विचार

हामी चोरै हौँ त ? हो हो, होइन गलत

दिपेन्द्रकुमार बीसी ‘दिपु’ |
पुस ३, २०७८ शनिबार ८:५७ बजे

‘नेता कार्यक्रममा आउँदा को चोर आए भन्‍ने समाजले तिनै पार्टीका अध्यक्ष कार्यक्रममा आए चोरहरूका बा आए बा भन्‍नेछन् ।’ यतिबेला नेपालका विभिन्‍न राजनीतिक दलहरूको महाधिवेशन सकिएको छ, कतिको हुँदै छ । नेपाली कांग्रेसको मंसिर २४ बाट चलेको अधिवेशनमा एउटै मञ्चमा उपस्थित नेताबीच जुहारी चलेको थियो । एक अर्काको भाषणमाथि भाषणबाटै कटाक्ष पनि गरिएको थियोे । समष्टिमा राजतन्त्र र गणतन्त्रवादीबीच घोचाघोच भाषणहरू चले ।

राप्रपामा लामो समय राज गरेका कमल थापालाई हराउँदै भर्खरै अधिवेशनबाट राप्रपाको अध्यक्ष भएका राजेन्द्र लिङ्देनले सम्बोधनका क्रममा भने, ‘गाउँमा जनतालाई कुनै नेता आएको छ भनी कार्यक्रममा बोलाउँदा जनताले कुन चाहिँ चोर आए छ’ भन्छन् भनी बोलेका थिए । नेता र नेतृत्वमा सुधार हुनुपर्ने कुरा गरेका थिए । यो यथार्थ जनताको कुरा पनि हो । तर उक्त कार्यक्रममा बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता चोर कुनै रूपमा हुन सक्दैन, यो नागरिक स्वाभिमानविरुद्धको कुरा हो भने । राजेन्द्र लिङ्देनलाई कटाक्ष गर्दै भने, ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, बढी नै कुद्छ ।’ 


भर्खर भर्खर अध्यक्ष भएको रापतापले बोलेको हुन सक्छन् भनेका थिए । उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता प्रचण्डले मञ्चमा उपस्थिति जनाएका कांग्रेसी प्रतिनिधिसँग सोध्दै भनेका थिए- के हामी चोर हौँ त साथी हो ? फ्लोरबाट आवज आएको थियो- हो हो । 

पछि आफैँ प्रचण्डले होइन, गलत हो भनेका थिए । यस्तोसम्म कि त्यहाँ हो हो भन्‍ने प्रतिनिधि पनि कुनै न कुनै प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय सरकारका नेता नै थिए । जसले आफूहरू चोर भएको कुरा स्वतः अनुमोदन गरिरहेका थिए भने यता प्रचण्ड आफैँ आफ्नो बचाऊ गरेर होइन भन्‍न पुगेका थिए । लिङ्देनको भनाइ गणतन्त्र प्राप्तिमा संघर्ष गरेका नेताको बदनामीका लागि हो भनेर भनेका थिए । साथै नेकपा एसका अध्यक्ष माधव नेपालले राजालाई राजनीतिक दल खोलेर राजनीतिमा आउन आग्रह गरेका थिए ।

यस्ता घटनाले केही रोचक देखिए तापनि गम्भीर रूपमा सोच्नुपर्ने भएको छ । यी भाषणका अन्तद्र्वन्द्वले जनतामा नेताप्रति विश्वासको मत कमजोर बन्‍ने परिस्थितिमा रहेको र नैराश्य कायम भएको देखिन्छ । साथै राजावादीहरू भित्रभित्रै कता कता चलबलाउन थालेको जस्तो देखिन जान्छ । राजेन्द्र लिङ्देन आफैँ पनि नेता भएर नेता चोर भए भनेर भन्दा यो कसैलाई पच्यो त ? कतिलाई पचेन । 

तर यहाँ कुनै नेताले हामी नेता चोर भयौं भनेर समीक्षा गरेका त कसैले हामी असल र कुशल नेता हुँ भनेर तारिफ गरेका छन् । नेता चोर हुन् या नेता नै चोर हुन्‍न भन्‍ने कुराको विश्वास दिलाउने जिम्मा स्वयं नेताकै हातमा हुन्छ । यद्यपि नेता आए चोर आए र राजा आए नेता आए भन्‍ने त जनताले पक्कै गर्दैनन् । किनकि इतिहास जीवित छ, चोर नै आउँछन् र चोर नै भन्‍नेछ्न ।

यतिसम्म कुरा खोतल्दा राजतन्त्र आउने दिनमा नेपालको कल्पनाको विषय हुन सक्दैन र बनाउनु पनि हुँदैन । त्यसका निम्ति राजनीतिक संस्कार र नेतृत्व कुशल हुनुपर्छ । कार्यपालिकालाई पनि बदनाम गराउने, व्यवस्थापिकालाई पनि बदनाम गराउने, न्यायालयलाई पनि बदनाम गराउने, राजनीतिक दल र ती नेताहरू कुशल हुन् भन्‍नु त मूर्खता नै हुन्छ । तसर्थ जनताले नेतालाई चोरको, फटाहको, खराबको, भ्रष्टको, गुण्डाको दर्जा दिनपुग्दा बोली प्रचण्डको जस्तो बचाउ भन्दा पनि व्यवहारगत कार्यले कुशल र असल नेतृत्वको पहिचान दिनु जरुरी हुन्छ ।

को नेता को चोर भनेर नेताहरूलाई एउटा रोज्न लगाउने हो भने पनि नेता हुँ भन्‍ने एकतर्फी र चोर हुँ भन्‍ने एकतर्फी गर्दा नेता हौँ भन्‍नेतर्फ नै सबै लाग्छन् । स्वयं राजेन्द्र लिङदेन पनि नेता हुँ भनेर लाग्नेछन् । १७ हजार नागरिकको जीवन चोरेर वैज्ञानिक समाजवादको सपना चोर्ने प्रचण्ड, घरघरमा पाइप ग्यास, रेल, इत्यादि देश समृद्धिका कुरा गरेर जनताको अभिमत चोर्ने अनि संविधान विपरीत संसद् विघटन गरेर राजनीतिक अस्थिरता मच्चाउने केपी ओली, प्रजातान्त्रिक मूल्यमान्यताको इतिहास भएको पार्टीको सभापति भएर परमादेशको प्रधानमन्त्री पड्काएका, जनताको प्रजातान्त्रिक अभ्यास विश्ववासलाई चोरेका शेरबहादुर देउवा, एमाले पार्टी र जनताको बहुदलीय जनवादको लोकप्रियताबाट जनअभिमत चोरेका तर अहिले नयाँ पार्टी खोलेका माधवकुमार नेपाल, हिन्दू धर्मको प्रचारले धार्मिक समर्थन चोरेका कमल थापा इत्यादि थुप्रै नेताले जनताको अभिमत चोरेका हुन ।

सायद यी नेता कुशल नेता नै हुन्थे भने प्राप्त अभिमतको सम्मानका साथ देशको विकासका निम्ति काम गर्नुपर्थ्यो । नेता भएर मत चोरे त्यसपछि काम नै गरेनन् जन नजरमा चोर भए । यो त राजानीतिक चोरी वा चोराइ भयो । तर साँच्चिकै पनि कतिपय नेता चोर छन् । कसैले मन्दिरको मूर्ति चोरेका छन् । कसैले धाराको पाइप चोरेका छन् । कसैले सरकारी जग्गा जमिन चोरेका छन् । कसैले सरकारी कार्यालयको ल्यापटप, कम्प्युटर चोरेका छन् । सरकारी स्रोत साधन चोरेका छन् । बजेट र योजना चोरेका छन् । धेरैले त राष्ट्रको इज्जत नै चोरेका छन् । यिनै कुरालाई ख्याल राखेका जनताबाट को नेता, को चोर खेलको परीक्षण गराउने हो भने सबै नेता, सबै चोर भनी चोरको दर्जामा राख्‍नेछन् ।

सर्वोच्च अदालत जस्तो निष्पक्ष निकायमा लामो समयसम्म पनि विवाद रहिरहँदा, प्रधानन्यायाधीशले अदालतको गौरवलाई जोगाउन नसक्दा बेमतलब भएर बस्ने, कुनै प्रतिक्रिया पनि नजाउने, महाअभियोग लगाउनलाई तयार नहुने राजनीति दल र तिनका नेतृत्वलाई हेर्दा नै थाहा हुन्छ कि राजनीतिक दलहरू सेटिङ र अन्य भ्रष्ट मामिलामा कतिको संलग्नता छ । भ्रष्टाचार गरेको खुलासा भइदिने हो कि भन्‍ने डरमा प्रधानन्यायाधीशको गलत नियतविरुद्ध बोल्न नसक्ने अवस्थामा छन् ।

जनताले आलोचना गर्छन् कि भनी समर्थन पनि नगर्ने तर पूर्ण मौन बसिदिने गरेका छन् । राज्यका संवैधानिक निकायभित्रको बेथिति, राज्यका प्रशासनिक क्षेत्रको खराब प्रवृत्ति, सरकार र कूटनैतिक निकायभित्रको मिलेमतो इत्यादि क्षेत्रमा बेथिति खुल्लमखुल्ला हुँदा जो सत्तामा हुन्छ त्यसले खान्छ भन्‍ने स्वाभाविक नियमको नजीर प्रचलित गर्ने प्रणालीले नेता के साँच्चिकै नेता हो भन्‍ने कुराको प्रश्न जन्माउँछ । के नेताले आफू र आफैँबाट भएका खराबीहरू सबै ठीकै र राम्रै मात्र चलेको देख्छ त ?

यद्यपि अबका दिनमा चुनावमा कुनै राजनीतिक पार्टीहरू भोट माग्नलाई गाउँघरमा आए भने जनताले भन्‍नेछन् । ‘कुन पार्टी के पार्टी ? काम गर्छौ जनता ढाँटी ।’ यस्ता आक्षेपबाट बच्न राजनीतिक दलको कार्यदिशा, राजनीतिक दलको नेतृत्व, नेताकार्यकर्ताको शैली र संस्कार सुध्रिनु जरुरी छ । बजेट दोहन गर्ने, योजना लिएर पैसा खाने, राज्यको स्रोत दुरुपयोग गर्ने संस्कार अँगाली नेता हुने सोख पाल्ने प्रवृत्तिलाई तिलाञ्जलि दिनुपर्छ । आफ्नो समाजको सिंगो हित र विकासमा लक्षित हुनुपर्छ । नेता जनताको सेवक हो । चोर होइन, ठग हैन, भ्रष्ट हैन भनेर परिचय दिनुपर्छ । 

असल र कुशल मान्छे पनि नेता छन् अर्थात् राजनीतिमा छन् । तिनीहरू चोर पनि हैनन् तर पनि धेरै खराबहरूको जमातमा असल नेता चोरको नजरमा गनिएका छन । हरेक राजनीतिक दलको नेतृत्वमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म राम्रो नेतृत्वलाई निर्वाचित गराउन सकियो भने राम्रो मान्छेको जमात बढ्नेछ । नत्र त नेता नेता मात्र हैन चोर पनि हो भन्‍ने कुरामा कुनै दुई मत रहनेछैन ।

राम्रो र असल नेतालाई विस्थापन गर्दै गए, नेता चोर हो भन्‍ने र यसै कुराको गौरव गर्ने नेताहरू मात्र देखिनेछन् । जसले बेइमानी मात्रै गर्नेछन् । कुनै पनि पार्टीमा कस्ता प्रवृत्तिका मान्छे धेरै छन् भन्‍ने कुराको मूल्यांकन अधिवेशनबाट आउने नेतृत्वबाट पुष्टि हुन जान्छ । तसर्थ हरेक नेताकार्यकर्ताले असल नेतालाई पार्टीमा साथ दिनुपर्छ । हरेक पार्टीमा असल नेता जन्मन सकून् । नेता नेता नै होस् चोर नबनिदिऊन् । 

सबै नेता सबै चोर भनेर भन्‍ने जनसमुदायलाई पनि थाहा हुन सकोस्, को नेता हो ? को चोर हो ? जनताले नि जान्‍न सकून्, को खराब को सही ? कसको कार्यकुशलता राम्रो, कसको नराम्रो ? त्यसका निम्ति पार्टीमा राम्रो सिद्धान्त र उद्देश्यलाई अगाडि सार्नुपर्ने हुन्छ । वैचारिक अब्बलतासँगै व्यावहारिक अब्बलतालाई कायम राख्नुपर्छ । उमेरसँगै फरकपना, वर्ग, लिङ्ग, जातसँगको फरकपनालाई नदाँजी आफ्नो नागरिकप्रति जस्तो अवस्थामा पनि इमानदारीसाथ खटिने जो जस्तोसुकै इमानदार योग्य नेतृत्वलाई पार्टीका प्रतिनिधिदेखि जनताले समेत अनुमोदित गर्नुपर्छ ।

अहिले कुनै कार्यक्रममा स्थानीय नेता आएको खण्डमा चोर आयो भन्‍ने समाजले पार्टीको शीर्ष नेता अर्थात् अध्यक्ष आउन पुगे चोरहरूको बा आए भन्‍नेछन् । त्यसैले राजनीतिक कार्यकुशलता र नेतृत्वमा केपी बादेखि प्रचण्ड, माधव, देउवा आदि सबै बाहरू सचेत र गम्भीर हुनैपर्छ । 

(मध्यपश्चिम विश्वविद्यालयमा कानुनको विद्यार्थी, वीरेन्द्रनगर, सुर्खेत ।)


Author

दिपेन्द्रकुमार बीसी ‘दिपु’

दिपेन्द्र मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल बीएएलएल्बी तेस्रो सेमेस्टरका विद्यार्थी हुन् ।


थप समाचार
x