विचार

प्रकृति र मानवबीचको सम्बन्ध बुझ्‍न नसक्दाको विपत्ति !

डा. गोविन्द टण्डन |
जेठ १६, २०७८ ८:१२ बजे

मानव प्रकृतिको हिस्सा हो।प्रकृति र मानव बीचको सम्बन्ध एक अर्कोमा पूरक मात्र नभईकन अन्योन्याश्रित रूपले रहेको छ। प्रकृतिको बिना मानिसको कल्पनासम्म पनि गर्न सकिदैन भने हुन्छ। संस्कृत भाषाको ‘प्रकृति’ शब्द  प्र + कृति यी दुई शब्दहरू मिलेर बनेको छ। ‘प्र’ को अर्थ हुन्छ प्रकृष्टि अर्थात् श्रेष्ठ/ उत्तम कृति। भनौँ सृष्टिको सर्वोत्तम रचना। प्रकृतिबाटै सृष्टिको बोध हुन्छ। प्रकृति अर्थात् त्यसको मूलतत्त्व भन्नु नै दृश्यमान जगत् हो । भन्‍नुको मतलब प्रकृतिद्वारा नै सम्पूर्ण विश्‍वब्रह्माण्डको रचना दृष्टिगोचर हुन्छ।

प्रकृतिको दुई भेद मानिन्छ- (१) प्राकृतिक प्रकृति र (२) मानव प्रकृति। प्राकृतिक प्रकृतिमा पाँच तत्त्व छन्- पृथ्वी , जल, अग्नि, वायु र आकाश।मानव प्रकृतिमा चाहिँ – मन, बुद्धि र अहंकार अन्तर्भूत छन्। श्रीमद्भगवद्गीता मा भनिएको छ-  
भुमिरापोनलो वायु: खं मनो बुद्धि रेव च।
अहङ्कार इतीयं मे भिन्ना प्रकृतिरष्टधा।।गीता 7/4 ।।


अर्थात्, पृथ्वी, जल, तेज, वायु, आकाशरूपी पञ्चमहाभूत र मन, बुद्धि तथा अहंकार- यी आठ प्रकारका भेदहरू मेरो ‘अपरा’ प्रकृति हुन् भनी भगवान् श्रीकृष्णले भन्नुभएको छ। हे महाबाहो ! यी अपरा प्रकृतिभन्दा भिन्‍न जीवरूप बनेको मेरो परा प्रकृतिलाई जान, जसद्वारा यो जगत् धारण गरिन्छ।

यसको अर्थ हुन्छ  यिनै आठ प्रकारका प्रकृतिले नै समूच्चा ब्रह्माण्डको निर्माण गर्दछ। वेदहरूमा बताइएको छ मनुष्यको शरीर पञ्चभूत अर्थात् अग्‍नि, वायु, जल, पृथ्वी र आकाश मिलेर बनेको छ। आधुनिक विज्ञानले पनि यी पञ्चतत्त्वलाई स्वीकारेको पाइन्छ। भन्नुको तात्पर्य मानव शरीर प्राकृतिक प्रकृतिबाट निर्मित छ।यसैले पनि प्रकृतिबिना मानव अस्तित्वको कल्पनासम्म पनि गर्न सकिन्‍न ।  

मानवको मन, बुद्धि र अहंकार यसले प्रकृतिलाई संतुलित या संरक्षित गर्न सघाउ पु-याउँछ।प्रकृति र मानिसबीचको यही गहिरो सम्बन्ध अपरम्पार छ।जानीबुझी नसक्नु छ।यसलाई बुझ्न नसक्दा नै आज विश्वमा अनेकथरी महामारी, प्राकृतिक प्रकोप तथा मानवसिर्जित चपेटाको लपेटामा विश्‍वसमुदाय अल्मलिएको अवस्था छ। 

मनुष्यको लागि धर्ती उसको घरको आँगन बनेको छ, आकाश छत समान छ, चन्द्र-सूर्य, तारागण प्रकाश, ऊर्जा, सृजना र पोषणको स्रोत बनेको छ, नदी, समुद्र, झर्ना, तलाउ, सीमसार प्रकृतिका यावत् जीवजन्तु, वनस्पति एवं प्राणी जगत्‌को लागि जीवनाधार बनेर रहेको छ।त्यति मात्र कहाँ हो र!  प्रकृति मानिसको लागि असल गुरु पनि हो । उसले मानिसलाई आफ्नो स्वभाव र आचरणले अनेक जीवनदायिनी विषयहरूमा नि:शुल्क ज्ञान दिइरहेको छ । आजसम्म मानिसले जे-जति हासिल गरेको छ त्यसमा प्रकृतिकै सबैभन्दा ठूलो देन रहेको छ भन्दा अत्युक्ति हुँदैन।साना-ठूला अनेक वैज्ञानिक, कवि, साहित्यकार, कलाकार, लेखक, चित्रकार आदिले प्रकृतिको सानिध्यताबाट धेरै कुरा आफूले सिके र अरू मानिसलाई पनि सिकाएका छन् ।

जीवनलाई नकात्मकताबाट सकारात्मकतातर्फ मोडिन प्रकृतिले मानिसलाई अनेक ज्ञानगुण अनवरत निसृत गरिरहेको छ। त्यसलाई लिनु/नलिनु या बुझ्नु/नबुझ्नु हरेक व्यक्तिको क्षमतामा भर पर्ने कुरा हो।रुखको पात झर्नुको अर्थ विरुवाको अन्त होइन।बरु आगामी दिनको लागि साहस, ऊर्जा, अरू परिपक्वताको बोधक हो। त्यो दृष्टान्तलाई आफूमा अपनाउन सकियो भने निराशा, हरेस एवं जीवनप्रतिको लघुताभासको जन्म हुन पाउँदैन। प्रकृतिमा घट्ने यस्ता अनेक घटना र उदहरणहरू छन् त्यसबाट मानिसले धेरै कुराको ज्ञानहासिल गर्न पाउँछ ।

मानिसमात्र यस्तो प्राणी छ जो अनेक किसिमको अहंता, घमण्ड, प्रतिशोध र ईख प्रदर्शित गर्दछ तर प्रकृतिलाई पढ्ने हो भने, मिहीन ढङ्गले बुझ्ने हो भने जति फलफूलले लटरम्म भयो ऊ आफ्नोलागि होइन अरूको लागि प्रदान गर्न लालायित हुन्छ। नदी स्वयंको लागि हुँदैन अरूको लागि स्वच्छ, सफा, कलकलाउँदो पानीले तिर्खा मेटाउन, सिचाइको लागि सदैव उद्वेलित भइरहेको हुन्छ। कस्तो महानता छ? यसलाई कतिले बुझ्छन् त्यो आफ्नो ठाउँमा छ ।

मानिसलाई नभई नहुने प्राणवायुदेखि लिएर आहार ग्रहणका लागि अनेकथरी साग-सब्जी, फलफूल उपलब्ध गराइरहँदा पनि प्रकृतिको महत्त्व बुझ्‍नेतर्फ मानिसले ध्यान दिँदैन भने विनाशबाहेक हातमा अरू केही नपर्ने निश्‍चित छ।

प्रकृतिमा हर साना जीव-जन्तु, कीरा, भुसुनाहरूको समेत आ-आफ्नै महत्त्व छ।त्यसमा पनि जल, जङ्गल र जमिनको त के वयान गर्ने? ती बिना मानिसमात्र होइन प्राणी अस्तित्व नै हुँदैन भने हुन्छ। पुराण साहित्यमा त एउटा वृक्ष भनेको शयजना छोरा बराबरको महत्त्व छ भनेर बताइएको छ।यसैले वृक्ष, नदी, सूर्य, चन्द्रजस्ता प्रकृतिका विशिष्टताहरूको पूजन गर्ने संसारका सबैजसो संस्कृति र सभ्यतामा कुनै न कुनै रूपले विद्यमान छन् ।

एउटा वृक्ष लगाएको पुण्यले मानिसलाई परमगति मिल्ने कुरा पनि संस्कृत वाङ्‌मयमा बताइएको पाइन्छ । हाम्रा पिता-पुर्खाले यसैले गाउँघरतिर वर-पीपल, शमीको रुख, सार्वजनिक ठाउँमा आँप, लिच्ची, जामुन, अमलाको वृक्ष रोपेर कतिपय त्यस्ता वृक्षलाई चौताराले आकर्षक बनाएर सबैले केही बेर भए पनि थकाइ मेटने, प्यास बुझाउने र शीतलता प्राप्त गरुन् भन्‍ने चाहना राखे। अझ नजिकै कुनै पानीको कुवा या पेउ राखिदिन पाए के के न गर्न पाइयो भनेर खुशी हुने जमाना थियो। हिजोआज परिस्थिति फेरिएको छ, आवश्यकता अरू नै भएकोले ती एकादेशका कथा जस्तै बनेका छन् ।

जल, जङ्गल र जमिन विकासको पर्याय पनि हो।किनभने जबसम्म यी तीन महत्त्वपूर्ण सम्पदा यस धर्तीमा रहन्छ तबसम्म मानिसको विकास अघि बढी रहन्छ । मानिसले फ्यालेको कुडाकंकट जस्तो कार्वन, कतिपय कम्पोष्ट एवं फोहरजन्य पदार्थहरूले सिञ्‍चित गरेर या स्वीकारेर पनि प्राणी जगत्‌लाई आहार लगायत खाद्यान्न पदार्थहरू उपलब्ध गराइरहनु सामान्य कुरा हो ?

मानिसलाई नभई नहुने प्राणवायुदेखि लिएर आहार ग्रहणको लागि अनेकथरी साग-सब्जी, फलफूल उपलब्ध गराइरहँदा पनि प्रकृतिको महत्त्वलाई बुझ्नेतर्फ मानिसले ध्यान दिदैन भने विनासबाहेक हातमा अरू केही नपर्ने निश्‍चित छ। 

संसारकै सबैभन्दा प्राचीन वैदिक ग्रन्थहरू (श्रुति र स्मृति) मा प्रकृति सम्बध्द अनेक सुक्तिहरू पाइन्छन्, जहाँ वाह्य पर्यावरणको साथै आन्तिरिक पर्यावरणलाई सदैव शुध्द, पवित्र, निश्चल र चोखो राख्‍नको लागि अभिप्रेरणा दिइएको पाइन्छ। आन्तरिक पर्यावरण भन्‍नाले मन एवं आत्माको सूक्षतम् पर्यावरणको देखभाल र रक्षा भन्‍ने हो ।

आधुनिक पर्यावरण विज्ञान जहाँ केवल बाह्य पर्यावरणमा सीमित छ उहीँ प्राचीन पर्यावरणको परिभाषा बाह्यमा मात्र सिमित छैन। वेद बाह्य पर्यावरणमा जे-जति घटना घट्छन् त्यसलाई आन्तरिक पर्यावरणले आकर्षित तुल्याइरहेको मान्छ।त्यसमा पनि मन नै यस्तो चीज छ, जो कोहीको लागि त्यही मित्र हुन सक्छ, त्यही शत्रु हुने सम्भवना पनि अत्यधिक छ। यसको अर्थ हुन्छ जति धेरै मन शुध्द, चित्त निर्मल हुन्छ त्यति नै बाह्य पर्यावरण पनि शुध्द र पवित्रतातर्फ उन्मुख हुन सक्छ।

मानिस र प्रकृतिबीचको अन्तर्सम्बन्धको विषयमा आवश्यकता छ मानिसको आफ्नो प्राकृतिक स्वभावअनुसार जति सकिन्छ जीवनलाई प्रकृतिमय कसरी बनाउन सकिन्छ, बनाउनेतर्फ अग्रसर हुनु पर्ने हो। तर हिजोआज मानिस आधुनिकताको नाममा प्रकृतिमाथि कसरी विजय हासिल गर्न सकिन्छ? यसको बढीभन्दा बढी दोहन के-कसरी गर्न सकिन्छ? कहाँनिर के-कसरी अतिक्रमण ग-यो भने आफ्नो व्यक्तिगत फाइदा हुन्छ त्यसको धुनमा चाहे व्यक्ति होस्, चाहे संस्था या साना-ठूला मुलुकहरूको त्यसैमा प्रतिस्पर्धा बढ्दो छ।

मानिसकै एकल करामतले वन, जल, जमिन मासिदो छ।पशुपक्षीको असीमित पालनले उष्णता बढ्दैगएको छ।यातायातको अन्धाधुन्ध प्रयोग, इन्धनको भरमार दुरुपयोग, उद्योगधन्दाहरूको सीमारहित स्थापना आदि अनेक कारणले हरितगृह ग्यासको अत्यधिक उत्सर्जन हुँदा हिमाल, समुद्र, महासागरहरूमा संकट मडारिइरहेका छन् । अनेकौँ प्रकारको प्रदूषणको चपेटामा मानिस बाँच्न बाध्य हुनु परेको अवस्था छ । जलचर, थलचर एवं सामुद्रिक जीवजन्तुहरू मानिसको लोभको कारण महासंकटमा छन् । 

अनेकौँ जङ्गली जीवहरू विनष्ट भइसके, अरू अनेकौँ हुनेवाला छन्।उनीहरूको प्राकृतिक बासस्थललाई मानिसले अनेक ढङ्गले अतिक्रमण गरिरहेको छ।बाढी, पहिरो, सुनामीजस्ता संकट मानिसले झेलिरहनु परेको अवस्थालाई हृदयङ्गम गर्दा समयमै आन्तरिकको साथै बाह्य पर्यावरणलाई प्रकृतिमैत्री एवं  अनुशासित तुल्याइएन भने झन् झन् आगामी दिनहरू संकटापन्न हुनेमा शङ्का छैन ।

आधुनिक, विकास र सभ्य हुने नाउँमा मानिस आफ्नो प्रकृतिको विरुध्दमा गइरहेको तर्फ उसले भेउ पाउनै सकिरहेको छैन।बढीभन्दा बढी अप्राकृतिकता, यन्त्रवत् जीवन, फास्टफुड, जङ्क फुड, प्रोसेस्ड खाद्यान्न, त्यसैगरी अनेक प्रकारका मासुजन्य खानाको लोभमा परेर आफ्नो स्वाभाविक प्रकृतिदेखि सैयौँ माइल टाढा पुगेजस्तो देखिदैछ । 

विश्‍वमा देखिएका अनेकौँ प्रकारका महामारीदेखि लिएर विगत वर्षदेखि संसारलाई नै तोबा-तोबा पारेर आतङ्क फैलाउन अनेक रूप-रङ्गमा आफ्नो स्वरूप फेरिइरहने कोभिड-१९ लाई पनि यस सन्दर्भमा बिर्सन सकिन्‍न । त्यसैगरी विश्वमा बढ्दै गएको मोटोपन, क्यान्सर, हृदय रोग, फोक्सो रोग, किडनी समस्या आदि इत्यादि अनेक रोगहरूको चक्रलाई मिहीन ढङ्गले बुझ्न जीवननिर्वाहको धुनमा मानिस अप्राकृतिक बन्‍न पुगेर भएको त होइन भन्ने दिशातिर पनि ध्यान जानु आवश्यक भइसकेकोतर्फ सम्बन्धित सबैको ध्यानाकृष्ट हुनु समयसान्दर्भिक हुनेछ।
                                 



Author

डा. गोविन्द टण्डन

(संस्कृतिविद् डा. टण्डनका ‘नेपालमा गुठीव्यवस्था', ‘इतिहासका थप पृष्ठहरू’ जस्ता दर्जनौँ कृति प्रकाशित छन् ।)


थप समाचार
ad
x