विचार

सिक्किममा सत्ता परिवर्तनका कुरा

युवराज घलेभाइ |
असोज १२, २०८० शुक्रवार १५:४ बजे

४० वर्ष भयो राजतन्त्रले ओथरा बसेर चल्ला काढेको सिक्किमको प्रजातन्त्रमा केही दिनदेखि 'गणतन्त्र' वा 'जनतन्त्र' अथवा 'परिवर्तन' र 'व्यवस्था परिवर्तन' के छ र छैन भनेर लफ्फाबाजी सुरु भएको छ । राष्ट्रिय परिभाषामा सिक्किमलाई एउटा राज्यको रूपमा लिँदै दिल्लीको गणतान्त्रिक घण्टी बजाउनेहरू एकातिर छन् अनि अर्कोतिर राष्ट्रिय परिभाषाबाहेक पनि राज्यमा उदारतन्त्र र माननीय परिपाटी रहेको, भारतभित्रकै छिमेकी राज्यहरूभन्दा उत्तम जीवनशैली र शासन व्यवस्था रहेको जिकिर गर्नेहरू डाँडामा उभिएर परिवर्तनको आलाप तानिरहेको छन् । जनतन्त्रको परिभाषा केलाउन खोज्नेहरूलाई खबरदारी गरिरहेका छन् । "पैसा मात्र होइन प्रजातन्त्र" - भन्नेहरूलाई मुख थुन्न खोजिरहेका छन् ।

'क्रान्ति', राजनीतिक आन्दोलनको झट्का या 'सत्ता परिवर्तन' मात्र होइन । यो समग्र परिवर्तन हो, युगान्तर हो । त्यसैले, सच्चा क्रन्तिकारीले राजनीतिलाई मात्र होइन, युग परिवर्तनका सम्पूर्ण अङ्ग-प्रत्यङ्गहरूलाई समायोजित गरेर अघि बढ्नुपर्छ । त्यसो गर्न नसक्दा 'क्रान्ति' अपूर्ण, अपाङ्ग हुन्छ र युगान्तकारी सामाजिक रूपान्तरण हुन सक्दैन । विगतमा राजनीतिक नेतृत्व गर्नेहरूले हाम्रो सिक्किममा यही ठूलो गल्ती गरेका छन् । उनीहरूले राजनीतिक संगठन, संघर्ष र सत्ता-परिवर्तनलाई त निक्कै महत्व दिए, तर दर्शन, कला, साहित्य, संस्कृति, शिक्षा, अर्थ, विज्ञान, प्रविधिजस्ता क्रान्तिका अपरिहार्य अंगहरूलाई समन्वित रूपमा अघि बढाउनु त कताकता त्यस कामको महत्वलाई नै राम्ररी बुझ्न सकेनन् । त्यसैले २००९ देखि २०१९ साल क्रान्तिको स्तरमा पुग्न नसकी आन्दोलनको झट्का र 'सत्ता-परिवर्तन'मा मात्र सीमित हुन पुगे । जसको दु:खद परिणाम आजको सिक्किमे युवा पिँढीले भोग्नु परिरहेको छ ।


नेताहरूमा मात्र होइन, अझै पनि थुप्रै विद्वानहरूमा 'दर्शन' भनेको शास्त्रीय बहस र विज्ञान भनेको आविष्कार र प्रवृत्ति, प्रविधिमात्रै हो भन्ने खालको बुझाइ रहेको छ । 'दर्शन' र 'विज्ञान'  लाई समन्वित गरी संसारका हरेक कुरालाई वैज्ञानिक दृष्टिकोणले विवेचन गरेर व्यवहारमा उतार्ने प्रकृति पर्याप्त रूपले ब्युँझेको देखिन्न । संसारका प्रतिगामी, यथास्थितिवादी र अग्रगामी तत्वहरू कुन-कुन दार्शनिक दृष्टिबाट अभिप्रेरित भएर काम गर्छन् ? यसबारे नेतृत्व पंक्ति सजग भएको भए उसले कार्यकर्ता पंक्तिमा आधुनिक लोकतन्त्र र समाजवादलाई स्पष्ट रूपले अघि बढाउन सक्ने दर्शन / दृष्टिकोणको विकास गर्न अधिकतम प्रयत्न गर्ने थियो । तर, दु:खको कुरा लोकतान्त्रिक  र समाजवादी पार्टीको शीर्ष पंक्तिकै अधिकांश नेताले अद्वैत वेदान्त, रुसोवाद र द्वान्द्वात्मक भौतिकवादको अन्तर छुटयाउन नसक्ने स्तरमा रहेर जीवनका अधिकांश आयु गुमाइ सकेका छन् ।

कम्युनिष्ट नेताहरूले कार्यकर्त्तालाई मार्क्सवादी दर्शन पढाउने प्रयास त गरे तर "सम्पूर्ण श्रमजीवी जनता, एक होऊ" भन्ने मूल उद्घोषणालाई नै जीवन पद्धतिमा लागू गर्न नसकी सधैं जस्तो अनेक गुटमा खण्डित भएर आफ्नै दर्शनको उपहास गरी प्रतिगामी तत्त्वलाई सहयोग पुरयाउँदै आएका छन् । चर्का राजनीतिक भाषण र नाराले कार्यकर्ता र जनताको विचारलाई केही समय जागरुक र प्रेरित गर्न सकिन्छ तर त्यतिले मात्रै मान्छेको पुरानो संस्कार, प्रकृति र संस्कृति फेर्न सकिँदैन ।  भाषण, जुलुस र पार्टी प्रभावले केही समय सक्रिय भएका तर 'संस्कार' र 'संस्कृति' नफेरिएका मान्छेहरू क्रान्तिको दीर्घकालीन बाटोमा दृढ़ रूपले हिँड्न सक्दैनन् । त्यसखाले कार्यकर्ता र समर्थक पंक्तिको ठूलो हिस्सा क्रमशः निष्क्रिय र निराश हुँदै जानसक्छ या कपडा (लुगा) फेरे झैं पार्टी फेर्दै हिँड्न पनि सक्छ |

भाषण, जुलुस र पार्टी प्रभावले केही समय सक्रिय भएका तर 'संस्कार' र 'संस्कृति' नफेरिएका मान्छेहरू क्रान्तिको दीर्घकालीन बाटोमा दृढ रूपले हिँड्न सक्दैनन् ।

नेतृत्व तहका केही मान्छे सत्ता र धनको लोभमा 'क्रान्ति' गर्नेहरू प्रतिगामी तत्वका दासको रूपमा पतित हुँदै जान पनि सक्छन् । त्यसैले, राजनीतिक र सांस्कृतिक क्रान्तिलाई संयुक्त रूपमा अघि बढाउनुपर्छ भन्ने महत्वपूर्ण कुरा विश्वका अनेकौं मुलुक र आफ्नै सिक्किम प्रदेशका अनुभवबाट सिकेर त्यस्तो संयोजनसहित निरन्तर अघि बढ्नु आवश्यक छ । निरकुंश तत्वहरूले 'प्रतिक्रान्ति' गर्दा जनता, सेना र कर्मचारीका नाइकेहरूमा रहेको दास मनोवृत्ति, सामन्ती संस्कार चापलुसी र लोभ लालचका प्रवृत्तिहरूलाई आधार वा सम्बलको रूपमा प्रयोग गर्छन् । समतावादी दर्शन र संस्कृतिका प्रणेता  बुद्धजस्ता महान व्यक्तित्व जन्मेको नेपालमा पच्चीस सय वर्षसम्म पनि सामन्ती वर्णवादी कुसंस्कृतिको हैकम किन बाँच्न सक्यो ? किनभने यहाँका जातिभेदवादी शासकहरूले जनतामा बुद्ध दर्शन र संस्कृति फैलिन र भिज्न नपाओस् भनेर अनेक उपायले लखेट्ने या त्यसलाई महायानको अर्धहिन्दु साँचोमा ढाल्ने षडयन्त्र गरे ।

जनमुखी दर्शन र संस्कृतिलाई ध्वस्त पार्न सामन्ती राजनीति र संस्कृतिले कति व्यापक र गहिरो षडयन्त्र गर्दोरहेछ । त्यसमा भारत, नेपाल र चीनका सामन्तहरूमा कस्तो समान प्रवृत्ति देखियो ।

...सिक्किममा २५ वर्षको पवन चामलिङको  पुरानो सरकार  प्रजातन्त्र, जनवाद र समाजवादको प्रचार, संगठन र संघर्षको दुई-दशक बितेर गयो । एउटै ठूलै सिक्किम डुबाउने फ्रण्ट, सडेको डरेको फाटेको, अझैं सत्तामा आउने राजनीतिक संघर्ष अझैसम्म चलिरहेको छ । फेरि सत्तामा आउने सत्तालोलुपत नेताहरू फेरि सत्तामा आए सिक्किमको हालत अनि दुर्दशा कस्तो हुन्छ यो आजको सिक्किमे युवाहरूले सोच्ने विषय हो । सिक्किमका क्रान्तिकारी पार्टीले भौतिकवादी दर्शनकालमा कार्यकर्तालाई पढाए र पछि सारा सिक्किमे जनतामा राखेर, सबै जनतालाई 'अब परिवर्तन हुनुपर्छ भनेर खालिखुट्टे जनतालाई पनि पढाए । उनीहरूले सामन्ती र साम्राज्यवादी संस्कृतिविरुद्ध सांस्कृतिक क्रान्ति ल्याउन सक्छ । तर, उनीहरूले पार्टी प्रणाली, निर्वाचन, सरकार निर्माण र जीवन प्रणालीमा द्वान्द्वात्मक दर्शन र प्रतिस्पर्धात्मक संस्कृतिलाई ठाउँ दिनुपर्छ । २००९ देखि २०१९ सम्मको लामो समयसम्म परिवर्तन अनि क्रान्तिकारी परिवर्तनको नारा चलेता पनि ती सरकार ढल्ने व्यवस्था धराशायी हुन सकेन । यो विश्व क्रान्तिको अर्को पाटोको ठूलो अनुभव हो |

हाम्रो सिक्किममा यी विभिन्न पक्षमा अर्को तीतो अनुभव पनि रहेको छ । यहाँ वामपन्थी गर्दै आएका राजनीतिक पार्टीहरूले राजनीतिक संगठनका साथै दर्शन र सांस्कृतिक मोर्चाको कामतिर पनि सुरुदेखि नै केही मात्रामा ध्यान दिँदै आएका छन् । सिक्किममा प्रमुख विपक्षी राजनीतिक पार्टी भनेको सिक्किम क्रान्तिकारी पार्टी, भर्खरै नवगठित पार्टी हाम्रो सिक्किम पार्टी, सिक्किम रिपब्लिकन पार्टी, भाजपा, काङ्ग्रेस पार्टी, आदि भौतिकवादी दर्शन र त्यसमा आधारित पार्टी साहित्यको सृजना, राष्ट्रिय जनसांस्कृतिक मञ्च आदि संस्थाद्वारा समय-समयमा राज्यमा चलाइएका सांस्कृतिक अभियान तथा "मार्क्सवादी अध्ययन मण्डल " "प्रगतिशील अध्ययन मण्डल" पार्टी स्कुलको सञ्चालन र जनताको सही काम र त्यसैखाले थुप्रै प्रकाशनहरू यसका उदाहरण हुन् । तर, सिक्किमका सञ्चालित पार्टीको नेतृत्व गर्ने नेताहरू र खासगरी राष्ट्रिय पार्टीले पार्टी साहित्य, कला र संस्कृतिलाई अझैसम्म ध्यान पुरयाएका छैनन् । केवल: चुनावको समयमा एक पार्टीदेखि अर्को पार्टीमा जाने विचलन मात्र देखियो । आफ्नो नीति, सिद्धात अनि स्वाभिमान नभएका नेता पैसाको राजनीतिक नेता मात्र देखियो । कुनै जनपक्षीय मुद्दा नरहेको प्रमाणित भयो । अर्कातिर, सत्तापक्षमा यसपालिको चुनावले तय गर्नेछ कि परिवर्तन केवल: नारामा मात्रै सीमित नहोस । यसबाट प्रष्ट हुन्छ : सिक्किममा प्रजातन्त्र कतिको बलियो रहेछ भनेर प्रजातन्त्रवादी राजनीतिले विचार, कला, संस्कृतिको महत्व र शक्ति चिनेको छ । विदेशका विभिन्न क्रान्तिमा मिल्टन, भोल्तेयर, गोर्की, लुस्युन, प्रेमचन्द्र, राहुल, आदिको ठूलो भूमिका हामीले देखेका छौं । अब युगान्तकारी क्रान्ति सर्वाङ्ग रूपले विजयमुखी हुनेछ |

 

युवराज 'घलेभाइ'

.......अप्पर बुर्तुक गान्तोक

ईमेल: [email protected]

 


Author

थप समाचार
x