विचार

जब आफ्नै नम्बर बिर्सिँए...

सुरेन्द्र नेपाल श्रेष्ठ |
साउन ११, २०८० बिहिवार १३:९ बजे

नेपाल छाडेपछि पहिलो पटक एक जना नेतालाई लण्डनमा भेटियो । कार्यक्रम सुरु भइसकेको थियो । टाढाबाट नमस्कार गरियो । म अलि छिटो निस्कन पर्ने थियो । वहाँको छोरी पनि कानुन विषयमा अध्ययन गर्न आएको भन्ने सुनेकोले सम्पर्क गर्न उचित लाग्यो । फोन नम्बर लिने कुरा भयो ।

मेरो फोन दिउँसोदेखि नै ब्याट्री सकेको थियो। मेरो नम्बर दिन खोजेँ । धेरै पटक भन्न खोज्दा पनि आफ्नो नम्बर नै सम्झिन सकिएन। धेरै पटक कोशिस गर्दा पनि नसके पछि टाउको झुम्म भयो । त्यसैले सानो कागजमा नम्बर टिपेर बिदा भएँ । मलाई  यस्तो समस्या अहिलेसम्म भएको थिएन । बेलुकी घर आएर तुरुन्त त्यो नम्बरमा टेक्स्ट पठाएँ ।  जवाफ आएन । भोलिपल्ट दुई घन्टी मिस कल गरेँ । जवाफ आएन । भेटमा कुरा नभएकोले एक पटक फोनमा भए पनि केही कुरा गरौं जस्तो लागेको थियो तर पाइएन। नेताजी फर्किनु भयो तर मेरो फोन र टेक्स्टको जवाफ आएन ।


अस्ति आइतबार काममा आउनुभन्दा अलि अगाडि एक ठाउँमा पसेर आउने सुर चल्यो । बाटो एकातिर नै भएकोले कहिले कहीँ चिया गफ हुने गर्दथ्यो ।  बाहिर निस्कँदा बाटो पत्ता लगाउन यसो मोबाइल खोलेको ब्याट्री त रातोमा पुगिसकेछ । अघि पछि पनि आउने बाटो भएकोले अलि पर पुगे पछि म्याप नचाहिने भयो । तर मैले बाटोभरि सम्झिँदै आएँ कथम् कदाचित केही भवितव्य पर्यो भने कसरी सम्पर्क गर्ने होला ? लौ कसैसँग मोबाइल त मागम्ला तर फोन कसलाई गर्ने होला ? आफ्नो नम्बर त भुल्नेले अरुको नम्बर सम्झिने कुरा नै भएन ।

मलाई अर्को कण्ठ आउने नम्बर भनेको कान्छी छोरीको मात्र हो । त्यो पहिला मिनुले (श्रीमती )चलाउने भएकोले सम्झेको थिएँ । अहिले त्यो फोन छोरीले चलाउँछिन। उनी अहिले नेपाल पुगेकी छिन् । पहिला नेपालमा हुँदा केही नम्बरहरु कण्ठ हुन्थ्यो। केही त अहिलेसम्म सम्झना छ । यहाँ आएर पनि रेस्टुरेन्ट हुँदा खेरिको प्राय सबै ल्याण्ड लाइन नम्बर याद छ । तर अन्य कुनै नम्बर सम्झिन सकिँदैन। फोन सम्पर्क बिनाको समस्याबारे दिनभरि कल्पना गरेर बसे । पहिला त डायरीमा आवश्यक नम्बरहरु राख्‍ने गरिन्थ्यो अब त्यो चलन पनि छैन् । मोबाइल ब्याट्री मात्र सकिए त चार्ज  गरेपछि प्रयोग गर्न सकियो । फोन नै हरायो वा ब्याट्री सकियो भने त आपतकालीन अवस्थामा केही गर्न नसकिने भयो । 

त्यसैले सबैभन्दा पहिला मिनुको नम्बर कण्ठ गर्ने प्रयास गरेँ । दुई दिनसम्म नम्बर सम्झेर फोन गर्ने कागजमा लेख्ने अनि पटक पटक दोहर्याउन थाले पछि याद भयो । त्यस्तै जेठी छोरीको नम्बर पनि सम्झिने कोशिस गरेको छु । आफूसँग सम्बन्धित वा केही महत्वपूर्ण अंकहरु भए सम्झिन सरल हुन्छ । जस्तै मिनुको नम्बरमा पहिलो तीन ०७८ त फोन कम्पनीले प्रयोग गर्ने मध्येको नम्बर भयो । त्यस पछिको ३० मिनुको नेपाली जन्म साल । पछाडिको तीन नम्बर एक वर्षमा हुने दिन ३६५  ।

अब मैले सम्झन पर्ने बीचको तीन नम्बर मात्र भयो । त्यस्तै छोरीको पनि ०७५ सम्झे पछि हाम्रो विवाह गरेको साल ४८ बीचको चार अक्षर दुई दुई गरी सम्झे भयो । अन्तिमको मैले कलेज सुरु गरेको वर्ष ३९ साल। तर कुन दिन बिर्सने हो भर छैन । त्यसैले केही सम्पर्क व्यक्ति र गाडी केही भए आवश्यक ब्रेक् डाउन कभरको नम्बर अनि इन्सुरेन्सको विवरण सानो कागजमा लेखेर पर्समा राख्‍ने निर्णय गरियो । यति भए पछि केही नभए पनि मन भने ढुक्क हुनेरहेछ।

फेरि त्यो मैले कागजमा टिपेर ल्याएको नम्बरको याद आयो । कतै गलत नम्बर त टिपिएन भन्ने शंका लाग्यो । यदि अरु कसैलाई नै मेरो म्यासेज गएको भए जवाफ आउन पर्छ भन्ने पनि भएन। कल पनि किन फर्काउन पर्यो र ? आजकाल कसैले फोन गर्ने अनि कल ब्याक गर्यो भने विभिन्न किसिमको स्क्याममा परिने डर पनि हुन्छ। यिनै कुराहरु सम्झिँदै गर्दा छोटो अनुभूति लेख्‍ने सुर चल्यो र लेख्‍न थालेँ । लेख्दा लेख्दै फेरि एक पटक सम्पर्क गर्न मन लाग्यो। फोन उठेन तर केही समय पछि भने कल ब्याक आयो । नम्बर सही नै टिपेको रहेछु । छोटो कुरा भयो । मैले त्यो नम्बर सम्पर्कको लागि केही साथीहरुलाई दिन पर्ने थियो दिएको छु। 

सम्पर्कको उपाए नभएको कारण धेरैले समस्या झेल्न पर्दछ। यस्तो समस्या समाधानको लागि विभिन्न देशमा राष्ट्रिय रुपमा रेडियो तथा टेलिभिजनमा नै विशेष कार्यक्रमहरु पनि संचालन गरिएको हुन्छ । संसारभरि नै यस्तो टुटेको सम्पर्क जोड्नको लागि विभिन्न परोपकारी संस्थाहरु पनि सक्रिय छन् । 

मेरो मिल्ने एक जना साथीले आफन्तको फोन लेखेको कागज पानीले भिजे पछि अन्दाजले फोन गर्दा अन्त पुगेको र उनीसँग नै सम्पर्क बढेछ । कुराकानीकै क्रममा विवाह गर्ने उमेर पुगेकोले आफन्तसँग सल्लाह गर्न फोन गर्न खोजेको नम्बर नै पाउन सकिएन भनेछन् । हामीले  खोजेर हुन्छ भने सहयोग गरौँलानी भने पछि अगाडि बढेको कुरा विवाह भएर दुई छोरासहित अहिले विदेशमा नै बसोबास गर्ने साथीको कुरा सुनियो । खासै कथा नलेख्‍ने मैले जोडजाड गरेर पहिलो पटक 'गलत नम्बर' भनेर लेखेको नै छु। 

फोन नम्बर हराउँदा केसम्म हुन्छ भन्ने अर्को पीडादायी घटना पनि सुनेको छु ।  हामीले पहिलो पटक एक पाकिस्तानी साहुसँग लिएको रेस्टुरेन्टमा एक जना अलि उमेर गइसकेका स्कटिस गोरा फ्रेड क्विल्च पनि थिए । दिउँसो सरसफाई गर्ने आलु प्याज छिल्ने ,बेलुकी भाडा माझ्ने कहिलेकाहिँ डेलिभरी पनि गर्ने गरेको रहेछ ।माथि कोठामा बसे बापत् कोठा भाडा अलि कम दिने र काम गरे बापत केही पैसा लिने गरेका रहेछन्। हामीले रेस्टुरेन्ट लिँदा कसैसँग पनि गाडी चलाउने लाइसेन्स थिएन । उनले चलाउने गरेको निशान गाडी साहुको नै भएकोले त्यो पनि आउने नै भयो। हामीलाई गाडी र ड्राइभरसहित रेस्टुरेन्ट हात लाग्यो । बुढा एक्लै बस्ने। बिहानदेखि बेलुकीसम्म रक्सि बियर जे भेट्यो त्यही पिउँनुपर्ने। ब्युँझेपछि नसुतेसम्म हातमा चुरोटको ठुटो हुने।

हामीलाई चाहिने सरसामान लिन र बेलुकी खाना डेलिभरी गर्न सहयोग त् गर्थ्यो। तर हप्ता बुझे पछि सोमबार प्राय उसको बिदा हुने भएकोले यति धेरै पिउने कि गाडी चलाएर नै आउने तर घर पत्ता नलागेर बाटोमा नै छाडेर हल्लिँदै आउने। पैसा नसकेसम्म सबै पिएर सक्काउने । चुकुल लगाएर कोठा भित्र बस्ने। कति पटक त जबर्जस्ती कोठा खोल्न लगाउन पर्ने। पैसा सकेपछि त कहिलेकाहिँ तल स्टोरमा भएको बियर पनि पिउन थाल्यो । केही समय पछि काउन्सिलले दिएको अर्को ठाउँमा जाने बन्दोबस्त मिलाएर पठाई दिएका थियौँ । हामीले उसको परिवारको बारेमा बेला बखत शोध खोज गरेको पनि हो । खासै यसबारे बोल्न चाहँदैन थियो तर मुड चलेको बेला केही भनी हाल्थ्यो। ओछ्यानको मुनि लुकाई राखेका केही फोटोहरु पनि देखाउँथ्यो।  

दुई छोरी र एक छोरा रहेछन् । श्रीमतीसँग पारपाचुके भएपछि घर छाडेका थिए । वरिपरि के बस्नु भनेरे केही समयपछि स्कटल्याण्ड नै छाडेछन् । महिनामा एक दुई पटक छोराछोरीहरुसँग सम्पर्क हुने गरेको रहेछ फोनमा । विशेष चाड पर्व र फादर्स डे मा हुलाकबाट कार्ड पनि पाउने गरेका थिए। बेला बखत बुढाले केही पैसा खर्च पनि पठाउने रहेछ। मानिस सानो ज्यानको भए पनि ठूलो लरी चलाउने काम रहेछ। कमाइ ठीकै थियो । एक्लो ज्यान पिउँने आदत बढेपछि काम छाडेर सरकारबाट पाउने खर्चमा नै निर्भर परेछन् ।

कोठा सर्ने क्रममा टेलिफोन नम्बर लेखिएको कपी हराएछन् । सम्पर्क गर्ने अन्य उपाए खोजी गर्न मन लागेन रे । आफू घर पनि सर्दै हिँडेकोले कार्डहरु पाउने कुरा पनि भएन । चाहेको भए कुनै उपायले सम्पर्क कायम हुन्थ्यो होला तर आफ्नो यो हाल भएको अरुले थाहा नपाओस् भन्ने लाग्यो रे। मरे पछि आफूसँग दिनलाई केही बाँकी नहुने भएकोले एक्लो जीवन नै ठीक रे । यही पिउने दुर्व्यसनीबाहेक उनमा कुनै समस्या थिएन । औषधि  खाने अस्पताल जाने गरेका थिएनन् । कहिलेकाहिँ सामान्य बिमार हुँदा अस्पताल जानु पर्छ नि भन्दा होइन केही दिनमा ठीक हुन्छ जान पर्दैन भन्थे । डाक्टर देखाए के के समस्या छ सब थाहा हुन्छ आखिर मैले पिउने छाड्ने होइन बाँचुन्जेल किन बेकारको चिन्ता थप्नु भन्थे । 

फोन नम्बरको प्रसङ्ग चल्दा मलाई एक जना साथीको अहिले पनि याद आउँछ। उहासँग मेरो लामो उठबस थियो । यहाँ आइ सकेपछि पनि मोबाइलको त्यति प्रचलन नहुँदा नेपालमा कसैको घर वा अफिसको नम्बर चाह्यो भने सम्पर्क गर्ने गरेको थिएँ । अहिले पनि उहासँग सम्बन्धित कसैको नम्बर चाहियो भने सबभन्दा पहिला उहाँलाई नै म्यासेन्जरमा सोध्छु एक छिन पछि जवाफ आइहाल्छ । एक दिन कुरै कुरामा अहिले पनि पहिला जस्तो नम्बर याद हुन्छ र भनेको मलाई चाहिने जति प्राय सबैको मोबाइल नम्बर पनि कण्ठ छ भन्नु भयो । म तीन छक्क परेँ। मैले पहिला तपाईँ त दूर संचारमा काम गर्ने भएर फोन नम्बर पनि धेरैको याद हुन्छ  भन्ने गर्थे ।  त्यस्तो हैन यो लामो नम्बरलाई छोटो छोटो गरी सम्झिने र फोन गर्न पर्दा कन्ट्याक्टमा नगई त्यहीँ सम्झेको नम्बरलाई बारम्बार प्राक्टिस गर्ने हो भने आफूलाई चाहिने र धेरै प्रयोग हुने नम्बर सम्झिन सकिन्छ रे । अब केही नम्बरहरु सम्झिने कोशिस गर्छु म पनि । हुन् त अहिले त् हप्ता दिनसम्म पनि अति सीमित साथीहरुसँग मात्र कुरा हुन्छ। आक्कल झुक्कल फोन गर्न धेरैको त सम्झिन परेन नै। 

अहिले पनि मैले मेरो एक जना मिल्ने गोरा साथी थाइल्याण्डमा भएको जानकारीसम्म पाएको छु । तर सब उपाए लगाउँदा पनि सम्पर्क हुन् सकेको छैन । उनैलाई सम्झेर 'मेरो हराएको साथी ड्यारन' भनेर उनीसँग बिताएका पलहरु र अब एक पटक भेटेर पेटभरि बात मार्ने रहर भएको भनेर लेखेको छु। हामी अवसरको खोजीमा यहाँ आएका छौँ । यहाँ उसले सानो उमेरमा नै धेरै उपलब्धिहरु हात लगाई सकेका थिए तर किन अन्यत्र बसाइँ सरे बुझ्न मन लागेको छ। हेरौँ यो धोको पुरा होला वा नहोला ?


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x