विचार

भ्रष्टाचारमा डुबेको देश कसरी किनार लाग्ला ?

पुरुषोत्तम पोखरेल |
पुस २९, २०७९ शुक्रबार ८:१ बजे

भ्रष्टाचार एउटा यस्तो अनैतिक आचरण हो, जसमा व्यक्तिका ससाना इच्छाहरूको परिपूर्तिका लागि देशलाई संकटमा पार्न कुनै कसर बाँकी राख्दैनन् । आज प्रत्येक व्यक्ति एकअर्काबाट आफ्नो स्वार्थसिद्ध गर्नमा लागेको देखिन्छ । चाहे ती सरकारी कर्मचारी हुन् या प्राइभेट कम्पनी कर्मचारी या अन्य निकाय चारैतिर भ्रष्टाचारको बिगबिगी देखिन्छ ।

सबै बेइमानी, ठगी, घुसखोरी, जालसाजी धन्दा हेर्दा आजको समाज पूर्णरूपेण भ्रष्ट भएका छन् । यसको दुष्प्रभाव व्यक्ति विकासको साथै राष्ट्रको सर्वाङ्गीण विकासमा समेत दूरगामी असर पुर्याइरहेको हुन्छ । जसका कारण समाजमा असमानतालाई चर्काउँदै लगेको छ भने राजनीतिक आर्थिक र सामाजिक रूपबाट राष्ट्रको प्रगतिमा समेत अवरोध सृजना गरेको हुन्छ ।


यस्ता विकृति र विसंगतिहरू माथि अंकुश लाउने राजनीतिक दलका नेताहरू स्वयं सत्ताप्राप्तिबाट अकुत सम्पत्ति आर्जन गर्ने र त्यसको बलमा पद प्रतिष्ठा हासिल गर्न राजनीतिलाई उर्वराभूमि बनाएका छन् । यस हिसाबले राजनीतिक शुद्धीकरणविना न त भ्रष्टाचार उन्मूलन सम्भव छ, न त अन्य विकास र अवसरका ढोकाहरू नै खोल्न सकिन्छ ।

यथा राजा तथा प्रजा अर्थात् नेपालका प्रत्येक व्यक्ति भ्रष्ट छन् भन्ने पनि होइन । तर यो भन्न सकिन्छ कि भ्रष्टाचारबाट मुक्त केही व्यक्ति मात्र अपवादका रूपमा होलान् । अर्को हिसाबले यो पनि भन्न सकिन्छ कि भ्रष्टाचारबाट त्यही व्यक्ति जोगिएका होलान् जसले भ्रष्ट हुने अवसर पाएनन् । वर्तमान अवस्थामा हरेक व्यक्ति बढीभन्दा बढी धन कमाउने होडबाजीले गर्दा समाजमा हाम्रो दृष्टिकोण बदलिँदै गएको छ ।

यसको मूल कारण हो हाम्रो आध्यात्मिक जीवनमा भौतिकवादको बढ्दो प्रभावले हाम्रो आचरण मूल्य र मान्यताहरूलाई समेत डगमगाइदिएको छ । भ्रष्टाचार विश्वव्यापी क्यान्सर रोग जस्तै फैलिएको हुनाले नेपाल पनि यसबाट अछुतो रहन सक्दैन । हामीले के बुझ्न जरुरी छ भने राज्यको कानुन विपरीत लाभ प्राप्त गर्नु मात्र भ्रष्टाचार होइन, अपितु अनुचित नाफा करछली मिसावट कर्तव्यप्रति उदासीनता सरकारी स्रोत साधनहरूको चरम दुरूपयोग स्वार्थ अनुकूल नीतिनिर्माण ढिलासुस्ती आदि सबै भ्रष्टाचारको परिधिभित्र पर्दछन् ।

आज यही भ्रष्टाचारको कारण हाम्रो आस्था हाम्रो पहिचान र राष्ट्रिय गौरवहरू माथि चुनौतीहरू थपिँदाको परिणाम हाम्रो धर्म, संस्कृति र नैतिकस्वरूप स्खलित हुँदै गएका छन् । जबदेखि मानिसमा लोभ, तृष्णा र वासना हाबी हुन थाल्यो त्यसै बेलादेखि गलत आचरणमार्फत धनआर्जन गर्ने र त्यो धनको आडमा राजनीतिमा हाम्फाल्ने प्रवृत्तिले उब्जाएका भ्रष्टाचार, राजनैतिक अस्थिरता र अपराधीकरण एक अर्काका पूरकको रूपमा रहेका छन् । 

वास्तवमा, हाम्रो आचरण इमानदारी, कर्तव्य परायणता आदि न्यायमा आधारित नभएपछि झुट बेइमानी छलकपट स्वार्थादि अन्यायमा आश्रित रहेको हुनाले स्वर्ग जस्तो देश आज राज्यको फितलो कानुन व्यवस्था र नेतृत्वको नालायिकपनको कारण मुलुकमा न त सही ढंगले विकास अघि बढ्न सक्यो, न त स्वदेशमा रहेर आफ्नै पुरुषार्थबाट केही गरेर देखाउने अवसर जुर्यो, न त स्वदेशमै रोजगारी गरेर युवकयुवतीहरूले स्वाभिमानीपूर्वक बाँच्न सक्ने परिस्थिति सहज बन्न नसक्नुको प्रमुख कारक तत्व भ्रष्टाचार नै हुन् । यस हिसाबले हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन गर्नमा हरेक व्यक्तिमा देखिएको भोगवादी संस्कृति उत्तिकै उत्तरदायी मानिन्छ ।

प्रमुख कारणहरू 
अहिलेको समयमा मानिसलाई श्रम पसिना बगाएर खान लाउन पुगे पनि समाजमा अन्य व्यक्ति सरह भौतिक सुख–सुविधा प्राप्त गर्न सकिरहेको हुँदैन । यस्तो अवस्थामा मानिस आफ्नो इज्जत प्रतिष्ठालाई दाउमा राखेर रातारात करोडपति बन्ने चाहना आदिले गलत बाटो अवलम्बन गर्न पुगेको देखिन्छ । मानिसलाई आवश्यकताभन्दा बढी सेवा–सुविधा र विलासी वस्तुको तीव्र चाहनाहरूले भ्रष्टाचारलाई भर्‍याङ बनाएका छन् ।

यसै समाजका दूधवालाले दूधमा पानी मिसाउने, ट्याक्सीवालाले मिटर चढाउने, व्यापारीले मिसावट गर्ने, शिक्षकले नम्बर थप्ने डाक्टरले अनावश्यक जाँच र औषधि लेख्ने, इन्जिनियरले ओभर इस्टिमेट गर्ने, लेखापाल प्रहरी वकिल न्यायाधीशदेखि प्रधानमन्त्रीसम्मै भ्रष्टाचार नै भ्रष्टाचारमा लिप्त हुनुको अर्थ हो हाम्रो समाजभित्रै भ्रष्टाचार विद्यमान छ । 

यस्तो लाग्छ, भ्रष्टाचार हाम्रो चिनारी हाम्रो राष्ट्रिय चरित्र भएको छ भन्दा अतिशयोक्त्ति नहोला । त्यसमा झन् गरिब मुलुकको महँगो चुनावी पद्धति एउटा खेलबाड जस्तो लाग्छ । सर्वसाधारण कर्मठ इमानदार त्यागी राजनीतिकर्मी तथा समाजसेवी व्यक्तिहरूले अहिलेको अत्यन्तै खर्चिलो निर्वाचन प्रणालीमा चुनाव लड्न प्राय: असम्भव छ । नेताहरूलाई भने नियम कानुन र मर्यादाको उल्लंघन गरेर चुनाव जित्छन । पुन: सत्ताको उच्च ओहोदामा पुग्नासाथ उक्त खर्च असुल्न भ्रष्टाचारको सहारा लिन पुग्छन् ।

राजनीतिक दलका नेताहरू ठूला व्यापारी तथा ठेकेदारहरूसँग लाजै नमानी चन्दा माग्छन् र तिनै व्यापारीहरूलाई दलित जनजाति अल्पसंख्यकका आरक्षित कोटाका सिटहरू महँगोमा बिक्री गरेर उनीहरूलाई राजनीतिक पनि सिकाउँछन् । यसरी व्यापार गर्ने व्यापारी र राजनीतिलाई व्यापार बनाउने भ्रष्ट नेताहरूको दुबै हातमा लड्डु राख्ने चतुर खेलाडीहरूलाई देशको नियम कानुनले छुन सक्ने आँट गर्दैन । जबकि यस्तो परिस्थितिबीच समाधान खोज्नु आगोसँग खेल्नु सरह मानिन्छ ।

सामान्यतया राज्यको नीतिभित्र गरिने भ्रष्टाचारको एउटा लामो शृङ्खला छ भने नीति बनाएर गरिने भ्रष्टाचार झन् कहालिलाग्दो देखिएका छन् । चिन्ताको कुरा यो हो कि भ्रष्टाचारलाई मानिसहरूले सामाजिक मान्यता दिएका छन् । भ्रष्टाचारको आडमा धन थुपारेर समाजमा इज्जत सम्मान पाएका छन । बेइमानी ठगी र घुसखोरीबाट आर्जित सम्पत्तिलाई तिरस्कार या बहिष्कार गरिँदैन, बरु उल्टै यस समाजमा सम्मानको नजरले हेर्ने विडम्बनापूर्ण अवस्थाको अन्त हुन सकेको छैन । त्यसैको परिणामस्वरूप आज समाजमा भ्रष्टाचारले व्यापकता पाउँदै गएको प्रस्ट छ । अहिले हरेक व्यक्ति बढीभन्दा बढी धन कमाउने होडबाजीले गर्दा हाम्रो दृष्टिकोण बदलिएको छ ।

एक अर्काको बंगला, गाडी, बैंक ब्यालेन्स तथा विलासी जीवन प्राप्त गर्ने दौडमा रातदिन हुन्छौं । यस हिसाबले हामी सबै सुविधाभोगी जीवन पद्धतिको दास बन्दै गएका छौं । हिजोआज इमानदार, नैतिकवान् व्यक्तिलाई मानिसहरू उल्लू, मूर्ख या पागल भनेर उल्टै खिल्ली उडाएर भ्रष्टाचारीहरूलाई खुलमखुल्ला साथ दिएको देखिन्छ । यस्तो समाजमा कुन चाहिँ मूर्ख इमानदार र चरित्रवान् बन्न खोज्ला र ?

आचार्य विनोवा भावेका अनुसार भ्रष्टाचार अहिले शिष्टाचार भएको छ । जब समाजका सबैजसो व्यक्ति यस्तै गर्न थाल्ने हो भने यो भ्रष्टाचार होइन शिष्टाचार हुने गर्दछ । सामाजिक विकृतिमाथि उनको तीखो व्यंग्य प्रहार बुझ्नेका लागि इसारा काफी छ । सरकारको अदूरदर्शिता एवं अकर्मण्यताको कारण आज वैदेशिक ऋण सहयोग अनुदान सबै बालुवामा पानी खन्याए सरहको विकास बजेटले प्रति व्यक्त्ति ऋणभार थपिँदो छ । खाएको विष लाग्ने हो, तर नखाएको विषको दुष्परिणाम गरिबी र बेरोजगारीको मारमा आजसम्म नेपाली जनताले पिल्सिरहनुपरेको छ ।

बैतडी जिल्लाको सिगास गाउँपालिका ८ कि टुहुरा बालिकाहरूको घरमा अन्न नभएपछि माटो खाएर बाँची रहेकी रमिला सविता र सुनिताको कारुणिक दृश्य र याचना यहाँ कसले सुन्ने ? स्वदेशमा रोजगारीको अवसर नहुँदा दिनहुँ विदेशबाट आउने बाकसहरूको पीडा र हृदयविदारक घटना देखेर कस्को आँखा नरसाउला र ? जनजीविका जस्तो अहं सवालमा राज्यको उदासीनता र गैरजिम्मेवारीपनाको पराकाष्ठा हो । यस्तो संकटको घडीमा पनि राजनीतिका ठेकेदारहरू झुसिलो डकार मार्दै हिँड्नु मानवताविरुद्धको जघन्य अपराध मानिन्छ । जनताको बाँच्न पाउने नैसर्गिक अधिकारको उल्लंघन र चुनौतीहरूले यतिबेला गर या मरको रूपमा उभ्याइदिएको छ ।

नेपालको वस्तुगत अवस्था 
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचारसम्बन्धी सन् २०२० अनुसार नेपाल ३४ अंक पाएर ११३ औं स्थानमा थियो भने सन् २०२१ मा ३३ अंक पाएर ११७ औं स्थानले भ्रष्टाचारलाई बढाएको प्रस्टै देखिन्छ । यति मात्र होइन ट्रान्सपरेन्सी इन्टरनेसनलले आफ्नो प्रतिवेदनमा सरकार न्यायालय संसद्प्रति पदको दुरुपयोग गरेको ठहरसमेत गरिसकेपछि कम्तीमा सरकारले सम्बन्धित निकायहरूमा कडाइका साथ खबरदारी गर्नुपर्ने ठाउँमा मौनताको विषयले गम्भीरतालाई झनै बढाएको छ । उहिले उहिले हाकिमलाई रिझाउन दूध, दही, घ्यु, कुराउनी, अचार आदि दिएर अप्रत्यक्ष रूपमा काम लिन्थे तर नगदमा थिएन । तर अहिले जनताको दैनिक कामकाजमा घुसबिना कुनै कामकाज अघि बढेको हुँदैन ।

कुनै यस्तो मन्त्रालय या विभाग छैन जहाँ भ्रष्टाचारले डेरा जमाएर नबसेको होस् । अझ सरकारी ठेक्का, पट्टा, सामान खरिद र जग्गा लिज प्रकरणमा करोडौं कमिसनको दूषित राजनीतिले निम्त्याएका वस्तुगत अवस्था हुन् । यस्तो अर्थिक संकटको बखतमा पनि देशका दुस्मनहरू माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषीहरूलाई पाता कसेर न्यायको कठघरामा उभ्याउन सक्नुपर्थ्यो ।

केवल ससाना भुरा माछाहरू समाएको समाचार सञ्चार माध्यममा देख्न र सुन्न पाए पनि देश डुबाउने ठूला माछाहरूका फाइलहरूमा धमिरा लाग्दै गएका छन् । केही मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन्, त केही सफाइ पाउनका लागि सुनपानी छर्केर चोख्याउने प्रक्रियाले विधिको शासन व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।

नियन्त्रणका उपायहरू : विश्व बैंकका अर्थशास्त्री डैनियल कँफम्यान भन्दछन् : कानुनी भ्रष्टाचारलाई सामेल गर्नका लागि अवधारणाहरूको विस्तार गरिन्छ । जसमा कानुनको सीमाभित्र शक्तिको दुरुपयोग गर्ने गरिन्छ । किनकि सत्ता प्राप्त गर्ने व्यक्तिले प्राय: आफ्नो सुरक्षाका लागि कानुन बनाउने क्षमता राख्छन् । वर्तमान ढाँचामा भ्रष्टाचारको प्रभाव लागत र निर्माण समयलाई बढाउने, गुणस्तर कम गर्ने र लाभलाई कम गर्ने नीतिहरूसँग यहाँका भ्रष्ट नेताहरूको नीति ठ्याक्कै मेल खान्छ ।

यस्तो अवधारणाको ढाँचाभित्र सत्ताको चरम दुरूपयोग गरेर आर्थिक रूपमा देशको टाट पल्टाउने र राजनैतिक अस्थिरता कायम गर्ने दिशामा भ्रष्टाचारको भूमिकालाई नकार्न सकिन्न । भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिको शुद्धीकरणबिना सम्भव छैन । सर्वप्रथम अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र विशेषाधिकार सम्पन्न स्वायतता प्रदान गरिनुपर्छ ।

जसले प्रधानमन्त्रीदेखि संसदीय दलको लेखा समिति, महालेखा परीक्षक तथा सरोकारवाला निकायहरूलाई समेत औंला ठड्याउन सकोस्, अपराधीहरूको कठालो समाएर अदालतमा उभ्याउन सक्ने हैसियत राखोस्, भागबण्डाको आधारमा राजनैतिक र कूटनैतिक नियुक्तिहरू पूर्णरूपेण खारेजी गर्ने, खर्चिलो निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउने, जनजाति दलित अल्पसंख्यकका आरक्षित कोटाहरू बिक्री गर्ने जस्ता कार्यलाई तत्काल अंकुश लाउने, कानुनमा सबैको पहुँच कायम गर्ने, जनताका आधारभूत आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनमा जोड दिने, सरकारी कार्यालयहरूलाई डिजिटल प्रविधिमैत्री बनाउने ।

भ्रष्टाचार न्यूनीकरण गर्न कानुन व्यवस्थाभित्र रहेका छिद्रहरूलाई तत्काल बन्द गर्ने, नीतिगत भ्रष्टाचारलाई अंकुश लाउन कानुनमा आवश्यक संशोधन गर्ने । सार्वजनिक खरिद ऐन तथा टेन्डर व्यवस्थालाई प्रतिस्पर्धात्मक एवं पारदर्शिता अपनाउने । विशिष्ट व्यक्तिहरूलाई दिइने विदेश भ्रमण स्वास्थ्योपचार र सेवा वृद्धि तत्काल खारेज गर्ने, सञ्चार माध्यममा आएका भ्रष्टाचारसम्बन्धी काण्डहरूलाई छानबिनको दायरामा ल्याउने । विशेष अदालत तथा सम्पत्ति शुद्धीकरण आयोगहरूलाई जनउत्तरदायी बनाउने ।

जघन्य अपराध तथा अभियोगमा संलग्न व्यक्तिहरूलाई निर्वाचनको उम्मेदवारीमा प्रतिबन्ध लाउने । युनियन बैंक आफ स्वीट्जरल्यान्डमा थुपारिएको कालो धन फिर्ता ल्याउन यथाशीघ्र पहल गर्ने, यसका अतिरिक्त विगत ३३ वर्षदेखि सत्तामा रजाइँ गरेर अनियमित किसिमले अकुत सम्पत्ति आर्जन गर्ने अपराधीहरूको एकएक छानबिन गरी अपुष्ट सम्पत्ति राष्ट्रियकरण गर्ने र दोषीउपर हदैसम्मको कारबाहीले धेरै हदसम्म अनियमियतामाथि लगाम लगाउन अनि राजनीतिको शुद्धीकरणमा समेत अहं भूमिका खेल्ने निश्चित छ ।

भ्रष्टाचारको असर 
वास्तवमा यो एउटा अक्षम्य प्रकृतिको अपराध मानिन्छ । जसले सामाजिक आर्थिक विकासलाई मात्र नभई लोकतन्त्रलाई कमजोर बनाएर सरकारमा अस्थिरता उत्पन्न गर्दछ भने विकास गतिलाई पनि सुस्त गराएको हुन्छ । यसका अतिरिक्त चोर व्यापारीहरूले खाद्य पदार्थहरूमा मिसावट गर्ने, किसानहरूको उत्पादनले सही मूल्य नपाउने, कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि गर्ने, बोर्डर छलेर चोरी निकासीका सामान भित्र्याउने, देश र समाजका लागि केही गरेर देखाउने देशभक्त इमानदार नैतिकवान् प्रतिभावान् असल व्यक्तिहरूमा नैतिक मानसिक शारीरिक तथा आर्थिक नोक्सानीहरूको सामना गर्नुपर्ने हुन्छ ।

भ्रष्टाचारजस्तो कलंकको टीका मेटाउन सम्पूर्ण राजनीति दलहरूले आआफ्नो जवाफदेहिताबाट उम्किन मिल्दैन र यो एकल या सानो प्रयासबाट सम्भव पनि छैन । डिसेम्बर ९ अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस थाहै नपाई बित्यो ।

यसैगरी देशको प्रचलित नियम कानुनको धज्जी उडाएर शासन व्यवस्थाप्रति वितृष्णा जगाएको हुन्छ भने असमानता र विभेदलाई जन्माएर आम जनताको जीवनलाई कष्टकर बनाएको हुन्छ । स्थानीय निकायदेखि केन्द्र सरकारसम्मलाई प्रदूषित गराउन पुग्छ । मानव तस्करी, हतियार खरिद तथा आतंकवादी जस्ता गतिविधिलाई प्रोत्साहित गरेर विश्व जगत्मा देशको बदनाम पनि उत्तिकै गराएको हुनाले भ्रष्टाचारलाई एक राष्ट्रिय कलंक मानिन्छ ।

भ्रष्टाचारविरुद्ध प्रतिबद्धता 
जसरी विशाल रुखलाई धमिराहरूले भित्रभित्रै खोक्रो पारेर ढाल्ने गर्दछ । त्यसरी नै नेपाललाई असफल राष्ट्र बनाउन खोज्ने राष्ट्रका दुश्मनहरूलाई साइजमा ल्याउन पृथ्वीनारायण शाहको दिव्यउपदेश पर्याप्त रहेका छन् : कचहरीपिच्छे एकएक पण्डित राखी न्यायशास्त्र बमोजिम अदालत चलाउनु । अदालतका पैसा दरबारभित्र नहाल्नु । राजाले ठूलो न्याय निसाफ हेर्नू । अन्याय मुलुकमा हुन नदिनु । न्याय निसाफ बिग्रिनु भनेको घुस दिने र घुस खाने हुन् ।

यिनको त धन जीउ लिए पनि पाप लाग्ने छैन भन्ने अभिव्यक्ति आज पनि उत्तिकै सान्दर्भिक र न्यायसंगत छन् । देशमा व्याप्त भ्रष्टाचार, विशिष्ट व्यक्तिहरूको पर्याप्त सेवा सुविधा, सम्बन्धित निकायहरूको उदासीनता, राष्ट्रिय ढुकुटीमाथिको अनियन्त्रित एवं गैरकानुनी ब्रह्मलूट आदिले देशमा ठूलो आर्थिक संकट निम्याएको छ । यहाँसम्म कि वैदेशिक रोजगारीमा नगएसम्म घर परिवारको मुखमा माड लाग्न पनि नसक्ने र रेमिटेन्सबिना सरकार पनि चल्न नसक्ने तीतो यथार्थ हो । सधैं भोको पेटले सरकारको नाउँमा बजेट जुटाउनु दिनुपर्ने आखिर कहिलेसम्म ? 

जनताको आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारको दायित्वबोध चाहिँ कहिले भएन । गत निर्वाचनमा साना दलहरूले यिनै राजनीतिक विकृतिहरूलाई चुनावी मुद्दा उठाएको हुनाले सोही अनुरूपको जनादेशले राजनीतिवृत्तमा अहिले तरंग उत्पन्न गराएको छ । जसको उद्देश्य थियो भ्रष्टाचारको उन्मूलन र राजनीतिमा युवा पुस्ताको हस्तान्तरणको मागलाई औंल्याएका थिए ।

झ्वाट्ट हेर्दा, जनताको समस्याप्रति साना दल र स्वतन्त्र उम्मेदवारहरू जिम्मेवारी बोधका साथ अघि बढ्ने तर गठबन्धन एवं ठूला दलहरू सत्ताको मदमा भ्रष्टाचार तथा बेथिति रोक्न वर्तमान सरकारले प्रतिबद्धता देखाए पनि जनता हेर र पर्खको आवस्थामा छन् ।

आजसम्म जनताको नाउँमा माखो मार्न नसकेको सरकारहरूले अहिलेको टिपनटापन प्रचण्ड सरकार भ्रष्टाचारविरुद्ध उभिनु भनेको आफ्नो खुट्टामा आफैँले बन्चरो चलाउनु जस्तै हो । तत्कालीन अवस्थामा ठूला दलप्रतिको जनआक्रोशलाई शान्त पार्न लागि सरकारद्वारा ल्याइएको न्यूनतम साझा कार्यक्रम यसैको एउटा कडी हो । मुतको न्यानो मात्र नबोस् शुभकामना छ ।

भ्रष्टाचारजस्तो कलंकको टीका मेटाउन सम्पूर्ण राजनीति दलहरूले आआफ्नो जवाफदेहिताबाट उम्किन मिल्दैन र यो एकल या सानो प्रयासबाट सम्भव पनि छैन । डिसेम्बर ९ अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस थाहै नपाई बित्यो । राष्ट्रको जल्दोबल्दो मुद्दा माथि देशव्यापी विरोध या दबाब दिएको कहीँ देख्न र सुन्न पाइएन । यसले के दर्शाउँछ भने नेपाल सरकारले भ्रष्टाचारलाई त्यति महत्वको साथ हेरे जस्तो लाग्दैन । अर्को हिसाबले जनतामा अझै पनि भ्रष्टाचारविरुद्धमा जागरुकता ल्याउन सकिएको छैन ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही, रास्वपा अध्यक्ष रवि लामिछाने, नेकपा (विप्लव) तथा ससाना दलहरू, स्वतन्त्र उम्मेदवार, बुद्धिजीवी समाजसेवी, मानवाधिकारवादी तथा नागरिक समाजकी तारा बराल जस्ता महिलाहरूको सीमित प्रयास मात्र पर्याप्त हुँदैनन् । भ्रष्टाचारविरुद्धको भण्डाफोर कार्यक्रमलाई एउटा देशव्यापी अभियानलाई अघि बढाउन आवश्यक देखिन्छ । यसको सफलताका लागि ठूला दलभित्र दबिएका गुम्सिएर रहेका देशभक्त शक्तिहरू बाहिर सडकमा ओर्लिएर भ्रष्टाचारविरुद्धमा जनजागरणको बिगुल फुकौं र देशव्यापी आँधी बेहरी सृजना गरी राष्ट्रिय शत्रुहरूलाई घुँडा टेकाउने प्रण गरौं । ‘सरकारले दृढ अठोट गरोस् हामी सफल बनाउँछौँ’ भन्ने नाराका साथ अघि बढ्नुको विकल्प छैन ।

सोभियत संघबाट छुट्टिएको अर्मेनिया सन् २०१८ मा मखमली क्रान्तिपछि त्यहाँको नयाँ सरकारले उच्च प्राथमिकतामा राखेर (३१ मार्च– ८ मे) भ्रष्टाचारविरुद्धको अभियान छेड्यो । नभन्दै त्यो क्रान्तिले सोचेभन्दा राम्रो परिणाम दिन थाल्यो । दुई वर्षको अवधिमा त्यस देशको सीपीआई स्कोर १०५ औं स्थानबाट ६० औं स्थानमा झार्न सफल भएको अर्मेनियाबाट हामीले पाठ सिकेर कम्तीमा भुटानकै हाराहारीमा नेपालको स्कोर झार्न सके नेपालीको मुहारमा मुस्कान ल्याउन र राष्ट्रिय स्वाभिमानलाई जगाउन सकिनेछ ।

निष्कर्ष 
नेपालको विशिष्टता र सुन्दरतामा सधैंको गरिबी पछौटेपन एक कलंक र धब्बाका रूपमा रहिरह्यो । भ्रष्टाचारले उब्जाएको कलंकको यो टीका नमेटाएसम्म हाम्रो पुस्ता दरपुस्ता यसको शिकार बन्नुपर्ने तथा देशले निरन्तर क्षति व्यहोर्नुपर्ने हुन्छ । यस्तो परिस्थितिमा हामीलाई एक इमानदार नैतिकवान् निष्ठावान् देशभक्त अनुशासित तथा निर्भीक प्रशासकले धेरै हदसम्म भ्रष्टाचारमाथि अंकुश लाउन र सुशासनको प्रत्याभूति गराउन सक्छ । तर समूल नष्ट गर्न कठोर कानुन, सामाजिक बहिष्कार, दृढ इच्छाशक्ति र प्रस्ट मार्गचित्र अपरिहार्य हुन्छ ।

आफ्नो भाग्य हामी आफैँले कोर्ने भएको हुनाले समाजका हरेक व्यक्ति आफ्नो कामप्रति इमानदार र जिम्मेवार नागरिक भएर एक अर्काप्रति सेवा र समर्पणको भावना राख्ने र सोही अनुसार आचरणमा सुधार ल्याउन सके भ्रष्टाचारमुक्त राष्ट्र निर्माण हाम्रै पालामा सम्भव छ ।

पोखरेलका अन्य लेख


Author

थप समाचार
x