विचार

कोभिड कहर

के गर्ने-नगर्ने त छँदै छ, के सोच्‍ने-नसोच्‍ने झनै महत्‍वपूर्ण

नारायण घिमिरे |
कात्तिक २८, २०७७ १३:५२ बजे

कोभिड-१९ का कारण आइसोलेसन बसिने समय चक्र संहिताको महामारीको आफू आफैँभित्र आफ्नो जरुरतको पहिचान गर्ने, जरुरत अनुभूति गर्ने र दैनिक तालिका बनाएर जरुरत पूर्ति गर्ने उपायको अनुसरण गर्ने समय मान्दा उत्तम हुनेछ । घरमा रहेर जीवन र जगतबारे गहिरिएर बुझ्ने अवसर हो, आइसोलेसनको समय । जति बेला कुनै व्यक्तिलाई विफलता हात लागि रहेको हुन्छ । त्यो बेला उसलाई दिइने एक मात्र प्रोत्साहनको शब्द उसको सफलतापछि दिइने कुनै पनि हदको प्रशंसा र उत्सव भन्दा बढी प्रभावकारी हुन्छ ।

तसर्थ, विफलतामा साथ दिने कार्य समाजको धर्म ठानिने र स्वागतयोग्य कदम हुनुपर्ने भएता पनि तपाईं हाम्रो परिस्थिति आज त्यस्तो छैन । किन होला ? त्यसमा तपाई र मेरो के भूमिका होला ? समाजको के भूमिका होला ? अनि के तपाई, म र समाजबाहेक अन्य पक्षहरू पनि होला जसको यसमा भूमिका रहला रु यो र यस्ता सामान्य प्रश्नबारे घोत्लिने समय ।


मानवता के हो र मानिसमा रहेको करुणाको उपयोग कहाँ गर्ने भन्ने पाठ हाम्रो स्कुलका नैतिक शिक्षाको पाठ्य पुस्तकमा कहिल्यै अटाउन सकेन । आफ्नै जीवनमा भोगिएको सामान्यभन्दा सामान्य परिस्थिति र घटनाक्रमहरूको कारक, कारण र परिणामको महसुस गरी कसरी जीवनकै लागि उपयोगी हुने पाठ सिक्ने भन्ने कलामा पनि हामीले समाजलाई कहिल्यै अभ्यस्त पार्न भ्याएनौ । यो क्षेत्रमा काम गर्न चाहँदा पूरा मैदान खाली देखिँदा पनि हामी यो सुवर्ण अवसरलाई सदुपयोग गर्न उत्साहित बन्न सकेनौ ।

विगतबाट सिकेर भविष्यमा आइलाग्ने गतिविधिविरुद्ध बुद्धिमत्तापूर्वक जाइलाग्ने रणनीति बनाउनुपर्ने मानव चरित्र विपरीत ‘हिँड्दैछ अनि पाइला मेट्दैछ’ को हालतमा हामी पुगिरहेका छौं । जस्तै कोभिड-१९ कै हालतका पहिले कहिल्यै नसुनिएको नजानिएको प्रकृतिको महामारी मानव इतिहासमा मानिसले धेरै चोटि भोग्दै आएकै हो । महामारीका विगतका त्यस्ता शृंखलाहरू उपलब्ध ज्ञान, साधन, श्रोत र परिस्थिति अनुरूप भोगेर, त्यसविरुद्ध डटेरै पृथ्वीमा मानव अस्तित्व सुचारु गर्न सफल बनिएकै हो ।

महामारीका सम्बन्धका हाम्रा विगतको सबै अनुभवहरूका साझा अनुभव के रह्यो भने वास्तविक रोगले भन्दा रोगको डरले सिर्जना गरेको त्रासका कारण धेरै मानिस मर्ने क्रम पहिला हरेक पटक भए । यसपटक पनि त्यही दोहोरिँदैछ । यसको अर्थ भोलि पनि त्यसै हुने लगभग बुझियो । यो अवस्थामा यसको चुरो कारण के र समाधानको उपाय के भन्नेबारे विमर्श गर्नु जरुरी देखियो ।

मानिसहरू जति बेला सबै कुराहरु आफ्नो नियन्त्रणमा छ भन्ने भ्रममा पुग्छन् तब मानव-मानवबीचकै घिन लाग्दो प्रतिस्पर्धामा उत्रने गर्छन् । एकातर्फ प्रकृति दोहन कार्यमा लिप्त हुने, अर्कोतर्फ संसारमा आफ्नै अस्तित्व कायम राख्न अनिवार्य रहनुपर्ने आधारभूत संरचनाको रूपमा रहेको मानवताको कखरा समेत भुली दिन्छ । मानव चोला जस्तै सञ्चालन गर्न अमूक चीजहरू सञ्चालन गर्ने अमूक तौरतरिका र नियमहरू रहन्छन् भन्ने होस् गुमाउन पुग्छ ।

प्राकृतिक नियमको अनदेखा गर्दै जब मानिस जबरजस्ती अघि बढ्छ प्रकृतिले आफ्नै तरिकाले केही न केही पाठ सिकाएर मानव हैसियत प्रस्टाई दिन्छ । हरेक मानव ज्यादतीमा गतिलो पाठ सिकाएर प्रकृतिले मानिसलाई आफ्नो खुट्टा दरिलोसँग जमिनमा टेक्न सिकाएको देखिन्छ ।

विगतबाट सिकेर भविष्यमा आइलाग्ने गतिविधिविरुद्ध बुद्धिमत्तापूर्वक जाइलाग्ने रणनीति बनाउनुपर्ने मानव चरित्र विपरीत ‘हिँड्दैछ अनि पाइला मेट्दैछ’ को हालतमा हामी पुगिरहेका छौं । 

प्रकृतिमा ऊर्जा न उत्पन्न हुन्छ न नष्ट नै । मात्र एक रूपबाट अर्को रूपमा परिवर्तन हुने गर्छ । प्रकृतिमा सङ्कलित ऊर्जा प्रकृतिमा रहेका हरेक प्राणी, वनस्पति र अन्य निर्जीव बस्तुहरूले शक्तिको स्रोत हुने गर्छ । प्रकृतिको ऊर्जा  प्रकृति र त्यहाँ रहेका जीव वा निर्जीव बस्तुहरूबीच शक्ति एक रूपबाट अर्को रूपमा परिवर्तन हुँदै लिने दिने क्रम नियम चल्ने गर्छ । प्रकृतिका रहेका सजीव र निर्जीव एवम् अभौतिक पदार्थहरू बिच समेत एक रूपबाट अर्को रूपमा शक्तिको परिवर्तन हुने विधिबाटै शक्तिको लेनदेन हुने गरेको छ ।

प्रकृतिमा सन्तुलित रूपमा रहेका दुई बस्तुहरू आफ्नो आन्तरिक शक्तिमा आएको विचलनका कारण जब ध्रुवीकरण गर्न कोसिस गर्छ, तब प्राकृतिक ऊर्जाले तिनीहरूलाई पुनः संयोजन गर्न कोसिस गर्छ । पुनः संयोजन गरी नयाँ सन्तुलन कायम गराउँछ । प्रकृति आफैंमा विशाल रहेकाले यसका सबै चीजहरू लाई सन्तुलनमा राख्ने आफ्नै विशेष तरिका रहने गर्छ । प्रकृतिको ऊर्जाले जुन हदमा ध्रुवीकरण हुँदै गरेको विभिन्न वस्तुहरूबीच पुनः नयाँ सन्तुलनमा फर्कन फर्काउने हैसियत राख्छ त्यो क्षमता मानिसले राख्दैन ।

ब्रह्माण्डमा अनेक स्तरको चेतनाहरू अर्थात् ‘कन्ससनेस’ अस्तित्वमा रहने गर्छ । विभिन्नस्तरको चेतनाहरू एक-आपसमा सन्तुलित रूपमा शान्त र निश्चल रहेर मिलेर बस्न सक्ने प्रकृतिको हुँदैन । एकस्तरको चेतना अर्को स्तरको चेतना सँग फरक फरक अस्तित्वमा एकले अर्कोलाई प्रभाव पार्ने गरी जोल्टिएर रहने गर्छन् । किनकि तिनीहरू सबै ब्रह्माण्डभित्र एकापसमा सम्पर्कमा रहेरै समान शैलीमा विकसित बनिरहेका हुन्छन् ।

प्रकृतिको आफूले आफूलाई जसरी पनि सन्तुलनमा फर्काउने प्रवृत्ति रहन्छ । जसका कारण विभिन्नस्तरको चेतना बिचको असन्तुलनभित्र सन्तुलन कायम गर्न चेतनाहरू जकडिएर एकापसमा अनुबन्धित भएर रहन अनिवार्य हुन्छ । यो पक्षबाट बिश्लेष्ण गर्दा चेतना आफै प्रकृतिमा असन्तुलन उत्पन्न गराउन सक्षम रहने गर्छ । चेतनाको कारणबाट प्रकृतिमा हुने असन्तुलनहरुको लागि मानिस जिम्मेवार रहने बुझिन्छ ।

आज जो कोहीले पनि भन्ने गरेको कुरा हो मानव जातिले पृथ्वीमा रहेको जङ्गल, प्राकृतिक सम्पदा माथिको दोहन र पृथ्वी निवासी मानिस मानिसबीचमै समेत शक्तिको बाँडफाड, साधन र श्रोतको बाडफाड असमान गरिदिएर धनी र गरिबको स्थिति सिर्जना गरी ब्रह्माण्डलाई असन्तुलित बनाई रहेका छन् । यसमा आंशिक सत्यता छ ।

योसँगै केही अति महत्त्वपूर्ण र गहिरो कुराहरू हाम्रो बुझाइको दायरामा आउन सकेको देखिँदैन । कतिपय अवस्थामा आएर पनि छुटेका वा नजर अन्दाज गरिएका भेटिन्छन् । जस्तै मानिसले आफ्नो असावधानी वा नियोजित स्वार्थका कारण पैदा गर्ने भोक, रोग, डर, आतङ्क, असहायता र असहज मृत्यु जस्ता परिस्थिति, त्यस्ता परिस्थितिका कारण जन्मिन पुगेका नकारात्मक ऊर्जाहरूको प्रसारण र पुनः प्रसारणमार्फत् ब्रह्माण्डलाई नै पूर्ण असन्तुलित दिशातर्फ धकेली दिन सक्ने हैसियत । 
मानिसका कारण प्रकृतिलाई असन्तुलित दिशातिर धकेली दिने कारक तत्वहरूको निवारणका लागि आशा, भरोसा, आफ्नो क्षमता र आफ्नो स्वास्थ्यमाथि आत्मविश्वास जगाउन सक्ने दर्शनको जरुरत पर्छ । जसले मानिसको दिमाग र चेतनाको पुनः प्रोग्राम गरी मानिसमा मानवता पुनः स्थापित गराउन सकोस् ।

परिवर्तित समय अनुसार, मानिसले भोग्नुपर्ने नयाँ प्रकृतिका रोग तथा मनोरोगहरू मानिसको प्रकृति प्रतिको व्यवहारको प्रतिफलसँग सम्बन्धित रहन्छ । ऐतिहासिक कालखण्डमा हामीले बेहोर्नु परिरहेको रोगका कारणमा उक्त कालखण्डसम्म पुग्ने क्रममा प्रकृतिमाथिको मानव दोहनका कारण आएका परिवर्तनहरू जिम्मेवार रहेको प्रमाणित भएको छ । जुन मानव निर्मित भौतिक असन्तुलनको प्रतिक्रियात्मक नतिजा हो ।

हाम्रो समाजमा न त जरुरत अनुरूपको जनचेतना जगाउने काम गरिएको छ । न त उपायबारे पर्याप्त विवेचना हुने गरेको छ ।

अर्कातिर मनोवैज्ञानिक रूपमा हेर्दा, समाजमा मानिसहरू आफूलाई आफूलाई जे रोग लाग्छ भन्ने आन्तरिक मनोविज्ञान ग्रस्त बनेको भेटिएको छ, तिनीहरू प्राय तिनै रोगको सिकार बनेको भेटिन्छ । एउटा बिरामीमा बिरामी अवस्थाबाट मुक्त हुन्छु भन्ने दह्रो आत्मा विश्वासमा रहँदा अस्वास्थ्य अवस्थाबाट साँच्चिकै स्वस्थ भएको धेरै अनुभव हामीसँग छ । रोग लागेकै अवस्थामा पनि म यो रोगबाट निश्चित रूपमा पार पाउँछु भन्ने आत्मविश्वास रहेका बिरामी सहजै बाँच्ने गरेको भेटिन्छ । म अब मर्छु भनी आत्मविश्वास गुमाएको विरामी मर्ने सम्भावना प्रवल देखिएको तथ्यहरू विज्ञानले उजागर गरिदिएको छ । यो प्रकारको मानिसको आफ्नै आत्मविश्वास अनुरूपको नतिजा प्राप्त हुने घटनाहरू मानव चेतनाको स्तरको असन्तुलनको प्रतिफलको परिणाम ठानिन्छ ।

आज अनेकन कारणबाट मानिसमा आपसी युद्धका लागि तुरुन्त आमेन सामने बनिदिने प्रवृत्ति अचाक्ली बढिरहेको देखिन्छ । त्यो बाहेक बाधा अवरोध सिर्जना गर्ने, भौतिक विरोधका प्रदर्शनका गतिविधिहरू सञ्चालन गरी समाजमा सहजै असन्तुलन भित्र्याउने गतिविधि भइरहेका भेटिन्छन् । यस्ता प्रकारका युद्ध वा आन्तरिक कलहहरूले मानव जीवनको गुणस्तरलाई अनिश्चयमा मात्र धकेल्ने हैन डरलाग्दो गरी स्खलित परिदिएको देखिन्छ ।

मानिस एक सचेत सामाजिक प्राणी रहेकाले सामाजिक स्मरणमा स्थापित विश्वासको चेतना बिरामीको चेतनासँग जकडिएर बस्ने गर्छ । यो अवस्थामा एक बिरामीको आत्मबल वृद्धि गर्न जरुरी हुने चेतनालाई बिरामीको पहुँचको समाजको सामाजिक स्मरणमा कैद बनेको चेतनाले प्रत्यक्ष प्रभाव पारिदिने हैसियत राख्छ । सकारात्मक सामाजिक मनोविज्ञान नबोकेको सामाजिक चेतनाले बिरामीमा नकारात्मक चेतना भरिदिन्छ । जुन उसका लागि प्राण घातक समेत बन्न सक्ने हुन सक्छ । यो अर्थमा समाजको सामूहिक सबलताका लागि मात्र नभएर समाजमा रहेका हरेक सदस्यहरू शारीरिक र मनोवैज्ञानिक तवरमा स्वस्थ रहनुपर्छ । अन्यथा, समाज आफै निराशावादी बनिदिन्छ ।

एक अमुक व्यक्तिको नियन्त्रणमा नरहने सामाजिक गतिविधिहरूले जन्माएको असन्तुलनले पृथ्वीका हरेक मानिस विभिन्न हदमा प्रभावित बनिरहेको हुन्छन् । असन्तुलनको हदले सिमा नाघिदिँदा जीवनको गुणस्तरमै सम्झौता गर्नुपर्ने हदमा मानिस पुगेको देखिन्छ ।  दैनिक जीविकाको गुणस्तर निश्चितस्तर भन्दा तल ओर्ली दिँदा मानिस न त स्वस्थ रहन सक्छ, न त उसको मानवीय व्यक्तित्वमा नै सन्तुलन कायम गरी अघि बढ्न सक्छ । नकारात्मक सामाजिक गतिविधिहरूका कारण जीवनको गुणस्तरमा अकल्पनीय क्षय हुनबाट न्यून गर्न मानिसलाई प्रकृतिको आशिर्वादको रूपमा आध्यात्मिक, मानसिक र मनोवैज्ञानिक जैविक क्षमताहरु उपलब्ध छ ।

पृथ्वीमा मानवबाहेक अन्य प्राणीमा यो सुविधा उपलब्ध छ छैन हालसम्म यकिन हुन सकेको छैन । तर आफ्नै नाभीको वासना नचिन्ने कस्तुरी जस्तै भोलिको सुख खोज्ने क्रममा आज आफूमा निहित विशाल क्षमताको पहिचान र महसुस गर्न नसकेर मानिसहरू मानवीय व्यक्तित्वको सन्तुलन गुमाउन पुगिरहेको देखिन्छ । मानिसले आफूलाई उपलब्ध आध्यात्मिक, मानसिक र मनोवैज्ञानिक जैविक क्षमताहरुको सही उपयोग गरी आफूलाई निर्धारित नैतिक र मानवीय गुणबाट स्खलित हुनबाट बचाउन, आफूले आफूलाई स्वस्थ र सन्तुलित राखी अन्यलाई समेत सहयोग गर्न सक्ने हैसियतमा पुर्‍याउनेतर्फ सचेत रहन जरुरी देखिन्छ ।

कोभिड-१९ जस्ता भाइरसकोको संक्रमणको कारण आइसोलेसनमा रहँदा मानिसको शरीर भित्र रहेका भाइरसहरूका गतिविधिका कारण शरीरको नियमित सञ्चालनमा असन्तुलन निम्तिन्छ । उता सङ्क्रमणको सिकार बनेको शरीर स्वयं सङ्क्रमण विरुद्ध प्रतिक्रियात्मक गतिबिधिहरु सञ्चालन गरी भिडिरहेको हुन्छ । शरीरका दैनिक नियमित गतिविधि सन्तुलित र स्वास्थ्य कायम गर्ने कोसिस अनुरूप शरीरका ती प्रतिक्रियाहरू आन्तरिक रूपमा सञ्चालन हुँदै गर्दा मानिसलाई हर-हालतमा जिउँदो राख्न आफ्नो नियमित गतिविधिहरू समेत सञ्चालन गरिरहेको हुन्छ ।

कोभिड-१९ को रामवाण ओखती पहिचान नभई रहेको अवस्थामा भएको सङ्क्रमणमा बिरामीमा जस्ता-जस्ता लक्षण देखिन्छ, त्यो लक्षण घटाउने उपाय गरेर नियमित सन्तुलनमा फर्काउन कोसिस गरिन्छ । जस्तै जरो भए ज्वरोको ओखती खाने, दम भए दमको ओखती खाने, स्वाद गुमेमा स्वाद फर्कने उपाय लगाउने, अक्सिजनको हदैसम्म कमी देखिए भेन्टिलेटरमा बसेरै भए पनि अक्सिजन पूर्ति गर्ने र शरीरले आफूले आफूलाई गर्ने स्व-उपचार प्रक्रियामा बाहिरबाट चिकित्सकीय सहयोग पुर्‍याउने आदि ।

त्यो बाहेक तपाईको शरीरको नियमित गतिविधि सञ्चालन गर्न जरुरी हुने पोषण र औषधीय तत्व उपलब्ध गराउन भाइरसविरुद्ध लड्न समेत सजिलो हुने गरी नियमित तातो तुलसी पानी, तातो सुप, रसिला भिटामिन-सी हुने फलफूल र जुस, मुङको दाल र बासमती चामलको मसलेदार खिचडी, घरकै औषधीय मूल्यका बेसार, मसला रहेका साग सब्जी र तरकारीहरू खाने। सकभर चिसो खाना नखाने आदि।

प्रयोगशालाहरूमा गरिएको अनुसन्धानबाट टि-युभी सिरिजको ३५ वाटको २५४ न्यानो मिटरको तरङ्ग उत्पन्न गर्ने लामो शृङ्खलाको अल्ट्राभायोलेट विकिरण उत्पादन गर्ने बत्तीहरूले तीन सेकेन्डमै ९६५ कोभिड-१९ का भाइरसकाकणहरू निष्क्रिय पारेको देखाउँछ । हुन त, सूर्यको लामो शृंखलाको अल्ट्राभायोलेट विकिरण पृथ्वीमा खासै आइपुग्दैन । तैपनि सूर्यको किरण कोभिड-१९ भाइरसविरुद्ध सकारात्मक भूमिका खेल्ने निश्चित बनेको छ । बिहान वा साँझ पर्याप्त सूर्यको प्रकाश पाउँदा शरीरलाई प्रतिरक्षाको स्तर बढाउन मद्दत गर्ने भिटामिन-डी प्राप्त हुन्छ । प्रतिरक्षा प्रणालीको गति द्रुत गर्ने टी-सेलहरु बन्ने प्रक्रियामा सहयोग गर्छ ।

हाम्रो दिमाग, मृगौला, मुटु र फोक्सो जस्ता संवेदनशील अङ्गहरू ७५ देखि ८५ प्रतिशतसम्म पानीबाट निर्मित हुन्छ । हामी पानीको सहायताले जति सजिलै र छिटै  हाम्रो संवेदनशील अङ्गहरू गुणहरू परिवर्तन गर्न सक्छौ अन्य उपायबाट सायद कम व्यवहारिक होला । तपाईँ कोभिड-१९ बाट सङ्क्रमित हुनु हुन्छ । सामान्यस्तरमा हाम्रो रगतको पिएच ७.३५ देखि ७.४५ हुने गर्छ । संसारभर भएका निकै धेरै अनुसन्धान तथा अध्ययनहरूको निचोडको आशय के देखिन्छ भने जुन कुनै भाइरस, ब्याक्टेरिया र क्यान्सरका कोषहरू समेत शरीरमा रगतको पिएच सामान्य वा सामान्य स्तर भन्दा माथि हुँदाको अवस्थामा बाँच्न वा सक्रिय रहन सक्दैन । रगत एसिडिक रहँदा संक्रमण उच्च हुने निश्चित हुन्छ ।

पटक-पटक तातो पानी पिएर, ५-१० मिनेट पानीको बाफ लिएर हामीले हाम्रो रगतलाई एसिडिक हुनबाट रोक्न सक्छौ । त्यसमा पानी अल्कलाइन पानी वा रगतको पिएच घटना नदिने खाना, हाम्रै भान्साका औषधीय मरमसला र झोलिलो चिजबिज समावेश गर्दा सङ्क्रमणबाट सजिलै मुक्त हुन सकिनेछ । दैनिक खानामा पर्याप्त जिङ्क, बिटा क्यारोटीन, भिटामिन ए, सी, डी, ई र बी समावेश हुने गरी खान कोसिस गर्नुहोस् ।

तपाईंको स्वास्थ्यमा सुधार आउने वा बिग्रँदै जाने वा यथावत् रहने भन्ने कुरा तपाईको आफ्नै चेतनाको अवस्थाले धेरै हदसम्म निर्धारण गरिरहेको हुन्छ । तपाईका आफ्नै इच्छा, मनमा उठ्ने भावनाहरू र र तिनले उत्पन्न गर्ने विचारहरू तपाइको चेतनाको अवस्था निर्धारण गर्न प्रमुख कडी हुन् । आफ्नो अत्माबल सुदृढ तुल्याएर तपाई आफैं आफ्नो चेतन शक्तिमा उल्लेखनीय सुधार गरी आफ्नो मानसिक स्वास्थ्य र जीवन्त शक्तिको प्रवर्धन गर्न सक्नुहुन्छ ।

तपाई जति धेरै रोग, फ्लु अथवा कोरोना भाइरस तपाईंको जीवन लिन सक्ने जोखिम पूर्णबस्तु हो भन्नेबारे चर्चाहरू गर्न थाल्नुहुन्छ, त्यति नै त्योबारे तपाईमा डर लाग्दो छाप पर्ने गर्छ । भयावह रोग वा संक्रमण रहेको भन्ने सूचनाहरू तपाईँ जति धेरै सुन्दै वा पढ्दै जानु हुन्छ, ती सूचनाहरू तपाईको चेतनामा अनुभवको रूपमा दर्ज भएर बसिदिन्छ । परिणाम, यो रोग वास्तवमै अत्यधिक खतरा रोग हो, यो लागि हाल्यो भने त म पक्कै बाच्न सक्दिन भन्ने गहिरो विश्वास तपाईको मनमै गढेर बसिदिन्छ ।

यो कुरा पढ्दै जाँदा तपाईलाई ताजुब लाग्ला । संरचनागत रूपमै यो ब्रह्माण्डको भित्री इञ्जिनियरिङ्ग यसरी भएको छ कि तपाईको मानव चोलामा तपाईँ भित्रि मनबाट जे माग्नु हुन्छ वा बन्न चाहनु हुन्छ, अन्ततोगत्वा त्यही तपाइलाई प्राप्त हुन्छ वा तपाईँ त्यही बन्नु हुन्छ ।

तपाईको मनमै गढेर बसेको गलत विश्वास जब तपाई उक्त भाइरसको धेरै नजिक पुग्नु हुन्छ र संक्रमित बन्नु हुन्छ त्यो बेला तपाईको बाँच्न सक्ने आत्मबल गुमाउन निर्णायक बनिदिन्छ । ओखतीको अभावमा आफ्नै अन्तर्मनमा रहेको एक अचुक ओखती, आफ्नै चेतन शक्तिको प्रभावमा आफूलाई खराब स्वस्थबाट मुक्त हुने सुवर्ण अवसर उपयोग गरी आफ्नै इहलीला समाप्त हुनबाट रोक्ने अर्को सुवर्ण अवसर तपाइले गुमाउन पुग्ने सम्भावना बढेर जान्छ ।

यो कुरा पढ्दै जाँदा तपाईलाई ताजुब लाग्ला । संरचनागत रूपमै यो ब्रह्माण्डको भित्री इञ्जिनियरिङ्ग यसरी भएको छ कि तपाईको मानव चोलामा तपाईँ भित्रि मनबाट जे माग्नु हुन्छ वा बन्न चाहनु हुन्छ, अन्ततोगत्वा त्यही तपाइलाई प्राप्त हुन्छ वा तपाईँ त्यही बन्नु हुन्छ । तपाई जति कुनै कुराबाट आफूमा पुग्ने भयको जोखिमतिर आफ्नो दिमाग घुमाउनु हुन्छ, त्यति धेरै तपाइका चेतनामा रहेका ऊर्जाका कम्पन सक्रिय बनिदिन्छ । जसमा डर एउटा अत्यन्त शक्तिशाली कम्पन हो । अधिक डर कुनै पनि महामारी भन्दा निकै छिटो तपाईंलाई आक्रमण गर्न सक्छ ।

तपाई आफूले आफ्नो चेतनालाई जति धेरै डरका भावनाहरू उपलब्ध गराई विष पान गराउनु हुन्छ यो त्यति धेरै तपाईको चेतन शक्तिमा गहिरोसँग गढेर बसिदिन्छ । विज्ञान र वेद दुवैको आँखामा अधिक डरले कुनै पनि व्यक्तिलाई दिने सक्ने खती संसारमा सम्भव हुने कुनै पनि महामारीको भन्दा बलिष्ठ हुन्छ । किनकि महामारीको समयमा समेत वास्तविक महामारीबाट भन्दा महामारीका कारण पैदा भएको अधिक डरका कारण धेरै मानिसको इहलीला समाप्त हुने गर्छ ।

यो अर्थमा तपाईको चेतनामा डेरा गरी बस्ने तपाईको डर तपाइ आफ्नै लागि संसारमा सम्भव हुने कुनै पनि सङ्क्रमणले दिने हानि भन्दा धेरै हानिकारक हुने बनिदिन सक्छ । तसर्थ, तपाईँ जुन कुराहरू आफ्नो जीवनमा चाहनु हुन्न, जुन विषय बस्तुमा भाग लिनु तपाईको उज्ज्वल भविष्य निर्माणमा सहयोगी हुँदैन ती चीजहरूको बेवास्ता गर्नुहोस् । अथवा जरुरी भन्दा धेरै चासो नलिनुस् । कोभिड-१९ को पछिल्लो तथ्याङ्क जाँच गर्दै चिन्तित बन्ने गतिविधि रोक्नुहोस् ।

यो रोग सँग नियमित डराएर आफ्नो सोचका कम्पनहरू सक्रिय राखी आफ्नो चेतनामा आफूलाई फाइदा नगर्ने अनुभवहरू सङ्कलन गरी आफ्नो आत्मबल घटाउने काम बन्द गरिदिनुस् । यसबारे परिवार र साथीहरू सँग छलफल गरी उनीहरुको समेत आत्मा बल घटाउने काम बन्द गरिदिनुस् । कुनै पनि प्रकारको रोग होस् वा फ्लु वा कोरोना भाइरस त्यो सँग दुवै भौतिक र मनोवैज्ञानिक रूपमै सीमित दुरी बनाएर कसरी रहन सकिन्छ त्यसबारे उपयुक्त तरिकाहरू सिक्नुस् । जब तपाईँ यो भाइरससँग र यो भाइरसका कारण हाम्रो जीवनमा बढ्न जाने चिन्ताका प्रमुख कारकहरू सँग दुरी कायम गर्न सक्नुहुन्छ, तब यसले तपाइको कुनै हानी गर्न सक्ने छैन ।

आज हाम्रो समाजमा कोरोना भाइरससँग कसरी भौतिक रूपमा दुरी कायम गर्ने भन्नेबारे धेरै तरिकाहरू पढ्न र देख्न पाउने सुविधा हामीसँग उपलब्ध छ । तर यसबाट पैदा हुनसक्ने अनावश्यक डरको त्रास विकास हुने हाम्रो चेतनामा पुग्ने प्रवाहलाई रोक्ने तरिकाबारे भने त्यति ठूलो ध्यान पुगेको भेटिँदैन । हाम्रो समाजमा न त जरुरत अनुरूपको जनचेतना जगाउने काम गरिएको छ । न त उपायबारे पर्याप्त विवेचना हुने गरेको छ ।

मानव शरीरका प्रत्येक कोषिका डिएनए आदिबाट बने पनि सूक्ष्म रूपमा हेर्दा ती सबै बिलियनस एटमहरूबाटै निर्मित छन् । हरेक एटम क्वार्ज, ग्लुवोनलगायतका विभिन्न अति सूक्ष्म पार्टिकलले बनेका, प्रोटोन र न्युट्रोनहरूबाट बनेका हुन्छन् । इलेकट्रोन र क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल निकै सानो सानो इनर्जीका संयोजनले बनेका विन्दु हुन् । यस्ता विन्दुहरू जसले हाम्रो शरीरभित्र इन्फरमेसनको जालोको संयन्त्र बनाउँछ ।

समग्रमा धनी, चर्चित वा ठुलो मान्छे बनेर हैन मात्र असल मानवता भएको, आफूले आफूमाथि भर पर्न सक्ने आत्मबल भएको मान्छे बनेर कोभिड-१९ को सङ्क्रमण मात्र हैन भविष्यमा आइलाग्न सक्ने अन्य प्रकृतिका सङ्क्रमणबाट समेत आफूलाई सुरक्षित राख्न सकिने कुरा समय क्रमले प्रमाणित गरिदिएको छ । यहाँलाई हरदम उच्च अत्माबल र मानवता युक्त मानवको रूपमा रहने शक्ति प्राप्त होस् ।


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x