विचार

शिक्षाको स्तरीय मापदण्ड के हो ? राज्य कहाँ चुकिरहेको छ?

ईश्‍वरीप्रसाद पोखरेल |
भदौ २६, २०८० मंगलबार १५:१८ बजे

शिक्षाको महत्व

नागरिकमा अनुशासन र सिकाइ वातावरण स्कूलका भनौँ वा शैक्षिक संस्थाका सबैभन्दा अनुकरणीय तथा राम्रा पक्ष मानिन्छन्।राम्रा स्कूल वा शैक्षिक संस्थाहरूले आफ्ना देशको हरेक आवश्यकता सम्बोधन गर्ने जनशक्ति विकासका साथै, विश्वव्यापी प्रतिस्पर्धी नागरिकहरू तयार पार्ने वा विकासका लागि काम गर्ने विश्वास शिक्षक वा प्राध्यापकको सहयोगमा प्राप्त हुने आशा गर्दछन् । शिक्षाको वास्तविक अर्थ समाजका अरू समुदायका भावनालार्इ राम्ररी समझ्ने र दया, प्रेमको भावनामा विद्यार्थीलार्इ अगाडि बढ्न बढावा दिने विश्वासमा काम गर्ने साहस नै वैज्ञानिक शिक्षा प्रणालीको सकारात्मक नतिजा हुन्छ।


शिक्षाको आधार जग व्यवस्थापन

प्रारम्भिक बाल्यकाल शिक्षामा उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्ने गरी सिकाइ प्रयोगशालाहरू विद्यालयमा कति व्यवस्थित छन् ? सहजकर्ताहरूको सिकाइ सक्षमता विकासका साथ प्रशिक्षण मोडेलले सिकाइलार्इ कति प्रभाव गरिरहेको छ? बालकेन्द्रित सिकाइ वातावरण र सहजकर्ता सहजीकरण विधि अवधारणा विद्यालयमा लागू गरिएको छ वा छैन? कतै आधारभूत तहको शिक्षा नै कमजोर र भविष्य बर्बाद पार्ने खालको त छैन? यी विषयमा हरेक विद्यालय र स्थानीय समाज तथा स्थानीय तहका सरकारी निकायमा व्यापक बहस हुनै पर्ने हुन्छ।

बालविकास शिक्षाको महत्व

बालविकास केन्द्रमा उपस्थित हुने विद्यार्थीहरूलाई हेरचाह गर्दा, शिक्षण सिकाइका आधारभूत जग निर्माणका आधार खडा गर्दा, पोषण र स्वास्थ्य पक्षको ठूलो लक्ष्य चाहिँ समाजलार्इ रोगमुक्त र पोषणयुक्त बनाउनु हुन्छ । यसैकारण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बालबालिकाको क्षमता विकास र दक्षता वृद्धिमा प्रजातान्त्रिक अभ्यासको प्रारम्भ गर्ने शैली बालविकास केन्द्रबाट शुरूवात हुनुपर्दछ ।

समाजका धनीमानी र शिक्षित वर्ग आफैँ सचेत भएकोले प्रारम्भिक बाल्यकालमा सबैभन्दा बढी र विशेष प्राथमिकतासाथ सीमान्तकृत बालबालिकाहरूलार्इ राज्यको पहुँच पुर्याउन नीति, नियम र कार्यक्रममा उच्च प्राथमिकता राख्नु उचित हुन्छ । प्रारम्भिक बाल्यकालका उमेरका बालबच्चासँग काम गर्नेहरूले पोषण र स्वास्थ्यसम्बन्धी व्यावसायिक ज्ञान, सीपको रूपमा प्रारम्भिक बाल्यकालका बच्चाहरूलार्इ खानपान र शारीरिक अभ्यस्त बनाउँदा उचित चिकित्सकहरू विकास गर्न पनि सहयोग पुग्दछ, भन्ने देखिन्छ ।

गुणस्तरीय विद्यालय शिक्षा व्यवस्थापन

गुणस्तरीय विद्यालय त्यो हो, जहाँ देशको भूगोल, भाषाभाषी, जातजाति, संस्कृति र मूल्यमान्यतामा विकासका अवधारणा र अभ्यासको सम्मान गर्दै हुर्किएका विभिन्न समुदायका बालबालिकाहरूलाई समानता र विभेदरहित वातावरणमा शिक्षा दिने व्यवस्था सिर्जना गर्नु हो । साथै,विद्यालयभित्र विज्ञान प्रविधि-समर्थित विश्व परिवेशअनुसारको आधुनिक शिक्षाका चुनौतीहरूको सामना गर्न सक्ने अनेकौँ वैकल्पिक उपायका गुणस्तरीय शिक्षा विधिको मार्ग वा माध्यमबाट ज्ञान र सीप प्राप्त गर्न विद्यार्थले अवसर पाउँने सुनिश्चितता हो ।

विद्यालय शिक्षाका मुख्य क्षेत्र

बालबालिकाहरूका लागि संज्ञानात्मक, सामाजिक, शारीरिक र भावनात्मक विकासको पक्षलाई प्रोत्साहित गर्ने सिकाइ र शैक्षिक वातावरण मुख्य कुरा हुन्छ । यी पक्ष हासिल हुने शैक्षिक प्रबन्ध मिलाएर गोलाकार पाठ्यक्रम र अतिरिक्त-पाठ्यक्रमका गतिविधिहरू शिक्षणमार्फत गर्नु स्कूलको कर्तव्य ठानिन्छ । यसरी हरेक चुनौतीपूर्ण सिकाइ वातावरणलाई कक्षाकोठामा बढावा दिएर, शिक्षकको सहजीकरणमा विद्यार्थीहरूमा आलोचनात्मक चेतना वृद्धि, चिन्तकहरूको रूपमा विकास, जल्दाबल्दा समस्याहरूको विश्लेषण, समीक्षा क्षमता तथा समाधानकर्ताहरूका रूपमा बालबालिकाहरूलार्इ विकास गर्ने राम्रा विद्यालयहरूको मुख्य लक्ष्य हुन्छ ।

शिक्षण विधि तथा जनशक्ति विकास

शिक्षण संस्थाहरूबाट असल तथा सक्षम नागरिकको पहिचान गर्न र विकासका लागि स्वतन्त्र व्यक्तिहरू, सधैं परिवर्तनशील दक्षताको सम्मान गरिनुपर्ने हुन्छ । नागरिकले आफू समाजमा सफल हुन आवश्यक नयाँ नयाँ सीपहरू प्रदान गर्ने जीवनोपयोगी दक्षताको खोजी गर्दछन् । बजार माग अनुरूप प्रतिस्पर्धी र परम्परागत ज्ञान, सीप र दक्षतायुक्त शिक्षार्थीहरूको उत्पादनलार्इ असल र सफल विद्यालयमा जोड दिइन्छ ।

संसारको गतिअनुसार नवीन शिक्षाको आयाम विकास, सुदृढीकरण र वितरण गर्ने व्यवस्था मिलाउनु नै असल र सफल विद्यालयहरूका शिक्षकहरूको दायित्व हुन्छ । यसैले विद्यालयहरू परम्परागत मूल्यमान्यता र आधुनिक विकासको उत्कृष्ट मिश्रणलाई समेट्ने गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट अभ्यासहरूको पहिचान र सुधार गर्ने सन्तुलित दृष्टिकोणबाट सञ्चालित गर्ने शिक्षक विकासमा लाग्नु पर्दछ ।

शिक्षा र स्वाभीमानी नागरिक विकास

जुनसकै शिक्षाले स्वदेशको आवश्यकतालार्इ पहिलो प्राथमिकतामा राख्दछ । नेपाली विद्यार्थीहरूलाई नैतिकशील र आचरणयुक्त बनाउँदै, देशप्रेम र सामयिक दक्षताका धनी बनाउन विश्लेषणात्मक स्वतन्त्र चिन्तक बन्ने अवसर दिनै पर्ने हुन्छ । राज्यका हरेक क्षेत्रमा पारदर्शी ज्ञान र सीप विकास प्रतिबद्धताका साथ, आफ्नो देशको वर्तमान शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको जानकारी दिनुपर्दछ।सबै पक्षको सकारात्मक तथा नकारात्मक प्रभाव र सम्भावनाहरूको विश्लेषण क्षमता उच्च शिक्षाका विद्यार्थीमा हुनु आवश्यक देखिन्छ । यसर्थ विद्यालय तह हुँदै उच्च तह सम्मको दुवै किसिम (प्राविधिक तथा साधारण) शिक्षा गुणस्तर तथा व्यवहारमूलक हुने प्रणालीका बारेमा सचेत र इमानदार हुनै पर्दछ । हाम्रा शैक्षिक संस्थाहरूले तह, उमेर र बालबालिकाहरूको मानसिकताअनुरूप उनीहरूको भविष्यप्रतिको बुझाइ तथा भावी दृष्टिकोण जोडेर शिक्षा पद्धति प्रबन्ध गर्ने निरन्तर काम राज्यका निकायहरूले अनुगमन र नियमन गरिरहेका छन् वा छैनन् ?  नागरिकहरू सचेत हुनै पर्दछ।

गुणात्मक शिक्षाको द्योतक नागरिक स्वायत्तताको विकास

विद्यार्थीहरूमा आलोचनात्मक विचारधाराहरूलाई पोषण गर्न, गराउन कक्षा कोठाभित्र र बाहिर एक समृद्ध अनुभव प्रदान गरेर सिक्ने प्रणाली पाठ्यक्रमबाट प्रारम्भ हुनु पर्दछ । नागरिक तथा विद्यार्थीको दृष्टिकोण अन्तरविषय, अनुभवात्मक सिकाइ अनुभूति र सहयोगी विचार समावेश हुनै पर्दछ । यसैले राम्रा र गुणात्मक शिक्षा दिने विद्यालयहरूले अकादमिक उत्कृष्टताको परम्परा भएका विद्यालय वा शैक्षिक संस्थाका रूपमा पूर्वाधार विकास गर्न सक्नु पर्दछ । विद्यार्थीहरूलाई ज्ञानको संसार अन्वेषण गर्न मात्र नभई उनीहरूको व्यवहारिक कार्यलाई पनि प्रोत्साहित गर्ने वातावरण सिर्जना गर्न विद्यालयहरूले काम गर्नै पर्दछ । यसरी तयार भएपछि बालबालिकाहरू देश र जनताप्रति चिन्तित हुने र समाज, घरपरिवार र नागरिक कर्तव्यप्रति अझ जिम्मेवार बन्न र जवाफदेही हुने चरित्रमा हुर्कन्छन् । यो किसिमको शिक्षा प्रणालीले संसारको विकासमा धेरै फरक पार्ने र आफ्नो भूमिका के हुने ? भन्ने चिन्ता गर्न थाल्दछन् ।

शिक्षक विकास तथा जवाफदेहिता

गुणात्मक विद्यालयका शिक्षकहरूले निरन्तर पेशागत व्यावसायिक विकासको अवसर प्राप्त गर्दछन् । उनीहरू तोकिएको जिम्मेवारी पूर्ण गर्न उच्च उत्प्रेरित भएर विद्यालयको दृष्टिकोण तथा लक्षित दर्शनअनुसार देश र विश्वमा काम गर्ने विद्यार्थीहरूको समुदाय विद्यालयमा बनाउँछ।शिक्षकहरूको टोली बनाएर समूहका प्रत्येक सदस्यको लागि प्रशिक्षण र अवसरमा सामाजिक न्याय खडा गरी विद्यार्थीहरूलाई सकारात्मक चरित्र भर्ने विद्यालय संस्कृति सिर्जना गर्न शिक्षकहरू प्रतिवद्ध हुन्छन्। शिक्षक र विद्यार्थीहरू देशको भविष्यका बारेमा आशावादी हुन्छन् र आफ्नो भविष्यप्रति ढुक्क हुन्छन्।यसरी विद्यालयको शिक्षा र गुणस्तरप्रति सबै जिम्मेवार हुँदै जवाफदेही हुन पुग्छन्।

शिक्षाको विषय तथा पाठ्यक्रम ढाँचा

समाजको गति अनुसार परिवर्तनकारी शिक्षा प्रदान गर्न विद्यालयले कोसिस गर्छ । देश, समाज र विश्वका सक्षम नागरिक तयार पार्न राम्रोसँग सोचिएको तथा तयार गरिएको पाठ्यक्रमद्वारा आवश्यक जनशक्ति विकास गतिविधि तथा शिक्षण विधि विज्ञबाट समर्थित हुन्छ । यसले विद्यार्थीहरूलाई दयालु मानव बन्न वातावरण तयार गर्दछ । शिक्षकको सहजीकरण तथा निर्देशनमा आफ्नै प्रयासले समस्याहरू समाधान गर्न सक्छ र जिज्ञासु र सिकारूलाई उत्प्रेरित गर्न सहकार्य गर्न पनि सिक्न सक्छ । पाठ्यक्रम ढाँचाका आधारमा शिक्षण सिकाइ र नतिजा व्यवहारिक र गुणस्तरीय बनाउन सामूहिक रूपमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको लागि गतिशील सिकाइ वातावरण सिर्जनामूलक बनी नवीन सिर्जना उत्पादन हुन पुग्दछ।

शिक्षण विधि र विद्यार्थी सहभागिता

विद्यार्थीहरूले गरेर सिक्ने, सिर्जनशील चिन्तनलार्इ मलजल गर्दै, जीवनोपयोगी सीपका धनी शिक्षार्थीहरूको समाजमा विकास गर्दै, विविध पक्षका विकास आयाम पक्षमाथि अन्तरक्रिया गर्दै, विद्यार्थीहरूका दृष्टिकोणहरूलाई सम्मान गर्दै, आयोजना, परियोजनामा आधारित सिकाइ वातावरण तयार गर्दै, शिक्षण सामग्रीहरूबा धनी र समृद्ध कक्षाहरू निर्माण गर्दै, विद्यालय परिवार,शिक्षक तथा विद्यार्थीलाई विषयगत  क्षेत्र यात्राहरूको व्यवस्था गर्दै, सामाजिक उत्तरदायित्व भावनात्मक शिक्षा प्रणाली,सेवामूलक शिक्षा पद्धति तथा उच्च योग्यताका नागरिकले शैक्षिक संकायको नेतृत्व हुने वातावरण स्थापना गर्दै, अगाडि बढ्ने सफल र असल विद्यालयको मुख्य धेय हुनुपर्दछ।

यसका लागि बालबालिकाको मानसिक पालनपोषण गर्ने ज्ञानमूलक तथा व्यावसायिक सीप विकासको वातावरण सिर्जना गर्नमा विद्यालय समुदाय पूर्ण विश्वासका साथ सहभागी हुनै पर्दछ।सिकाइका लागि शिक्षण विधि तय गर्ने विज्ञहरूले विद्यार्थीमा आलोचनात्मक सोच र नवीन जीवनभरका अनुभूति तथा सिकारुहरूबाट सकारात्मक प्रतिफल निकाल्न विद्यालयले खेती गर्न सक्नु पर्छ। विद्यार्थी र शिक्षकले चुनौतीहरूलाई सहजै अँगाल्ने र परिस्थिति अनुकूलन गर्ने तथा सधैं परिवर्तनशील संसारमा आफ्नो अस्तित्व फस्टाउने, मानवमा दयालुपन र सामाजिक चरित्र विकासमा प्रतिबद्ध हुने खुला विचार भएका विश्वव्यापी नागरिकहरू तयारीमा शिक्षण विधि र विद्यार्थी सहभागिता अनिवार्य हुनै पर्दछ। यसले मात्र शिक्षाको गुणात्मकता बढ्छ।

लेखक शिक्षाविद तथा पूर्व शिक्षा प्रशासक हुन् ।


Author

ईश्‍वरीप्रसाद पोखरेल

पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन् ।


थप समाचार
x