विचार

अस्पतालका आर्तनादहरू र रामवरणको २५ लाख

विपिन आचार्य |
मंसिर १५, २०७९ बिहीबार ११:४५ बजे

समय : रातको ११ बजे 
मिति : ७ कात्तिक २०७९ 
स्थान : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्ष । 

म मेरी बिरामी आमालाई खाना र औषधि दिएर सघन उपचार कक्षबाहिर ‘म्याट’ बिछ्याएर सुतिसकेको थिएँ । एकजना अधबैँसे महिलाले बिलौना गर्दै कसैसँग कुरा गरिरहेको सुनेपछि मेरा आँखा खुले । 


ती अधबैँसे महिला श्रीमान्को उपचारका लागि बागचौर सल्यानबाट आएकी रहिछन् । साथमा थिए, बिरामीका एकजना मामा । 

केही दिनअघि सामान्य ज्वरो आएपछि घरेलु उपचार नै गरेको र दिन बित्दै जाँदा हिजै मात्र बागचौरको स्थानीय स्वास्थ्य संस्थामा ‘देखाएछन्’ । त्यहाँबाट उपाय नलागेपछि सल्यान शीतलपार्टीको कुनै अस्पतालमा लिएर गए । त्यहाँबाट पनि तुरुन्तै कुनै राम्रो अस्पतालमा लैजानुस् भनेपछि भ्यान रिजर्भ गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही आइपुगेका रहेछन् । 

आउनेबित्तिकै डाक्टरले आईसीयूमा भर्ना गरिदिए । यस्तो गम्भीर अवस्था आउला भन्ने छेउटुप्पो भेउ नपाएका यी मामा र श्रीमतीसँग साथमा न त एकजोर अतिरिक्त लुगाफाटो थियो, न त बन्दोबस्तीको सामान, न त भैपरी आउने गर्जो टार्न पैसो नै । 

अस्पतालकै फार्मेसीले उधारो औषधि नदिने भनेपछि आफ्नो मोबाइल फोन धरौटी राखेर औषधि लिएर आए । आईसीयुमा भर्ना भएको बिरामी हो र डिस्चार्ज हुने बेलामा भुक्तानी गर्ने सर्तमा निकै कसरत गरेपछि फार्मेसीले ओखती दिन मन्जुर भयो । 

हुलिया हेर्दा सामान्य छन् । अस्पतालका कामकारबाहीप्रति बिल्कुल अनभिज्ञ छन् । यिनका करुणाग्रस्त आँखाले कसैको सहारा खोजिरहेका थिए । कसैले औंलो डोर्याउँदै अघि सरेर अस्पतालका प्रक्रिया बुझाइदिए हुन्थ्यो भन्नेमा उनीहरू थिए । 

यति ठूलो अस्पतालमा ल्याइसकेका छौँ अब त बिसेक भैजाला भन्नेमा उनी थिइन् । घरीघरी आफन्तसँग फोनमा कुरा गर्दा उनी बडो आत्मविश्वासी देखिन्थिन् । मामा चाहिँ कहिले के रिपोर्ट, कहिले के रिपोर्ट, कहिले फार्मेसी दौडिरहेका थिए । 

एकछिनपछि डाक्टरले बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बताए । भेन्टिलेटर भनेको के हो र उनका बिरामी श्रीमान्को स्वास्थ्य कुन तहको जोखिममा छ भन्नेसम्मको हेक्का उनीमा थिएन । 

यत्रो अस्पताल छ, यत्रा डाक्टर छन्, श्रीमान्को उपचार हुँदै छ । ४१ वर्षीय लक्का जवान श्रीमान् चाँडै निको भइजान्छन् भन्नेमा उनी निर्धक्क थिइन् । 
आईसीयु कक्षबाहिर घण्टी बजाउँदा आउने डक्टरलाई मैले साउतीको भाकामा सोधैँ, ‘भएको के हो डक्टर साब ?’ 
उनले डाक्टरी शैलीमा भने, ‘मल्टिपल अर्गान डिस्फङ्सन सिन्ड्रोम ।’ 

मैले त बुझेँ, शरीरका धेरै अङ्गले राम्ररी काम गर्न छोडेका रहेछन् भनेर । तर, डाक्टरको यो भाषा सबैले कसरी बुझ्छन्, म जान्दिनँ । 
यसको अर्थ अब प्राण जोगिने आशा निक्कै कम छ भन्ने छनक मैले पाएँ । 

श्रीमान्लाई भेन्टिलेटरको बेडमा भेट्न पाउनु पनि अमेरिकाको भिसा लगाउनु जस्तै कठिन छ । बलिउड सिनेमा ‘मुन्ना भाइ एमबीबीएस’मा डा. अस्थानाले भने जस्तै डाक्टरहरूका लागि रोगी भनेको केवल एउटा बिमार वस्तु मात्र हो । 

यहाँ हमदर्दीको कुनै अंश छैन । भित्रबाट कुनै चिर्कटोमा यो यो औषधि ल्याउनुस् भन्ने आदेश रोकिएकै छैन । भित्र बिरामीलाई भेट्न पाइएकै छैन । औषधि ल्याऊ भन्न चाहिँ डाक्टर निरन्तर आइरहेछन् । ज्यानको कुरा छ यहाँ, प्रतिवाद गर्न पनि नमिल्ने । ती मामा मिनेट मिनेटमा फार्मेसीतिर दौडिएकै छन् । श्रीमती अझै आशावादी छन् । 

भोलिपल्ट दिउँसो ३ बजे । डाक्टर बाहिर निस्कन्छन् र भन्छन्, ‘सरी उहाँलाई बचाउन सकिएन ।’ 
श्रीमती थपक्क भुइँमा बसिन् । सुस्केरा हालिन् । रोएको सुनिएन । 

अनुहारमा पति वियोगको पीडा त छँदै थियो । त्यो भन्दा बढ्ता सुदूर भविष्यको चिन्ता पोतियो । बेन्चको अर्को कुनामा बसेका मामाको अनुहार दयनीय देखिन्छ, निरीह । एकदमै निरीह । यतिन्जेलसम्म उनका केही आफन्त आइसकेका थिए ।

श्रीमतीले अन्तिम क्षणमा समेत श्रीमान्लाई भेट्न पाइनन् । जिन्दगीको टेक्ने डालो र समाउने हाँगो क्षणभरमै भाँचियो । जिन्दगीमा आडभरोसा दिने, टेको दिने मान्छे एकैदिनमा उडी गैगो, दुई नाबालक सन्तानलाई छोडेर । अबका हरेक पाइलापाइला कति गह्रौं छन् भन्ने छनक उनको सुस्केराले दिइसकेको थियो । 

वियोगको पीडा साँच्चिकै कति असह्य हुँदो हो म भन्नै सक्तिनँ । 

भुइँमान्छेलाई पाइलापाइलामा यो जीवन कठिन छ । सुस्केरै सुस्केराको संगीतले भरिएको छ । नमर्नुपर्ने मामुली कारणले भुइँमान्छेहरू मरिरहेका छन् । नमर्नुपर्ने भनेर यहाँ अस्पताललाई दोष दिन खोजिएको होइन । तर, रुखबाट लड्नु, भीरबाट लड्नु, सडक दुर्घटनामा मर्नु, सुत्केरीमा रगत बगेर मर्नु, पखाला र हैजाले मर्नु, सामान्य प्राथमिक उपचार पनि नपाई मर्नु, अस्पताल आउन चार दिन लाग्नु । यी र यस्ता कारणले यहाँ मर्नुपर्छ । के यी अकारणवाला कारण कम गर्न सकिँदैन र ? २१औँ शताब्दीको २२औँ सालमा आइपुग्दा यस्ता (अ)कारणले मान्छे मरिरहन्छन् भन्ने सुन्दा विकसित दुनियाँलाई के लाग्दो हो !

हामी कति सजिलै भन्दिन्छौँ, ‘दुई दिनको जिन्दगी, मरिलानु के छ र ?’ 

तर साँच्चिकै मृत्यु त शाश्वत सत्य हो । तर सत्य हुँदाहुँदै पनि हामीलाई त्यो स्वीकार्न कति गाह्रो छ । तपाईं यो पढ्दा पनि कल्पनै गर्न सक्नुहुन्न कि कुनै दिन मेरो मृत्यु निश्चित छ । यदि यस्तो शाश्वत सत्य स्वीकार्थ्यौँ र त्यहीअनुसार व्यवहार गर्थ्यौँ भने यो समाज यस्तै हुन्थ्यो होला त ? यो प्रश्न तपाईंलाई मात्र हैन, म स्वयंलाई पनि हो ।

आमाको हातको हड्डी भाँचिएपछि करिब १३ दिन अस्पतलाको बसाइ रह्यो मेरो । अप्रेसन गरेको दिन आईसीयुमै उपचार गरेपछि भोलिपल्ट हामी अर्थो वार्डमा सर्यौँ । 

त्यही दिन अर्का बिरामी आइपुगे । रोल्पा त्रिवेणी गाउँपालिकाका २२ वर्षीय चिरन डाँगी । 

आमाले सानैमा छोडेर गइन् । बाबु बाह्रमासे मापसे अम्मली । यिनै बाबु पनि तीन महिना पहिले स्वर्गे भएपछि यिनको एक वर्षे छोरी र श्रीमतीसँग ज्याला मजदुरी गर्दै गुजारा गर्दै थिए । दाउरा झार्न सल्लाको रुखमा टुप्पैतिर पुगेको बेला समातेको हाँगो भाँचियो । यिनी भुइँमा बजारिन पुगे । दायाँ खुट्टाको तिघ्राको हड्डी भाँचियो । अनुहारैभरि चोटैचोट छ । ठूलाबाले उपचार गर्न अस्पताल ल्याइपुर्याए । एक्सरे रिपोर्ट हेर्नेबित्तिकै डाक्टरले चाँडै अप्रेसन गर्नुपर्छ भनिदिए । अप्रेसन गर्नुभन्दा पहिले चार पोका रगत चढाउनुपर्छ, जोहो गर्नुहोला भनेर डाक्टरले उर्दी जारी गरे । 

न त पढाइ राम्रो भयो, न त कुनै रोजगारीको टुंगो छ । छेउमा बसेका ठूलाबा भन्छन्, ‘ रोगले भन्दा पनि अस्पतालको उपचार खर्चको भारीले थिचेर प्राण जाला जस्तो छ । अब काम गरी खान सक्ने अवस्था पनि रहेन । उता जहान केटाकेटीको बिचल्ली छ ।’ 

हामी डिस्चार्ज भएपछि नियमित रूपमा ड्रेसिङका लागि अस्पताल गइरहेका थियौँ । करिब हप्ता दिनपछि ड्रेसिङ गर्ने क्रममा म उनलाई भेट्न पुगेँ । अप्रेसन भइवरी डिस्चार्ज गर्ने तयारी रहेछ । 

म उनको बेडमा पुग्दा उनी एक्लै रहेछन् । उपचार खर्चको जोहो केही आफन्तले, केही गाउँले सहृदयीहरूले र केही ऋणधन गरेका रहेछन् । केही बेरमा उनका ठूलाबा एक हातमा प्लास्टिकको गिलासमा चिया र अर्को हातमा पत्रिकामा बेरेर दुनोट लिएर बेडमा आइपुगे । हामी केही बेर कुराकानी गर्यौँ । 

नर्सले डिस्चार्जको पेपरमा सिग्नेचर गराइन् । संयोग कस्तो परेछ भने जुन पत्रिकामा उनले दुनोट पोको पारेर ल्याएका थिए । त्यो पत्रिकाको समाचार शीर्षक थियो, ‘पूर्वराष्ट्रपति रामवरणको उपचार खर्चबापत सरकारले २५ लाख उपलब्ध गराउने ।’


Author

विपिन आचार्य

व्यवस्थापनमा स्‍नातकोत्तर आचार्य दाङमा उद्यम गर्छन् ।


थप समाचार
x