विचार

अर्जुनको मानसिक पीडा र कृष्णको गीता ज्ञान

स्वस्तिका पौडेल |
असार १८, २०८० सोमवार १६:४१ बजे

संसारमा प्राय: धेरै मानिस मानसिक पीडित भएका छन् । मनो पीडामा घटेका घटनाहरूले समाजलाई निकै ठूलो असर परेको छ । हिजो देवताको पालामा पनि मानसिक पीडा थियो र आज पनि छ । यही पीडाका कारण अर्जुन पनि कुरुक्षेत्रबाट बाहिरिने निष्कर्षमा नपुगेका होइनन् तर बाध्य भएर युद्धमा गए । रणभूमिमा  अर्जुनले नियालेर हेरे दुवै पक्षका सेनाहरूको माझ खडा भएका बुवाहरू, पितामहहरू, गुरुहरू, मामाहरू, दाजुभाइहरू, छोराहरू, नातिहरू र अन्य आत्मीय हितैषीहरू । जताजतै बन्धु बान्धव देखी सकेपछि कुन्ति पुत्र अर्जुनको हृदय अत्यन्तै  करुणा र दयाले भरिएको थियो । मन खिन्न बनाउँदै कुन्ति पुत्र अर्जुनले भने –हे १ कृष्ण यी रणभूमिमा खडा भएका युद्द इच्छा गर्ने समुदायलाई देखेर मेरो शरीरका अङ्गहरू शिथिल हुँदै गएका छन् । मुख पनि सुक्दै गएको छ । मेरो शरीरमा कम्पनहरू पैदा भएका छन् । मेरो हातबाट धनु खस्न लागिसकेका छन् । साथै मेरो मन भ्रमित भएर चक्कर आइरहेको छ । मेरो शरीरको छालाहरू पोलिरहेका छन् । यसै कारण अब म यस रणभूमिमा खडा रहन सक्दिनँ । यसको अर्थ करुणा जनीय दुर्बलताले अर्जुनको अवस्था बिग्रँदै गयो । बन्धु विनाशको सोचले पीडित देखिन थाले, उनका अङ्गहरू । शिथिल हुँदै हातहरू काँप्न थाले ।  अधैर्यले गर्दा उनको मानसिक सन्तुलन पनि बिग्रँदै गयो उनका लक्षणहरू पनि अशुभ र विपरीत मात्रै देखिँदै गएको थियो ।

उनी भन्छन्- हे कृष्ण म युद्धमा न त विजयी हुन चाहन्छु , न त राज्य नै भोग गर्न चाहन्छु । हे गोविन्द ! हामीलाई न राज्यको कुनै पनि सुख भोगको लाभ छ, न त जीवन नै कुनै प्रयोजनको लागि हुन्छ । त्यसैले म युद्ध गर्ने चाहन्नँ । एकातिर अर्जुनलाई तीव्र पीडा छ, अर्कोतिर प्रेम, मोह र शोक जन्य दुःखले उनी भौतारिरहेका छन् र कर्तव्य  मार्ग पहिल्याउन असमर्थन नै छन् ।


हुन त अर्जुन  महान सूर्यविर र ज्यादै पराक्रमी  थिए तर पनि बन्धु विनाशको भय शोक र मोहले व्याकुल भई खिन्नताले छट्पटिएका अर्जुनले वाणसहित आफ्नो धनुष उतारेका थिए । कुलनाश, जातीय धर्मको क्षति र त्यसबाट उत्पन्न हुने परिमाण र पाप सम्झेर झन् झन् मनोबल घटाउँदै थिए ।  वास्तवमा भन्ने हो भने स्नेह, शोक र मोहले मानिसलाई  संघर्षशील व्यक्तित्वलाई नाश गरिदिन्छ, अनि मानिस आफ्नो कर्तव्य मार्ग ठम्याउन नसकेर असमर्थन हुन्छ । त्यसै हालतमा आफ्नो कर्तव्य  ठम्याउन नसकेर बसेका अर्जुनलाई भोगवान श्रीकृष्णले दोस्रो अध्यायबाट अठारौं अध्यायसम्म दिएको गीता उपदेशबाट कुन्ति पुत्र अर्जुनको मोह ,शोक र चिन्ता नाश हुन्छ । उनी पुन: सूर्यवीर तथा प्रराक्रमी बनेर युद्को लागि तयार हुन्छन् ।

अर्जुनलाई भगवान श्रीकृष्णको साथ र अमृतमय ज्ञान थियो त्यसैले रणभूमिमा विजयी भए । तर, आजको समयमा धेरैले कलीको अर्जुन भएर जीवन बिताइरहेका छौ । बेला बेला आत्मबल कमजोर भएर हिँड्दा आफ्नै आफन्त, साथीभाइ , ईस्टमित्रबाट भएका तिरस्कार साथै समाजमा अटाउन नसकेको बेला सहनु परेको अपमान , पटक पटक कोसिस गर्दा पनि सफल हुन नसकेको कमजोरीपन, खुसी हुन नसकको पल, प्रत्येक दिनअरुको तिखो बचन सहनु परेको क्षण र दिन दिनै मर्दै बाँच्नुको पीडा र संघर्ष पनि सानो छैन । अर्जुनले जसरी गीताको ज्ञान र  भगवान श्रीकृष्णको साथ पाउन अहिलेका समयमा अलि गाह्रो छ, तर असम्भव भने छैन । यी त सहनशीलताको रूपहरू हुन्, जसलाई स्वीकार्नु र अगाडि बढ्नु नै ठूलो ज्ञान हो, त्यसैले त भन्ने गरिन्छ कर्म गर्नु हाम्रो अधिकार हो,  अर्थात फलको चाहना नराखि श्रदापूर्वक कर्म गर्नु नै धर्म हो ।

श्रीमद् भागवत गीतामा अत्यन्तै गहन अर्थ, भाव, गुण र रहस्य भएको  एउटा धार्मिक  ग्रन्थ हो । यसका प्रत्येक श्‍लोक मार्मिक एवम् अमृतमय छन् । ईश्वर  प्रतिको श्रद्धा विश्वास र भक्ति भाव पैदा हुने नै भागवत गीताबाट हुन्छ । स्वयं भगवान श्रीकृष्णको मुखाराबिन्दबाट निस्किएका अमर वाणीहरू समावेश  भएका छन्, यसले मानव जातजातिको उच्चतम आदर्श र मानव समाजको कल्याण गर्छ ।

तर, हामी यति सोखिन छौँ गीता छुँदा धार्मिक भइजान्छौँ कि भन्ने सोच्छौँ । सारा अङ्ग्रेजी पुस्तक पढ्ने गछौ जस्तैः  सेबेन हेबिटस अफ हाईली ईफेक्टिभ पिपल, द पावर अफ सब कन्सस माइन्ड, द पावर अफ पोजेटिभ थिङ्किङ् , थिङ्क लाईक अ मङ्क । प्राय: पुस्तकको  सारांश भगवत गीतासँग मिल्छ । सारै दु:खको कुरा त हाम्रो समाजमा गीता पढ्ने र पढाउने शिक्षा नीति ज्यादै कम छ । विदेशी युनिभर्सिटीहरूमा श्रीमद् भागवत गीताको  राम्रोसंग अध्ययन गराइन्छ तर हाम्रो शिक्षा प्रणालीको कुनै पनि भूमिका छैन ।  शिक्षा नीति सारै नै दयनीय छ । चाह्यो भने सरकारले ब्यालेट पेपर पुर्याउन सक्छ तर शिक्षा नीति नीति पुर्याउन सक्दैन ।
अन्तः जब समाजमा अधर्मले प्रवेश गर्छ तब नारी र पुरुष दुवैमा सनातन कुल धर्मको विनाश हुन्छ । कुल धर्मको नास हुनु भनेको अधर्मको वृद्धि हुनु हो ।  चलि आएको न्याय, शक्ति, सद्भाव र मर्यादा समाजबाट भंग हुनु हो । हाम्रो धर्म, सँस्कृति, भाषा र जातजाति जोगाउने साथै समाजलाई अगाडि बढाउने हामी सबैको कर्तव्य हो । कसैको मनो पीडालाई लिएर समाजमा हेलाको पात्र बनाउनु राम्रो होइन ।


Author

थप समाचार
x