विचार

कमरेड प्रचण्डलाई खुल्लापत्र

मधुसूदन सुवेदी |
पुस १४, २०७९ बिहीबार १९:१६ बजे

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू !

सर्वप्रथम त संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा तेस्रो पटक प्रधानमन्त्री हुनु भएकामा बधाइ तथा शुभकामना । 


पहिलो संविधानसभाको चुनावमा पहिलो दल माओवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखबाट हात धुनुपरेको हेक्का थिएन सायद अहिलेको कांग्रेसलाई । राजनीतिका चतुर खेलाडीलाई यसबारे थाहा नहुने कुरै भएन । तर गजब भयो, कतिले सोचे जस्तो भयो, कतिले नसोचेको भयो । राजनीति स्वार्थको खेल हो भन्ने चाहिँ सबैलाई थाहा भयो । राजनीतिमा खेलाडीहरूको प्रवेश भएको छ र महत्वपूर्ण जिम्मेवारी पनि पाएका छन् ।

विगतमा गठबन्धन सरकार टिकाउन खेलिएका खेल, जाल–झेल, सुरा–सुन्दरी, प्राडो–पजेरो, आधा दर्जन उपप्रधानमन्त्री, ५० भन्दा धेरै जनाको मन्त्रिमण्डलले नेपाली जनतालाई निराशाबाहेक केही दिन सकेको छैन । नेपाली जनता चाहन्छन् अब त्यस्तो नहोस् । 

कुन कार्यभार, कस्तो कार्यभार 

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र थप संस्थागत गर्ने सन्दर्भमा राज्य पुनर्संरचनाको महत्वपूर्ण आयाम स्थानीय तह, संघ र प्रदेशको चुनाव भिन्न भिन्न गठबन्धन र तालमेलको राजनीतिमार्फत सम्पन्न भएको छ । दुःखद् पक्ष के हो भने पालिकाको वडा सदस्य हुन पनि केन्द्रीय स्तरको नेताको मुख ताक्नुपर्ने, चाकडी गर्नुपर्ने प्रवृत्तिले संघीयताको मर्ममाथि प्रहार भएको छ । लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्ने कामका लागि नेतृत्व आफैँ लोकतान्त्रिक हुनुपर्छ ।

प्रदेशको अधिकारबारे अस्पष्टताका कारण थप प्रश्न उठ्ने गरेका छन् । गणतन्त्रलाई संस्थागत गरी आम जनताको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउनु पार्टीहरू र सरकारको आधारभूत कार्यभार हो । यसका लागि राजनीतिक अधिकार प्राप्तिपछि दिगो विकासको लक्ष्य हासिल गर्न सबै वर्ग, क्षेत्र, लिंग र जातजातिको समावेशी विकास प्रमुख लक्ष्य हुनुपर्दछ । सुशासन, आर्थिक विकास, सार्वजनिक स्वास्थ्य, शिक्षा, यातायातमा जोड, जनउत्तरदायी नेतृत्व हाम्रा प्राथमिकता हुन् । सकारात्मक सोचसहित विश्व मानचित्रमा नेपालको समृद्धि र प्रतिष्ठाको अभिवृद्धि गर्न अहोरात्र क्रियाशील रहनु आजको आवश्यकता हो ।

लोकतान्त्रिक गणतन्त्रको स्थापना हल्लाको भरमा भएको हैन । लामो र ऐतिहासिक संघर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा ठूलै आशा पलाएको थियो । अहिले जनता निराश छन् र खासगरी युवाहरूको ठूलो जमात परिवर्तनको पक्षमा छ । सम्पन्न चुनावको नतिजाले पनि यही देखाएको छ । 

जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन दिगो र संस्थागत हुन सक्दैन . 

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका हल्लाको भरमा भएको हैन, लाखौं नेपालीको अथक प्रयास र पसिनाको मूल्य यसभित्र छ । त्याग, बलिदान भएका छन् । यी सबैको समुचित सम्बोधन र नेपालको उज्ज्वल भविष्यका निम्ति राजनीतिक दल र आम नेपाली जनसमुदायमा एकता र दृढ संकल्पको विकल्प छैन । हाम्रा सपनाहरूलाई सार्थकतामा बदल्ने हाम्रै मेहनत र संकल्पले हो, हाम्रै एकता र सहकार्यले हो । त्यसका लागि परिवर्तनको प्रक्रियामा सहभागी सम्पूर्ण शक्तिहरूबीच बलियो एकता जरुरी छ । 

हरेक पार्टीको मूल नेतृत्व परिवारवादबाट बाहिर निस्कनै पर्छ । आफ्नो कार्यशैलीबारे सूक्ष्म तथा सैद्धान्तिक र व्यावहारिक आलोचना गर्ने कार्यकर्ता सही रूपमा पार्टी कार्यकर्ता हुन् । उनीहरूको कुरा सुन्ने र आफूमा भएको कमी–कमजोरी हटाउने प्रयत्न किन नगर्ने ? आर्थिक तथा पदीयलाभको खोजीमा हिँडेकाहरूले नेताको चाकडी र चाप्लुसी मात्र गर्छन् । उनीहरू अवसरको खोजीमा पदलाई पैसासँग किनबेचमा हिँडेका हुन्छन् ।

छविलाल, पुष्पकमल वा प्रचण्डहरू

तपाईं कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरिनुभएका ‘प्रचण्डको’ विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । तपाईं आफू पुष्पकमलभन्दा ‘प्रचण्ड’ भनिनुमा नै गौरव गर्नुहुन्छ । हिजोको प्रचण्ड र आजको प्रचण्डमा निकै फरक छ भन्छन् आन्दोलनमा लागेका कार्यकर्ता । तपाईं पुष्पकमल हुनुस् वा ‘प्रचण्ड’, जनतालाई चाहिने विकास, शान्ति र सुशासन हो । सामाजिक न्याय हो ।

पहिले गरिबहरूले तपाईंलाई निकै मन पराउने गर्थे, विश्वक्रान्तिका नायक भन्थे । तपाईंको क्रान्तिकारी लेख र भाषण सुनेर थुप्रै मान्छेहरूले बन्दुक बोके, आन्दोलनमा होमिए । धेरैले ज्यान गुमाए, बेपत्ता भए । घाइते र अंगभंग हुनेको त हिसाबै भएन ।

अहिले नवधनाढ्यहरूले तपाईंलाई निकै गतिशील, आवश्यकताअनुसार चलायमान हुन सक्ने, मनको कुरा बुझ्ने भन्दैछन् । भक्तहरू थुप्रै छन् । यो गतिशीलताभित्र विचारसँगै छ कि हरायो ? हिजोका साथीसँगै छन् कि छैनन् यदि छैनन् भने किन ?

हिजोसम्म विदेशीको गोटी आजबाट खाँटी क्रान्तिकारी । हिजोको पश्चगामी अब अग्रगामी । नेताको अहंकारलाई कार्यकर्ताले चुपचाप मानिदिनुपर्ने ? राजनीतिको नाममा लाजनीति र अलोकतान्त्रिक भएन र ?

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएको तपाईंले २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन, २०३४ मा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०४६ देखि पार्टीको मुख्य नेतृत्व हुनुहुन्छ । ३३ वर्षदेखि पार्टी हाँक्न पाउनु पनि सौभाग्य नै होला । तर आफू मात्र नेतृत्वमा हुँदा लोकतन्त्र कदापि बलियो हुँदैन ।

संविधान कार्यान्वयन र विकासको गति अत्यन्त सुस्त     

सम्माननीय प्रधानमन्त्रीज्यू,

यति बेला विकास तथा सुशासनको गति अत्यन्त सुस्त छ । सबै आर्थिक सूचकांकहरू निराशाजनक छन् । नेपालीलाई गणतन्त्र मात्र चाहिएको हैन, सामाजिक न्यायसहितको लोकतन्त्र र समानुपातिक समावेशी शासन प्रणाली, सहितको विकास चाहिएको हो । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान चाहिएको हो ।

शान्तिप्रक्रिया र संक्रमणकाल व्यवस्थापनका मुद्दाको टुंगो लागेको छैन । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको आर्थिक लाभका पदमा परिणत भएका छन् । कृषकहरू मल र बिउको अभावमा हरेक वर्ष पीडित छन् । सिमानामा बस्नेहरू असुरक्षित छन् । 

विकृति र विसंगतिका ओइरो 

शिक्षा क्षेत्र अस्तव्यस्त छ । युवाहरू देशमा पढ्न तयार छैनन् । विश्वविद्यालयहरूमा पठनपाठन हैन, पदको बाँडफाँट हुन्छ । तालाबन्दी हुन्छ । कुटपिट हुन्छ । यो दिक्कको अवस्थाले युवाहरू नेपालमा पढ्न तयार छैनन् । 

राजनीतिक दाउपेचले पदाधिकारीहरूको नियुक्तिको प्रक्रिया गतिहीन छन् । शिक्षा र स्वास्थ्यका व्यापारीहरूले राजनीतिमा कब्जा जमाउँदै छन् । आफ्नो हित तथा स्वार्थको निमित्त ट्रेड युनियन तथा पार्टीहरू तथा गुटका संघ र संगठन खोल्ने, संगठित हुने र सामूहिक सौदाबाजी गर्ने कामले दलतन्त्र र मनपरीतन्त्र मौलाएको छ ।

विदेशी भूमिमा पसिना बगाएर देशको अर्थतन्त्र धानिएको छ । वैदेशिक रोजगारीको क्रममा विभिन्न अभियोगमा मृत्युदण्ड सुनाइएका, थुनामा रहेका, मुद्दा चलिरहेका, ब्लड मनी तथा जरिवाना तिर्न नसकेर मृत्युको प्रतीक्षा गरिरहेका नागरिकहरूका लागि ‘देश भनेको के हो’ थाहा छैन ।

भूमिहीन, सुकुम्बासी, हरुवा, चरुवा, हलिया, मुक्त कमैया लगायतका समुदायका समस्या समाधान गर्न बसोबास आयोग गठन गरिएको छ तर यी आयोगहरू चलायमान छैनन् समावेशी पनि छैनन् । गरीब घर परिवारका लागि परिचयपत्र वितरण गरी विपन्न नागरिकलाई सेवा प्रवाहमा प्राथमिकता दिने विषय एकादेशको कथा जस्तै भएको छ । परिचय पत्रको नाममा अनेकौं झमेला थपिएको छन्, नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र आदि आदि ।

जातीय भेदभाव र छुवाछूत अन्त्य तथा दलित अधिकारका लागि ठोस काम भएका छैनन् । यातायात क्षेत्रमा सर्वसाधारणले व्यहोर्न परेको सास्ती प्रधानमन्त्री, मन्त्री, पार्टीका नेता तथा कार्यकर्तालाई थाहा हुने कुरै भएन ।

तपाईंले भन्दै आएको, ‘उत्पीडितहरूको पहिचान र अधिकारको लडाइँको नेतृत्व हुनुको नाताले सबैलाई जोडेर परिवर्तनतिर अगाडि बढाउने कुरालाई मैले आफ्नो ऐतिहासिक दायित्व ठानेको छु । हाम्रा थुप्रै सहयोद्धाले लक्ष्य प्राप्तिका लागि हाम्रै आँखाअगाडि शहादत वरण गरे र त्यो शहादतले हामीलाई तर्साएन । बरु, अझ मजबुत बनायो । आन्दोलन र क्रान्तिका कठिन चरणमा हामी रुँदारुँदै हाँस्यौं र हाँस्दाहाँस्दै रोयौं । त्याग, तपस्या, जेल–नेल, भूमिगत र निर्वासित जीवनका हाम्रा आ–आफ्नै इतिहास छन् र हामी धेरैजसो क्रान्तिका सन्तान हौं । आज देशले हामीसँग हाम्रै क्रान्तिहरूको अर्थ र औचित्य खोजेको छ ।’ मानिसहरू प्रश्न गर्दैछन, साँच्चिकै भनेको कि सत्ता प्राप्त गर्न यसको उत्तर भनेर हैन गरेर देखाउने बेला आएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सपनाहरूको क्रान्ति धेरै भयो, नेपाली जनतालाई उपलब्धिहरूको क्रान्ति चाहिएको छ । राजनीतिक प्रतिबद्धता, व्यवस्थापकीय कुशलता र राष्ट्रप्रति इमानदारी भयो भने राष्ट्रको समृद्धि र परिवर्तन हामीबाटै र अहिले नै सम्भव छ भन्ने तथ्य देखाउनु परेको छ । विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन परेको छ । आर्थिक क्रान्तिका लागि साझा संकल्प, समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माणको पहलको खाँचो छ ।’

नेपालको राजनीतिको सबैभन्दा ठूलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोगको संस्कृति हो । दलहरू र नेताहरू बीचमा पटकपटक भएका लिखित र अलिखित सहमतिहरू रातारात च्यातिएका थुप्रै उदाहरण छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कहिल्यै कुनै सहमति राम्रोसँग पालना भएको छैन । कसैको कसैप्रति कुनै भरोसा नहुने र हरेकले हरेकलाई उपयोग मात्रै गर्ने आजसम्मको प्रवृत्तिले लोकतन्त्र संस्थागत हुन सकेको छैन । 

यो मुलुकमा सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्था, विकास तथा सुशासन भएको अनुभव गर्न पाउने सबै नेपालीको अधिकारको विषय हो । राजनैतिक नेतृत्वले आर्थिक विकास र सुशासनमा ध्यान दिने काम गरोस् भन्नकै लागि हामीले लोकतन्त्र ल्याएको हैन र ?

वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन सक्दैन । नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्पको आवश्यकता छ । 

कार्यकर्ताको दुःख 

सम्माननीय प्रधानमन्त्रीज्यू,बिचरा कार्यकर्ताका आफ्नै दुःख छन् । क्रान्तिकारीको परिभाषा आफ्नो स्वार्थसँग जोडिएको छ । हिजोसम्म तपाईंलाई गाली गर्नेहरू अहिले तपाईंको प्रतिरक्षा गर्दैछन् । हिजोसम्म तपाईंको प्रतिरक्षा गर्नेहरू आज गाली गर्न थाल्दैछन् । ‘बालुवाटारबाट बार्दली पुगेँ’ भन्दै आफ्नो कटाक्ष गर्न अक्सर प्रयोग गरिएको त्यही ‘बार्दली’ले तपाईंलाई बालुवाटार विराजमान हुनमा सहयोगीको भूमिका खेल्यो । नेपाली जनताले बालुवाटार (बार्दली, बार्दली) बालुवाटारको गाईजात्रा हेर्दै अलमलमा परे । तीन जना बाहरूको राजनीतिमा छोराछोरीले मौका खोज्दैछन् । 

हिजोसम्म विदेशीको गोटी आजबाट खाँटी क्रान्तिकारी । हिजोको पश्चगामी अब अग्रगामी । नेताको अहंकारलाई कार्यकर्ताले चुपचाप मानिदिनुपर्ने ? राजनीतिको नाममा लाजनीति र अलोकतान्त्रिक भएन र ?

अन्त्यमा, 

गणतन्त्रको लडाइँमा अग्रभागको मोर्चा सम्हाल्ने योद्धाहरूले सम्माननीय प्रधानमन्त्रीलाई सोध्न नसके पनि कमरेड प्रचण्डलाई सार्वजनिक सञ्जालमार्फत पटक–पटक प्रश्न गर्दै छन् :

गणतन्त्रका लागि भनेर तिमीले मलाई
गोडाफाट भन्यौ, मैले गोडाफाट गरेँ ।
तिमीले सर्तक भन्यौ, मैले सर्तक गरेँ ।
लालसलाम भन्यौ, मैले लालसलाम भनेँ ।
जिन्दावाद भन्यौ
मैले जिन्दावाद भनेँ ।

तिमीले मुर्दावाद भन्यौ, मैले मुर्दावाद भनेँ ।
तिमीले दुस्मनका किल्ला भत्का भन्यौ
किल्ला भत्काएँ, गाउँका स्कुल भत्का भन्यौ
स्कुल भत्काए, अस्पताल भत्काए
मन्दिर भत्काए
तिमी जे जे भन्यौ सब थोक भत्काए

मलाई लाग्थ्यो
तिम्रो सत्यबाहेक अरू सत्य छैन संसारमा
त्यसैले तिमीले जे जे भन्यौ मैले त्यही गरेँ ।
तिमीले मलाई भनेका थियौ
गणतन्त्र आएपछि
गाउँमा रोजगार हुनेछ, आधुनिक शिक्षा हुनेछ ।
गाउँमा अस्पताल हुनेछ, बिजुली हुनेछ
भनेका थियौ मेरा गाउँका गोरेटो
सडकमा परिवर्तन हुनेछ ।
राजाको अनत्य हुनेछ ।
निमुखा, गरिब र सर्वहाराको शासन हुनेछ ।
भनेका थियौ
कोही भोकै मर्नुपर्ने छैन
कसैले रूनुपर्ने छैन
गाउँमा हलो जोत्नु, भारी बोक्नुपर्ने छैन
छाक टार्न कोही मुग्लान जानुपर्ने छैन
यी त उदाहरण मात्र हुन् यस्ता तमाम कुरा भनेका
थियौ तिमीले मलाई
यही कुराको आशामा मैले
तिम्रो अन्धभक्त भएर
कहिले तिमीदेखि डराएर
कहिले तिम्रो दबाबमा रहेर
त कहीँ आफैँ जोसिएर
घरमा प्यारीको जवानी बन्धकीमा राखेर
आमाको माया थाँती राखेर
मेरो घरको बेथालाई बेवास्ता गरेर
अनि म आफैँले स्वयं मेरो
जवानी लिलाम गरेर
यो ज्यानको बाजी थापेर
तिमीले भनेको गणतन्त्र ल्याउन
टाउकोमा कफन बाँधेर हिँडेको थिए ।
तर
गणतन्त्र आएदेखि भने
मैले तिमीलाई देखेको छैन कमेड
भेट हुने त कुरै भएन तिमी कहाँ छौ

सम्माननीय प्रधानमन्त्रीज्यू,

लामो पत्र लेख्ने इच्छा थियो तर लामो पत्र पढ्ने फुर्सद नै कहाँ हुन्छ र ? यही पत्रमार्फत तपाईंका स्वकीय सचिवहरूलाई अनुरोध गर्दछु कि यो पत्र सम्माननीय प्रधानमन्त्रीज्यूलाई पढेर सुनाइदिनु होला । 

लोकतान्त्रिक आन्दोलनका लागि म जस्ता थुप्रै व्यक्तिहरूको योगदान छ । व्यक्तिगत रूपमा म वा हामीजस्तालाई कुनै मान वा पद चाहिएको पनि छैन । परिवार पाल्न सक्ने रोजगारी पनि छ, क्षमता पनि छ । यो मुलुकमा सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्था, विकास तथा सुशासन भएको अनुभव गर्न पाउने सबै नेपालीको अधिकारको विषय हो । राजनैतिक नेतृत्वले आर्थिक विकास र सुशासनमा ध्यान दिने काम गरोस् भन्नकै लागि हामीले लोकतन्त्र ल्याएको हैन र ?

लोकतन्त्र र सामाजिक न्याय पक्षपाती
उही, 
प्राध्यापक मधुसूदन सुवेदी 

 
 


Author

मधुसूदन सुवेदी

सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन् ।


थप समाचार
x