विचार

मृत्युमाथि कात्रोको व्यापार

सुशीला कार्की |
बैशाख २०, २०७८ सोमवार ७:४८ बजे

मानवता हराएपछि मानिसले जे पनि गर्न सक्दो रहेछ । कात्रोको व्यापार, चिता जलाउने स्थान (घाट) को तिर्नुपर्ने मूल्यको व्यापार, लास ओसार्ने शवको वाहनको व्यापार । अनि जलाउने दाउराको व्यापार, शव जलाउने मानिसको मजदुरीमा चार गुना वृद्धि, पण्डितको दक्षिणा, घाटमा हुने सुरक्षाकर्मीले असुल्ने रकम ।

भारतमा कोभिड संक्रमणमा परी मर्नेका परिवारजनहरूले अन्तिम संस्कारमा पनि सास्ती बेहोर्नुपरेको छ । कोरोनाको दोस्रो चरणको महामारीमा एकाएक हरेकको भाउ वृद्धि भएको छ । मानौँ, बजेट भाषणले कर्मचारीको तलबमानमा वृद्धि हुनासाथ एकाएक बजार दरभाउ बढेर गए जस्तो । दुःख, मृत्यु र संकटमा परेका मानिसहरूको भावनामा चोट प्रहार गरेरै भए पनि यो महामारीमा केही मठाधीशहरूको ढुकुटी भरिँदै गएको छ । 


कोराना भाइरसको महामारी कालमा छिमेकी मुलुक भारतमा बिरामीका परिवारजनहरूको कन्तबिजोग देखिन्छ । छोरा, छोरी, श्रीमती, आमा, दाजु, भाइ, मित्रको प्राण जोगाउन तिनीहरू भौँतारिएका छन् । छटपटाएका छन् । रोएका छन् । चिच्याएका छन् । छाती पिटेका छन् । अनि आक्रोश पोखेका छन् । अनि प्रहरी, प्रशासन, डाक्टर र ठूलाबडाको पाउमा बिन्ती बिसाउन ढोगेका छन् । आफन्तको ज्यान जोगाइदिन्छन् कि भन्‍ने आशमा । 

भारतमा सर्वत्र त्राहिमाम छ । यो महामारीका कारण र चारैतिर हाहाकार छ । एउटा अर्को वर्ग आम जनताका यी दुःख र कष्टमा रमाएका पनि छन् । किनकि तिनको अक्सिजन, अस्पताल, औषधि, चिता र दाउराको व्यापारमा दिन दुई गुना, रात चार गुनाको दरले फस्टाएको छ । यतिबेला ती वस्तुहरूमा कालो बजारीपन राम्रोसँग उधुम फस्टाएको छ ।

भारतका सञ्चार माध्यमहरूमा सम्प्रेषित समाचारअनुसार पचास हजारदेखि एक लाख रुपैयाँसम्ममा अक्सिजनको सिलिन्डरमा कालाबजारी हुन पुगेको छ । औषधीको मूल्यमा सय गुना वृद्धि भएर गएको छ । सरकारी अस्पतालमा मात्र बेड छ । तर अरू उपचारका साधन भने त्यहाँ छैन । निजी अस्पतालमा सबै साधन छ । तर त्यो धनीका निम्ति सम्भव छ । गरिबका निम्ति असम्भव छ । त्यहाँ सेवाभन्दा बढी दलाली र असुली हुने गर्छ ।

अझ अस्पतालले गर्ने असुलीका निम्ति बिरामीका परिवारजनहरूले अस्पतालकै कर्मचारीहरूद्वारा धम्की सुन्‍नु परिरहेको छ । यति पैसा ल्याऊँ, यो उपचार दिएर बचाउँछु होइन भने उपचार गर्दिनँ, तिम्रो मान्छे मर्छ अनि हामी जिम्मेवार हुनेछैनौँ । यो सुनेपछि आफन्तहरू पैसाका निम्ति भौँतारिनु नै पर्‍यो । किनकि आफूले अगाध स्नेह गरेको मानिसको ज्यानको सवाल छ । कतिपय अस्पतालमा परिवारजनले पैसा तिर्न नसक्दा अन्तिम संस्कार गर्न लास पाएका छैन ।

अथवा पैसाको बदलामा मृतक वा मृतकका गरगहना खोली जफत गरी बन्धकी सरह राखिएको भन्‍ने परिजनहरूको गुनासो छ । तापनि मानिस आफन्तहरूको ज्यान जोगाउन सुन, चाँदी बहुमूल्य वस्तु, घरबार सबै बेचेर, ऋण काढेर, भए पनि महँगो अस्पतालको परिसरमा बिरामीको ज्यान बचाउन पुर्‍याएका छन् ।

तर तिनै महँगा अस्पतालमा पनि बेडको अभाव हँुदा ती सडकमा बस्न बाध्य छन् । अधिकांशले उपचारको अभावमा सडकमै देहत्याग गर्न विवश पनि छन् । एकल महिलाले एक मात्र सन्तान गुमाएर सन्तानविहीन हुनु, वर्षौंको प्रेम सम्बन्धपछि भएको विवाहपछि कोरोनाले गर्दा पति गुमाउनु, साना नानीले आमा-बाबु दुवै गुमाउनु अनि कसैको त घरको दैलोमा नै ताला लाग्‍ने गरी सिङ्गो परिवार कालको मुखमा पर्नु । कतिको हकमा कमाउने छोरा श्रीमान्, बाबु नै मरेर गुमाउनुपरेको छ, कस्तो विडम्बना ? 

तर भारतीय जनताले वाक् तथा प्रकाशन स्वतन्त्रताको उपयोग भने प्रचूर मात्रा गरेका छन् । तिनले जुन प्रकारको भ्रष्टाचार, अनियमिता र आफूविरुद्ध भएका लुटतन्त्रबाट जे/जति भोगेका छन् । त्यो संसारको सामने एक-एक पोल खोलेर राख्‍न सकेका छन् । त्यहाँका मिडियाहरूले पनि भ्रष्टाचार र अनियमितालाई खुलेआम नंग्याउन कुनै कसर बाँकी राखेका  छैनन् । 

यसबाट प्रहरी प्रशासन नेताका रूपमा भेष बदलेर बसेका माफिया र तस्करहरूको अनुहार यो बेला छर्लंग भएको छ । मुलुकको सरहदमा बसी ज्यान माया मारेर पहरा दिने सेनाले कोरोनाका कारण मरेकी आमाको मृत शरीर अस्पतालबाट केही दुरीको घाटमा पुर्‍याउन १५ हजार एम्बुलेन्सको भाडा तिर्न बाध्य पारेको कुरा मृतक सैनिककै छोराले सार्वजनिक गरेका छन् ।

ती व्यक्ति भन्छन्, ‘यो असुली अरू कसैले गरे-गराएको होइन बरु सेनाकै केही अस्पतालमा कार्यरत सैनिक कर्मचारीको काम हो ।’ कहीँ त जलाउने घाटको रकम बाइस हजार, दाउरा पाँच हजार, अन्तिम विधि गर्ने ब्राह्मणको दक्षिणा झन् के कम होला ? त्यसमाथि घाटमा सुरक्षामा खटिएका प्रहरीहरूलाई पनि टिप्स दिनुपर्ने । यसपटक कोरोनाको यो महामारी कालमा भारतमा मरेकाहरूमाथि थप कात्रोको व्यापार भएको देखियो । यो बेथिति र अन्याय पूरै सरकारले नै गरेको हो भनी ठोकुवाका साथ भन्‍न सकिन्‍न । 

तर सरकारको दोष यति हो कि यस्ता किसिमका सुदखोर, घुसखोर तस्कर र कालाबजारीहरूलाई किन सरकारले प्राथमिकता दिन्छ ? र, तिनीहरूमाथि किन कडाभन्दा कडा कारबाही गरिँदैन ? किन ती सरकारका वरिपरि मडारिन्छन् । सरकारमा बसेका ठूलाठालुको नाम बेचेर दुष्कर्म गर्छन् । महामारीबारे त्यहाँका जनता विधान सभाको निर्वाचन, पञ्चायतको निर्वाचन र कुम्भ मेलाको धार्मिक सभा गराउनुलाई दोषारोपण गर्छन् । 

चारैतिर हाहाकार छ । एउटा वर्ग भने आम जनताका दुःख र कष्टमा रमाएको छ । अक्सिजन, अस्पताल, औषधि, चिता र दाउराको व्यापार दिन दुई गुना, रात चार गुनाको दरले फस्टाएको छ । यिनैमा कालो बजारी पनि उधुम फस्टाएको छ ।

साथै सरकार चुनावमा आफू सफल हुने लक्ष्यतिर लाग्यो । आमसभा नारा जुलुस निरन्तर गरिरह्यो । आमजनताको स्वास्थ्यमा ध्यान दिएन । अस्पतालको संख्या बढाउने, उपचार र अक्सिजनको पर्याप्त सञ्चय गर्न ध्यान दिएन भनी दोषारोपण गरिरहेका छन् । भारतमा एउटा अर्को राम्रो पक्ष पनि छ । निःस्वार्थ रूपमा गुरुद्वाराहरू र कतिपय मस्जिदका सञ्चालकहरूले सक्दो अक्सिजन सिलिन्डर वितरण निःशुल्क गरेका छन् । संक्रमितको उपचारमा भएसम्म तिनको बलबुताले भ्याएसम्म सहयोग गरेका छन् । कतिले आफूले चढिरहेको वाहन नै बेचेर अक्सिजन सिलिन्डर किन्दै निःशुल्क बाँडेका छन्  । कतिले व्यक्तिगत रूपमा आफ्नो थैलीको मुख खोलेर सहयोग गरेका छन् ।

कतिपय डाक्टरहरूले ज्यान माया मारेर संक्रमितको उपचारमा खटेका छन् । कतिपय स्वयं प्रभावित भएर तिनको ज्यान गएको पनि उदाहरण छ । फेरि यसको ठीक विपरीत केही डाक्टर र सुरक्षाकर्मीहरूले मृतकको परिजनलाई तिनको प्रिय स्वजन मरेकामा तिनले प्रतिक्रिया जाहेर गर्दा कमसेकम सान्त्वना दिनुको बदला हात हाल्ने कुटपिट गर्ने जस्ता दुर्व्यवहार गरेको पनि देखियो । भारत एउटा विशाल मुलुक हो र जनताको संख्या पनि धेरै छ । त्यहाँ प्रशस्त मात्रामा कोरोनाका संक्रमितहरू उपचारपछि निको भएर अस्पतालबाट घर फर्केका पनि छन् ।

अर्कातिर अक्सिजन अभाव, औषधिको अभाव र उपचारको अभावमा मानिसहरू प्रशस्त मरेका पनि छन् । दैनिक आठ दश मृतकहरू जल्ने घाटहरूमा सय, दुई सय लास ६/७  राज्यहरूका घाटहरूमा दैनिक जलेको देखिएको छ । करिब-करिब भारतका सबैजसो राज्य प्रभावित छन् । अकालमा मृत्युवरण गरेका मृतकहरूको घाटमा सयकडौँ चिता दन्दनी जलेको दृश्यलाई देखेर जो कोही पनि भावुक हुनु र दर्शकको आँखामा आँसु आउनु स्वाभाविक हो । 

त्यसैले यस बखत छिमेकीको यो कष्टमा हरएक छिमेकीहरू रोएकै पनि छन् । कोरोना यस्तो अदृश्य भाइरस हो, जसको संक्रमण हुने व्यक्तिको नजिक जान मिल्दैन । त्यसले अरूलाई सजिलैसँग संक्रमण गराइदिन्छ । यस पटकको भाइरस झन् कडा देखियो । संक्रमित व्यक्ति अलिकति गम्भीर भएमा बचाउन अक्सिजन दिनैपर्ने हुन्छ । राम्रो उपचार भए मात्र बाँच्‍न सक्ने अवस्था सम्भव छ । आफन्तले सुमसुम्याउन नहुने, न त नजिक गएर माया देखाउन मिल्ने, न स्याहार्न मिल्ने ? मरेपछि पनि पर पर हुनुपर्ने । न त अन्तिम बिदाइ न सत्कार आँसुबाहेक दिन सक्ने कुरा केही बाँकी रहँदैन ।

नेपालमा हेर्दा भारतको स्थिति भन्दा फरक होला जस्तो छैन । बरु थप विकराल हुन सक्छ । किनकि हामी दुवै मुलुकबीच कोरिएको रेखाङ्कन सीमाले छुट्टिएकोसम्म हो हाम्रो खुला सिमाना आवत-जावत बराबर छ । हाम्रा दुवैतिर नाता-गोताको बसोबास छ । स्वाभाविक रूपमा आउने/जाने अपरिहार्य छ । नेपालमा पनि रात दुई गुना, दिन चार गुनाको दरले वृद्धि हुँदै गएको छ । काठमाडौँ, चितवन जस्ता स्थानमा शवका लाइन लाग्न थालेका छन् ।

यहाँ झन् अस्पतालको संख्याको कमी छ । अक्सिजनको झन् कुरै छैन । भारत काफी मात्रामा उत्पादन गर्ने मुलुकमा त्यो किसिमको अभाव छ भने नेपालमा झन् के होला ? भारतमा देखिएको अव्यवस्थाको कारण सम्भवतः अब त्यहाँको सरकार केही सीप नचलेर कोरोनाको समस्यालाई लिएर करिब-करिब सेनालाई जिम्मा लगाउने पक्षमा गएको देखिन्छ । 

नेपालमा सुरुवातकै दिनमा मानिसले अस्पतालमा बेड पाउन छाडिसके भने पछि-पछि के होला ? यही हालत हो भने सरकार सबथोक ठीक छ भन्दै जाने र जनता चाहिँ उपचार नपाएर दैनिक भारी संख्यामा मर्दै जानेबाहेक अरू के होला ? यहाँ पनि गत वर्ष एक गरिब महिलाले विद्युतीय शवदाह गृहमा पतिको लास जलाउन नसकेर बसेका बेला एक महिला पत्रकारले मोल-मोलाई र दलाली गरी रकम घटी गराई शवदाह गराएको समाचार पढेकै हो ।

यहाँ झन् सरकार सदाबहार सत्ता कब्जा र कुर्सीको विवाद निरन्तर चलिरहने हुँदा कसले कोरोना र यसको प्रभावबारे ध्यान दिने । गत वर्ष देखेकै हो कोराना पनि चलिरह्यो सत्ता संघर्ष पनि चलिरह्यो । जुलुस, मिटिङ, भेटघाट शक्ति प्रदर्शनमा कुनै कमी आएन । कोरोनाले जे/जति बिगार्नु थियो बिगारिरह्यो, जति मानिस लानु थियो लग्यो ।

हुन त, भारतमा पनि सरकार र आमजनताले कोरोना प्रभाव घट्दै गएको महसुस गरे र न्यून रुघाखोकी जस्तो हुने अनुमान गरेका थिए । त्यसपछि सबै क्षेत्रलाई खुला गरियो । मानिसले सन् २०२० को महामारीलाई बिर्सेर सन् २०१९ को जस्तै कोरोनाको संक्रमणरहित समय आएको ठानेका थिए । तर होइन रहेछ । यो अझ बढी सक्रिय भएर आएको छ । नेपालमा हाम्रो अवस्था हेरेर अस्थायी प्रकृतिको अस्पताल खडा गर्न जरुरी छ ।

सुरुमा भर्खर छोएका बिरामीहरूलाई घरमा राख्‍ने परिवारद्वारा सफासुग्घर गरी बराबर बिरामीलाई खान दिने र फोन मोबाइलबाट चिकित्सकहरूले बिरामीबारे जानकारी दिने-लिने गर्न जरुरी छ । एउटा घुम्ती टोली बनाई घर-घरमा गई बिरामीको परीक्षण गरिदिने व्यवस्था गर्न जरुरी छ । 

लकडाउन कडाइसाथ गर्ने र आमजनताले भारतको घटनाबाट पाठ सिकेर घरभित्र बस्ने, बाहिर नजाने, हुल र भीडमा नजाने आदि कुराप्रति संयम राख्‍न जरुरी छ । छरछिमेकले सहयोगको हात यो अवस्थामा बढाउन जरुरी छ । हुनेले नहुनेलाई आधा मुठ्ठी चामल बाँडेर खोले बनाएर खानेसम्मको सहयोग गर्न जरुरी छ । हिजोको हाम्रो रवाफ र कवाफ खाने दिनचर्यालाई दिनहरूमा चटक्क बिर्सन पुग्यौँ । कसरी बाँच्‍ने र कसरी छिमेकीहरूलाई बचाउने हो ? त्यो जुक्ति मात्र खोजौँ ।

यो विकरालका बेला राजनीतिलाई बिर्सौं । बरु छुट्टै कोरोनालाई जित्ने नीति तयार गर्न जरुरी छ । किनकि ज्यान जोगाए लाख उपाय भनिन्छ । नेताहरू कुर्सी जोगाउने खेलमा छन् भने हामी जनता हाम्रो प्राण जोगाउने खेलमा सबै एक भएर लाग्‍न जरुरी छ । आपसी सहयोग र भाइचाराबाट हाम्रो अस्तित्व कायम हुन सम्भव छ, किनकि हामी सामाजिक प्राणी हौँ । हामीलाई बाँच्‍न समाज चाहिन्छ ।


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
x