विचार

गृहमन्त्रीज्यू दलितको मरण कुकुर बिरालोको जस्तै हुने हो ?

रिकेश विश्वकर्मा |
साउन ९, २०८० मंगलबार १३:० बजे

समाजमा एउटा उखान प्रचलित बन्दै गएको छ। 'नेपालको कानुन दैव जानुन' । आज यो उखान नभई यथार्थजस्तै बन्दै गएको छ। नेपालमा दिनहुँ हत्या-हिंसा बढ्दै गइरहेको छ।

अनि फितलो कानुनमा अपराधीहरु गिर खेलिरहेका छन् ।


अदालतको कानुनलाई पनि खोई कुन मन्त्रले लट्ठै पार्छ थाहा पत्तो छैन् । अपराधीद्वारा शिकार भएका आफ्ना सन्तान सम्झेर ती आमाहरु बर्काले मुख छोप्दै भकानिनुबाहेक केही विकल्प छैन।

अरु त अरु काभ्रेको  एउटा घटना आज त्यस्तै भएको छ।

अन्तरजातीय प्रेम विवाह गरेकै कारण काभ्रेबाट धादिङमा लगेर अजित मिजारको ‘हत्या’ गरिएको ७ वर्ष पुगेको छ ।

योसँगै अजित मिजारको परिवारले पनि न्याय पर्खेको ६ वर्ष पुगेको छ । दोषीलाई कारबाही नभएसम्म अजितको शव नउठाउने अडान बाबु आमाले लिएपछि न्यायको पर्खाइमा उनको शव शिक्षण अस्पताल महाराजञ्जमा ६ वर्षदेखि नै छ ।

काभ्रे पाँचखाल– ६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए ।

स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरूले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरू अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे ।

बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ ।

 त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए । छोरा हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको थियो ।

दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका उनले राति ८ बजे घरमा फोन गरेका थिए । उनको स्वर अत्तालिएको थियो । त्यसपछि सम्पर्क हुन सकेन ।

भोलिपल्ट ३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे ।

दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लास गाड्यो, यसको जानकारी मिजार परिवारले पायो ।

शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । उनीहरू घटनास्थल पुग्दा लास गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट लास निकाले । लास अजितकै थियो ।

प्रहरीले पोस्टमार्टमसमेत गरेको भनेको थियो । तर, मृतकको शरीरमा कहीँ–कतै चिरफार गरेको भेटिएन । आफन्तले गाडिएको लास पुनः उत्खनन गरी काठमाडौंस्थित शिक्षण अस्पताल ल्याए । उक्त शव अझै अस्पतालमा छ ।

अजितका परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले युवतीका माइतीपक्षका चार जनालाई पक्राउ गर्यो । तर, जिल्ला अदालतले तारेखमा छाड्यो ।

पोस्टमार्टम रिर्पोट नै गलत बनाएर प्रहरीले दोषी उम्काउन खोजेको ठहर व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समिति अन्तर्गतको उपसमितिले गरेको थियो ।

तर आजसम्म आइपुग्दा कति गृहमन्त्री बने, कतिले भाषण दिए, तर अजितको शवले न त अन्तिम संस्कार पायो न त न्याय नै । अजितको मुद्दा अहिले उच्च अदालत पाटनमा बिचाराधीन छ।

यति मात्र होइन नवराज बिक, सम्झना बि.क, निर्मला पन्त लगायतका कयौं घटना छन् जसको परिवारको आँखामा आँसु अझै ओबाउन सकेको छैन् ।

यी घटनाले आज गृहमन्त्रालय  मात्र होइन सरकारलाई नै गिज्याइरहेको छ।

सरकार अब दलितको मरण कुकुर बिरालोको जस्तै हुने हो ? नहुने भए ७ वर्षसम्म न्यायको पर्खाइमा अस्पतालको मुर्दाघरमा कुहिरहँदा पनि सम्बन्धित निकाय किन मौन छ ?


Author

थप समाचार
x