समाजवादको निर्माण चुनौतीपूर्ण छ तर सम्भव छ
विगत ३० वर्ष र त्यसपूर्वको ३० मा हामीले राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकेनौँ । नेपालको अर्थतन्त्र प्रकटित तथा अप्रकटित विदेशी व्यापारी र माफियाको नियन्त्रणमा क्रमश भ्रष्ट अर्थतन्त्रतर्फ अग्रसर रह्यो । नवउदारवादका नाममा निजीकरणको रोगबाट नेपाली अर्थतन्त्र झन् रुग्न बन्दै गयो । अहिले यो विदेशमा श्रम बेची विदेशी वस्तु उपभोग गर्ने उपभोक्तावादी अर्थतन्त्रमा रूपान्तरित भइसकेको छ ।
वर्तमान लोकतन्त्र र त्यसका अवयवहरू यही भ्रष्ट अर्थतन्त्रका औसाका रूपमा पालित पोषित छन् । अत: उनीहरूबाट नेपाली अर्थतन्त्रको विकास, भौतिक संरचनाको निर्माण, जनताको समृद्धि र राष्ट्रको सुरक्षाका सम्बन्धमा आशा गर्ने कुनै ठाउँ बाँकी छैन । उनीहरूले नेतृत्व गरेको लोकतन्त्र आशा गर्ने कुनै ठाउँ बाँकी छैन । उनीहरूले नेतृत्व गरेको लोकतन्त्र कुहिएको फर्सी जस्तै भइसकेको छ । यसका केही विशेषताहरू छन् :
वर्तमान लोकतन्त्र र त्यसका संस्थाहरू ‘लुटतन्त्र’ (प्लुटोक्रेसी) का संयन्त्रमा परिणत भएका छन् । यस्तो व्यवस्थामा भ्रष्टाचार जीवन प्रणालीका रूपमा खडा हुन्छ । वर्तमान लोकतन्त्र विचारधाराहीन भोटतन्त्रीय मञ्चमा रूपान्तरित भइसकेको छ । यस तन्त्रमा ‘लोकतन्त्र’का रूपमा भोटतन्त्र मात्र कायम रहेको छ । यस भोटतन्त्रमा ‘विकास’ मोलतोलको वस्तु बन्छ । पैसा खर्च गर्ने उम्मेदवार बन्छ । विकास र सुविधाको खोजी गर्ने जनता मतदाता । मतदाताको माग पूरा गर्ने उम्मेदवारलाई जनताले भोट हाल्छन् । उसले बिजुलीको खम्बा हाल्छ उनीहरूको बत्ती बल्छ । यही मोलतोल वर्तमान लोकतन्त्र हो । निर्वाचनमा जितेर उम्मेदवार कमाउने राजनीति गर्छ ।
यो व्यवस्था विकृत तथा भ्रष्ट पुँजीवादले स्थापना गरेको राजनीतिक तन्त्र हो । यस्तो व्यवस्थामा सीमित र मध्यम वर्गले राजनीतिमा हक स्थापित गर्दछ । धनीहरूले उनीहरूको सहयोगमा पुँजीमाथि एकाधिकार कायम गर्दछन् । अहिले नेपाली राजनीतिक बजारमा स्वतन्त्रको झन्डा बोक्ने वर्ग त्यही मध्यमवर्ग हो जो आफ्नो व्यापार स्थापना गर्न स्थापित राजनीतिक व्यापारीसँग प्रतिस्पर्धा गरिरहेको छ । उनीहरू बीचको अन्तरविरोध सवल अर्थतन्त्र र लोकतन्त्र स्थापित गर्ने होइन ।
उनीहरू बीचको अन्तर्विरोध स्थापित व्यापारीलाई स्थापित हुन चाहनेले पछार्ने महत्वाकांक्षाको लडाइँ मात्र हो । एकाधिकार पुँजीवादले समाजवादलाई कुण्ठित मात्रै होइन बलपूर्वक रोक्न खोज्छ । यो पुँजीवाद अहिले उग्ररूप देखाइरहेको छ किनकि यो झन्झन् कमजोर भइरहेको छ । उसको पतन निश्चित छ । त्यसैकारण यसले आफ्नो धैर्य गुमाइरहेको छ । अहिले एकाधिकार पुँजीवाद बुहराष्ट्रिय कम्पनीका रूपमा विश्वास एउटा हिंसात्मक आर्थिक साम्राज्यवादको रूपमा उदाइरहेको छ । यसले युद्धलाई प्रेरित गरिरहेको छ र आफ्नो अस्तित्व कायम राख्न अर्को एउटा शीतयुद्धको परिस्थिति सिर्जना गरीरहेको छ । विकासन्मुख देशहरूमाथि यो झन्झन् अनुदार बनिरहेको छ ।
पछिल्लो समयमा यसको संरक्षणका लागि अमेरिकी नेतृत्वमा नाटो गठबन्धन आक्रमक ढंगले अगाडि आइरहेको छ । यसका पछिल्ला गतिविधिहरूले तेस्रो विश्व युद्धको सम्भावनालाई निम्त्याइरहेको कुरालाई पनि इन्कार गर्न सकिन्न । सन् २००२ मा इराक माथिको बर्बर आक्रमण, अरब स्प्रिङ रिभोलुसनको अभियानअन्तर्गत भएका सिरिया र लिबियामाथिका आक्रमण, गल्फको पेट्रोलियम पदार्थमाथि एकाधिकार प्राप्त गर्ने रणनीति, इन्डो प्यासिफिक रणनीतिद्वारा चीनलाई घेराबन्दी गर्ने र इराकलाई ध्वस्त पार्ने रणनीति, दक्षिण चीन समुद्रमा सैनिक उपस्थिति, कोरियाली द्वीपमा तनावको सिर्जना, जापान, भारत, अस्ट्रेलिया र अमेरिकी गठबन्धन (क्वाड) को निर्माण, अमेरिका, अस्ट्रेलिया र युकेको ‘अंकुश’ नामका गठबन्धन निर्माण, नाटो संगठनमा युक्रेनलाई समावेश गरी रसियालाई घेराबन्दी गर्ने रणनीति एवं ताइवानलाई उक्साई चीनमाथि प्रहार गर्ने योजना अर्को शीतयुद्ध र दोस्रो विश्वयुद्धका सम्भावनाका प्रमाणहरू हुन् ।
अन्तर्राष्ट्रिय तहमा भइरहेका यी शान्ति विरोधी गतिविधिका दुईवटा प्रमुख अभीष्ट छन् । (क) अमेरिकी साम्राज्यवादलाई विश्व प्रहरीका रूपमा खडा गर्ने नियत र (ख) विश्वको स्रोतमाथि एकाधिकार पुँजीवादको एकलौटी अधिकार निर्माण गर्ने चाहना । यी दुवै चाहना खतरनाक छन् । एकाधिकार पुँजीवाद ‘विश्व व्यवस्थाको नाममा’ अमेरिकी व्यवस्था निर्माणमा सक्रिय रहेको छ । यस युद्धपरक साम्राज्यवादी रणनीतिले ‘भू–रणनीतिक’ अवस्था भएका देशहरूलाई अत्यधिक रूपमा प्रभावित गरिरहेको छ भन्ने कुरा नेपालको वर्तमान अवस्थाले देखाइरहेको छ । तर पनि यस साम्राज्यवादी रणनीतिले रुग्न भइसकेको एकाधिकार पुँजीवादलाई जोगाउन सक्दैन भन्ने तर्कलाई तथ्यहरूले पुष्टि गर्छन् ।
- अमेरिकी अर्थतन्त्र कमजोर हुँदै छ । यो प्रलयकारी विडम्बना (जेमोन प्याराडक्स) को अवस्थामा रहेको छ । अर्थात् यो त्यस्तो जिउँदो वृद्ध हात्ती हो, जो अहिले उभिएर केही खाइरहेको छ तर जब बस्छ यससँग फेरि उभिने ताकत छैन । मृत्युको भयले यो हात्ती रिसाहा प्रवृति प्रकट गर्छ र जोसुकैलाई आक्रमण गर्दछ ।
- विश्व बहुपक्षीय विश्व व्यवस्थाको पक्षमा खडा भइसकेको छ । ब्रिक्स र एआइआइबीको उदयले आर्थिक क्षेत्रमा चीन लगायतका विकासशील देशहरू पश्चिमी एकधिकारका विरुद्धमा उभिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका रणनीतिहरूलाई विश्व व्यवस्थाले लत्याइसकेको छ ।
- रसियाको पुर्नउदय र चीनको उदयले विश्व व्यवस्थामा अमेरिकी एकाधिकार विसर्जनको बिन्दुतर्फ अग्रसर रहेको छ । पूर्व उपनिवेशवादी देशहरू तथा अमेरिका बीचमा अन्तरविरोधहरू गम्भीर भइरहेका छन् । युरोप अमेरिकी उदयको विरुद्धमा मनोविज्ञान निर्माण गरिरहेको छ ।
- अमेरिकी सामाजिक संरचना विशृंखलताको सामना गरिरहेको छ । उसको समाजमा निर्माण भएको असमानताको खाडल डरलाग्दो अवस्थामा पुगेको छ । अमेरिकी शासनमा सिमित धनी र बहुराष्ट्रिय कम्पनीको अधिकार कायम रहेको छ । यसका विरुद्धमा अमेरिकी जनता र बौद्धिकहरू नै समाजवादको अभियान निर्माण गरिरहेका छन् । अमेरिकी बहुमत जनताको विश्वास समाजवादतर्फ मुखरित भइरहेको छ ।
- चीनले समाजवादको माध्यमबाट एउटा सम्पन्न अर्थतन्त्र निर्माण गरिरहेको छ र उसको समाजवादी अर्थतन्त्र विश्वको दोस्रो अर्थतन्त्रका रूपमा रहेको छ र सबै समाजवादी देशको अर्थतन्त्र जोड्दा आजको विश्वमा समाजवादी अर्थतन्त्र नै पहिलो अर्थतन्त्रका रूपमा रहेको छ ।
- सबै आँकडाहरूले देखाएअनुसार आर्थिक असमानताको खाडल झन् झन् बढिरहेको छ । सम्पत्ति सिमित व्यक्तिका हातमा केन्द्रित भइरहेको छ र गरिबहरूको जनसंख्या बढिरहेको छ । गरिब देश र धनी देश बीचका अन्तरविरोधहरू बढिरहेका छन् । धनी देशहरू बिचमा अन्तरविरोधहरू निर्माण भइरहेका छन् । उत्तर र दक्षिणका बीचमा अन्तरविरोधहरू बढिरहेका छन् । यी सबै किसिमका अन्तरविरोधले पुँजीवाद असफल भएको अवस्था स्पष्ट
छ । अत: विकल्प समाजवाद नै हो भन्ने कुरामा विवाद छैन ।
यस्तो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालको विकासले यात्रा समाजवादको बाटोबाट मात्र सम्भव हुन्छ भन्ने स्पष्ट छ । अत: नेपाली समाजले हिँडिरहेको बाटो बदल्नु अनिवार्य भईसकेको छ । भनिन्छ, बाटो बनाउन सकिएन भने यात्रा पनि टुंगिन्छ । नेपालको भविष्यलाई सुनिश्चित गर्ने बाटो समाजवादको बाटो नै हो । समाजवादको बाटोलाई पथप्रदर्शन गर्ने राजनीति परिवर्तनशिल प्रगतिशील राजनीति हो, जसले अकर्मण्य स्थायित्वलाई चुनौती दिन्छ ।
त्यसैले यस्तो राजनीतिलाई वामपन्थी राजनीति भन्ने गरिन्छ । यस्तो राजनीतिले तथ्यमा आधारित सत्यको खोजी गर्ने भौतिकवादी एवं वैज्ञानिक चिन्तनलाई ग्रहण गर्दछ । अत: भन्न सकिन्छ, जहाँ समाजवादको सार्थकता प्रमाणित हुन्छ, त्यही पथ प्रदर्शकका रूपमा माक्र्सवादी विचारधाराको सार्थकता प्रमाणित हुन्छ । विगतमा नेपालका वामपन्थी शक्तिहरूले सत्तामा पुगेपछि चरम समाजवाद विरोधी चरित्र ग्रहण गरे । नेपाली कांग्रेसले नवउदारवादी अर्थतन्त्रबाट नेपालमा एकाधिकार/दलाल पुँजीवादलाई स्थापित गर्यो ।
नेपालका सत्ता साझेदारी गर्न पुगेका कम्युनिस्ट पार्टीहरूले नेपाली कांग्रेसले लागू गरेको नवउदारवाद अवलम्बन गरे । परिणामस्वरूप समाजवादी व्यवस्थाका पक्षधर दुईतिहाई नेपाली जनतालाई धोका दिन पुगे । जनतालाई स्वनिर्भर बनाउने अर्थतन्त्रको विकासमा उनीहरूलाई किन्चित चासो रहेन । उनीहरूले समाजवादी अर्थतन्त्रका न्यूनतम मान्यताहरूलाई पनि लत्याए ।
अत: अब ‘समाजवादी राजनीतिक अर्थतन्त्र’ को निर्माणद्वारा नेपाललाई एक समृद्ध राष्ट्र बनाउने विचारधाराको पुर्नजागरणको अभियान निर्माण गर्नु र त्यसलाई संगठनात्मक ढाँचामा रूपान्तरणको विकल्प छैन । त्यसो गर्नु नै ‘नेपालको राजनीति हो’ भन्ने कुरालाई नेपालका बौद्धिक, व्यावसायिक, देशभक्त उद्यमी, प्रगतिशील विद्यार्थीले आत्मसात गर्दै, आम जनतामा वैज्ञानिक चेतना निर्माण गर्ने अभियानमा सरिक हुनुपर्ने अवस्था छ ।
नेपाली देशभक्त जनतासँग मिलेर बौद्धिक, व्यवसायी, उद्यमी तथा सेचत युवा विद्यार्थीको ससक्त अभियान निर्माण गरी विगतलाई बदल्ने वर्तमानको निर्माण गर्ने समय आएको छ । भनिन्छ ‘असल चराहरू सुरक्षित रुख खोजेर गुँड लगाउँछन् र बच्चा कोरल्छन्’ । हामी देशभक्त, समाजवादी सोचका लागि क्रियाशील नेपालीहरूले ‘समाजवादी गुँड’को निर्माण गर्ने समय वित्दैछ । अब इतिहासका विरुद्ध बागी बन्नु आवश्यक छ । विगतको ७० वर्षको युगले अनैतिक राजनीतिको गुँड बनायो, अब त्यसलाई भत्काउने समय आएको छ । त्यो ‘भत्काउने कार्य हामी समाजवादी गुँड बनाएर गर्न सक्छौं’ । अत: अबको क्रान्ति प्रगतिशील निर्माणको क्रान्ति हो । यो ‘क्रान्ति भित्रको क्रान्ति’ हो । यो नेपाली जनतालाई समृद्ध बनाउने क्रान्ति हो ।
लगनशीलता र समाजवादी रूपान्तरण
निर्माण योजना मानिसका सपनाबाट बन्दछ । हामी ‘चितवनमा अग्लो घर बनएर प्रधानमन्त्री/राष्ट्रपतिको कार्यालय राख्न सक्तछौं । प्रधानमन्त्रीले हेलिकोप्टरबाट १५ मिनेट उडेर नगरकोटमा विदेशी राजनदुतहरूलाई भेट्ने छन् । उनले विदेशी पाहुनालाई नाम्चेमा डिनर दिने छन् । हाम्रा जुम्लाका स्याउहरू साउदी अरेविया पुग्ने छन् र हुम्लाका भेडा कतारमा । हाम्रो हिमालका फेदमा विश्वभरिका मानिस चिप्लि खेल्न आउनेछन् । हाम्रो पालुङमा अन्तर्राष्ट्रिय अस्पताल बन्छ ।’ यी सपना हाम्रा आजपनि जिउँदै छन् । हामी मरेरपनि यी सपना बाँच्नुपर्छ । तर हाम्रो अर्थतन्त्रको घाँटी निमोठिएको छ । हामीले ‘हाम्रो अर्थतन्त्रको घाँटी निमोठ्ने’लाई विचारका सहयोगले पराजित गर्नुपर्छ । हाम्रो विचार अभियानले निर्माण गर्छ र हाम्रो ‘अभियान’ संगठनले बोक्छ ।
- ‘थोरै समर्पित मानिसको समूहले पनि परिवर्तनको सपना साकार पार्न सक्तछन्, यदि उनीहरूसँग स्पष्ट सोच र क्रियात्मक रणनीति छ भने ।’
- ‘परिवर्तनको सार त्यसले निर्माण गर्ने मानवीय समृद्धि र समतामा निहित रहन्छ ।’
- ‘एउटा भरोषायुक्त सोच/विचारधारा त्यसले बोकेको विज्ञान र वुद्धिबाट परिस्कृत हुँदै जान्छ ।’
- ‘स्युडो ज्ञानबाट जोगिन सक्यौ भने हामी दुनियाँलाई सहजै परिवर्तन गर्न सक्छौं ।’
- ‘जब अर्थतन्त्र पराइका हातमा जान्छ, राष्ट्र पनि अवसानको खाडलमा खस्छ ।’
- जुनसुकै देशको रक्षा केवल त्यसका सचेत जनताले मात्र गर्न सक्छन् । आज नेपाली सचेत जनतालाई इतिहासले सचेत गरिरहेको छ र भविष्यले आह्वान गरिरहेको छ । मातृभूमिको सेवा गरौं जनतालाई राष्ट्रका मालिक बनाऔं ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया