यको सीमांकन गरेको छ । त्यसैले कर्मचारीको मन ठूलो हुन्छ, तर मुखचाहिँ सानो । साना मुख मधुर बोलीका लागि हो र ठूलो मन विश्वास जितेर मायालु बन्‍नका लागि । आफ्नै पीडा र वृत्ति छटपटीमा पनि धेरैजसो कर्मचारी चाहेर पनि बेल्न सक्तैनन् । बोल्न चाहँदैनन् । फगत कर्म, समर्पण र सरलता निजामती कर्मचारीको वृत्ति हो । त्यसैले निजामती सेवालाई आदर्श भनिएको हो, सद्गुणहरूको संगम मानिएको हो । 

यसो भन्दैमा निजामती कर्मचारी निर्जीव संयन्त्र कदापि होइन । ऊ जीवन्त सङ्गठनको विवेकशील पात्र हो । उसका पनि आभ्यान्तरिक इच्छा, आकाङ्क्षा र उन्मेद हुन्छन् । व्यक्त हुन वा हुन नसक्नुको ऊ अपेक्षा र आकाङ्क्षाविहीन यन्त्र कदापि होइन । वृत्तिसेवक भएकाले प्रणालीभित्र निष्पक्ष र वस्तुगत वृत्तिव्यवहार उसको पहिलो अपेक्षा हो । त्यसो भएमा मात्र समर्पित क्रियाशीलतामा स्वचालित अग्रसरता देखाउँदै जान्छ । 

आफू र आफ्ना सन्तानका लागि पेटभरि खान लाउन, सान्तानका लागि शिक्षा स्वास्थ्य दिन सक्ने पारिश्रमिको उपलब्धता उसको दोस्रो अपेक्षा हो । प्रणालीभित्र निष्पक्ष प्रोत्साहन उसको तेस्रो अपेक्षा हो, जसको विपरीत व्यवहार हुँदा पटकपटक ऊ अपमानित भएको पनि छ । 

निजामती सेवालाई गरिमामय बनाउने नीति नेतृत्व र दिशावोध उसको चौथो अपेक्षा हो । आफू संलग्न सेवा सङ्गठनको इज्जत बढ्दा समाजमा उसकै नाक अग्लिने हो । 

पाँचौँ तर सबैभन्दा महत्वपूर्ण अपेक्षा निर्देशक मगजका तर्फबाट सम्पादित काममा जस-अपजसको संरक्षण निर्देशक मगजले नै लिइदिए हुन्थ्यो भन्‍नेमा छ । जुन प्रशासन र राजनीतिको सीमा-सम्बन्ध निर्धारण सिद्धान्त (डिकोटोमी प्रिन्सिपल) को मान्यता र राज्य सञ्चालनको सिद्धान्त पनि हो । अभिभावकबाट अभिभावकत्वको अपेक्षा गर्नु स्वाभाविक पनि हो । 

यसर्थ निजामती कर्मचारीले उसको राजनीतिक कार्यकारीबाट प्रणालीको संरक्षण, वृत्ति सुरक्षा, समान व्यवहार, पर्याप्त सेवा सुविधा, अभिभावकत्व, कार्यप्रोत्साहन, कार्यस्वायत्तता, दिशाबोध र नेतृत्व निर्वाह अनि अन्तिम जवाफदेहिता मनदेखि माग गरिरहेको हुन्छ । सफल राजनेताहरू यसो गर्न कदापि पछि पर्दैनन् । जहाँ पहिलो यस प्रकारको व्यवहार देखिन्छ, समग्र प्रणालीको स्वचालित गतिशीलता देखिन गई राष्ट्रनिर्माण नै सहज हुन्छ । 

निजामती सेवालाई वृत्ति चयन गर्दा कर्मचारीले आफूभित्र थुप्रै सोच र उन्मेदहरू सँगालेको हुन्छ । एउटा सफल वृत्तिसेवक हुनु भनेको राष्ट्रसेवा र वृत्तिसेवा सँगसँगै वरण गर्नु पनि हो । निर्दिष्ट जिम्मेवारी पूरा गर्दै जाँदा कर्मचारीभित्र विज्ञता पनि बढ्दै जान्छ, विज्ञताले सामर्थ्य र स्वायत्तताको आर्जन गर्छ । विवेक र विज्ञताको उपयोगबाट राष्ट्रसेवामा योगदान पुर्‍याउँछ । 

वृत्तिको सुरक्षा र राष्ट्रनिर्माणको आभ्यान्तरिक स्वप्रेरणाले नै कर्मचारी आदर्श बन्‍ने हो । सङ्गठन सजीव बनाउने हो, जनता र नेताको मन जित्ने हो, र सरकार अनि सर्वसाधारणबीच सम्बन्ध सेतु बन्‍ने हो । यसैमा निरन्तर रहँदा भर्खर जुँगारेखा बस्दै गरेको होनभार प्रतिभा मुलुकका भाषिक, भौगोलिक, सांस्कृतिक परिवेशसँग परिचित हुँदै जीवन र जवानी नै राष्ट्रसेवामा समर्पण गर्न पुग्छ ।

यसबीच उससँग बाल्यकालमा खेल्ने साथीसँगी, माया दिने ईष्टमित्र, आफैँ जन्मे-हुर्केको पाखा पखेरासँग पत्तै नपाई अलग्गिएका हुन्छन् । जब सेवाबाट निवृत्त हुन्छ, झल्यास्स आँखा खुल्छ खोइ साथी-सँगी, खोइ पाखा-पखेरा, खोइ-नातासम्बन्धी ? यी यावत् परिवेशसँग सम्बन्धको नवीकरण चाहेर पनि सम्भव छ र ?

जीवन र जवानी रित्याएर पुनर्जीवन १ प्रतिभा र विज्ञता रित्याएर पुनर्वृत्ति १ संस्मरणको ‘फ्ल्यास-ब्याक’मा एउटा समर्पित कथाको पात्रझैँ वृत्ति सेवाको बखान र राष्ट्रसेवा गरेकामा गर्व गर्छ र बाँकी जीवन बिताउँछ । आफ्‍नै स्मृतिको कहानी स्मरण गर्दै जीवन काट्छ । यो निजामती सेवाको आविष्कार नभएको भए ? विज्ञहरूलाई अध्ययनको विषय बनोस् ।

तर यति गरिमा बोक्ने, अहम् भूमिका र महत्व भएको सजीव प्रणालीभित्र केही असजिला पक्षले पनि प्रवेश पाएको छ । समूह भावनामा समर्पित हुने कर्मचारी समूह आस्थामा विभाजित हुँदैछ । सेवाको कुनै सदस्यलाई चोट लाग्दा उसलाई मात्र दुख्‍ने प्रवृत्तिको विकास हुँदै छ । समूहभित्र ईर्ष्या र द्वेष हुर्किएकाले माया र आपसीपना पातलिइको छ । 

प्रणालीको संरक्षण र अभिभावकत्व हुनुपर्ने जस्तो भएन । व्यावसायिक सदाचारिता राख्नेहरूलाई लगातार लखेटियो, अनुचर र कनिष्ठहरूबाट शासनको प्रशासनको जिम्मेवारी दिइयो । कर्मचारीतन्त्रको विशेष गुण संस्थागत सम्झनालाई हटाइयो । अब नीति, निर्णय र वार्ताले राम्रो ‘इन्पुट’ नपाउने भए । 

राज्यइच्छा अभिव्यक्त भएका संविधान, नीति र कानुन सवैलाई सजीव बनाउने कर्मले हो । कर्म नै कर्मचारीका आचरण हो, त्यसैले उसलाई कर्मचारी भनिएको हो ।

एक साथी अर्कोलाई लखेट्न तम्सियो । आदर्श र सत्यान्वेषीलाई अनुचरवादीले लखेटिरहे । समूह भावना आस्था र आग्रहले विस्थापित हुँदै छ । एक साथी अर्कोसँग मन खोलेर कुरा गर्दैन । भाइ फुटे गँवार लुटे भयो । प्रणाली बिग्रेपछि बनाउन वर्षौं लाग्छ । यसको हेक्का रहेन । यस्तोमा चित्त दुख्ने, चिन्ता गर्ने तिनै लखेटिएका, किनारा लगाइएकाहरू नै हो । उनीहरूलाई निजामती र योग्यता प्रणालीको माया छ । 

प्रमोसन, अवसर र कार्य अदला-बदली पनि अस्वस्थ र आस्थामा प्रतिस्पर्धी भयो । विचार र आस्थाको छहारी खाज्ने प्रयास हुन थाल्यो । संगठनभित्र सौदाबाजी पनि हुर्किएको महसुस गरिँदै छ । आचरण र अनुशासन पातलिँदै छ । कर्म र समपर्णलाई वृत्ति-सोचले विस्थापन गर्दैछ । स्वयं प्रेरणा बिउँझिन सकेन । इमानदारहरूले इमानदार बन्दा पटक-पटक चोट पाए, तर प्रणाली मौन रह्यो ।

कर्मचारीका हकहितका लागि काम गर्न स्थापित धेरै कर्मचारी युनियनहरू बेवास्ती÷बिन्दासमा रमाए । प्रणाली मिच्ने र निजामती मूल्य अवलम्बन नगर्नेहरू प्रोत्साहित हुँदा इमानदारहरू अपमानित देखिए । ‘इमानदार बन्‍न नपाइने हो कि’ भन्‍ने संशय पनि देखियो । प्रणालीले यस्ता सवालको जवाफ कहिले खोज्ला ? 

सतहका यी विकृतिलाई पन्छ्याएर आगामी दिनका लागि असल निजामती प्रणाली कसरी निर्माण गर्ने ? निजामती सेवालाई सद्गुणहरूको वास्तविक संगम कसरी बनाउने ? निजामती सेवा दिवसका उपलक्ष्यमा यही प्रश्नको सरल उत्तर खोज्‍नुको विकल्प छैन । 


Author

थप समाचार
x