विचार

देशले चाहेको प्रधानमन्त्री

विनाेद सिजापती |
मंसिर १४, २०७९ बुधबार १६:३ बजे

निर्वाचन परिणाम आउने क्रमसँगै जनमानस विशेष गरी भावी सरकारको नेतृत्व कसले गर्छ भन्नेमा केन्द्रित हुँदै छ । सार्वजनिक जीवनमा प्रवेश गर्ने राजनीतिककर्मीलाई देश सञ्चालनको अभिभारा पाउने अभिलाषा हुन्छ । नेताहरूमा देश हाँक्ने प्रबल इच्छा हुनु स्वाभाविकै हो । यथार्थ चाहिँ राजनीतिककर्मी अथवा दलीय नेता हुँदैमा प्रधानमन्त्री पदको हकदार होइँदैन । ‘देश सञ्चालन तथा व्यवस्थापन गर्ने क्षमता छ’ भन्ने आत्मविश्वास मात्र पर्याप्त हुँदैन । पद प्राप्तिपछि देशलाई सही दिशाउन्मुख तुल्याउने दृष्टिकोण, कार्ययोजना तथा त्यसप्रति जनविश्वास जगाउन सक्ने क्षमता आवश्यक हुन्छ । मूलतः उक्त भूमिका सफलताका साथ सम्पन्न गर्न संकल्प, अभ्यास, अध्ययन, चिन्तन आदिका अतिरिक्त ‘ठूलो निःस्वार्थ छाती’ हुनु अनिवार्य हुन्छ । देश हाँक्ने क्षमता अत्यन्त दुर्लभ गुण हो । जो कोहीमा त्यो गुण हुँदैन । 

सफल राजनीतिककर्मी हरहमेसा सचेत हुन्छन् नागरिकले आफ्नो व्यक्तित्व, हैसियत (ल्याकत) तथा क्षमता आदि गुणहरूको मूल्यांकन कसरी गर्दै छन् भन्ने विषयमा । 


इतिहासमा परिणत भइसकेका व्यक्तिगत भूमिकालाई भजाउन अभ्यस्त हुने गर्छन् । विगतमा आफूले गरेको योगदानलाई बढाइ–चढाइ गर्दा नै नागरिकको विश्वास प्राप्त हुन्छ भन्ने भ्रम पालेर नतमस्तक हुने गर्छन् । विगतमा भएका उथलपुथलको नायक आफू भएको भ्रम फैलाउन अग्रसर हुन्छन् । 

राजनीतिक संघर्षका क्रममा पाएको दुःखको प्रचार तथा प्रसार गरेर सहानुभूति जुटाउन अभ्यस्त छन् । त्यस्तो ‘मिथ’लाई क्षमता तथा दक्षताका प्रमाणपत्रका रूपमा प्रस्तुत गरेर राष्ट्र हाँक्ने जिम्मेवारीको हकदार आफू भएको निक्र्याैल निकाल्छन् । अधिकांशले नागरिकले व्यक्त गरेका अभिव्यक्तिलाई अनादेखा गर्छन् । अग्रपंक्तिको नेतृत्वले नागरिकको भावनाप्रति कुनै चासो राखेको देखिँदैन । निर्वाचित भएको दिनदेखि अर्को निर्वाचनको आगमनसम्मको अवधिमा उनीहरू ध्याउन्न सत्ता केन्द्रित हुन्छ ।

नागरिक विगतमा बाँच्दैनन् । हँुदा खानेको (जसको देशमा बाहुल्य छ) चिन्ता बिहान खान पाए बेलुकीको छाक कसरी टार्नेमै केन्द्रित हुन्छ । हुने खानेका लागि आफ्नो तथा आफ्ना सन्ततिको भविष्य कसरी सुरक्षित तुल्याउने भन्ने हुन्छ । समष्टिगतमा सम्मानित नेताको आश्वासन होइन, परिणामको खोजीमा हुन्छन् उनीहरू । नेताको मूल्यांकन परिवार, छरछिमेकको तथा भएका÷निर्मित सार्वजनिक सेवाले जीवनमा परेका समस्याहरूको आधारमा गर्छन् । समाजमा देखापरेका अथवा महसुस हुने परिणामको आधारमा नेताको कार्यको मूल्यांकन हुन्छ । आमनागरिकको चाहना योग्यमध्ये पनि सर्वश्रेष्ठ शासक चयन होस् भन्ने हुन्छ । 

प्रधानमन्त्री पदको दौडको अग्रपंक्तिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, खड्गप्रसाद ओली, पुष्पकलम दाहाल तथा माधवकुमार नेपाल छन् । सफलता हात परेको खण्डमा देउवा छैँटौँ पटक उक्त पदमा आसीन हुनेछन् । खड्गप्रसाद तथा पुष्पकमल दाहालका निमित्त यो तेस्रो पटक हुनेछ भने माधव नेपालका लागि दोस्रो पटक । पाँच वर्षे सभामुखको अनुभवका अतिरिक्त पौडेलसँग अन्य उम्मेदवारले भन्दा लामो अवधि महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरेको अनुभव छ । संसद्भित्रै अनगन्ती पटक वा अरुले भन्दा धेरै पटक प्रयास गर्दा पनि प्रधानमन्त्री पद प्राप्त गर्न असफल भएका उमेदवार हुन् तिनी । समग्रमा भन्ने हो भने विगत ३ दशकभन्दा लामो अवधिमा (दाहालको हकमा २ दशक) उनीहरू सबैले सत्तासीन हुँदा अथवा नहुँदा पनि देशको गच्छे अथवा हैसियतले दिन सक्ने भन्दा बढी सुविधा तथा सहुलियत उपभोग गर्दै आएका छन् ।

पाँचै नेताले निश्चय पनि सार्वजनिक गर्न नचाहे पनि आत्मसमीक्षा अवश्य नै गरेकै हुनुपर्छ । देशबाट के–कस्ता सम्मान, अवसर तथा सुविधाहरू प्राप्त भए त्यसको हिसाब–किताब राखेकै हुनुपर्छ । त्यसै गरी उनीहरूले देशलाई के कस्ता योगदान गरे भन्ने विषयमा पनि केही न केही हिसाब राखेकै हुनुपर्छ । नागरिकको नजरमा देशबाट उनीहरूले प्राप्त गरेको सम्मान, अवसर, जिम्मेवारी, सुख–सुविधा तथा सहुलियत आदिको दाँजोमा तिनले देशलाई लगाएको गुण नागन्य छ ।

लोकप्रियता, समर्पण, दूरदृष्टि, योग्यता, व्यक्तित्व तथा विगतमा प्रदर्शन गरेका सद्गुणहरू आधार मान्ने हो भने नयाँ प्रतिनिधि सभामा गगन थापालाई चुनौती दिने अर्को पात्र छैन । 

जनउपभोगकै निमित्त किन नहोस् उनीहरूमध्ये कुनै एकले पनि प्रधानमन्त्री पदको दाबेदारी गर्नुको प्रमुख कारण सार्वजनिक गर्ने सामर्थ्य राख्दैनन् । जो कोहीले ‘तपाईं किन प्रधानमन्त्री हुन चाहनुहुन्छ ?’ तथा पद प्राप्तिपछि के गर्ने उद्देश्य राख्नु भएको छ ? भनी प्रश्न गर्ने हो भने आमूर्त उत्तर सिवाय उनीहरूले भन्ने केही हुँदैन । ‘देश अर्कोले त चलायो मैले किन चलाउन नसक्ने ?’ प्रकारका उत्तर सबैको मुखबाट आउने प्रबल सम्भावना छ । सुरुमै उल्लेख गरिए जस्तै देश सञ्चालन अभिभारा कुनै पनि नेताको जीवनको लक्ष्य हुनु अस्वाभाविक होइन । तर तिनको त्यही अभीष्ट पूर्तिमै सीमित हुनु देशका लागि दुर्भाग्यपूर्ण अवस्था हो । 

निर्वाचन–२०७९ परिणामले परिवेश फेरिए तापनि विगत तीन दशकदेखिकै इतिहास दोहोरिने प्रबल सम्भावना राख्छ । उमेर समूहको हिसाबले ६६ प्रतिशतभन्दा बढी मतदाताले चुनेका उमेदवारलाई ६ प्रतिशतभन्दा कमको निर्णयको बन्दी तुल्याउने देखिन्छ । अर्थात् मतदाताले दिएको जनादेश अनादेखा गर्ने प्रचलनले निरन्तरता पाउन सक्छ । राष्ट्र गणतान्त्रिक भएपछि राज इच्छालाई सीमित संख्याको राजनीतिक नेतृत्वले विस्थापित गरेका छन् । 

इतिहासमा परिणत भएको नारायणहिटीको चाहनाअनुरूप प्रधानमन्त्री नियुक्ति हुने परम्परालाई नेताहरूले खडा गरेको गैरसंवैधानिक ‘सिन्डिकेट’ तथा त्यसलाई निर्देशन गर्ने अदृश्य निहित स्वार्थी समूहले विस्थापित गरेको छ । लोकतान्त्रिक प्रणालीलाई अँध्यारो कोठामा गरिने ‘भद्र सहमति’ले अवरुद्ध गर्ने कार्यले निरन्तरता पाउने प्रचूर सम्भावना छ । 

पद्धति वा प्रणालीको विकास गर्ने हो भने प्रजातन्त्रको स्थापनाकालदेखिको राजनीतिक वृत्तको व्यवस्थापन लडाइँ एक व्यक्ति एक पदलाई यस पटक पनि अवहेलना गर्ने देखिन्छ । नेपाली कांग्रेसबाहेक अन्य दलको हकमा यो विषयको उठान गर्नु पनि बेकार हुन्छ । कांग्रेसको रामचन्द्र पौडेलबाहेक सबै नेताहरू पार्टी सभापति तथा विनाप्रतिस्पर्धा संसदीय दल नेता हुनेछन् । उमेरको हदले पुष्पकमल दाहाल अपवाद होलान्, जसले ७० वर्षे उमेर काटेका छैनन् । 

निर्वाचन परिणामलाई जनआदेश मान्ने हो भने चारै नेता पार्टी सञ्चालन गर्न पनि सक्षम छैनन् । पार्टी सञ्चालनका अतिरिक्त राष्ट्र सञ्चालन उनीहरूको उमेरले दिँदैन । यदि चलेको छ चल्ने नै छ भन्ने मान्यतालाई निरन्तरता दिने हो भने देश दुर्घटनाग्रस्त हुने संकेत देखा पर्न थालेको छ । चाकडीदार, चाटुकार तथा सुकिला–मुकिला (जसको स्वार्थ हित रक्षा यी नेताहरूले विनावस्त्र पहिरेर गर्दै आएका छन्) बाहेक सबै दल सदसयहरू तथा समर्थकका निमित्त विद्यमान नेतृत्वको भारी बोक्न कठिन भइसकेको छ । विद्यमान अवस्थामा दुवै पद ओगट्ने प्रयास दुष्प्रयास साबित हुनेछ । केवल बूढो बहरले कोरिलो बाछी ओगट्ने प्रयास हुने निश्चित छ। 

निर्वाचन–२०७९ ले दिएको टड्कारो सन्देश भनेको मतदाताहरू जुन तौरतरिकाबाट देश सञ्चालन हुँदै गरेको छ, त्यसबाट असन्तुष्ट मात्र होइन निराश भएका छन् । उक्त अभिव्यक्तिको सूचक हुन निर्वाचन सहभागिता न्यून हुनु (६१ प्रतिशत) तथा नयाँ दल, स्वतन्त्र उम्मेदवारका अतिरिक्त पूर्वपञ्चहरू निर्वाचित हुनु । नेताका निकटतम खोटा सिक्कामा परिणत भएका अधिकांश उमेदवार पराजय हुनु अर्को प्रमाण हो, बूढो ब्वाँसोको नंग्रा तथा दात फुकाल्ने मतदाताको प्रयास । यी सूचकहरूलाई अवज्ञा गर्नु भनेको दलहरूलाई सुध्रने दिएको मतादेशको अवहेलना हो । पुराना नेताहरू पुन सत्तासीन हुने हो भने उक्त जनादेशको अवहेलना हुनेछ ।

अबको संसदमा उल्लिखित पाँच पात्रबाहेक अन्य प्रधानमन्त्री पदको दाबेदार अझ प्रस्ट भन्ने हो भने सक्षम उमेदवारको अभाव छैन । सबैभन्दा ठूलो दल भएको हुनाले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने हैसियत राख्छ । दुई चार अपवादबाहेक जुनसुकै निर्वाचित नेपाली कांग्रेस संसद्लाई (जोखिम मोलेर) सरकार निर्माण तथा नेतृत्व गर्ने अभिभारा सुम्पिएको खण्डमा परिणाम विगतभन्दा पृथक् तथा देश हितका लागि अनुकूल नै हुने ठोकुवा गर्ने प्रशस्त आधार छन् ।

यथार्थको धरातलमा खडा हुने हो भने निश्चय पनि सबैभन्दा जनचाहना अनुरूपको उम्मेदवार गगनकुमार थापा सामुन्ने छन् । थापा मात्र एक उम्मेदवार हुन् जसले देश हाँक्न तयार भएको घोषणा निर्वाचनपूर्व नै सार्वजनिक गरेका छन् । त्यसो त, तिनी मात्र एकल उमेदवार होलान् जसले देश सञ्चालनको पूर्वअभ्यास गरेका छन् । देशलाई कुन गन्तव्यउन्मुख तुल्याउने मार्गचित्र तयार गरेका छन् । लोकप्रियता, समर्पण, दूरदृष्टि, योग्यता, व्यक्तित्व तथा विगतमा प्रदर्शन गरेका सद्गुणहरू आधार मान्ने हो भने नयाँ प्रतिनिधि सभामा गगन थापालाई चुनौती दिने अर्को पात्र छैन । तिनी नागरिकको रोजाइको एकल उमेदवार हुन् ।

उमेर ढल्केका पाँचै नेताले देश हितका निमित्त सहकार्य गर्ने अग्रसर हुने हो भने थापाको नेतृत्वमा बहुदलीय राष्ट्रिय सरकार निर्माण गर्ने यो अवसर हो । देशले आगामी दिनमा बेहोर्नुपर्ने आर्थिक, सामाजिक तथा भू–राजनीतिक चुनौतीलाई मध्यनजर गर्ने हो भने यो सबैभन्दा उत्तम विकल्प हुन सक्छ । अन्यथा, पनि थापाको नेतृत्वमा सरकार गठन गर्ने अवसर नेपाली कांग्रेसले सुम्पिएको खण्डमा न्यूनतम नीतिगत तथा कार्यक्रम तर्जुमा गरेर सहमति कायम गर्नु आवश्यक हुन्छ । त्यस्तो नीति तथा कार्यक्रममा समर्थन जनाउने तथा कटिबद्ध दलहरूको सहभागितामा बहुदलीय सरकार गठन अर्को विकल्प हुन सक्छ ।


Author

थप समाचार
x