विचार

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् !

सुशीला कार्की |
बैशाख २९, २०७८ बुधवार १३:१४ बजे

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो ।
....                    
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टेर्दैन त्यो,                                                                                                      
कवि शिरोमणि लेखनाथ पौड्यालज्यूको ‘काल महिमा’ शीर्षकको कविता यतिखेर सान्दर्भिक छ । कोरोना भाइरस संसारभरि नै कालका रूपमा मुख बाएर बसेको छ । के बूढा, के बालक ? के तरुना-तरुनी ? के बलिया, के बाङ्गा ? के असहाय, के गरिब ? केही बुझेको छैन, कोरोना भाइरसले । यसको असरले मर्ने र संक्रमणका कारण सिकिस्त भई अस्पतालको बेडमा मृत्युको पल र घडीको गन्ती गर्नेहरूको क्रम निरन्तर जारी छ । 

परिवारहरूले हरएक दिन आफ्ना प्रियजनहरू गुमाइरहेका छन् । मृतकका स्वजनले अकालमा मृत्यु भएका आफन्तप्रति दुई नेत्रबाट आँसु झार्नुबाहेक अन्तिम बिदाइको घडीमा केही गर्न सकेका छैनन् । संसारमा जन्मेपछि हरेक प्राणीले एकदिन मृत्युवरण अनिवार्यतः गर्नुपर्ने नै हुन्छ । यो ध्रुवसत्य हो । कोही पनि अजर र अमर छैन, यो दुनियाँमा । संसारका हरेक वस्तु नाशवान् छन्, मात्र समयका कुरा हुन् । कुन वस्तुको विलय माटोमुनि कुन समयमा हुनेछ, थाहा छैन । भनिन्छ, भावीले भाग्यमा जति उमेर कोरेर दिएको हुन्छ, मानिसले त्यति नै आयुसम्म संसारमा बाँच्‍न पाउने हो । विज्ञानले यतिको ठूलो प्रगति गरे तापनि मृत्यु र जन्ममा भने नियन्त्रण गर्न सकेको छैन ।


भनिन्छ, प्रत्येक शताब्दीको कालखण्डमा एउटा न एउटा रुढि र व्याधिहरूले मानिसको ठूलो संख्यालाई नाश गरेको यहाँ इतिहास छ । कहिले प्लेग, कहिले मलेरिया, कहिले हैजा, कहिले टीबी, अनि ठेउला, ठूलो-सानो दादुरा (तराईतिर यिनलाई माई पनि भन्‍ने गरिन्छ) कुनै समयमा प्लेगले युरोप-अमेरिका समेतका पश्चिमी मुलुकहरूमा करिब सात करोड मानिसको मृत्यु भएको थियो अरे । हैजाले गाउँ र बस्ती वा नगर नै शून्य हुने गरी साफ गराएको उदाहरण पनि छन् ।

काठमाडौँमा केही दशकपूर्व, टोल-टोलमा हैजा फैलिने गरेको थियो । मानिस मर्थे । मलेरियाले पनि त्यस्तै ताण्डव मच्चाएकै हो । एक प्रकारले भन्‍ने हो भने मानिस संसारमा कहिले पनि पूर्णतः सुरक्षित छैनन् । बेला-बेलामा आउने रुढि-व्याधिले गाउँ-नगर शून्य हुने गरी मानवविहीन हुने गरेकै हो । 

संसारमा अझ पनि त्यस्ता स्थान, बस्तीहरू देखिएका छन् । जहाँ घरहरू छन् तर मानिसविहीन, शून्य बन्जर स्थान भएका छन् । कतिपय स्थानमा घरभित्र मरिरहेका मानिसहरूका अस्थि-पञ्जरहरू पाइएका छन् । 

एउटा क्षेत्र मानवविहीन उराठ हुन गई कुनै बेलाको सुन्दर सहर वन-जंगल खण्डहरमा परिणत पनि भएका छन् । भनिन्छ, कुनै कुनै कालखण्डमा मानिसहरू रुढि र व्याधिबाट सिकार हँुदा धन सम्पत्तिका रूपमा रहेका गाई-वस्तु, हात्ती, घोडा, बाख्रा, कुखुरा र अन्य पशु जीवजन्तुहरूलाई अशक्तताका कारण खान दिन नसकी तिनलाई जंगलमा लगेर छाड्नुपर्ने बाध्यता थियो अरे । 

तर ती मानिसहरूको संसर्गमा बस्न बानी परेका वस्तुभाउहरू जंगलमा चरन र चारो खोज्ने बानीको अभावमा तिनीहरू पहिले बसी आएको मानव बस्तीमा फर्केका थिए अरे । तर उनीहरू फर्किंदासम्म मानिस बसोबास भएका स्थानहरूमा तिनका मालिकहरू सरुवा रोगबाट मरिसकेका हँुदा, फेरि पनि तिनले केही खान नपाउँदा जंगल फर्केका थिए अरे ।

ती घरपालुवाबाट जंगलीमा परिणत हुन विवश भएका थिए । रोग व्याधि, युद्ध र अनिकाल अनि प्राकृतिक प्रकोपको विनाश वा प्रलयका कारण जनसंख्यामा कमी आउनेबारे थोमस रोबर्ट माल्थसले यिनै कुरालाई उद्धृत गर्दै जनसंख्याको नियन्त्रणसम्बन्धी सिद्धान्तको व्याख्या पनि गरेका हुन् । 

संसारमा रोगहरू एकपछि अर्को उत्पन्‍न भएका छन् । त्यसलाई निराकरण गर्न औषधि पनि क्रमशः बनेका छन् । वैज्ञानिकहरू दिनरात मानव जातिको अस्तित्व जोगाउन अनुसन्धान गरेर रोगविरुद्धका खोप र दवाईको अनुसन्धान गरी पत्ता लगाएर मानिसलाई बचाउन ती खोप र औषधीको प्रयोग गरिरहेका छन् ।

मलेरियाबाट जोगाउन क्विनेन औषधी बन्यो । साथै मच्छर उन्मूलन गर्न डीडीटी पाउडर पनि घोल बनाएर घर-घरमा छरिएको हिजो-अस्ति जस्तो लाग्छ । घाउचोटको संक्रमणबाट जोगाउन पेन्सलिनको सुईको निर्माण भएको हो । टिटानस हुन नदिन प्रतिरोधक सुई पनि बने । तापनि पछिल्ला दिनहरूमा इन्सेफ्लाइटिस, एड्स, इबोला, स्वाइनफ्लू, वर्डफ्लू जस्ता घातक अलग-अलग प्रकृतिका रोग देखापरेका छन् । तिनको पनि औषधी बनाई बिस्तारै नियन्त्रण हुने कार्य भएको छ ।

मुलुकको शासन व्यवस्थाको नाम प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भनिए तापनि व्यवस्थाको कार्यान्वयन हुने बखतमा वा आमजनताले सुविधा पाउने बेलामा नोकरशाहीतन्त्र वा ठूला ठालु पोस्‍ने तन्त्र बन्‍न पुग्छ ।

गत वर्ष २०७६ को अन्त्य भनौँ वा ०७७ सुरु हुने बखत कोरोना वा कोभिड-१९ एउटा नयाँ संक्रमणका रूपमा चीनको वुहान प्रान्तमा देखापरेको हो । बिस्तारै यो संसारभरि फैलियो । निकै ठूलो नोक्सान हुने गरी मानव जातिको अस्तित्वमाथि नै प्रहार गरेको हो ।

जुन प्रकारले यो रोग देखापरेको छ, यसमा बिरामीसँग संसर्ग र सम्पर्क भएका मानिसमा संक्रमण तत्काल हुने र व्यापक फैलिने कारणले गर्दा असर परे जतिका मुलुकहरूमा यसले ठूलो आर्थिक क्षति पु¥याएको मात्र होइन कि एक प्रकारले तत् राष्ट्रहरूको चौतर्फी विकासलाई नै ठप्प पारेको पाइएको छ । 

अकालमा मानिसहरूको ठूलो संख्यामा मृत्यु भएका छन् । अमेरिका, इटली, ब्राजिललगायतका युरोपका अधिकांश मुलुकहरूले त्यति नै ठूलो मानवीय क्षति बेहोर्नुपरेको छ । जन हप्किन्स विश्व विद्यालयबाट अध्ययन गरेअनुसार संसारमा कोरोनाका कारण मर्नेको संख्या करिब ३३ लाख अनुमान गरिएको छ ।

अमेरिकामा मात्र पनि ५ लाख ८२ हजार मरेका छन् भने ४ लाख २२ हजार ब्राजिलमा र भारतमा दुई लाख ४२ हजार पुगेको भन्‍ने भनाइ छ । गत वर्ष सन् २०२० मा भएको पहिलो संक्रमणकाल भन्दा अहिलेको यो दोस्रो खेपको संक्रमणबाट भारतले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ ।

भारतसँगको खुला सिमाना जोडिएको हाम्रो मुलुक नेपालमा त्यसको असर स्वतः नै गम्भीर रूपमा पर्ने नै भयो । नेपालमा दैनिक पचास जनाको हाराहारीमा कोरोनाका कारण मानिस मर्ने गरेको समाचार दैनिक आउने गरेका छन् । परिवार, परिवारमा रुवाबासी चलेको छ ।

जसको परिवारमा यसको संक्रमणले प्रभावित पारेको छ, ती परिवार आत्तिएका छन् । संक्रमित हुने पारिवारिक सदस्यको प्राणको रक्षा होला कि नहोला भन्‍ने आशंकामा । मानिसहरू भौँतारिएका छन् । अक्सिजन र औषधिको जोगाडको निम्ति । तर यस्तो घडीमा पनि सरकार अर्कै योजनामा लागेको देखिन्छ । उसलाई मुलुकमा आएको कोरोनाको कहरतर्फ ध्यान छैन ।

त्यसैले सरकारलाई मरेकाहरूको शव गन्तीमा फुर्सद पनि छैन । आर्यघाटमा को रुन्छ ? को बिलखबन्दमा परेको छ ? क-कसलाई के समस्याले पिरोलेको छ ? त्यतापट्टि सरकार र उनका सहयोगीहरूलाई सोच्‍ने-सम्झने फुर्सद पनि छैन ।

त्यसो त, पैसा प्रशस्त खन्याउन सके, दैनिक पचास हजारको दरको अस्पतालको क्याबिनमा राखी लाखौँ-लाख खर्च गरी बिरामीको उपचार गर्न सके मानिस बाँच्दा रहेछन् पनि । तर सबै नेपालीको त्यो औकात पनि छैन । झन् चालीस प्रतिशत गरिबीको रेखामुनि रहेका जनताको हकमा आज के खाऊँ भोलि के खाऊँ भन्‍ने बेलामा साधारण औषधि र अक्सिजन खरिद गर्नसमेत सक्दैनन् भने ठूला अस्पतालको कल्पना तिनका निम्ति आकाशको फल आँखा तरी मर भने जस्तै हो ।

हाम्रो दक्षिण एसियाली मुलुकहरूमा प्रायःजसो सत्तामा बस्नेको भावना कस्तो देखिएको छ भने औषधिमूलो जति पहिले ठूला ठालु धनीमानी र उच्चस्तरका कर्मचारीहरूलाई उपलब्ध गराउन प्राथमिकता दिनुपर्ने हुन्छ । भरसक राज्यको स्रोतलाई लुटेरै भए पनि तिनले सित्तै उपचार पाउनुपर्ने भन्‍ने ठान्छन् । 

मानौँ, त्यो तिनको नैसर्गिक हक नै हो । गरिब निमुखाको हकमा ठूला ठालुले प्रयोग गरी बचेकोसम्म उपभोग गर्न पाउनु पनि तिनका निम्ति ठूलो उपकार र कृतज्ञता बन्‍न जानेछ । त्यस्तै हुँदै आएको छ, जहिले पनि प्रायःजसो गरिब मुलुकहरूमा ।

एकथरी आफ्नै सत्ता जोगाउने खेलमा छन् भने अर्का थरी विपक्षीको भूमिकामा सत्तालाई भत्काएर जसोतसो आफूखुसीको नयाँ सरकार गठन गर्ने खेलमा लीन छन् ।

राज्यको ढुकुटीबाट ठूलो रकम प्रायःजसो तिनै ठूला ठालुहरूले विदेशमा गई महँगो उपचार गर्न पाउने सुविधा सरलैसँग पाउने गरेका पनि छन् । मुलुकको शासन व्यवस्थाको नाम प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जो जे भनिए तापनि व्यवस्थाको कार्यान्वयन हुने बखतमा वा आमजनताले सुविधा पाउने बेलामा नोकरशाहीतन्त्र वा ठूला ठालु पोस्‍न तन्त्र बन्‍न पुग्छ ।

यहाँनेर कवि शिरोमणि लेखनाथकै कविताको पंक्तिको सम्झना आउँछ :
मै खाऊँ, मै लाऊँ, सुख-सयल मोज म गरूँ
मै बाँचू, मै नाचूँ, अरू सब मरून् दुर्बलहरू

मुलुकभित्र कोरोनाको दोस्रो लहरको यत्रो महामारी छ । मानिसहरू अकालमा मरिरहेका छन् । तर एकथरी यी कुरातर्फ संवेदनहीन छन् । जसको हातमा राज्यको डाडू-पन्यु लिएर सञ्चालन गर्ने अधिकार छ, यतिखेर तिनीहरूमा कस्तो सोच पाइएको छ भने मानौँ ती अजम्बरी हुन्, तिनलाई काल कहिले पनि आउनेछैन । अर्थात् तिनले काललाई जितेका छन् ।

मानौँ, काल उनीहरूसँग हारेको छ । तसर्थ यस घडीमा पनि तिनीहरू आमजनताको जीवन जोगाउने औषधि, अक्सिजन, प्रतिरोधक सुईको खरिदमा नाफा-घाटाको जोर-घटाउमा केन्द्रित छन् । आमजनताका निम्ति यस बेला कोरोना संक्रमणविरुद्धको ठूलो संघर्षको घडी छ ।

संक्रमित परिवारका सदस्यहरूको प्राण जोगाउन एक एक पल तिनका निम्ति महत्वपूर्ण छ । समयमा औषधि पाउन, अक्सिजन पाउन वा प्रतिरोधात्मक सुई दिन पाए हुने थियो भनी लालायित छन्, व्याकुल छन् । तर जसले यी सब कुराहरूको जिम्मेदारी लिनुपर्ने हो ती सब मौन छन् ।

उनीहरू एकथरी आफ्नै सत्ता जोगाउने खेलमा छन् भने अर्का थरी विपक्षीको भूमिकामा सत्तालाई भत्काएर जसोतसो आफूखुसीको नयाँ सरकार गठन गर्ने खेलमा लीन छन । हुन त, जनताले अब त त्यो वर्गसँग आशा गर्न पनि छाडिसकेका छन् । किनकि अघि-पछि कुनै बेला पनि त्यस्तो सुविधा तिनले उनीहरूबाट पाएका भए पो आश गरुन् ।

सधैँ ठूलाबडाले अघिदेखि रकम-कलम मिलाएर होस् वा गैरकानूनी तरिकाबाट होस् खुलमखुल्ला आफ्नै पोल्टो भर्ने संस्कृतिको विकास भएको मुलुकमा अरु आमजनताको हकमा जे परे पनि, जसो भए पनि आजसम्म पशुपतिनाथले सधैँ कल्याण गर्दै आएका त हुन् ।

सुशीला कार्कीका यसअघिका लेखहरू


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
x