आमाको मुख हेर्ने दिन
बाँचुन्जेल श्रद्धा गरौँ, मरेपछिको श्राद्धले त्यति माने राख्दैन
जन्म दिने आमाबाबु सबैलाई प्रिय हुन्छन् । बुबालाई छुट्याएर आमा, आमालाई छुट्टयाएर बुबाको कुरा गर्न थालियो भने त्यो एकांगी हुन्छ । आमा पृथ्वी हुन् भने बुबा आकाश, आमा शिर हुन् भने बुबा शिरको सिन्दुर, आमा खुसी दिने स्रोत हुन् भने बुबा त्यसको ऊर्जा ।
आमालाई माया गर्ने सबै हुन्छन् । यद्यपि आमालाई हेलाँ गर्ने, नसहने पनि नहुने होइनन् । त्यस्तै सन्तानको कारणले गर्दा वृद्ध आमाबुबा सडकको आश्रयमा आएको पनि देखिन्छ । त्यस्ता कति छन् कति उदाहरण ! सबै कहाँ असल सन्तान हुन्छन् र ! आजकाल त झन्झन् कलिकालको उदय भएजस्तो छ, के-के हो, के-के आमाबारे सुन्नु नपर्ने कुराहरू सुन्नु परिरहेको छ । सन्तान कुपुत्र हुन सक्छ तर आमा कहिले पनि कृतघ्न हुनै सक्तिनन् भन्ने विश्वास छ । आफ्नै नवजात शिशुलाई जन्मन पाएको छैन निमोठ्ने आमाहरूलाई के भन्ने ?
जतिन्जेल आमा आफ्नै अगाडि हुनुहुन्छ, त्यतिन्जेलसम्म आमाको महत्त्वबोध कतिका लागि नहुन सक्छ । जब उहाँको देहावसान हुन्छ अनि महत्त्व बुझिने हो कि जस्तो पनि कहिलेकाहीँ लाग्छ । अगाडि हुँदा सधैँ उहाँ साथमा भइहाल्नुहु्छ जस्तो लाग्दो रहेछ । कैँयन् कुरा भनूँला भन्दाभन्दै भन्नै नपाई समय बित्दो रहेछ भन्ने कुरा अहिले बुझ्दैछु । मैले कैँयन् कुरा आमाबुबासँग गरुँला, भनूँला भन्दाभन्दै भन्न भ्याइनँ । आज सम्झँदा पनि अफसोस लाग्छ । जे भन्ने हो, जे गर्ने हो समय छँदै गर्नुपर्ने रहेछ, पछुताउ नहुनलाई ।
कुनै अपवादबाहेक आमाको तुलना कोसँग गर्ने ? उहाँ त साँच्चै नै भन्ने हो भने अतुलनीय हुनुहुन्छ, पूजनीय हुनुहुन्छ, प्रातःस्मरणीय हुनुहुन्छ । आमा पृथ्वी हुन्, जे पनि सहने, जस्तोसुकै अप्ठ्यारो पनि सहने । विशाल हृदयको ज्वलन्त उदाहरण हुन् आमा । आमाको परिभाषा दिएर सकिएला जस्तो लाग्दैन । जन्म दिने आमा र जन्मेको देश स्वर्गभन्दा पनि प्यारो हुन्छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपिगरियसि’ भन्ने कुरा साँचो हो ।
समाजका अन्य व्यक्तिसँग आमाको तुलना हुनै सक्दैन । आमाको अभावमा आमा बनेर उदारतापूर्वक माया, ममता, स्नेह दिने विशाल हृदय भएका नारीहरूबाट कैँयन् टुहुराहरूको लालन-पालन र सेवा भएको अनेक उदाहरण यत्रतत्र देखिँदा मातृत्वको वात्सल्यमयी भाव नारीको नैसर्गिक गुण बनेर प्रस्फुटित हुन्छ । यसैले आमा शब्दले मातृशक्ति सबैलाई एकमुष्ट सम्बोधन गरेको भान हुन्छ ।
आमा एउटी मात्र हुन्छिन् । बच्चाहरू थुप्रै हुन सक्छन् । आमा सरहको माया-ममता थुप्रैबाट पाउन सकिएला । तर आफ्नो आमाको जस्तो सर्तरहित वात्सल्य, माया, दया र प्रेम अरूबाट विरलै पाइन्छ । आमा एउटै हुन्छिन् । संसारमा एक पटक मात्र पाइने कुरा हो-आमा । दुइटा हुनै सक्दिनन् । एउटा शरीर छुट्टिएर दुइटा बन्छ, त्यो नै आमा र सन्तान हो । आमा र बाबु दुवै पूजनीय छन् । बाबुले गर्भधारण गर्न सक्दैनन् । बाबुले आँट दिन्छन्, भर दिन्छन्, हौसला र प्रोत्साहनको अनगन्ती साहस दिन्छन् ।
आमाले गर्भधारण गर्छिन्, जन्म दिन्छिन् र काख पनि दिन्छिन् । उनी वात्सल्यकी जीवन्त स्वरूप हुन् । आमाको काखमा शिशुका लागि सबै कुरा हुन्छ । एउटा बालक कुनै देशको माटोमा मात्रै जन्मेर हुँदैन, उसलाई आमाको काख चाहिन्छ । आमाको माया चाहिन्छ, आमाको स्नेहाशीष चाहिन्छ । आमाको काख, आमाको माया एवं वात्सल्य जुन बच्चाले पायो उसले सर्वस्व पायो भने हुन्छ । बच्चाको लागि आमा देवीकै साक्षात् स्वरूप हुन भन्न हिच्किचाउनु पर्दैन । देवीकै रूपमा आएकी हुन्छिन् आमा । उनी वन्दनीय छिन्, पूजनीय छिन् । जन्मनासाथ काख दिने, भर दिने, खुवाउने, पियाउने आमा नै हुन्छिन् । आमा वास्तवमै त्यतिखेर ईश्वरको प्रतिरूप स्वरूप बनेकी हुन्छिन् ।
त्यसैले बालकका लागि आमाको स्नेहाशिक्त काख सबैभन्दा ठूलो हुन्छ, सर्वस्व हुन्छ । चराचुरुङ्गीलाई नै हेरौँ न ! साना चल्ला भएका बेला माउले अरूमाथि आक्रमण गर्छे । बच्चालाई केही गरिदिने हो कि भन्ने पीर हुन्छ । किनभने उनी आमा हुन्, उनलाई आफ्ना स-साना बचेराको माया छ । उनको सन्तानलाई कसैले केही गर्ला भन्ने । त्यस्तै भर्खरै आमा भएका बेला पोथी कुकुरले पनि मान्छेलाई छाउराछेउ पुग्नै दिन्न । सिधै टोक्न आउँछे, अरू बेला नटोक्नेले पनि । किनकि ऊ आमा भएकी छे । उसलाई सन्तानको माया छ, हरहालतमा उसलाई आफ्ना सन्तान हुर्काउनु छ, बचाउनु छ, बढाउनु छ । त्यस्तै अरू बेला केही नगर्ने सोझो मानिने पोथी गैँडाले पनि बच्चा पाएपछि, बच्चा नहुर्केसम्म मानिस लगायत वरपर आउने पशुपक्षीलाई देख्नै हुन्न आक्रमण गर्छे ।
बचेरा भएका बेला कागले पनि ठुँग्छ । गुँडको वरपर कसैलाई देख्नु हुन्न ठुङ्न आउँछे । जुनसुकै प्राणीका आमाले आफ्ना सन्तानलाई असाध्यै माया गर्छे । अझ बाँदरले त मरेको सन्तानलाई छातीमा कैयौँ दिनसम्म बोकेर हिँड्छे, गन्हाएर टुक्राटुक्रा भई नझरुन्जेलसम्म पनि छातीमा टाँसिरहेकी हुन्छे । कति निःस्वार्थ माया ? कत्रो प्रेम सन्तानप्रति ! पशुमा पनि त्यत्रो वात्सल्य, त्यत्रो माया-स्नेह !
उनैको भाग्य धेरै ठूलो हुन्छ जस्तो लाग्छ, जसले लामो समय आमाको माया पाउँछन् र आमा वृद्ध या रोगी हुँदा हेरचाह गरेर आमाको काखको ऋण तिर्छन् । ऋणी हुने अवसर भनेकै आमाबुबाको सेवा, सुश्रुषा हो । आमाको यिनै महत्त्वका कारण संसारका धेरै मुलुकहरूमा ‘आमाको दिन’ भनेर कुनै महिनाको एक दिनलाई सम्झिने चलन छ । वैशाख कृष्ण अमावस्यामा पर्ने औँसीलाई नेपाली संस्कृतिमा ‘आमाको मुख हेर्ने दिन’ मानिन्छ । कसै-कसैले यसलाई मातृऔँसी, मातृदिवस, मातातीर्थ औँसी आदि पनि भन्छन् ।
आमाको गुणगान के गरेर गाउन सकिएला ! किनभने उनी वात्सल्यकी प्रतिमूर्ति नै हुन् । उनी केवल जन्म मात्रै दिन्नन्, हुर्काउँछिन, बढाउँछिन्, सिकाउँछिन, सधाउँछिन् र योग्य बनाउन भरमग्दूर प्रयत्न गर्छिन् । आफ्नो सन्तानको भविष्यको लागि उनी सदैव चिन्तित हुन्छिन् । आफू नखाएर, भोकै बसेर पनि सन्तानलाई खुवाउँछिन् । आफू दुःखमा रमेर सन्तानसुखका लागि मरिमेटिन तयार हुन्छिन् । उनी विशाल, विराट हृदयकी खानी हुन् । होलान् कुनै आमा यस विपरीतका तर आमाको स्वभावै हो कि सन्तानप्रतिको वात्सल्य र प्रेम ।
आमा-बाबु वास्तवमा जीवित देवीदेवता हुन् । आमा-बाबुको जसले भक्तिपूर्वक सेवासुश्रुषा गर्छ उसले वास्तवमा देवीदेवताकै पूजा गरेको हो भने हुन्छ । वर्षको एक दिन आमा र बाबुको मुख हेर्दैमा पुग्दैन । आमाबाबु त सन्तानबाट माया, प्रेम र आत्मीयता चाहन्छन् । आमा जननी हुन् । बुबा कुनै लहरे बिरुवाको थाक्रो जस्तो आड । आमाबुबा हुँदा नै घरको उज्यालो बढ्छ, घर घर जस्तो हुन्छ । सबैलाई यस्तो भाग्य नमिल्न सक्छ । नियतिले आमा या बुबालाई या दुवैलाई छिनेर टुहुरा बनाएको हृदयविदारक अवस्था समाजमा देख्न नपाइने होइन । यस्तो बखत ज-जसले आमाबुबा झैँ बनिदिएर लालाबालालाई हुर्काउन, बढाउन, पढाउन सरसहयोग गर्छन् ती ईश्वरको खटनले आएका देवदूत नै हुन भनिदिँदा फरक पर्दैन ।
नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर, गर्भको बच्चालाई केही नहोस् भनी सतर्क र हेरचाहमा पूर्ण ध्यान दिएर, बच्चाको जन्मपश्चात् पनि स्याहार-सुसार गरेर हुर्काउने, बढाउने र पढाउने पहिलो शिक्षिका भनौँ कि गुरु आमा नै हुन् । आमा जगज्जननीको साक्षात्स्वरूप हुन् भनिदिए हुन्छ ।
आमाको महिमा अपार र अपरम्पार छ, जति गाए पनि, जति लेखे पनि, जति बोले पनि सकिँदैन । आमाको निःस्वार्थ ममता, त्याग, तपस्या, समर्पण, उपकार र वात्सल्यबाट नै जो कोही समर्थवान् बन्न पुगेको हुन्छ । यो खान हुने त्यो खान नहुने, त्यहाँ जान हुने त्यहाँ जान नहुने जीवनमा पहिलो शिक्षा दिने आमा नै हुन्छिन्, बुबा नै हुन्छन् । आमाले आफ्नो सन्तानको लागि जे गरेकी हुन्छिन् त्यसको ऋणबाट कोही उऋण हुन सक्तै सक्तैन । दूधको भारा कहिले तिरेर तिरी सक्ने? वास्तवमा यो सम्भवै छैन । वर्षको एक पटक होइन आमालाई जीवनभर हृदयमा राखेर उनीप्रति आभार प्रकट गर्न सके उनी प्रफुल्ल हुन्छिन् । उनले के खोज्छिन र? सन्तानहरूबाट मात्र माया, आदर र प्रेम न हो ? तर यत्ति पनि दिन नसक्ने कैयन् कपुत सन्तान पनि हुन्छन् ।
आमाबुबाको रेखदेख, स्याहार-सुसार गर्नु सन्तानको कर्तव्य हो । कोही पनि सन्तान आफ्नो कर्तव्यबाट बिमुख नबने आमाबुबाले दुःख पाउने थिएनन् ।
आफूलाई जन्म दिने आमालाई घरबाट निकाल्ने, वृध्दाश्रममा राख्ने, खानपिनको समेत वास्ता नगर्ने, दुत्कार्ने कैयन् सन्तानहरू हाम्रै वरपर छन् । यस्ता व्यक्तिहरूले गम्भीर भएर सोच्नु जरुरी छ के उनीहरू आमाबाबु बन्दैनन्? उनीहरूका सन्तानले पनि आफूले आफ्ना आमाबाबुलाई गरे जस्तै दुर्व्यवहार गरे भने के होला? यसरी सोच्न सकेमा मात्र सन्ततिहरूबाट आमाबुबा प्रताडित हुँदैनन् । अन्यथा जन्म दिने आमाहरू सन्तानकै दुर्व्यवहारको कारण धुरुधुरु रुनुपर्ने अवस्थाको सृजना हुनु कस्तो दुर्भाग्य ! सानो छँदा छोराछोरी मर्लान् भनेर अनेकथरि दुःख-कष्ट बेहोरेर हुर्काए÷बढाए, ठूलो भएपछि तिनै छोराछोरीले मार्लान् भन्ने स्थिति आउनु कति भयावह छ !
आमाको मुख हेर्ने दिन जलाशयमा आफ्नी आमाको मुख देख्ने कल्पना गर्नुभन्दा या कुनै मन्दिरछेउ श्राद्ध गरेर बुबालाई खुसी पार्न खोज्नुभन्दा बाँचुन्जेल उहाँहरूको श्रध्दा-भक्तिपूर्वक सेवा, सुश्रुषा गर्नु कता हो कता पुण्यमय यज्ञ हो । जसले जीवनकालमै आमा-बाबुको स्याहार-सुसार, लालन-पालन गर्छ, उसको सन्ततिले उसलाई त्यसैगरी श्रध्दा-भक्तिपूर्वक सेवासुश्रुषा गर्छन् । आमाबाबुको सेवा नगर्ने अनि आफ्नो छोराछोरीले चाहिँ गरून् भन्ने चाहना राख्ने हो भने त्यो कदापि सम्भव हुँदैन ।
आमा माता हुन्, जननी हुन्, महतारी हुन् । कुनै दुःख-कष्ट आइपर्दा पहिले ‘हे आमा !’ भन्ने शब्द नै पुर्काछौँ । शरीरको कुनै ठाउँमा चोट लाग्यो वा ठेस लाग्यो भने पनि ‘ऐया आमा !’ शब्द निकाल्न पुग्छौँ । लाग्छ यही ‘आमा’ शब्दले पनि दुखाइ कम गर्छ, मल्हमपट्टिको काम गर्छ । चोट लागेको हृदयले शान्तिको अनुभव गर्छ ।
आमाको वात्सल्यतासम्बन्धी एउटा कथा प्रसिध्द छ- कुनै गाउँमा एक जना व्यक्ति थिए । पहिले ऊ गरीब परिवारको भए पनि उसको पढाइ-लेखाइ एवं सीपको कारण पछि निकै धनाढ्य बन्न पुग्यो । उमेर पुगेपछि उसले विवाह गर्यो । सन्तानहरू जन्मे । ऊ गाउँ छोडेर, आमालाई बिर्सेर सहरको सम्पन्नतामा रमाउन पुग्यो । एक दिन आमाको मनमा लाग्यो धेरै भयो छोरासँग भेटघाट भएको छैन; भेट्न जानुपर्यो भनी दुःखसुख गरी बल्लबल्ल सहरमा पुगिन् । सहरको घर अनेकतिर सोध्दैखोज्दै कठिनसँग पत्ता लगाइन् । घरमा पुग्दा ढोकामा नातिनातिना देखिए । हजुरआमा आएको कसरी थाहा पाए भनेर खुसी भएकी हजुरआमाको मन एकैछिनमा रुन थाल्यो ।
नातिनातिनाले ढोकैबाट किन आएको ? कसलाई खोजेको ? जस्तो प्रश्नमाथि प्रश्न गर्न सुरु गरे । नगरुन् पनि किन, उनीहरूले हजुरआमालाई देखेकै थिएनन् । उनी अलमल्ल परिन् । उनको एउटा मात्रै आँखा थियो । अब त नातिनातिना जिस्क्याउँदै ‘एकआँखे बूढी’ यहाँबाट गइहाल भन्न थाले । त्यत्तिकैमा केही बेरपछि छोरो पनि आइपुग्यो । धेरै वर्षपछिको भेट भए पनि आमाले चिनिहालिन् आफ्नो छोरा । अँगालोमा बाँध्न चाहन्थिन् उनी । तर छोराले भन्न थाल्यो-खबरै नगरी कसले आउनुभनेको थियो तिमीलाई यहाँ ? तिमी अहिले नै गइहाल भनेर ढोकाबाटै घचेट्न थाल्यो । त्यत्तिकैमा बुहारी, नातिनातिना सबै मिलेर ‘एकआँखे बूढी’ गइहाल भनी घोक्र्याइदिए । वर्षौंपश्चात् आएकी आमालाई पनि स्वीकार गर्न सकेनन् उनीहरूले । आमा रुँदैरुँदै बाहिर निक्लिन् ।
आँखाबाट ओझेल परेपछि आमाप्रति गरेको हर्कतले छोराको मन एक किसिमले उद्वेलित भयो । के गरूँ न कसो गरूँको अवस्थामा ऊ पुग्यो । उता आमा कहाँ जाने ? के गर्ने बिलखबन्दमा परिन् । सहरमा चिनेको कोही छैन । कहाँ जाने ? संयोग नै भन्नुपर्छ, उनलाई चिन्ने एक जना बालसङ्गाति भेट भयो र उनैले घरमा लिएर गइन् । छोरालाई उसले आमाप्रति गरेको हर्कतले पछुतो लागि नै रहेको थियो । उसले यता-उता आमाको विषयमा सोधिखोजी गर्यो । आखिरमा पत्ता लगायो । आफूले गरेको गल्तीमा क्षमा माग्ने विचारले घर खोज्दै खोज्दै आमा बसेको घर पुग्यो । तीन दिन बितिसकेको थियो । त्यहाँ पुग्दा भर्खरै केही घण्टा अगाडि आमाको देहावसान भएको थाहा पाउँछ । ऊ आफूले गरेको कार्यप्रति पछुताउन थाल्यो । लासको नजिकै एउटा खाम छोडेको रहेछ । उसले खोलेर हेर्यो । त्यहाँ लेखिएको रहेछ-
प्यारो छोरा ! लामो समयपछि तिमीलाई भेट्न आएकी थिएँ । तिमीलाई सोधेर आउन सकिनँ । मैले गल्ती गरेँ । मैले मेरो त्यही छोरा सम्झेको थिएँ, जुन बेला तिमी ज्यादै मलाई माया गर्थ्यौँ । म बिना तिमी एकछिन बस्न सक्तैनथ्यौँ । तिम्रा छोरा-छोरीले मलाई ‘एकआँखे’ भनी गिजाए । मलाई त्यही कारणले सायद मन नपराएका होलान् । तिमीलाई थाहा थिएन होला बाबु, तिमी एक दिन ठूलो दुर्घटनामा प-यौँ । तिम्रो एक आँखा गुम्यो । म कसरी तिमीलाई ‘एक आँखे’को दाग लागेको देख्न सुन्न चाहन्थेँ । त्यही देख्न नचाहेर मैले आफ्नो एक आँखा तिमीलाई दिएँ ।
मेरो प्यारो छोरा ! तिमी पहिले जस्तै सबुद भयौँ । म त आखिर डाँडापारिको घाम थिएँ । प्यारो छोराका लागि एउटा आँखा दिएर म आफू ‘एकआँखे’ हुन स्वीकारेँ । तिम्रो खुसी नै मेरो खुसी थियो । तिम्रो र तिम्रो परिवार एवं सन्ततिको भलो होस्, तिम्रो सुस्वास्थ्य र उत्तरोत्तर उन्नतिको कामना गर्छु । तिम्रो एकआँखे मन नपरेकी आमा भनी पत्र टुङ्ग्याइएको थियो ।
त्यस पत्रले छोरोको आँखा खुल्यो तर के गर्ने ? अबेला भइसकेको थियो, आमाप्रति आदर दर्शाउन । यस कथाले आमा कस्ती हुन्छिन् र सन्तान कस्तासम्म हुन सक्छन् भन्ने देखाउँछ । संस्कृतमा एउटा प्रसिध्द उक्ति छ, ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति’ अर्थात् सन्तान कुपुत्र हुन सक्छ तर आमा कहिल्यै कुमाता हुन सक्दिनन् । आमाबाट आशीर्वाद लिन कोही चुक्न हुँदैन । आमा जननी हुन्, आमा वात्सल्यकी प्रतिमूर्ति हुन्, आमा पृथ्वीजस्तै सहनशील महतारी हुन् ।
आमाबुबाको रेखदेख, स्याहार-सुसार गर्नु सन्तानको कर्तव्य हो । कोही पनि सन्तान आफ्नो कर्तव्यबाट बिमुख नबने आमाबुबाले दुःख पाउने थिएनन् । अनेक परिबन्दले गर्दा सबै आमाबुबाको छोराछोरीको आदर सत्कार र सेवा पाउने भाग्य नहुने रहेछ । त्यस्तो बाध्यात्मक अवस्थाका लागि हिजोआज समाजसेवाका भावले दुःखकष्ट पाउने आमा-बुबाका लागि अनेक नामले आश्रमहरू खुलिरहेका छन् । निःस्वार्थ रूपले सेवा आश्रममा आश्रितहरूले सेवा प्राप्त गरे भने त्यो राम्रो कुरा हो । तर त्यहाँ पनि सरकारले नहेर्ने, जनताले साथ नदिने हो भने सेवा नाम मात्रको हुन सक्छ ।
मठ, मन्दिर र तीर्थव्रतको अनेक कर्मकाण्डीय विधिव्यवहारको जञ्जालमा अलमलिनुभन्दा घरमा भएका अग्रजहरू, आमाबुबाहरू, सबै सन्ततिहरूको जो सकेको सेवासुश्रुषा एवं स्याहार-सम्भार जस्तो पुण्य कर्म कुनै हुँदैन । यसैले त शास्त्रहरूले मुक्तकण्ठले प्रशंसा गरेका हुन्, ‘सेवा हि परमो धर्म’ । मातृऔँसीले सबैलाई आफ्ना आमा-बुबा, हजुरबुबा-हजुरआमा, सासू-ससुरा जस्ता अग्रजहरूलाई जीवनकालमै श्रध्दाले सेवा-सुश्रुषा गर्ने प्रेरणा जगाओस् न कि मरेपछिको श्राध्दको । बाँचुन्जेलको श्रध्दा जस्तो मरेपछिको श्राध्दले त्यति माने राख्दैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया