विचार

तुलजा (तलेजु) भवानी मन्दिर

परशु घिमिरे |
असोज २७, २०८० शनिबार २०:२७ बजे

बाराको सिम्रौनगढबाट काठमाडौँ उपत्यकामा भित्रिएको तुलजा (तलेजु) भवानी मल्ल राजाहरूको कुलदेवता (इष्ट देवता) अहिले पनि मानिन्छ । राजा हरिसिंह देवकी रानी देवलदेवी दोलखामा कैद भइरहेकी थिइनन् । त्यहाँबाट फुत्किएपछि भक्तपुरमा आई शरण मागिन् । त्यसैले रुद्र मल्लले रानी देवलदेवीलाई शरण दिई राजदरबार राखेका थिए भनी गोपाल वंशावली पूर्णिमामा ७ पृष्ठदेखि १४ पृष्ठसम्म उल्लेख गरिएको छ । तलेजु (तुलजा) देवता त उहिले लिच्छविकालदेखि मान्दै आएका थिए । लिच्छवि राजा वृषदेवले राजदेवी मानदेवले मानेश्वरी र मल्ल राजाहरूले इष्ट देवता स्वेष्ट देवता र साथै तलेजु भवानी नामकरण गरी यिनै राज्यका अधिष्ठात्री ईश्वरीलाई नै मानि आएका हुन् । श्री तलेजु भवानी शीर्षकमा तीर्थलाल नःघःमनीका अनुसार फर्पिङ, कीर्तिपुर, मकवानपुरको पालुङ, मध्यपुर थिमीलगायतका केही ठाउँमा तलेजु भवानीको मन्दिरहरू बनेका थिए । कीर्तिपुर सहरमा पनि राजदरबार र तलेजु देवल थिए । बडादसैँमा खड्ग जात्राको दिन कीर्तिपुरका प्रधानमन्त्रीहरू प्रत्येकले सिन्दुरको बट्टा (नेवारीमा सिव्हःमू) लिएर बाहिर निस्कन्थे । स्थानीय दर्शकहरूलाई टीका लगाउँदै आउथे ।

मध्यपुर थिमीमा राजदरबार र तलेजु भवानीको मन्दिर थियो । र, वैशाख २ गते सालिन्दा यहाँ बालकुमारीको जात्रा लाग्छ । ललितपुरमा यक्ष मल्लपछि उपत्यकाका राज्य टुक्रिँदा त्यहाँका महापात्र पुरन्दर सिंहले ने.सं.७१७ (वि.सं.१६५४) मा राज्य गरेका थिए । तिलेजु भवानी मन्दिर काठमाडौँ दरबार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एकपटक दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारकहरू हुन्– तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घन्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप । सर्वसाधारणका लागि दसैँको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइयो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैँमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । नेपाल आर्मीको हेडक्वार्टरबाट मार हान्न केही सैनिक खटाइन्छन् । पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा गेट थिए ।
ती चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो, जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउथे । देवीदेवता तथा कुमारीलाई पनि पश्चिमकै गेटबाट प्रवेश गराइन्थ्यो । सन् १९९० को भुइँचालोपछि भने अरू सबै गेट बन्द गरेर एउटै मात्र गेट खुलाइयो ।


तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पुज्ने गरिएको छ । तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि गरिन्छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्णाटवंशी राजा हरिहरसिंह देव हुन् ।

उनी सिम्रौनगढका राजा थिए । मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीन तलाको हनुमानढोकास्थित तलेजु मन्दिर एक सय दुई फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा फिर्ता लगिन्छ र दिनभर पूजा–अर्चना गरी सर्वसाधारणका लागि खुल्ला गरिन्छ । सर्वसाधारणका लागि तलेजु मन्दिर वर्षमा एकपटक खुला गरिए पनि यहाँ दिनहुँ पूजाआजा भने भइरहेको हुन्छ । बिहान साढे ८ बजेतिर मन्दिर छिर्ने पुजारी साढे १० बजेसम्म पूजाआजामै व्यस्त हुन्छन् । तलेजु मन्दिरका अनुसार एउटा पूजा गर्न कम्तीमा आठजना मानिस संलग्न हुन्छन् । त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा तीनवटा थर भएका व्यक्तिले मात्र प्रवेश गर्न पाउँछन्, कर्माचार्य, जोशी र राजवंशी ।

त्यसबाहेक राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् । थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ जस्तो नगरा बजाउने, घन्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि चलन छ । यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए ।

यो तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ । रोचक त के भने एउटा पर्वमा ४२ जना मानिस, त्यसमा पनि १६ जातका मानिस अनिवार्य चाहिन्छ । तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन् । राणाकाल र त्यसअघि राजपरिवारका सदस्यहरूले मात्र पूजा गर्ने अवसर पाएका थिए । त्यहाँ पूजा गर्न विधि–विधान पुर्याउनुपर्छ । त्यसका लागि ज्योतिषकहाँ गएर तिथिमिति हेराएर, शुभसाइत र शुभमिति जुराउनुपर्छ । त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ । 

राणाकालमा जंगबहादुर राणाबाहेक अरू कसैले यो मन्दिरमा पूजा गर्ने आँट गरेनन् । ‘किन सर्वसाधारणका लागि यो मन्दिर सधैं खुला हुँदैन ? छोपेको चिजलाई छोप्नैपर्छ,’ पुजारी उद्धवले अर्थ्याए, ‘सधैंभरि देख्न पाए त्यसको महत्व हुँदैन । भगवान पनि अदृश्य नै राम्रा ।’ हनुमानढोका क्षेत्रमा तलेजु मन्दिर सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो ।


Author

थप समाचार
x