विचार

यो समाज, यो राज्यबाट महिलाले के आशा राख्‍ने ?

अमृता लम्साल |
फागुन १२, २०७९ शुक्रबार १४:१ बजे

हरेक वर्षको अंग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालमा पनि लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । त्यतिबेला महिला हिंसाविरुद्ध वकालत गर्ने संस्था र व्यक्तिहरूका लागि भ्याई नभ्याई हुन्छ । भाषण गरेर हुन्छ कि उद्घाटन गरेर हुन्छ कि सामाजिक सञ्जालमा आदर्श खोकेर हुन्छ कि, सबैलाई सभ्य देखिनुपर्छ । सबैको बोलीमा लोली मिलाएर भनिन्छ, ‘सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।’

यसै सन्दर्भमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७७ मंसिर १० को लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना सन्देशमा लेखिएको थियो, ‘लैंगिक हिंसाको अपराधमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कडा सजाय दिन सरकार दृढ छ, देवानी संहिता र मुलुकी अपराध संहिताको प्रभावकारी कार्यान्वयबाट सबै प्रकारका हिंसा अन्त्यका लागि थप बल प्रदान गर्ने मैले विश्वास लिएको छु । ....सरकार महिलाको हकअधिकार सुनिश्चित गर्दै महिलाविरुद्ध हुने कुनै पनि प्रकारका हिंसा तथा विभेदको पूर्णरूपमा अन्त्य गर्न प्रतिबद्ध छ ।’ 


उहाँले सन्देशमा अर्को कुरा पनि उल्लेख गर्नुभएको थियो । त्यसको आशय यसप्रकार थियो- हिंसाविरुद्ध सरकारको प्रयास हुँदाहुँदै पनि कतिपय अवस्थामा गलत अभ्यास र दुःखद् घटनाका कारण देशको छवि अन्तर्राष्ट्रिय रूपमा नकारात्मक हुन नपाओस् भनेर सबै सजग हुनुपर्ने छ ।

महिला हिंसा निर्मूल गर्ने सन्दर्भकै कुरा गर्दा २०७८ चैत २ गते एउटा समाचार पढ्न पाइएको थियो । जसअनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले भन्न्नुभएको थियो- समाजमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा उन्मूलन गर्न कानुनको प्रभावकारी कार्यान्वयनका साथै सामाजिक सचेतना बढाउन सबै सरोकारवाला पक्षले बलियो सहकार्य गर्नुपर्छ । 

समाचारमा थप भनिएको थियो- राष्ट्रपति भवन, महाराजगञ्जमा विभिन्न राजनीतिक दलसँग आबद्ध सांसदहरू‚ राष्ट्रिय महिला आयोगका पदाधिकारी‚ कानुनविद्‚ समाजशास्त्री‚ मनोविश्लेषक‚ सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्न आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा र बलात्कार जस्ता अपराधको रोकथाम र न्यूनीकरण गर्न राज्यका निकायहरूले समाजसँग प्रत्यक्ष हातेमालो गर्दै अगाडि बढ्नुपर्ने विषयमा जोड दिनुभयो ।

उल्लिखित दुई सन्दर्भ कुनै चानचुने व्यक्तिले बोलेका वा उठाएका कुरा थिएनन् । राष्ट्रप्रमुख तथा सरकारप्रमुखले बोलेका कुराको किन केही सकारात्मक प्रभाव छैन ? उहाँहरूको बोलीको परिणाम कहाँ देखियो ? यदि मनदेखि नै ती कुराहरू उठाइएका थिए भने पल शाह र सन्दीप लामिछानेलाई लागेको आरोप किन यति फितलो रूपमा लिइयो ? अदालतले सन्दीप लामिछानेको केसमा उच्च अदालतले नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई कसरी र किन २० लाख रूपैयाँ धरौटीमा छाड्यो ? धरौटीमा रिहा गर्नुको आधार र कारण माग गर्दै सर्वोच्च अदालतले लेखेको पत्र ११ दिनसम्म पनि उच्च अदालत पाटन किन पुगेन ? यस्ता थुप्रै थुप्रै प्रश्नहरूले ‘सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा सहनशीलताको शून्य नीति अवलम्बन गरेको छ’ भन्ने जस्ता ‘कागजी बाघ (पेपर टाइगर) हरू हुनु र नहुनुको औचित्य के ?

अर्को महत्वपूर्ण तथ्य, देशको सरकार प्रमुखको कुरा जुन बेला बोल्यो सकियो हुने देशमा ७७ वर्ष पहिले स्थापित ‘क्रिकेट एसोसिएसन अफ नेपाल’ले एउटा बलात्कार आरोपितलाई अन्तर्राष्ट्रिय टिममा खेलाएर अर्को देशको अगाडि नकारात्मक छवि बनाएरै छाड्यो । यहाँनिर ध्यान दिनुपर्ने कुरा के पनि हो भने यत्रो वर्षको खेलाडीमाथिको लगानी र त्यत्रो खर्चको बाबजुद एसोसिएसनले बलात्कार आरोपितको सट्टा खेल्न सक्ने खेलाडी तयार पार्न सकेको रहेनछ । यसका लागि एसोसिएसनलाई ठूलै तक्माले सम्मानित गर्ने त होला !

पल शाह र सन्दीप लामिछानेको केस व्यक्ति होइन, प्रवृत्ति हो । यदि, उनीहरूले बलात्कार गरिएका भनिएका किशोरीहरूले आत्महत्या गरेका भए उनीहरूलाई ‘रोलमोडेल’ मानेर बलात्कारको पक्षपोषण गर्नेहरूका मनमा अलि दयाभाव झुल्किन्थ्यो कि ? ती सर्भाइभरहरूले आफूमाथिको अन्यायबारे बोल्नु नै बलात्कारको पक्षपोषण गर्ने जमातका लागि घातक भयो । किनकि, महिला/किशोरी/अझ ससाना बच्चीहरूको योनिलाई लाठे पुरुषहरूको यौनक्रीडाले तहसनहस पारे यसमा पुरुष कतै, कुनै प्रकारले जिम्मेवार बन्नुपर्दैन । यौन अपराधमा सामेल हुने पुरुषलाई ‘ऊ त छोरा मान्छे, त्यो केटी किन गएकी त ?’ भनेर छाडिदिइन्छ । आफूलाई महिलाको ठाउँमा बसेर किन कोही पुरुष एकछिन पनि सोच्दैन ?

अपवादलाई छाडेर अधिक पुरुषहरूले बलात्कार र यौन दुर्व्यवहारका कुरा लिएर खुलेआम जोक बनाउँछन् । महिलाहरूको शरीरलाई लिएर भद्दा मजाक गर्छन् । बारम्बार सर्भाइभरलाई दोष थोपर्छन् । महिलाहरूको पहिरनले पुरुषलाई उत्तेजित पारेको हो, यसमा पुरुषको केही गल्ती छैन भनेर कुतक गर्न पछि पर्दैनन् । महिला तथा किशोरीलाई ‘सेक्स अब्जेक्ट’भन्दा बढी देख्दैनन् ।

किशोरी तथा महिलाहरूको जीवनको गोपनीयतालाई मजाक बनाएर मनोरञ्जन गर्छन् । अनि सबै बलात्कार तथा यौन दुर्व्यवहारको दोषी तथा भागिदार केवल किशोरी र महिलालाई मात्रै बनाउँछन् । यसको प्रमाण खोज्न, पढेलेखेका भनिएका प्रौढदेखि लिएर बाइसे/पच्चिसे केटाहरूसम्मका सामाजिक सञ्जालका पोस्टहरू मात्रै केलाए पनि पुग्छ । उनीहरू ‘रेप कल्चर’ स्थापित गर्न दत्तचित्त भएर लागिरहेका छन्; तर, त्यो ‘रेप कल्चर’ उनीहरूको घर पस्ने छैन भन्ने कुनै ग्यारेन्टी छ ?

आफ्नै घरमा किशोरी वयका छोरीहरू भएका कतिपय बाबु/आमा/दाजुभाइ/दिदीबहिनीले समेत बलात्कारको पक्षपोषण किन गर्छन् ? योभन्दा दुःखद् र भयावह स्थिति भविष्यका पुस्ताका लागि के हुनसक्छ ? आज बलात्कार आरोपितलाई ग्लोरिफाई गर्ने र जय जयकार गरेर नथाक्नेहरूले भोलिका दिनमा आफ्नो घर/परिवारमा दुर्भाग्यवश त्यस्तै घटना घट्यो भने पनि यसै गरी हिम्मतका साथ लेख्न सक्छन् ? जुनसुकै मै हुँ भन्ने अभिभावकले जतिसुकै ‘हेलिकप्टर प्यारेन्टिङ’ (आफ्ना छोराछोरीलाई चाहिनेभन्दा बढी रक्षात्मक हुन खोज्ने) गरे पनि अपवादलाई छाडेर किशोरवय उत्सुकता, चञ्चल स्वभाव, सकेसम्म अभिभावकको भनाइलाई ध्यान नदिने खालकै हुन्छ । त्यसैले त बीस वर्षमुनि सम्मकाले गरेका कुरालाई ‘टिनएजरका कुरा’ भनेर त्यहीअनुसार व्यवहार गरिन्छ । तर, त्यही टिनएजरको थाप्लामा दोष थुपारेर उमेर पुगेको केटोलाई दोषरहित ठम्याउने अभिभावकहरूले आफ्ना छोराछोरीलाई के शिक्षा दिन खोजेका हुन् ?

हुन त, यो त्यस्तो देश हो, जुन देशमा २०७७ असोज १४ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको भन्नुभएको थियो । उहाँले त्यतिबेला भनेअनुसार विश्वका सवा दुई सय देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको थियो । त्यसैले पनि होला, छोरीका बाबुहरू, आमाहरू, दिदीबहिनी, दाजुभाइहरूले ढुक्क भएर बलात्कार आरोपितको पक्षपोषण गर्दै आलेख लेख्ने, सामाजिक सञ्जालमा आरोपितको मनोबल बढाउने, मण्डलामा धर्ना दिने काम गरेका । ठीकै हो, आफ्नो घरमा नपर्दासम्म यही क्रम जारी राख्दै गर्नुहोला ! तर, एउटा कुरा नबिर्सनुस्, मार्टिन निमोलरको कविता साँच्चै तपाईंहरूको जीवनमा आई नपुगोस् ।

कविता पढ्नुभएको छैन भने यता छ :
“पहिले उनीहरू
कम्युनिस्टलाई खोज्दै आए
म चुप रहेँ
किनभने म कम्युनिस्ट थिइनँ

त्यसपछि उनीहरू यहुदीलाई खोज्दै आए
म चुप रहेँ
किनभने म यहुदी थिइनँ
त्यसपछि उनीहरू क्याथोलिकलाई खोज्दै आए
म चुप रहेँ
किनभने म प्रोटेस्टेन्ट थिएँ
त्यसपछि उनीहरू मलाई नै खोज्दै आए
मेरा लागि बोलिदिने कोही थिएन ।

सन्दीपकै केसको कुरा गर्ने हो भने नाबालिग केटीको उमेरलाई मात्रै किन ध्यान केन्द्रित गरिरहिएको छ ? बलात्कार त जुन उमेर र जुन अवस्थामा गरे पनि अपराध नै होइन र ?

फेरि सन्दीप प्रकरणतिरै फर्कौं । 
भोलिपल्ट केन्या जान बन्द प्रशिक्षणमा बसेको टिमबाट कप्तानीको जिम्मेवारीमा रहेको व्यक्ति अर्कै होटेलमा बस्नु खेलाडीको अनुशासन तोड्नु होइन ? कि सेलिब्रेटीले जे गरे पनि हुने हो ?

अझ क्रिकेट एसोसिएसनले खेलमा सामेल गराएर कति नै ठूलो काम गरेँ भनेर हर्षबढाइँ गरेर छाड्यो । त्यो व्यक्तिलाई सरकारले इन्टरपोलसमेत लगाएर देश फर्काएको हो कि होइन ? भोलि अन्य देशमा खेल्न जाँदा कुनै देशका खेलाडीले ‘हामी बलात्कार आरोपितसँग खेल्दैनौँ’ भनेर प्लाकार्ड लिएर उभिए भने देशको इज्जत कता पुग्छ ? हालैको खेलमा पनि स्कटल्यान्डका खेलाडीले हात नमिलाउँदा बाहिर जतिसुकै हाई हाई गरिए पनि आरोपितको मनमा अपमानको पीडा महसुस भएन होला र ?

बलात्कार आरोपितलाई ‘मैले जे गरेँ, ठीकै गरेछु’ भन्ने सोचलाई स्थापित गराउने काम त क्रिकेट एसोसिएसनले नै गर्‍यो । आफैँले निलम्बन गरेको खेलाडीलाई अदालतको केस नै नटुगिंदै निलम्बन फुकुवा गरेर मैदानमा उताार्नु, आफ्ना फ्यानहरूको अगाडि रोएको अभिनय गरेर सहानुभूति बटुल्नु, अझ कोही कोही फ्यानले त अब अदालतले आरोप माफ गरिदिनुपर्छ भनेरसमेत लेख्नु कतै योजनाबध्द कुरा त होइन ?

किशोरवय अबोध, निश्छल हुनाले नै ‘टिनएजरका कुरा’ भनेर त्यहीअनुसार व्यवहार गरिन्छ । तर, यहाँ सारा दोष टिनएजरको थाप्लामा थुपारेर उमेर पुगेको केटोलाई निर्दाेष ठहर्‍याउने प्रपञ्च भइरहेछ, किन ?

यो देशमा ज्यान मार्नेले पनि आम माफी पाएकै छन् । डीआईजी हुँदा श्रीमतीको हत्या गरेका रञ्जन कोइरालाको जन्मकैद सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ‘जन्मकैद चर्को हुने जस्तो चित्तमा लाग्यो’ भनेर घटाइदिएकै हुन् । भलै, केही समयपछि सर्वोच्च अदालतले यसअघिको फैसला बदर गरेसँगै (डीआईजी) रञ्जन कोइराला फेरि जेल परे ।

बलात्कारकै केसमा अर्को एउटा गजबको फैसला भएको थियो, केदार कोइराला आरोपित भएको केसमा अदालतले पीडकबाट सर्भाइभरलाई १० लाख क्षतिपूर्ति भरायो; तर, आरोपित चोख्यायो । यदि, त्यो बलात्कार थिएन भने क्षतिपूर्ति किन तिराइयो ? थियो भने सफाइ कसरी दिइयो ? त्यसैले यहाँ अदालतबाट जे पनि हुनसक्छ; यो केसमा पनि कुनचाहिँ न्यायमूर्तिको चित्तमा के लाग्ने हो, के थाहा ?

यदि सेलिब्रेटी भएकै कारण सबै अपराधबाट मुक्ति पाउने हो भने संसार कति अराजक हुन्थ्यो होला ! सेलिब्रेटीको कुरा गर्दा सन् २०११ मा अमेरिकाको न्युयोर्क राज्यस्थित सोफिटेल होटेलमा १४ मे २०११ को दिन अन्तर्राष्ट्रिय मुद्रा कोषका डाइरेक्टर डोमिनिक स्ट्रास खानले होटेलकी कामदारलाई बलात्कार गर्न खोजेको भनेर आरोप लागेपछि आफ्नो पदबाट राजीनामा दिनुपरेको मात्रै होइन, राजीनामापश्चात् आफ्नो देश फ्रान्स फर्किन लागेको समयमा जेल पुग्नुपरेको, धरौटीमा छुटेपछि पनि घरमै नजरबन्द बस्नुपरेको । सोही कारणले सन् २०१२ मा भएको फ्रान्सको राष्ट्रपतिको चुनावको उम्मेदवारीबाटट हात धुनुपरेको थियो । उनको कथा छोटोमा भन्नुपर्दा, उनीसँग धन, शक्ति के थिएन ? 

फेरि फ्रान्सको समाजले उनको त्यो यौन क्रियाकलापलाई खासै खराब पनि मानेको थिएन; तर, उनी जुन देशमा समातिए, त्यहाँको कानुनले उनलाई सेलिब्रेटी भनेर छाडेन । भलै, लामो समयको कानुनी लडाइँ र अनुसन्धानले उनले ती होटेल परिचारिकालाई ठूलै रकम तिरेर त्यो केसबाट मुक्ति लिए । 
त्यसैले ए छोरीका अभिभावकहरू !
सरकारमा बस्दा मात्रै ‘महिला हिंसाविरुद्ध शून्य सहनशीलताको राग गाउनेहरू !

महिला हिंसाविरुद्ध प्रोजेक्टको पैसामा मात्रै बोल्नेहरू, यहाँहरूले भन्दिनुस् कि यहाँहरूले यो समाजमा ‘रेप कल्चर’ भित्र्याउनै खोज्नुभएको हो ?
यदि, हो भने आ–आफ्नो घरमा आफ्ना छोरीहरूलाई सात ताल्चा मारेर राख्नुस् र अर्काको छोरी/चेलीलाई दोबाटोमा ल्याएर नङ्ग्याउनुस् ! बलात्कारीको पक्षमा जुलुस र नारा उराल्नुस् ! बलात्कार भएँ भनेर रुने छोरीहरूलाई मारिनै दिनस् ! यति भएन भने दोबाटोमा तानेर ल्याई बेइज्जती गरेर छाडिदिनुस् !

अब यो देशमा छोरीहरूले भोग्न यति मात्रै बाँकी भयो; यहाँहरूको महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नौटंकी धेरै देखियो ।

अन्त्यमा, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गर्ने जनाएको थियो । तर, यहाँ त सरकारवादी मुद्दाको प्रतिपक्षी बलात्कार आरोपितसँग वादी पक्ष भनिएको सरकार प्रमुखले नै आफ्नो कार्यालयमा स्वागत गरेर फूलमाला लगाइदिएको फोटोको अर्थ के हो ? यो देशले बलात्कार जस्तो जघन्य अपराधको पक्षपोषण गरेको र छोरीहरू बलात्कारीको पञ्जामै परिरहेको राम्रो भनेर सन्देश दिन खोजिएको होइन ?

बलात्कार अपराध हो भन्नेसमेतको सामान्य ज्ञानमा आज पनि बोल्नु पीडादायी छ । एक्काइसौँ शताब्दीको वैज्ञानिक युगको खुब गफ गरिन्छ तर हाम्रो चेतना यति परपीडक, यति हिंस्रक, यति आपराधिक छ कि हामी मान्छे नै बनिसकेका छैनौँ । हैन भने दिमाग भएको, सोच्ने र कल्पना गर्ने शक्ति भएको, हृदय भएको, अझ पढेलेखेको मान्छे किन अमान्छे नि बनिरहेको छ ?

यसअघिको लेख


Author

अमृता लम्साल

लेखक लम्सालको पछिल्लो कृति ‘हजुरआमाका कथा’ हो ।


थप समाचार
x