विचार

समृद्धि युवा अभियान के हो ? किन हुँदैछ लोकप्रिय ?

सरोज भट्टराई |
असोज ११, २०८० बिहीबार १०:५२ बजे

नेपालको पाटन दरबार बन्दा अमेरिका देश बनेको थिएन। नेपालका कतिपय मन्दिरहरु बन्दा संसारका कतिपय आधुनिक देशहरु अस्तित्वमा थिएनन् । पूर्वीय दर्शनले "जबसम्म सबैको सुखको प्रत्याभूति हुँदैन तबसम्म कुनै एक जनाको मात्र सुख सम्भव छैन" जस्ता सामूहिक जितको सर्वमान्य कल्याणकारी दर्शन भनिरहँदा पश्चिमी सभ्यताको विजारोपण हुन बाँकी थियो ।

तापनि आज हामी पश्चिमको दाँजोमा कयौं वर्ष पछाडि किन छौँ ? यसको कारक के ? आधुनिकताका नाममा पश्चिमिकरणको अनुसरणबाट हाम्रा मान्यता,संस्कृति र राज्य संयन्त्र नै उपनिवेश किन भए ? आफ्नो मौलिकता र रैथाने प्रवृत्ति नामेट भए। सभ्यता लोप भए तर हामी भने दूध बेचेर कोक खाइरहेऊँ। 


बिरामी देश/समाजलाई निदान गर्न बौद्धिक संस्था (Think tank) हो । 'राष्ट्र बिरामी छ सबैतिर अन्धकार छ तर हामीलाई यो थाहा छ कि अँध्यारो भएपछि मात्र हामीले तारा देख्न सक्छौँ ।'  स्खलित  नैतिक मान्यताको पुन: जागरण गर्दै अक्षम,अदूरदर्शी र स्वेच्छाचारी राजनीति नेतृत्वलाई सचेत गराउँदै जनताको रुग्ण चेतनास्तरलाई आशाको रुपमा अभिवृद्धि गर्दै देशभक्ति भावमा आएको ह्रासलाई जागृतिको माध्यमबाट बढवा दिने बौद्धिक व्यक्तित्वको मोर्चाबन्दी हो समृद्धि युवा परिषद् ।

समाजमा व्याप्त अन्तर्विरोध र गोलचक्करलाई मिहिन ढंगले सतही कारणलाई ठम्याइ छलफलको माध्यमबाट चेतना निर्माण गरी सर्वसाधारणमा विद्ध्यमान विपन्नता,दरिद्रता र समाज/देशप्रतिको आमधारणालाई व्यवहारिक रुपबाट चेतनाको निर्माण गर्ने गैरराजनितिक स्वायत्त सस्था हो समृद्धि युवा परिषद् ।

समाजका  विभेदकारी संरचना र यसभित्रका जटिल अन्तरविरोधलाई कसरी बुझ्ने ,निदान गर्ने र उन्नत समाज व्यवस्था निर्माण गर्ने विचार केन्द्रित गर्दै पर्दा पछाडिका वा  किसानको आवाजलाई केन्द्रमा राखेको समस्य समाधानमा उन्मुख हुनु युवा परिषद्को अर्को महत्त्वपूर्ण हिस्सा हो ।

मौलिकतालाई नामेटपारी च्याउ झैँ उम्रेका नवउपनिदेश वा मानसिक उपनिविशको दलदलमा जेलिएको छ । अहिलेको नेपालीको राष्ट्रिय मनोविज्ञान । फलतः यहाँ केही हुँदैन सोच्नाले पलायनवादी मानसिकता हाबी भएको उदाहरण पछिल्लो समयको विश्वविद्ध्यालयको कक्षाकोठामा भन्दा कन्सल्टेन्सीमा लामो लाइन हुनु आलो प्रमाण हो।

शिक्षामा आज बृहत् भ्रष्टाचार अनि उत्पादनमा परनिर्भरता मौलाएको छ। यस्तो बेथिति जानीजानी गराइएको छ। जब नेतृत्व वर्गको विचार,सिद्दान्त र आदर्श स्खलित हुन्छ ,तब समृद्धिको यात्रामा खिया लाग्छ। फलतः आज नेतृत्व पङ्क्ति दिमाग शून्य भएको छ। यस्तो विकृति देखादेख पचाइरहेका छन्। युवा, विद्यार्थीको दिमाग देशविहीन बनाइएको छ। यो तथ्य निर्विवाद छ, शिक्षा र मौलिक संस्कृतिको समाप्ति भनेको देश बर्बादीको अन्तिम खुट्किला हो। यी दुई चिज गुमेपछि फिर्ता ल्याउन सकिँदैन। जसको विकल्प जागृतिको माध्यमबाट आम सचेतता नै हो।

शिक्षा र संस्कृति नै ध्वस्त पारेपछि, देशभक्ति ध्वस्त हुन्छ। अन्तिममा जब देशभक्ति समाप्त हुन्छ, त्यतिबेलाको दुष्परिणाम– व्यक्ति श्रम होइन, पैसाको थैलोको सपना देख्न थाल्छ। ऊ श्रमबाट उत्पादन होइन, विदेशमा पैसाको खानीको सपना देख्छ। त्यतिखेर उसलाई परिवार र समाज वाहियात लाग्न थाल्छ। अनि उसले समस्या आफूमा होइन, देश, समाज र परिवारमा देख्छ। पश्चिमी मुलुकलाई आज यसकारण विदेशीको आवश्यक पर्छ, किनकि उनीहरुको युवा जनसंख्या सकियो। श्रमको सम्मान गर्दै आफ्नोपन र मौलिपनको रक्षा गर्नु भनेको देशभक्तिलाई सबल बनाउनु हो ।

कम्तिमा सबै परिवारले आफ्नो लागि आवश्यक खाद्यान्न आफ्नै बारीमा उत्पादन गरौं । जबसम्म प्रत्येक  परिवार आफूलाई आवश्यक खाद्यान्न आफैँ उत्पादन गर्न सक्दैन तबसम्म देशको आयात कसरी रोकिन्छ वा कम हुन्छ ? उर्वर भूमि भएका ठाउँमा पनि वर्षभरी खान पुग्ने अन्न कृषकले उत्पादन गर्न सक्दैनन् भने  उत्पादनको माध्यमबाट आर्थिक समृद्धिको र सबल अर्थतन्त्रको यात्रा कसरी तय हुन्छ?

यो नै अहिलेको खाद्यान्न आयातको कारक मध्यको एक प्रमुख कारक तत्व हो। अत: यस्तो सबल पक्षलाई विचार नगर्नु भनेको हाम्रो जस्ता हरितन्नम मुलुकका लागि ठूलो काउसो भिर्नु हो भन्नेमा शङ्का छैन। परम्परागत खेती प्रणालीलाई परिस्कृत र परिमार्जित गर्दै आधुनिकताको ढाँचामा ढाल्नु पर्छ। जहाँ  उन्नत जातको बालीले  रैथाने बालीको विस्थापित नगरोस् ।

कृषकलाई हौसला दिऊँ। थप सहज उपयुक्त वातावरण निर्माण गरौँ। कृषकको उत्पादनलाई बजारीकरणमा सहज बनाउँ। नेपाली उत्पादनलाई प्राथमिकता दिऊँ।

युवा समृद्धिको देश बचाउने साइलेन्ट रिभोल्युसन

जनता नै देश हो भन्ने मान्यतालाई आत्मसात गर्दै देशले हामीलाई के दियो हैन हामीले देशलाई के दियौँ/गरेऊँ भन्ने प्रसङ्गलाई खोतल्दै जनताप्रतिको गौरवपुर्ण इतिहासको पुनरावृत्ति गर्ने समृद् परिषद्को साझा र आधारभूत मुद्दा हो। यो क्रान्ति भित्रको क्रान्ति हो। silent revolution हो। देश बचाउने अभियान हो। देशप्रतिको चिन्ता र दायित्व निभाउनेहरुको पृथक समूह हो। विध्यमान वास्तविक राष्ट्रिय समस्याको पहिचान गरी अध्यन, विश्लेषण,अनुसन्धानमा वैज्ञानिक पद्धतिलाई जोडेर तथ्यबाट सत्यलाई पुष्टि गर्ने बौद्धिक ब्यक्तित्वको सु-ब्यबस्थित जमघट हो।

विदेशी प्रभुत्व र हस्तक्षेपको विरोध गर्दै सामाजिक लोकतन्त्रको माध्यमबाट जनताको आत्मनिर्णयको अधिकारलाई सु-निश्चित गर्ने सड्कङ्ल्प अभियान हो । जसले स्वाधिनताको रक्षा गर्दै विवेकशील,सचेत र देशभक्त सोचको प्रत्याभूति जनतामा गराउन  सकोस् ।

प्रगतिशील, उन्नत, कल्याणकारी राष्ट्र/समाज  निर्माणको अभिलाषासहित भ्रष्ट,स्वामित्वविहीन र बेइमान आम नागरिकलाई जागृति र नयाँ संस्कृतिको निर्माणबाट पुनः स्थापित गरी असल,जिम्मेवार र सचेत नागरिक बनाउने अभिभारा बोकेको सु-ब्यबस्थित बौद्धिक युनिट  हो समृद्धि युवा परिषद् ।

पैसाबाट वस्तुको उत्पादन हैन, पैसामा पैसा लगानी गरी राम्रो मुनाफा कमाउने विकृत पूँजीवादको कुरुप  स्वरुपले निम्त्याएका अति उपभोक्तावाद र शिक्षाको व्यपारीकरण गर्ने लम्पट लुटतन्त्रको प्रवृत्तिको अन्त्य गरि ठालुतन्त्रलाई परास्त गर्ने अर्को अस्त्र युवा परिषद्को मूल एजेन्डा रहेको छ।

विविधताले भरिएको स्वाधिन र इतिहासमा कहिल्यै पराधिन नभएको हाम्रो देश तर अहिले नियंत्रित अस्थिरताको इसारामा आयातित मान्यताको सिकार भइरहेको छ, जस्ले आफ्नो ऎतिहासिक सभ्यता र संस्कृतिलाई लिलाम गरेर नामेट पारियो फलत: व्यक्तिको जीवन पद्धतिले मौलिकता गुमायो । त्यसैले ब्यक्तिको सहज प्राकृतिक  जन्ममा कमी आउँदै गरेको तथ्य हाम्रा सामु घाम जस्तै छर्लङ्ग भएकै छ। 

अबको आवश्यकता विरोध हैन अब चाहिएको विकल्प हो। चरित्र र व्यवहार दुवैमा प्रतिक्रियावादी हैन, सक्रियतावादको पक्षपोक्षण गरौँ। हाम्रो लडाइँ अर्थतन्त्र सुधार्ने हो जसले जनताको बजारमाथि नियन्त्रण होस् र आत्म निर्णयको अधिकारलाई सुनिश्चित गर्न सकोस् 

खासमा युवा समृद्धि अभियान नेपाल  केमा केन्द्रित रहन्छ ....

१) राष्ट्रिय सुरक्षा र स्वधिनताको रक्षा

२)उत्पादन ,स्वनिर्भर र सामाजिक न्याय

३) आर्थिक समृद्धि 

४) सबल अर्थतन्त्र

५) सभ्यता र संस्कृतीको संरक्षण

६)सामाजिक लोकतन्त्रको माध्यमबाट जनताको आत्मनिर्णयको अधिकारलाई सु-निश्चित गर्ने

समृद्धि  युवा अभियान मान्यता 

* रचनात्मक नीतिगत हस्तक्षेप गरि सवल अर्थतन्त्र बनाउन उत्पादनको माध्यमबाट स्वनिर्भर तथा सामाजिक न्याय अभियान जस्ता विविध काम गर्दै छ।

* प्रश्न गर्ने संस्कारको निर्माण गरी आलोचनात्मक चेतको माध्यम मार्फत छलफलबाट सामूहिक हित र उन्नति गर्न 

* अर्थतन्त्र बलियो बनाउने देशव्यापी अभियान

* भ्रमलाई चिरफार गर्न वास्तविकताको उजागर गर्ने जागृति अभियान

 जनतालाई  सोच्न र प्रश्न गर्न क्षमताको बिकास गर्न

*  समाजवाद र सामूहिकतावाद नेपालको वास्तविक, तथ्यगत इतिहास, मौलिकताको समीक्षा गर्दै उत्पादनको संरचना, विकासको योजनाबद्ध ढांचा

तयार गर्ने

* समाजमा देखिएका भ्रम तथा यथार्थको 

विश्लेषण गर्ने

* व्यक्तित्व विकासबाट राष्ट्रको विकास 

युवा समृद्धि  अभियान  किन लोकप्रिय हुँदै ?

युवा समृद्धि परिषद नेपालले विदेशी हस्तक्षेप र प्रभुत्वको निम्ति राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै जनता नै देश हो भन्ने मान्यतालाई शसक्त रुप दिन सामाजिक लोकतन्त्रको पक्षपोषण गर्दछ। सामूहिक नेतृत्व र ब्यक्तिगत जिम्मेवारीको माध्यमबाट अपनत्व र राष्ट्रिय एकतालाई जगर्ना गर्दै जनताका हरेक पक्षमा आत्मनिर्णयको अधिकार सुनिस्चित गर्न तल्लीन रहन्छ।

ठालुतन्त्र र वित्तीय पूँजीवादले निम्त्याएको वर्गीय असन्तुलन र असमानतालाई उत्पादन,स्वनिर्भर र औधोगिकीकरणको नयाँ  शिराबाट स्थानियता वा स्थानीय अर्थतन्त्रको सवलीकरण गरी राष्ट्रिय अर्थतन्त्र निर्माणमा भूमिका खेल्नमा केन्द्रित रहन्छ।

कमजोर सामाजिक सम्बन्धलाई सबल बनाउन जागृतिको मानसिक खुराक उपलब्ध गराई समाज राष्ट्रका विध्यमान अन्तरविरोधको जरामात्र खोतल्दैन हाम्रा लुप्त अवस्थामा रहेका सभ्यता,संस्कृति र रैथाने ज्ञानको सम्वर्द्धन र पुनजागरण समेत गर्दछ। अब भाले बास्यो, निदाउन छोडौँ। उन्नत,सभ्य,कल्याणकारी र प्रगतिशील राष्ट्र निर्माणको यात्रामा नयाँ शिराबाट परिवर्तन गर्न सबैजसो हातेमालो गरौँ।

अब गफ होइन हाम्रो काम गर्ने बेला हो। एउटा सिद्धान्त र रणनीति हाम्रो दिमागमा हुनु पर्छ। डायलेटिक दर्शन, चीनिया यिङ याङ र वैदिक प्रकृति पुरुषमा "विरोधि वा पृथक तत्वको समानजस्यता हुन्छ।" जस्तै ठूलो र सानो। प्रत्येक तत्वको कमजोरी र सामर्थ्य हुन्छ। जस्तै ठूलो जस्तै अमेरीका भोकमरीमा बाँच्न सक्दैन। तर सानो नेपाल सजिलै उत्रन्छ। अहिले हाम्रो शक्ति सानो छ र अरुको ठूलो छ। उनीहरु ठूलो हुनु उनीहरुको सामार्थ्य हो। तर तेही सामर्थ्य उनीहरुको कमजोरी हो। स्वतन्त्र पार्टीमा धेरै मानिस र धन छ। तर उनीहरुलाई जोड्ने कुरा उनीहरुको व्यक्तिगत स्वार्थ मात्र हो, अत उनीहरुको सामर्थ्यले अवसरको विनास गर्छ। उनीहरुको आकार कम्जोर हुन्छ। उनीहरु बीचको एकता कमजोर हुन्छ।

हाम्रो आकार सानो छ। हाम्रो सामर्थ्य यदि विचारलाई बनाउन सकियो भने हाम्रो सामर्थ्यले दरो एकता जन्माउँछ र हाम्रो शक्ति सानो भए पनि टिकाउ हुन्छ।

च्यांङ काइ सेकसँग ३० लाख सेना थियो। त्यो उस्को strength थियो र उस्को आकार ठूलो भएकोले लुक्न भाग्न सम्भव हुँदैन थियो। माओको सेना सानो थियो, यो weakness थियो। तर त्यो लुक्न र तुरुन्तै कहीँ पुगेर आक्रमण गर्न सक्थ्यो। हाम्रो अवस्था पनि यही हो। हामीलाई कसैले हेर्दैन र विरोधको सामना गर्नु पर्दैन। 

तेसैले अहिले विचारलाई खंदिलो पार्ने समय हो। हामीले हाम्रो समाजका अन्तरविरोधलाई राम्रो बुझेर तिन्ले कसरी अहिले अनेक समस्या जन्माए भन्ने कुरा र हाम्रो बाटो के हो भन्ने कुरा बुझाउन सक्नु पर्छ। यो विचार नै तेस्तो हतियार हो जस्ले हजारौं मानिसलाई भोलि हाम्रो पक्षमा उतार्छ। हाम्रो विचार मात्र बजारमा छ्ल्फलको विषय हुन्छ। यो सानो शक्तिको ठूलो अवसरलाई यिङ याङ दर्शन दुई विपरित वा पृथक तत्वको एकता भनिन्छ। अत हाम्रो रणनीति भनेको हाम्रो सानो चुस्त विचारयुक्त शक्तिलाई बजारमा छलफलको अवसर निर्माण गर्नु हो। तर हाम्रो सानो शक्ति विचारले ओतप्रोत भएन भने त्यो अवसर निर्माण हुँदैन। अत हाम्रो भोलि ठूलो शक्ति हुने अवसर हाम्रो मानिस भेला गर्ने र ठूलो देखाउने कुरामा होइन हाम्रो सानो संख्यालाई विचार उन्नत बनाउने हो।

 


Author

थप समाचार
x