विचार

नेपालमा कति पानी पर्दछ ?

गोविन्द शर्मा पोखरेल |
असोज १४, २०८० आइतवार १४:२२ बजे

नेपालका विभिन्न स्थानहरुमा कति पानी पर्छ भन्ने आधिकारिक तथ्यांक सम्बन्धित निकायले प्रकाशित गरेका दस्तावेजहरुमा पाइन्छ नै तर नेपालमा सालाखाला कति पानी पर्छ भन्नेबारे विभिन्न श्रोत सामाग्रीहरुमा फरक-फरक आँकडा पाइने कुरा सार्वजनिक नै छ । धेरै त्यस्ता सामाग्रीहरुमा वार्षिक सालाखाला १,५०० मिलिमिटरको छेउछाउका संख्याहरु प्रशस्तै पाइन्छन् । त्यस्तै, नेपालमा सालाखाला वार्षिक २२५ अर्ब घनमिटर पानी उपलब्ध छ भन्ने लेखहरु पनि प्रशस्तै प्रकाशित भएका पाइन्छन् ।

वास्तवमा वर्षा मापन यंन्त्रहरुले स्थान विशेष रुपमा वर्षाको मापन गरिरहेका हुन्छन् तर विभिन्न कारणले गर्दा प्रकाशित सामाग्रीहरुमा ती मापन गरिएका तथ्यांकहरुको विश्लेषणबाट प्राप्त निष्कर्षहरुमा सामन्जस्यता नभएको पाइन्छ । त्यसैले, यसरी मापन गरिएका तथ्यांकहरुमध्ये नेपालका नदीहरुमा मापन गरिएका तथ्यांकका आधारमा गरिएको विष्लेषण र सोबाट निष्कर्ष निकाल्ने प्रयास यहाँ प्रस्तुत गरिएको छ ।


नेपालमा जम्मा चार प्रकारका पानीका श्रोतहरु छन – आकाशबाट परेको पानी, मूलहरुको पानी, हिउँ पग्लेर (हिमालबाट) आउने पानी र चीनबाट बगेर आउने पानी । चीनबाट बगेर आउने पानी सजिलैसँग मापन गर्न सकिन्छ अथवा यस लेखकले समेतले गरेको अध्ययनले सो पानीको मात्रा बार्षिक सालाखाला १०.८२ अर्ब घनमिटर भएको अनुमान गरिएको छ । पानीका मूलहरुबाट निस्कने पानी जतिसुकै भए पनि नेपालका सबैजसो पानीका मूलहरु आकाशबाट पर्ने पानीबाट नै पुनर्भरण हुने भएकाले यस परिमाणको पानीलाई पनि आकाशबाट पर्ने पानी अन्तर्गत नै राख्न उचित देखिन्छ ।

हिउँ पग्लेर (हिमालबाट) आउने पानीमध्ये केही पानी हिमनदीहरुको बरफ पग्लेर आउने र केही पानी मौसमी हिउँ पग्लेर आउने हुनाले मौसमी हिउँ पग्लेर आउने पानीलाई मात्र आकाशबाट पर्ने पानीको श्रेणीमा राख्न उचित देखिन्छ । तर, हिमनदीहरुको बरफ पग्लेर आउने पानीको मात्रा केही हदसम्म अनुमान गर्न सकिए पनि मौसमी हिउँ पग्लेर आउने पानीको परिमाण अनुमान गर्न बिलकुलै सहज छैन । यसरी हिमनदीहरुको बरफ पग्लेर आउने पानीको सालबसाली परिमाण २.१२ अर्ब घनमिटर भएको अनुमान गरिएको छ ।

त्यसैले, नेपालका नदीहरुमा नदीहरुको प्रवाह मापन गर्न जडान गरिएका उपकरणहरुद्वारा मापन गरिएको परिमाण र नेपालको तराईमा सालबसाली रुपमा आकाशबाट पर्ने पानीको परिमाणमा माथि उल्लेखित पानीको परिमाण घटाउँदा नेपालभित्र पर्ने पानीको मोटामोटी परिमाण अनुमान गर्न सकिन्छ । यस्ता पानी मापन गर्ने उपकरणहरु नेपालको तराई क्षेत्रमा अथवा नदीहरु पहाडबाट तराई क्षेत्रमा निस्कने स्थानमा जडान गरिएकाले सो उपकरणहरुमा मापन गरिएको पानीको परिमाणले उक्त मापन केन्द्रको जलग्रहण क्षेत्रको प्रतिनिधित्व गर्ने अनुमान गरिन्छ ।

यस आलेखकर्ता समेतले गरेको अध्ययनले नेपालका प्रमुख तीन नदीहरु तथा दोश्रो श्रेणीका नदीहरु जस्तै कन्काई, कमला, बागमती, पश्चिम राप्ती र बबई को कूल जलग्रहण क्षेत्र १११,९९५ वर्ग किलोमिटर तथा सो नदीहरुमा सालबसाली रुपमा बग्ने पानीको परिमाण १४१.३५ अर्ब घनमिटर भएको अनुमान गरिएको छ । माथि उल्लिखित जलग्रहण क्षेत्रमा महाकाली नदी, माथि उल्लेखित नदीहरुमा समाहित नहुने अन्य स-साना नदीहरु र तराईको जलग्रहण क्षेत्र गरी जम्मा ३५,४९३ बर्ग किलोमिटर नेपालको जमिन समावेश नभएकाले सो क्षेत्रको छुट्टै हिसाब गर्न जरुरी हुन्छ ।

महाकाली नदीको कुरा गर्दा यो नदी समुच्चै रुपमा नेपालको नदी भए पनि यस नदीको पश्चिमपट्टिको भूभाग भारतमा पर्दछ, त्यसैले यस नदीमा भारत तर्फबाट समाहित हुने नदीमा बग्ने पानी लाई महाकाली नदीमा सालबसाली रुपमा बग्ने पानीमा घटाएर अथवा महाकाली नदीमा बग्ने सम्पूर्ण पानीलाई जलग्रहण क्षेत्रको आधारमा समानुपातिक रुपमा भारत र नेपालका बीच भाग लगाई अनुमान गर्न सकिन्छ । महाकाली नदीमा वार्षिक सालाखाला बग्ने २३.०२ अर्ब घनमिटर पानीलाई सो नदीको कूल जलग्रहण क्षेत्र १४,८७१ बर्ग किलोमिटर र नेपाल भित्रको जलग्रहण क्षेत्र ६,४५६ बर्ग किलोमिटर भएका आधारमा गणना गर्दा नेपालका नदीहरुबाट महांकाली नदीमा समाहित हुने पानीको वार्षिक परिमाण ९.९९ अर्ब घनमिटर हुन आउँछ ।

नेपालको बाँकी क्षेत्रफल २९,०३७ बर्ग किलोमटर मध्ये २१,१०० बर्ग किलोमिटर नेपाल तराईको क्षेत्रफल र बांकी ७,९३७ वर्ग किलोमिटर क्षेत्र चुरे पहाड तथा महाभारत लेकका केही अंश पर्दछन । यो क्षेत्रका विभिन्न स्थानहरुमा रहेका वर्षा मापन यंन्त्रहरुले औसत सालाखाला वार्षिक १,८९९.६० मिलिमिटर बर्षा मापन गरेका आधारमा यस २९,०३७ वर्ग किलोमिटर क्षेत्रमा वार्षिक औसत सालाखाला ५५.१६ अर्ब घनमिटर पानी वर्षाबाट प्राप्त हुन्छ । तर, यो परिमाणको पानीमध्ये अन्दाजी करिब ४० प्रतिशत पानी वाष्पटीकरण र माटोको चिस्यान बढाउनेमा खर्च हुन्छ भने करिब ८.८ अर्ब घनमिटर पानी भूमिगत जलको पुनर्भरणमा खर्च हुन्छ । त्यसैले, माथि उल्लेखित तराइसहितको सो क्षेत्रमा करिव २४.३० अर्ब घनमिटर वार्षिक रुपमा जमिनको सतहमा बग्दछ ।

यसरी नेपालको जमिनबाट भारत प्रवेश गर्ने स्थानमा वार्षिक सालाखाला १७५.६५ अर्ब घनमिटर तथा ६.८६ अर्ब घनमिटर भूमिगत पानी गरी जम्मा १८२.५१ अर्ब घनमिटर वर्षाबाट प्राप्त हुने पानी भारत प्रवेश गर्दछ । तर, यस्तो पानी वर्षाबाट जमिनमा खस्नेबित्तिकै यसको केही अंश वाष्पीकरण हुने, केही अंश जमिनको चिस्यान बढाउने कार्यमा खर्च हुने, केही अंश भूमिगत जलभण्डारको पुनर्भरणमा खर्च हुने तथा केही अंश सिंचाईं तथा अन्य कार्यमा खर्च हुने भएकाले सो सबैको मोटामोटी हिसाब गर्दा नेपालमा वर्षाबाट प्राप्त हुने पानीको कूल परिमाण वार्षिक करिव २९८.२१ अर्ब घनमिटर अथवा वार्षिक सालाखाला २,०२१.९५ मिलिमिटर हुन आउँछ ।

(लेखक पाेखरेल नेपाल पानी सदुपयोग फाउण्डेशनमा आवद्ध छन्)


Author

थप समाचार
x