विचार

गिरिजाविरुद्ध देउवा जे भन्थे, देउवाविरुद्ध गगन त्यही भनिरहेछन्

उपेन्द्र अर्याल |
मंसिर १५, २०७९ १६:१६ बजे

ती शेरबहादुर देउवा : ‘गिरिजाप्रसादमा आफूबाहेक अरू पदमा बसेको, अन्य कसैले काम गरेको देख्नै नसक्ने प्रवृत्ति छ ।’

यी गगन थापा : ‘अहिलेको नेतृत्वले विश्राम लिनैपर्छ, नत्र पार्टी सकिन्छ । मतदाता हामीसँग, हाम्रो पार्टीसँग रिसाएका छन् । सर्भिस डेलिभरीमा चुक्ने छुट अब हामीलाई छैन ।’


माथिका यी दुई अभिव्यक्तिमै यो साढे दुई दशक समय मात्र घुमेको छैन, यो लेख पनि यिनै दुई अभिव्यक्ति वरिपरि घुमेको छ । एउटा यस्तो नेता जो हिजो आफैँले बोलेका अभिव्यक्ति आज सुनिरहेछ वा नसुनेको अभिनय गरिरहेछ । गगन थापाको मुखबाट निस्किरहेको ध्वनिको कपीराइट खासमा शेरबहादुर देउवासँगै छ । कसरी ? 

निर्वाचन सकिएलगत्तै अब कसको सरकार बन्छ ? को प्रधानमन्त्री बन्छ भन्ने चर्चा सुरु भएको छ । प्रधानमन्त्री बन्न भित्री रूपमा गठबन्धनका दलका नेताहरूको दौडधुप भइरहे तापनि मुखर भएर कसैले पनि दाबी गरेका छैनन् ।

कांग्रेस महामन्त्री गगन थापाले भने चुनाव पहिलेदेखि नै सार्वजनिक रूपमै प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । निर्वाचनकै दौरान ‘अबको मेरो दाबी प्रधानमन्त्रीमा’ भनेर थापाले भोट मागेका थिए । मतदाताले उनको दाबीलाई स्वीकृत गरिदिए । निर्वाचनमा थापा फराकिलो मतान्तरले विजयी भएसँगै उनको प्रधानमन्त्रीका लागि हस्तक्षेप गर्ने एउटा बाटो खुलेको छ । 

जितपछि उनले ‘जनताले देशको कार्यकारी पदमा हस्तक्षेप गर्न मत दिएकाले’ यसपालि संसदीय दलमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि थापालाई समर्थन गर्ने बताइसकेका छन् ।
तर, पार्टीभित्र देउवा समूह र इतर समूहका अन्य नेताहरूले भने गगन थापाको प्रधानमन्त्रीको घोषणालाई रुचाएका छैनन् । पार्टीभित्र देउवा पक्षधर नेताहरू ‘प्रधानमन्त्रीको बाजा बजाएर हिँड्न जरुरी छैन’देखि ‘उनको बेला भएको छैन’सम्म भन्दै गगनको विरोध गरिरहेका छन् । उनीहरूका अभिव्यक्तिले गगनप्रतिको त्रास झल्काइरहेको छ ।

गगन पार्टीको महामन्त्री हुँदा वा नहुँदा पनि सभापति देउवाको गल्ती–कमीकमजोरी देखाउन डराएका छैनन् । उनी आफ्नै पार्टीको सरकार हुँदा होस् वा प्रतिपक्षी हुँदा सरकारले गरेका गलत काममा संसद्मा एक्लै गर्जिएका छन् । गगन पहिला पनि संस्थापन पक्षका नेता गिरिजाप्रसाद कोइरालाबाट कारबाही भोगेका नेता हुन् । 
अघिल्लो पटक संसदीय दलको चुनावमा घोषित रुपमै देउवाइतरका प्रकाशमान सिंहलाई मत दिएका थिए । अनि गत वर्षको महाधिवेशनमा देउवाइतर पक्षका नेता शेखर कोइरालालाई समर्थन मात्र गरेका थिएनन् कि एक हिसाबले विद्रोही पक्षको नेता नै बनेका थिए, गगन ।

गगन पार्टीभित्रका समस्याबारे प्रश्न उठाइरहन्छन् । उनले गरेका सकारात्मक आलोचनालाई पनि देउवा समूहले रुचाएको छैन । गत संसद्मा ओलीलाई आच्छुआच्छु पार्ने गरी गर्जने पनि गगन नै हुन् । आफ्नो पार्टीको बचाउमा कम्युनिस्ट नेताहरूसँग तार्किक बहस गर्ने गगनबाट देउवा समूहले लाभ त लिएकै होला तर लाभ लिएको भन्न हिच्किचाएको छ ।

देउवा गुटले गगनले गरेको आलोचनात्मक टिप्पणीलाई आफूमाथिको आक्रमणका रूपमा लिने गरेका छन् ।  त्यसले पार्टीभित्रै उनलाई कार्यकारी पदमा आउन सहज देखिँदैन ।

उहिले गिरिजाप्रसाद कोइराला पार्टी सभापति र प्रधानमन्त्री हुँदा देउवाले जसरी आलोचना गर्थे, गगनले देउवाको त्यसरी नै आलोचना गरिरहेका छन् । हिजो गिरिजा–किसुनजीकालमा जसरी युवा देउवाले प्रधानमन्त्रीको दाबी गर्थे, गगनले त्यसरी नै अहिले दाबी गरिरहेका छन् । देउवाले जसरी तत्कालीन सभापति कोइरालालाई परिवारवाद, गुटवाद र संरक्षणवादको आरोप लगाएका थिए, गगनले पनि सभापति देउवाका कमीकमजोरी औँल्याइरहेका छन् ।

जसरी हिजो देउवाको रापतापको ओज थियो र उनले पार्टीभित्र–बाहिरका बौद्धिक जमातको समर्थन पाउँदै गए, उसरी नै गगन अहिले विकल्पका रुपमा पार्टीबाहिर बौद्धिक जमातमा पनि पपुलर बनेका छन् । पार्टीका पछिल्ला तीन वटा महाधिवेशन हेर्दा पनि उनी लगातार लोकप्रिय मतमै छन् ।

देउवा आफू उमेरमा हुँदा विद्रोही नेता थिए । उनी पार्टीभित्रका आलोचक थिए । पार्टीभित्र परिवादवाद हाबी भयो भनेर उनले पार्टीबाट विद्रोहसमेत गरेका थिए । सभापति कोइरालाको आलोचना गर्दै देउवाले २०५९ असार २ मा भनेका थिए, ‘गिरिजाप्रसाद कोइराला आफूबाहेक अरू पदमा बसेको, अन्य कसैले काम गरेको देख्नै नसक्ने प्रवृत्तिले  माओवादी नाम गरेका आतंककारीहरूबाट नेपाली कांग्रेसका कार्यकर्ताहरू सबैभन्दा बढी पीडित छन् । आफैँ नेतृत्वमा बस्नैपर्ने तर शासन गर्न पनि नसक्ने पार्टीमा समेत छलफल नगरी अकस्मात् संविधान संशोधनको प्रस्ताव अघि सार्नु भएको थियो ।’

प्रधानमन्त्रीका अर्का आकांक्षी रामचन्द्र पौडेलले थापालाई ‘प्रधानमन्त्रीका लागि उमेर पुगेको छैन’ भन्दै भाषण गरिरहेका छन् । तर, पौडेल आफैँ गगनकै उमेरमा मन्त्री र सभामुख भइसकेका थिए ।

त्यसबेला उनले सभापति कोइरालालाई जे–जे आरोप लगाइरहेका थिए, आज उनीमाथि त्यस्तै आरोप गगनले लगाइरहेका छन् । गगनले ठाउँ–ठाउँमा भनिरहेका छन्, ‘हालका नेतृत्वले विश्राम लिनैपर्छ, नत्र पार्टी सकिन्छ ।’ गगनले सरकारको कार्यशैलीलाई लिएर भनेका छन्, ‘अहिले पनि प्रदेशदेखि संघसम्म हाम्रै सरकार छ तर निर्वाचनमा जाँदै गर्दा मतदाता हामीसँग, हाम्रो पार्टीसँग रिसाएका छन् । सर्भिस डेलिभरीमा चुक्ने छुट अब हामीलाई छैन ।’

त्यसबेला देउवा जसरी नेतृत्वमा हस्तक्षेप गर्न चाहन्थे, आज आफैँविरुद्ध त्यही आरोपहरू लाग्दा पनि नेतृत्व हस्तान्तरण गर्ने पक्षमा उनी र उनका निकटवर्तीहरु छैनन् ।

देउवा पहिलो पटक देशको प्रधानमन्त्री बन्दा ४९ वर्षका थिए । २०५१ सालको मध्यावधि चुनावपछि कसैको पनि बहुमत पुग्ने अवस्था थिएन । कांग्रेसले भन्दा एमालेको बढी मत ल्याएको थियो । त्यसैले एमालेले अल्पमतको सरकार बनाएको थियो । कांग्रेसले बहुमत नल्याएका कारण दलभित्र संसदीय दलको नेता बन्न गिरिजाले रहर देखाएनन् । त्यसबेला कोइरालाको चाहना शैलजा आचार्यलाई संसदीय दलको नेता बनाउने थियो । तर, देउवाले आफू दलको नेता बन्ने दाबी गरे । 
देउवालाई पार्टी सभापति कृष्णप्रसाद भट्टराईको समेत साथ थियो । भट्टराईको साथ पाएपछि देउवा निर्विरोध संसदीय दलको नेता बने । प्रधानमन्त्री बन्ने होइन, प्रतिपक्षी दलको नेता मात्रै हुने हो भनेर गिरिजाले पनि उनलाई सहजै छाडिदिएका थिए । त्यसैले देउवाले पार्टीमा खासै ठूलो संघर्ष गर्नु गरेको थिएन । तर, २०५२ भदौमा एमालेको सरकार ढल्यो । त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आयो । राप्रपा र स्वतन्त्रको साथमा देउवाले पहिलोपटक प्रधानमन्त्री बन्ने मौका पाए ।

देउवाको त्यो अवस्था र गगनको अहिलेको अवस्थामा उस्तै छ । यी दुई नेताका धेरै कुरा समान छन् । दुवै विद्यार्थी राजनीतिबाट आएका हुन् । २०१७ सालबाट राजनीतिक यात्रा सुरू गरेका प्रधानमन्त्री शेरबहादुर देउवा २०२८ सालमा नेविसंघको सभापति बनेका थिए ।

कांग्रेसको विभिन्न संगठनमा रहेर जिल्लादेखि केन्द्रसम्मै नेतृत्व गरेका देउवा २०४८ सालको निर्वाचनमा सांसद जितेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए ।  

गगन पनि त्यसबेलाको देउवाकै उमेरमा पुगेका छन् । गगन पनि विद्यार्थी राजनीतिबाट राजनीतिमा उदाएका हुन् । २०४६ सालको जनआन्दोलनमा समेत सहभागी थापा २०५१ सालमा नेविसंघबाट त्रिचन्द्र कलेजको स्ववियु सदस्य भएका थिए । २०५३ मा सचिव हुँदै २०५५ मा स्ववियू सभापति निर्वाचित भएका थिए ।

२०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष भएका उनी २०५९ नेविसंघको महामन्त्री बनेका थिए । २०६८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुँदै १३ औं महाधिवेशनमा महामन्त्रीका लडेका थिए । तर, उक्त महाधिवेशनमा हारेका उनले १४औं महाधिवेशनमा भने ठूलो मत ल्याएर पार्टीको महामन्त्रीमा निर्वाचित भएका हुन् ।

महामन्त्री भएसँगै उनले कार्यकारी हस्तक्षेप गर्ने दाबी गरिरहेका छन् । कांग्रेस संसदीय दलमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । निर्वाचन आयोगले अन्तिम नतिजा दिएपछि संसदीय दलमा प्रतिस्पर्धा हुनेछ ।  तर, संसदीय दलमा निर्वाचित हुन देउवालाई जस्तो सहज थापालाई हुनेछैन । थापालाई आफ्नै गुटका नेताले समेत सहयोग नगर्ने संकेत देखिन्छ ।

शेखर कोइराला प्यानलबाट महामन्त्रीमा लडेका थापाले उनकै साथ नपाउन सक्छन् । निर्वाचित भएपछि पत्रकारहरूसँग बोल्दै गगनलाई सहयोग नगर्ने संकेत गरेका छन् । नेता मिनेन्द्र रिजाल गगन भन्दा सजिलो पात्र शशांक कोइरालातिर ढल्केको देखिन्छ ।

प्रधानमन्त्रीका अर्का आकांक्षी रामचन्द्र पौडेलले थापालाई ‘प्रधानमन्त्रीका लागि उमेर पुगेको छैन’ भन्दै भाषण गरिरहेका छन् । तर, पौडेल आफैँ गगनकै उमेरमा मन्त्री र सभामुख भइसकेका थिए ।

२०४८ सालको निर्वाचनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकास, कृषि मन्त्री भएका थिए । त्यसबेला उनको उमेर ४७ वर्ष मात्रै थियो । उनी फेरि २०५१ सालको मध्यावधि निर्वाचनपछि सभामुख बनेका थिए । त्यसबेला उनको उमेर पनि लगभग गगन थापाकै जति थियो । तर, अहिले थापालाई रोक्न उनै रामचन्द्र उमेरको हदबन्दी लगाउँदै छन् । उता गगन थापा चाहिँ बढी उमेरको हदबन्दीको भाषा बोलिरहेका छन् । १७ पटकसम्म प्रधानमन्त्रीमा हारेका र पटकपटक मन्त्री भएका, पार्टीमा पनि लगातार आकर्षक नेतृत्व पाएका रामचन्द्र पौडेलमा कुनै उल्लेख्य नेतृत्व क्षमता भएको देखिएको छैन । पछिल्लो महाधिवेशनमा उनको भूमिका सतहमा हेर्दा द्वैध र यथार्थमा शेरबहादुर देउवालाई समर्थन रह्यो ।

अनेकन अवरोधका बीच थापा प्रतिस्पर्धामा जाँदै छन् । उनलाई अर्का महामन्त्री शर्मा खुलेरै समर्थन गरिरहेका छन् । तर, संसदीय निर्वाचनमा अन्य नेताहरूले परिवर्तनको पक्षमा मत हाल्छन् वा पुरानै नेतृत्वलाई चुन्छन्, त्यो हेर्न बाँकी छ । तर, गगनको नेतृत्वको हस्तक्षेपले कांग्रेसभित्र एउटा तरंग भने पैदा गरेको छ । थापाले संसदीय दलमा जित निकाले कांग्रेसले नयाँ रूप लिनेछ ।

गगनलाई शासकीय अनुभव छैन भन्नेहरूले के बुझेको देखिँदैन भने देउवा प्रधानमन्त्री हुनुअघि एक कार्यकाल गृहमन्त्री भएका मात्र थिए । पार्टीको केन्द्रीय सदस्यबाहेक नेतृत्वदायी पद थिएन उनको । सांसद हुनेबित्तिकै मन्त्री भएका कारण संसद्मा पनि उनको अहिलेसम्म कुनै गतिलो भाषण रेकर्डमा छैन । उनी प्रश्न उठाउनेभन्दा जवाफ दिने ठाउँमा भए सधैँ । 

तर, ती देउवासँग यी थापाको तुलना गर्दा गगनको अनुभव धेरै नै देखिन्छ । उनी तीन कार्यकाल संसद्मा छन् । पार्टीमा महामन्त्री निर्वाचित भएका छन् । स्वास्थ्यमन्त्री भएको अनुभव छ । संसदीय समितिको सभापति बनेका छन् । संसद्मा तयारीसाथ विधेयकमाथि बोल्ने र अन्य प्रश्न उठाउने सवालमा पनि थापा अगाडि देखिन्छन् ।

सबैभन्दा रमाइलो के छ भने आज गगनले विकल्पको रुपमा जुन तर्क र भाका अघि सारेका छन्, ती सबै हिजो देउवा र देउवा टिमले प्रयोग गर्थे । अर्थात्, गगनको मुखबाट शेरबहादुर टिमले सुनिरहेको ध्वनि नयाँ होइन, दुई दशकभन्दा पुरानो आफ्नै ध्वनिको प्रतिध्वनि मात्र हो । नेतृत्वको आलोचना गर्दै हिजो पार्टी फोड्नसमेत पछि नपरेका देउवाले आफ्नो पार्टीका अरु नेतालाई किन विश्वास गरिरहेका छैनन्, यो रमाइलो छ ।
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
ad
x