विचार

शोषक बनेर गरिब बनाउने, शासक बनेर हेप्‍ने, किन ?

दिपेन्द्रकुमार बीसी ‘दिपु’ |
कात्तिक ६, २०७९ आइतबार ७:२७ बजे

जब म काठमाडौँ, सुर्खेत जस्ता सहरहरूमा पुग्दा सडकहरूको फुटपाथमा एक्लै हिँड्दै गरेको हुन्छु तब महानगर/नगरको गाडीहरूको साइरन र नगर प्रहरीहरूको सिट्ठी सुन्‍नासाथ एकाएक कुम्लो, कुटुरो बोकेर फुटपाथ, चोकमा पसल थापेका मान्छेहरू भाग्दै गरेका देख्छु । अनि केही छिनमा नगर प्रहरीको गाडी जानसाथ फेरि फुटपाथ, पुल, चोकमा नै आएर व्यापार थापेर बस्ने गरेको देखेको छु ।

यो दृश्य देख्नासाथ मलाई गाउँको एक यस्तै घटनाको याद आउँछ जहाँ मकैबारीमा बाँदरबाट मकै बचाउन हेरालो अथवा चौकिदार मान्छेले कुकुर लगेर चिच्याहट गरेर बाँदर बारीबाट धपाउँछ ।


बारीबाट मान्छे घर फर्किनसाथ फेरि बाँदरहरू मकैबारीमा आएर मकै खान थालिहालेको दृश्य स्मृतिमा झल्किन्छ । जहाँ बाँदर धपाउने बारी हेरालाको कर्तव्य हुन्छ भने बाँदरले आफ्नो भोग तृप्ति पूरा गर्ने विवशता हुन्छ । हो यहाँ सहरमा त्यस्तै विचित्रताको दृश्य महानगर/नगर प्रहरी र फुटपाथमा व्यापार गरी जीवन निर्वाह गरिरहेका व्यक्तिहरूको लुकामारीमा देख्छु ।

महानगर तथा नगर प्रहरीलाई फुटपाथबाट व्यापारी धपाउने कर्तव्य हुन्छ भने फुटपाथमा व्यपार गर्नेहरूको जीवन निर्वाह गर्नुपर्ने विवशता हुन्छ । बस मात्र यी दुई ठाउँको प्रतिविम्ब घटनामा के फरक छ भने गाउँमा देखेको दृश्य मानव र जनावरबीचको कर्तव्य र विवशताको लुकामारी हो भने । सहरमा मानव र मानवबीचको कर्तव्य र विवशताको लुकामारी हो ।

त्यसैले मानव र मानवबीचको लुकामारी भइसकेपछि त्यसमा मानवता भन्‍ने कुरा हराउनुहुँदैन । एक अर्काको वास्तविक अवस्थाको सम्बोधन गरिएको हुनुपर्छ । दुवै पक्षको हित हुने सम्झौताद्वारा कानुन, नियम बनाएर कार्यान्वयन गरिएको हुनुपर्छ । होइन भने बाँदर उर्फ जनावर र मानवबीचको भिन्‍नता आखिर के ? जनावरसँग कानुन–नियम बनाएर कार्यान्वयन गर्न कहाँ सकिन्छ र ? त्यसैले मानव र मानवबीच सम्झौताद्वारा सर्वस्वीकार्य नियम बनाउनुपर्छ ।

नगर प्रहरीले बारी हेरालाले बाँदर धपाएझैँ साइरन लगाउँदै सहर चहार्ने र व्यापारीहरू बाँदरझैँ खेताबारीको हेरालो फर्कनासाथ मकैबारीमा बाँदर छापिएर मकै खान थालेझैँ व्यापार गर्न थालिहाल्ने यस प्रकारको लुकामारी काठमाडौँ महानगरलगायतका देशका ठूला सहरहरूमा कहिलेसम्म चल्छ ?

मानव र बाँदरको लुकामारी जस्तैः नेपालको राजधानी काठमाडौँ सहरमा मानव र मानवबीच हुनपुग्दा लमजुङ घर भई काठमाडौँ थापाथली प्रस्तुति गृह अस्पताल अगाडि ठेलामा चिया–नास्ताको व्यापार गर्ने, आर्थिक रूपमा विपन्‍न तथा शारीरिक अशक्त महिला शर्मिला तामाङ पीडित हुनपुगिन् । उनले जीविका निर्वाह गर्न, आफ्नो घर–परिवार चलाउन, छोरा र श्रीमान् पाल्न र आफू पालिन फुटपाथमा ठेला राखेर व्यापार गर्नुपर्ने विवशता थियो ।

काठमाडौँ महानगरले पनि फुटपाथमा कानुन विपरीत अनियन्त्रित रूपमा रहेका व्यापार र सडक अतिक्रमण रोकी फुटपाथलाई व्यवस्थित बनाउन व्यापारी धपाउने कर्तव्य थियोे । सोही क्रममा शर्मिला तामाङको जीवन गुजाराको सहारा जफत गरियो त्यति मात्र होइन उनकै अगाडि डोजर लगाएर त्यसको सर्वसोहरण गरियो । भनौं एउटी आमाको अगाडि छोरी बलात्कृत भएझैँ गरी ठेलाको सर्वविनाश गरियो । जसले गर्दा उनको मन रोयो । आत्मा रोयो । विवशता रोयो । त्यहीँ रुवाइ सामाजिक सञ्जालमा आउँदा लाखौं नेपालीको मन रोयो ।

अनि त्यो रुवाइको वास्तविकताले शासकमाथि मानवताको चौतर्फी प्रश्न उठेको छ । जनतालाई वर्तमानमा रुवाएर भविष्यका लागि खुसीको सपना देखाउनु कतिको जाहेज होला ? पक्कै पनि काठमाडौँ सहरमा फुटपाथलाई व्यवस्थित गर्नुपर्छ । बिनालक्ष्य, बिनाव्यवस्थापन, बिनासमस्या समाधान नै फुटपाथका व्यापारी हटाउने कुरा मेयरसापको विकासको मोडेल हुनसक्छ, मिडियामा चर्चा पाउने विषयवस्तु हुनसक्छ, एक्सन ओरेन्टेड कार्य भनी अनुयायीहरूबाट तारिफ हुनसक्छ तर फुटपाथबाटै जीवन गुजारा गरेका नागरिकका लागि धर्ती भासिएको र आकाश खसे जतिको भान नभए तापनि बसिरहेको घर भत्किए जतिको पीडा भने पक्कै हुन्छ ।

व्यापार हटाउनासाथ फुटपाथ व्यवस्थित हुन्छ भन्‍ने पनि हुँदैन । कतिपय सहरमा खुल्ला ठाउँमा फुटपाथमा व्यापार गर्ने व्यक्तिहरू बस्दा त्यहाँ वरपर सरसफाइ हुँदा, दुर्गन्ध पनि हुँदैन । किनकि वरिपरि सरसफाइ भयो भने ग्राहक आउँछन् भन्‍ने अपेक्षा राखेका हुन्छन् ।

महानगरले फुटपाथबाट व्यापारी हटाउने कार्य गर्नुपूर्व नेपालमा अधिकांश जनताको आर्थिक अवस्था, रोजगारीको अवस्था, जीवनयापनको शैली, आर्थिक बजार स्थितिलाई गहन रूपमा अध्ययन गरिनुपर्छ । फुटपाथको व्यापारी धपाउँदा व्यापार गर्नेहरूको आर्थिक सहारा त हराउँछ नै फुटपाथमा गएर सपिङ गर्ने, किनमेल गर्ने, खाने तथा लगाउने सामग्री किन्‍ने, अति आवश्यक चिजहरू किन्‍ने काठमाडौँ लगायत अन्य सहरहरूमा अध्ययन तथा रोजगारलाई बस्ने मध्यम तथा निम्‍न वर्गीय जीवनस्तर भएका नागरिकहरूको जीवनयापन पनि प्रभावित हुन जान्छ । सबै व्यक्तिहरू महलमा गएर सपिङ गर्न सक्दैनन् । सबै व्यक्तिहरू हायत र सोल्टी होटेलमा गएर एक छाक खाना खान सक्दैनन् ।

सबै व्यक्तिहरू महँगो रेस्टुरेन्टमा बसी जुस र चिया खान सक्दैनन् । सबै व्यक्तिहरू लन्डन पबमा गएर डिस्को डान्स गर्न सक्दैनन् । शरीर ढाक्ने एक सर्को कपडा किन्‍न, सिउँदो भर्ने एक धर्को सिउँदो किन्‍न, सरकारले नदेखेको आफ्नो हालतको वास्तविक प्रतिविम्ब आफैँ हेर्ने एउटा ऐना किन्‍न, धर्तीसँग संघर्ष गरिरहेका खुट्टा जोगाउन एक जोड हात्तीछाप चप्पल किन्‍न, पानी र घामबाट बचाउने छाताको भाँचिएको करङ बनाउन, दसैँमा किनेको पुरानो च्यात्तिएको जुत्ता तुनिएर भए पनि लगाएर चिसो फाल्न, बदाम, भुजाले भए पनि भोको पेट भर्न, काम गरेको थकाइ र बोझ हटाउनलाई भए पनि एक खुराक सुर्ती र पान ओठमा चेप्न, चटपटे र पानी पुरीको नास्ताले नै सम्बन्ध बनाउन, सबै कुरा स्वादविहीन रहँदा खानाको गाँसमा नुनिलो स्वादको तरकारी खानलाई भए पनि एक प्याकेट नुन किन्‍न निम्न वर्गीय मान्छे सस्तो र मस्तो बार्गेनिङ गरेर मूल्य घटाउन मिल्ने हुँदा फुटपाथमा गएर नै समान किनमेल गर्ने गर्छन ।

न कि यसका लागि महल छिर्ने उनीहरूसँग समय नै छ, न कि महल, मार्टमा पसेर सामान किन्‍ने पैसो नै छ । न कि महलमा यिनीहरूले भने जस्तो सम्मान उदारो किन्‍न मिल्ने व्यवस्था नै छ । त्यति मात्र होइन तिनै मध्यम तथा निम्न वर्गीय मान्छेहरूले न त पसल दर्ता गरेर, सटर भाँडामा बस्ने गरी लगानी गर्ने पुँजी नै छ । न त वैधता लिन प्रशासनमा सहजता नै छ । त्यसैले त बेच्नेहरूको लागि होस् या किन्‍नेहरूका लागि होस् यसै यसै फुटपाथको व्यापार फाइदाजनक छ ।

चुनावी मैदानमा ठूला व्यापारी तथा पुँजीपतिको आर्थिक सहयोग पाउँदा मात्र उनीहरूलाई व्यापारी ठान्‍ने तर फुटपाथमा व्यपार गरेर कयौं कुराको सहजता सृजना गरेका व्यक्तिहरूको वास्तविक विवशतालाई भने शक्तिको दम्भले हरण गर्ने गर्नुहुँदैन ।

काठमाडौँ महानमगरले अवैध भौतिक संरचनामाथि डोजर लागाएर भत्कायो जुन कार्यको प्रशंसा पनि हामी जनताबाट चौतर्फी भयो । उस्तै प्रशंसा बटुल्न अधिकांशको जीवन प्रभावित हुने फुटपाथका लागि वैकल्पिक निकास र व्यवस्थापन नगरीकनै बाँदर धपाई गर्नु धेरैलाई दुःखद् लागिरहेको छ ।

फुटपाथ अव्यवस्थित भएमा पकेटमार बढ्ने, चोरी बढ्ने, दुर्गन्ध फैलने, हो–हल्लाह हुने, झगडा हुने, पैदल यात्री विशेष गरी सुत्केरी महिला, अपांग, बालबालिका, ज्येष्ठ नागरिकलाई हिँड्न कठिन हुने, गुणस्तरहीन सामग्रीको बिक्रीवितरण हुने जस्ता समस्या देखापर्छन् । आफ्नै क्षेत्रमा भएको व्यापार भए तापनि महानगरले राजस्व पनि पाउँदैन । यिनी समस्या भयो भने आखिर जनताको प्रश्न पनि सरकारमाथि नै हुन्छ र समाधान गर्नुपर्ने जिम्मेवारी पनि स्थानीय सरकारमाथि हुँदा फुटपाथ व्यवस्थापन जरुरी कुरा हो ।

त्यसैले फुटपाथमा व्यापार गरी जीवन निर्वाह गर्नेहरूको व्यवस्थापनलाई : छुट्टै खुल्ला ठाउँमा व्यापार गर्न दिने, हप्तामा दुईपटक किनमेलका लागि फरक–फरक ठाउँमा मेला लगाउने, दिनमा घण्टाको आधारमा फरक–फरक ठाउँ र समयमा फरक–फरक व्यक्तिहरूलाई फुटपाथमा सामान बेच्न दिने, फुटपाथमा समान बिक्री गर्नेहरूले सम्बन्धित वडाको अनुमति लग्न लगाउने, वडालाई व्यापारको प्रकारको आधारमा व्यवस्थित गर्न निकै सस्तो कर उठाउन दिने, फुटपाथको व्यापारमा स्थानीय उत्पादन र ताजा कुरालाई बेच्नका लागि राख्ने, फुटपाथबाट बिक्री हुने वस्तुको गुणस्तरता मापन सरकारले गर्ने गर्नुपर्छ ।

काठमाडौँमा रहेको फुटपाथको समस्या महानगर वा मेयर बालेनले मात्र जिम्मेवारी लिने विषय होइन, प्रदेश र संघीय सरकारको पनि मुख्य जिम्मेवारी हो । प्रत्येक स्थानीय तहले आफ्ना नागरिकहरूको जीवनस्तर सुधार्न शिक्षा र रोजगार दिन सक्नुपर्छ । जीवन टार्ने आधार राजधानी काठमाडाँै मात्र नभएर आफ्नै स्थानीय तहमा पनि केही न केही श्रम गरेर जिउन सकिने हुँदा ७५३ वटै स्थानीयहरूले भर्सक आफ्ना नागरिकलाई आत्मनिर्भर बनाउन रोजगारका अवसरहरू सृजना गर्नुपर्छ ।

नेपालले दीगो विकासको लक्ष्यअनुरूप सन् २०३० सम्म नेपालमा सबै प्रकारका गरिबी हटाउने उद्देश्य राखेको छ । हाम्रो देशमा कुल जनसंख्याको २८.६ प्रतिशत जनसंख्या गरिब छन् भने १८.७ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि हुँदा यस्तो स्थितिको गरिबी निवारणको कार्यभार स्थानीय, प्रदेश र संघीय सरकारको हातमा छ । गरिबी निवारणको लक्ष्यलाई भेट्न जीवन गुजारा गर्ने बाटोलाई निषेधित गरी सहरबाट गरिब धपाउनु लजास्पद हुन्छ ।

जुन सहर सहर जस्तो बन्यो त्यो श्रमिकको परिश्रमले बनेको हो । जुन सहर सहर जस्तो बन्यो त्यो गरिबको जिउने आधार हुनाले बन्यो । जुन सहर सहर जस्तो बन्यो त्यो गरिबले बुन्‍ने सपनाले बनेको हो । त्यसैले गरिब धपाएर सहरको विकास सम्भव छैन । सहर गरिबको श्रमले बनेको हो । सहरमा रहेका धनी मान्छे गरिबको श्रम किनेर बनेका हुन् । व्यवस्थापनको आधारबिना नै लखेट्नु उपयुक्त भएन जिउनका लागि फेरि सडकमा आइहाल्छन् ।

छिमेकी राष्ट्र भारतको मुम्बई र दिल्ली, फिलिपिन्सको राजधानी मनिला, थाइल्यान्डको राजधानी बैंकक जस्ता सहरहरूमा धेरै मात्रामा फुटपाथमा व्यापार हुने गर्छन् । काठमाडौँमा पनि अत्यधिक भिडभाड हुने र त्यतिकै मात्रामा व्यापार हुने हुँदा देशमा नै जीवन निर्वाह गर्नका लागि राजधानीमा तानिएका मान्छेहरू विवशताले फुटपाथमा व्यापार गर्न विवश छन् । त्यसैले राजधानीबाट गरिब धपाएर गरिबी हटाउन सकिँदैन  । राज्यले विदेशमा श्रमिक पठाएर राजस्वबाट आर्थिक भार धान्‍ने मात्र होइन, फुटपाथमा चल्ने व्यापारलाई छुट्टै व्यवस्थित गरी सञ्चालन गरेर आर्थिक लाभ लिन सक्नुपर्छ ।

शर्मिला तामाङको पीडामा भावुक भएर अन्तरहृदयबाट आर्थिक सहयोग गर्ने समाजसेवीहरू पनि नेपालमा छन् । सम्मान छ । तर शर्मिला तामाङ जस्तै पीडा भएका, उनको जस्तै आर्थिक धरातल र अवस्था भएका कयौं परिवार छन् तिनी सबैलाई आर्थिक सहयोग गर्न सकिँदैन । त्यसैले राज्यलाई खबरदारी गरेर गरिबहरूको जीवन निर्वाहलाई वैध ओत र विकल्प दिन दबाब दिनुपर्छ । सृजनशीलता र कानुनी मान्यताप्राप्त उद्यम तथा व्यापार सञ्चालनलाई बन्दोबस्त गरिनुपर्छ ।

राज्य उर्फ सरकार कानुन कार्यान्वयनको मामिलामा कडा हुनुपर्छ तर कानुन त्यस्तो हुनुपर्छ जसले धेरैको खुसीलाई समेट्न सक्ने हुनुपर्छ । कानुनविद् दार्शनिक बेन्थमले नै भनेका छन् कि ‘ल इज ग्रेटेस्ट ह्यापिनेस अफ दि ग्रेटेस्ट नम्बर अफ पिपुल्स’ त्यसैले धेरै जनताको इच्छालाई सम्बोधन गर्नुपर्छ । गरिबी हटाउने उद्देश्य पूरा गर्न सहरबाट गरिब धपाएर हुँदैन । फुटपाथ व्यापारलाई सडक नदिए तापनि जीवन निर्वाहलाई अन्य बाटो तथा उपाय दिनुपर्छ ।

बीसीको यसअघिको लेख


Author

दिपेन्द्रकुमार बीसी ‘दिपु’

दिपेन्द्र मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल बीएएलएल्बी तेस्रो सेमेस्टरका विद्यार्थी हुन् ।


थप समाचार
x