विचार

'दिव्योपदेश' भित्रको दर्शन-भाग ३

महेश्वर आचार्य |
पुस २७, २०८० शुक्रवार १६:६ बजे

हामी आधुनिक नेपालका निर्माता बडामहाराज श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशको बारेमा चर्चा गर्दैछौँ । उपलब्ध धेरै जसो दिव्य उपदेशमा बडामहाराजकै हुबहु भाषा र शब्दहरू रहेकाले मेचीदेखि महाकाली र हिमालदेखि तराई सबै भेगमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले, त्यसमाथि झन् अहिलेको नयाँ पुस्ताले दिव्य उपदेशमा ठ्याक्कै के भनिएको हो भनेर नबुझेको अवस्था छ । कतिपय नेपालीले उहाँका २-४ वटा दिव्योपदेशहरू मात्र सुने पढेको अवस्था छ ।

कतिपयले आफ्नो राजनीतिक स्वार्थ अनुसारको अपव्याख्यासमेत गरिरहेका छन् । यिनै समस्यालाई समाधान गर्ने उद्देश्यले यो आलेख तयार परिएको छ र हामी आलेखको तेस्रो र अन्तिम शृंखलामा छौं । पहिलो र दोश्रो शृंखलामा हामी आलेखको थप भूमिका र उद्देश्य, बडामहाराजको दिव्य उपदेशभित्र रहेका उपदेशहरूको वर्गीकरण गर्दै देशको सार्वभौमिकता, सुरक्षा तथा परराष्ट्र, धार्मिक, संस्कृतिक र समावेशी नीति र अर्थ तथा आत्मनिर्भरताका नीतिहरूसम्बन्धी उपदेशहरूमा चर्चा गर्यौँ ।


(भाग -१ र २  लिंकमा हेर्नुहोस)

‘दिव्योपदेश’भित्रको दर्शन

'दिव्योपदेश'भित्रको दर्शन-भाग २

यस भागमा हामी उहाँका युद्ध कौशलता तथा नीति र काठमाडौँ उपत्यका विजय, अंग्रेजसँगको युद्ध र विजयसम्बन्धी दिव्य उपदेशहरूमा चर्चा गर्नेछौँ: 

भाग- ३ 

उपदेश- १ 

आफ्ना घरका पुराना सेवक जाची हजुरमा हरोदम राषी, दरोवस्त वाधी घर बलियो राष्नु । यस्व भया दरबार बलियो रहन्छ । राजाको चतुराइ भाया, सिपाही रैती हात गरि राष्नु । कसैका मलाजा पछि, गुण पछि लाग्न नदिनु । नुन पछि लाउनु । 

अर्थात्,

दरबारका पुराना इमान्दार कर्मचारी र सेनाको पहिचान गरेर उनीहरूलाई आवश्यक सुविधा दिएर आफ्नो पकडमा राख्नु । बुद्धिमान राजाले जहिले पनि आफ्ना जनता र सेनालाई रिझाएर राख्नुपर्छ । यसो गर्नसके दुश्मनले यिनीहरूलाई प्रयोग गरी हाम्रो भेद पत्ता लगाउन सक्दैन र दरबार बलियो रहन्छ ।

उपदेश- २ 

क्या चुनी सिपाई भया । क्या भैभारादार भया । इनलाई दवलथ कमाउन नदिनु । आदमी हेरि हुर्मत मात्रै राषी दिनु । क्यान भनौँला । दवलथ भयाकाले तरवारमा पसि मर्न मार्न सकैनन र हरिपको चमक हुन्छ ।

अर्थात्, 

भाइभारदार वा सिपाहीलाई धेरै धन दौलत कमाउन नदिनु । मान्छे र उसको पद हेरेर ठिक्कको इज्जतसम्म राखिदिनु । किन यस्तो भनेको हो भने धेरै धन दौलतको भोगी मान्छेले देशको लागि मर्न र मार्न सक्दैन । उसले दुश्मनसँग लड्ने कष्ट गर्दैन । यस्ताबाट देशको रक्षा हुँदैन । 

उपदेश- ३ 

तब राजाले ठूलो नियाँ निसाफ हेर्नु । अन्याय मुलुकमा हुन नदिनु । नियाँ निसाफ विगार्न्या भन्याको घुस दिन्या र घुस षान्या ईन दुईको ता धनजिव गरि लियाको पनि पाप छैन । ई राजाका महासतुर हुन् । 

अर्थात्, 

राजाले ठूला न्याय निशाप आफैँ हेर्नु कसैको भर नपर्नु । मुलुकमा कसैलाई अन्यायमा पर्न नदिनु । न्याय निशाप बिगार्ने भनेका घुस खाने र घुस खुवाउनेहरू हुन् । यिनीहरूलाई सर्वश्वहरणसहित मृत्युदण्ड दिए पनि पाप लाग्दैन । यिनीहरू राजा/देशका महाशत्रु हुन् ।

उपदेश- ४ 

सिपाहीहरूको घर षेत मिलाई दिनु र मलजल गर्छन र डुवौ वोटीभित्र हाल्न पाउँछन् र कविलाको निर्फिक्री हुन्छ । ढोकामा भया पनि, गौडामा भया पनि सिपाहीहरूको छाती बलियो रहन्छ । 

अर्थात्,

सिपाहीहरूलाई घर खेतको व्यवस्था गरिदिनु । यति भएपछि मलजल गर्छन् , उब्जाउँछन, खान्छन् । परिवारको चिन्ता गर्दैनन् । ढोकामा (राजधानी) खटिएका हुन् वा दुश्मनको नजिक सिमानामा (गौडामा) ढुक्कले लड्छन् ।

उपदेश- ५ 

राजाका सार भन्याको सिपाही र रैतीहरू हुन् । राजा चतुर भया, सिपाही र रैती हात हात गरि राषनु र हुल कुल हुन पाउँदैन । सिपाही भन्याको तिषारि राषनु । तिषारि राष्याका सिपाही कसैका मलाजामा पस्तैनन् र आफ्नु काज फत्य हुन्छ ।

अर्थात्,

राजाको भर भनेकै सेना र जनता हुन् । बुद्धिमान राजाले सधैँ यिनीहरूलाई रिझाएर राख्नुपर्छ । सिपाहीलाई जहिले पनि युद्धको लागि तालिम दिएर, अभ्यास गराएर र हतियारले सुसज्जित पार्दै तिखार्नु पर्दछ । यसरी हमेसा अभ्यासमा व्यस्त सेनामा कुनै घुसपैठको सम्भावना कम हुन्छ । यिनले आफ्नो काम फत्ते गरेरै छोड्छन् ।

उपदेश -६

मलाई परशुराम थापाले नेपाल हान्न औ भनि हात दिई राष्या थ्यो । आफ्ना भाइलाई लाष विषी पुर्‍याउनु, बाईसी चौबीसी उठाई पछाडि हान्नु भनि पठाय छ र मैले थाहा पायाँ र काहा पुग्याको छ भनि सुध्यायाँ र पोषराको हटियामा डेरा गरि वस्याको छ भनि सुन्या ।

र त्यसलाई बैठाई आउन को सकौँला भनि सल्लाह गर्दा कसैले पनि ठहराउन सकेन र मैले भन्या, झागल गुरुङ सक्ला भनि डाकी अह्राई मेरा कमरको कोटा षान दिया र गयो र पुगि गाईनेको भेष गरि, हातमा बल्छीको टागो लि काषीमा सारंगी च्यापी २/४ धार्नीको सहर लैगी, अरू उसका लस्करहरू भात षान्या वषतमा अवसर हेरि वैठाई आयो र पछाडि सुद्द गरि नेपाल षोल्याई पुरुव पश्चिमका दुनियाँ हात गरि नेपाल लियाथ्या ।

अर्थात्,

एक जना परशुराम थापा भन्ने मान्छेले मलाई नेपालमाथि आक्रमण गर्न आउनुहोस् म पनि साथ दिन्छु भनेर उक्साइरहेको थियो । मैले गुप्तचर परिचालन गरेर बुज्दा उसले त मलाई नेपाल हान्न बोलाउने अनि हाम्रो अनुपस्थितिमा पश्चिमतर्फका बाइसी/चौबिसी राज्यहरू उठाएर गोर्खामाथि हमला गर्ने षडयन्त्र रचेको रहेछ । त्यसको लागि एक लाख बीस हजार रुपैयाँ दिएर आफ्नो भाइलाई खटाएको रहेछ । 

त्यसको भाइ अहिले कहाँ छ भनि बुझ्दा पोखराको हटियामा डेरा गरेर बसेको छ भन्ने बुझियो ।

मैले आफ्ना सेनाहरूलाई तिमीहरूमध्ये कसले परशुरामको भाइलाई मार्न सक्छौ भनि सोध्दा सबै चुप लागे । त्यसपछि मैले यो काम त झागल गुरुङले सक्छ, ल उसलाई बोलाउ भनि अह्राएँ । झागललाई आफ्नो कम्मरको कोताखान (पेटीसहितको खुकुरी) दिएर यो काम गोप्य रूपमा गर्न भनेँ ।

झालग गाइनेको भेषधारण गरेर पोखरा पुगे । त्यहाँ उनले एक हातमा सारंगी, अर्कोमा बल्छी छोपेर, २-४ धार्नी सहर माछाको कुम्लो बोकेर उसको डेरामा पुगे । बडो चलाखीपूर्ण रूपमा खाना खाने समयमा मौका छोपेर उसको हत्या गरेर झागल गुरुङ गोर्खा फर्किन सफल भए । मैले यसरी बडो चलाखीपूर्ण तरिकाले आफ्ना दुश्मनहरू समाप्त पार्दै नेपाल एकीकरण गरेको थिएँ ।

उपदेश- ६ 

र लषनैबाट तीन मुसलमान मेरो चाकरीलाई नुवाकोटमा पिछा परि आयाका थिया । ईनै बन्दुकको तुल कलायेत तिनै मुसलमानले जान्याको रहेछ र सेषजर वर मम तकि भेषार्सी तीनै जनालाई आजिट्नी दिया र तिलंगा सधायाको हो ।

अर्थात्,

र लखनउबाट तीन जना मुसलमान मेरो चाकरी गर्न पाइन्छ कि भनेर मलाई खोज्दै नुवाकोटसम्म आएका रहेछन् । तिनीहरूले बन्दुक चलाउन जानेका रहेछन् । त्यसैले मैले शेख जोरावर, ममताकी र भेहर कसीम नामका यी तीन मुसलमानलाई सेनामा भर्ती गरेँ र यिनीहरूले अन्य गोर्खाली सेनालाई बन्दुक चलाउन सिकाए ।

उपदेश- ७ 

कास्मेरी खान, नवाफ मकवानपुरमा चढ्यो र छअविस खोडाले काटि घर्काई सिवाना कटाई आयाँ । तीन चार पल्टन लियर सिदुली गढिमा हाडी साहेव चढ्यो र वा वाही पनि काटि पथकार्ला च्यापि ल्यायाँ ।

अर्थात्, 

एउटा नबाब काशीम अलि खानने नेपाल आक्रमण गर्न मकवानपुरसम्म आएको थियो । त्यसलाई हाम्रो १२० जनाको समूहले खुँडाले काटेर धपायौँ सीमा कटाएरै छोड्यौँ । पछि फेरि हार्डी नाम गरेको अंग्रेज ३-४ पल्टन अंग्रेज सेना लिएर सिन्धुलीगढी आयो । तिनीहरूलाई पनि काटेर तिनका हतियार खोसेर धपायौँ ।

उपदेश- ८ 

चन्द्रागिरिमा आई पुग्या पछि नेपाल कुन्हो भनि सुध्यायाँ र त्यो भादगाउँ हो, त्यो पाटन हो, त्यो काठमाडौँ हो भनि देषा र मेरो मनमा यि तिनै सहरको राजा हुन पाया त हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो । 

उस्तै बेलामा ऊ दुवै जैसीले भने हजुरको मनकान्छ्या, अविलाष पुग्ला महाराजा भन्या र मलाई आर्सेज लाग्यो र मेरा पेटका कुरा कसो गरि जानेउ र त्यस्व भनेउ र भनि मैलेभन्दा जसै नेपालमा नजर दिनु भये थ्यो उसै बेला मोचमा बाहुली दिँदा मनमा नेपालको राजा हुन प्या ता हुँदो हो भन्या जस्तो परेछ भनि बिन्ती हजुरमा गर्या कै हो भने र यो कुरा पुग्ला भनि मैले भन्दा हजुरले गौ, ब्राह्मण, अतीत, फकिर देउदेउताको मानिता बहुतै राख्नु भयाको छ । हाम्रा हातमा पनि सरस्वतीको वरदान छ । हजुरलाई नेपालको राज वस्यै हुनै छ भने ।

अर्थात्,

मकवानपुर ससुरालीबाट फर्किँदा चन्द्रागिरी पुगेपछि सहयोगीहरूलाई नेपाल कुन हो भनेर सोधेँ । उनीहरूले त्यो भादगाउँ हो, त्यो पाटन हो र त्यो काठमाडौँ हो भनेर देखाए । मलाई यी तीनै शहरको राजा हुन पाए भन्ने लाग्यो । त्यतिकैमा मेरा दुई जैसी (ज्योतिष/पण्डित)ले  'हजुरको मनकामना पूरा हुनेछ महाराज' भने । मलाई आश्चर्य लाग्यो र मेरो मन(पेट)का कुरा कसरी जान्यौ भनेर सोधेँ  ।

उनीहरूले हजुरले नेपालतर्फ हेरेको बखत हामीले मनोभावना बुझेका हौँ भनेर जवाफ दिए । त्यसपछि मैले मेरो लक्ष्य पूरा होला त भनेर सोध्दा उनीहरूले 'पूरा हुन्छ किन भने हजुरले  गाई, ब्राह्मण, अतिथि, साधुसन्त (फकिर) र देवीदेवताको खुब मान राख्नुभएको छ' भने । हामी ज्योतिषको (हात) मुखमा पनि सरस्वतीले बास गरेकी हुन्छिन् हामीले यत्तिकै भनेको हुँदैनौँ हजुरलाई नेपालको राजा बन्ने योग छ भनेर बिन्ती गरे ।

उपदेश- १० 

गोर्षा पुगेपछि मामाज्यु पनि निलकण्ठ पसुपतिको दर्सनलाई देउघाट्को बाटो गरि जानुभयाको रहेछ । निलकण्ठ पसुपतिको दर्सन भया पछि श्री गोरषनाथको दर्शनलाई गोर्षामा आउनु भयो र दर्सन भया पछि म सित भेट भयो र मैले भन्या, मामाज्यु मकवानपुर पनि पुगी आयाँ । नेपाल पनि देखि आयाँ । हान्नाको मनसुवा पनि राखी आयाँ । कति कुराले मेरो काज फत्ते होला । अर्ति बक्सनु भया हुँदो हो भनि मैले भन्दा मलाई पनि पन्चरात्रीमा दृष्टान्त भयो । हामीले देषता, पाँच पाण्डुवाको अवतार भयाको जस्तो लाग्द छ । कुरुक्षत्रको मेला नभै नेपाल फुट्ने छैन । लामजुन् भन्याको गरुड हो । गोर्षा भन्याको सरप हो । नेपाल भन्याको भ्यागुतो हो । अघि गरुडको आँखा छल्नु तव सर्पले भ्यागुतो खान पाउँछ ।

अर्थात्, 

म गोर्खा फर्किएपछि मामाज्यूसँग भेट भयो उहाँ बुढानिलकण्ठ, पशुपतिनाथको दर्शन गरेर गोरखनाथको दर्शन गर्न गोर्खा आउनुभएको रहेछ । मैले आफू मकवानपुर गएर फर्किँदा नेपाल हेरेर आएको र नेपाललाई पनि आक्रमण गर्ने विचार गरेको कुरा राख्दै कसरी सफलता मिल्छ अर्ती दिनुहोस् भनेर बिन्ती गरेँ । उहाँले आफूले पनि सोही कुरा पंचरात्रीमा सपना देखेको बताउनुभयो साथै हामीलाई पाँच पाण्डवको अवतार भएको हुनसक्ने कुरा गर्नुभयो । साथै लमजुङलाई गरुडको, गोर्खालाई सर्पको र नेपाललाई भ्यागुताको संज्ञा दिँदै 'गरुडको आँखा छल्न सकेमात्र सर्पले भ्यागुतो खान सक्ने' अर्थपूर्ण सुझाव दिनुभयो ।

उपदेश- ११ 

अब पाडे वस्न्यात्को जुग वाधि दिन्छु तेरि छोरी सिवराम बस्न्यातको छोरो केहेसिंह बस्न्यातलाई देउ भनि मागि बिहे पनि गरि दियाँ र पाडे वस्न्यातको जुग वाधि पाडेको ढाल बस्न्यातको तरवार गरि नेपालमा चढाइ गर्या को हो ।

अर्थात्,

कालु पाण्डेलाई काजीमा नियुक्त गरेपछि त्यसको आशा गरेका बस्नेतहरू असन्तुष्ट हुनसक्ने र पाण्डे र बस्नेतबीच फाटो बढ्न सक्ने सम्भावनालाई समाप्त पार्न यी दुई घरानाबीच पारिवारिक सम्बन्ध स्थापित गराउन शिवराम बस्नेतको छोरो र केहेसिंह बस्नेतकी छोरीबीच विवाह गराई दिएँ । यसरी पाण्डे र बस्नेत दुवैको युद्ध नीति तथा साहसलाई मिलाएर युद्धमा होमिएको हो ।

उपदेश -१२ 

र येक दिन कचहरीमा बस्याको थियाँ । तांरा लागेछ र तान्रैमा ता ईन्द्रायनिका थानमा वस्याको रहेछु । आजका सात दिनमा ठूलो सायेत छ, त्यसै दिनको सायतले नुहाकोट साध्ये हुन्या छ भन्याको सुन्या र पात्र हेर न जैसी भन्या र पात्रो हेर्या र आजका साता दिन विहाउदो सनिश्चर वार ठूलो सायत रहेछ भनि बिन्ती गर्या ।  

अर्थात्,

एक दिन बैठकमा बसेको बेला यसो निद्रा (तान्द्रा) लागेजस्तो भयो । यतिकैमा सपना देख्‍न पुगेछु । म इन्द्रायणीको मन्दिरमा पुगेछु त्यहाँ कसैले आजका सात दिनमा ठूलो साइत छ त्यसै दिन नुवाकोट आक्रमण सफल हुनेछ भनेको सुनेँ । ज्योतिषलाई पात्रो हेर्न भनेँ, ज्योतिषले पनि आउँदो सातौँ दिन शनिबार ठूलो साइत रहेछ महाराज भनेर बिन्ती गरे ।

उपदेश- १३  

दावा भन्या नुहाकोट्को, वहाना भन्या षीच्यात्को कुलो काटि षेत विराउनाको गरी राष्याथ्या ।

अर्थात्,

नुवाकोट आक्रमण पूर्व हाम्रो योजना चाहिँ नुवाकोट हान्नु थियो तर बैरीले हाम्रा सेना किन नुवाकोटतर्फ प्रस्थान गरे भनेर शंका गर्लान कि भनेर खिन्च्यातमा कुलो काटेर खेतको लागि पानी लान लगिएको हो जस्तो पारिएको थियो ।

उपदेश- १४ 

जयप्रकाश मल्लका मत्लपलाई दषीनबाट नागा झिकाया र नेपालभित्र पस्न न दि सात गाउ भित्रैमा मिजायाँ ।

अर्थात्,

जयप्रकाश मल्लले आफ्नो मद्दतको लागि दक्षिणबाट नागाहरू झिकाएका थिए तर मैले उनीहरूलाई नेपालभित्र छिर्नै नदिएर सात गाउँ भित्रैमा सिध्याइ दिए । 

000

व्याख्या : 

कतिपयले आँकलन  गरेजस्तो  बडामहाराज पृथ्वीनारायण शाह केवल लडाका मात्र थिएनन् । कतिपय लोकले विद्धान ठानेका व्यक्तित्वहरूले समेत उहाँबारे कपोकल्पित र भ्रमित सूचना जारी गरिरहेका भेटिन्छन् । 'तत्कालीन समयमा अरू भुरे टाकुरे राज्यभन्दा गोर्खा बलियो थियो, हतियार प्रशस्तै थिए , पृथ्वीनारायण सुरा तथा लडाका प्रवृत्तिका थिए । आफ्ना सेना लिएर साना राज्यहरूमाथि जाइलागे र जिते' भन्ने खालका हल्का र तथ्यरहित कुरा राष्ट्रिय टेलिभिजनमा बसेर अन्तरवार्ता दिएरहेको पनि देख्न पाइन्छ । वास्तवमा सत्य त्यसो होइन । नेपाल एकीकरण गहन अध्ययन अनुसन्धानपछि सोही बमोजिमका योजना र रणनीति बनाएर सुरू गरिएको थियो ।

पृथ्वीनारायण शाहले भन्दा अगाडिसमेत कैयौं राजाहरूले एकीकरण प्रयास गरेका थिए । खस साम्राज्य पश्चिममा तिब्बतको खारी प्रदेश, बद्रीकेदार खण्ड र सम्भवत लद्दाखदेखि लिएर पश्चिममा त्रिशुली नदीसम्म फैलिसकेको थियो । काठमाडौँ उपत्यकासमेत वि.स १३४४ देखि १३९१ खसहरूले ७ पटक आक्रमण गरेका थिए । वि.स १३४५ तिर खस राजा जितारी मल्लले आक्रमण गर्दा उपत्यका राजा अनन्त मल्लले हार स्वीकार गरिसकेका थिए । नेपाल उपत्यकाका राजासमेत जनताहरूलाई बस्ती छोडेर जंगलमा भाग्न बाध्य परिएको थियो । पछि आनन्द मल्लले ठूलो धनरासी दिएर खस सेनालाई फिर्ता पठाई राज्य जोगाइएको थिए । (खस साम्राज्यको इतिहास- प्रा.डा. सूर्यमणि अधिकारी) 

बडामहाराज पृथ्वीनारायण शाहका आफ्नै पिता नरभूपाल शाहले समेत नुवाकोटमाथि असफल आक्रमण गरेका थिए । उनका पुर्खाहरूले समेत पटक-पटक नजितेका स-साना राज्यहरू जितेर गोर्खामा गाभ्ने र कालखण्डसँगै फेरि ति गाभिएका राज्य फुस्किने क्रम चलिरहेको देखिन्छ ।

त्यो कालखण्डमा एकीकरण अभियान चलाउनु पृथ्वीनारायण शाहको एक त नियमित प्रक्रिया नै थियो भने अर्कोतर्फ दक्षिणमा अंग्रेजले तीब्र रूपमा भारत कब्जा गरिरहँदा यो भू-भाग अब यसरी टुक्रिएर बसे सुरक्षित छैन भन्ने चेतना उहाँमा पलाएको देखिन्छ । अन्य राजाहरूले युद्ध गर्ने आफ्नो राज्य विशाल बनाउने फेरि आफ्ना छोराहरू ठूला भएपछि त्यही विशाल राज्यलाई अंशबन्डाझैँ  छोराहरूलाई बाँडेर स-साना राज्यमै झार्ने प्रवृत्ति देखिन्छ ।

काठमाडौँ उपत्यकासमेत पहिले एउटा राज्य थियो । वि.स १५३८ मा यी तीनै शहर नेपालमण्डलका राजा यज्ञ मल्लको मृत्यु भएपछि उनका छोराहरूले राज्य विभाजन गरेर तीन राज्य बनाएका थिए । बडामहाराजले आफ्ना भाइ तथा छोराहरूमा उनीहरूले माग गर्दा पनि राज्य विभाजन गर्नु भएन । बरू आफ्ना भाइहरूलाई देश निकाला जस्तो कठोर निर्णय गर्नुभयो । यो नै नेपाल एकीकरण उहाँको व्यक्तिगत महत्वकांक्षा थिएन विशाल राष्ट्र निर्माण गर्ने पवित्र अभियान थियो भन्ने प्रमाण हो ।

यसै प्रसंगमा शम्शेरबहादुर थापाले आफ्नो पुस्तक बहादुर शाहको प्रमाणित इतिहासमा लेख्नु भएको छ 'त्यसबेला बेतीयामा नेपालको चर्चा बुझ्न अंग्रेज बसेका थिए । अंग्रेजलाई सौतेनी भाइ र पृथ्वीनारायणका भाइले भेटेछन् । कुरा हुँदा छुट्टै राज्य माग्दा हामी भाइहरूलाई दाजु राजाले यता धपाए भनेछन् । तब अंग्रेजले हाम्रो कार्य सफल भएपछि मकवानी सेन राज्यमा सामन्त राजा दिउँला भने यो खुसियालीमा नुवाकोट बसेकी चौतार्नीलाई महोद्दामकिर्ति शाहले पत्र लेखे । पत्रबाहक काठमाडौँतिर आयो ।' पछि यो पत्र बडामहाराजको हात पर्न सफल भयो र त्यसको जवाफसमेत उहाँले पत्रद्वारा दिएको व्यहोरा उक्त पुस्तकमा उल्लेख छ ।

पृथ्वीनारायणले आफ्नो कार्यकालमा नेपालको सीमाना पूर्वमा सँगलिला पर्वतश्रेणी, दक्षिणमा मोरङ हनुमाननगर, पश्चिममा मर्स्याङ्दी चेपे नदी र उत्तरमा रसुवागढीसम्म विस्तार भयो । यद्यपी उनले छिमेकी राज्यहरू लमजुङ र कास्कीलाई आक्रमण नगरी साँचेर राखेका थिए । लमजुङ धेरै बलियो थियो, उसमाथि आक्रमण गरेर छिमेकमै दुश्मन कमाउनुभन्दा पहिले टाढाका राज्य आफ्नो बनाएर उसलाई मानसिक रुपमै कमजोर पार्ने उहाँको रणनीति थियो ।

पूर्वतिर गोर्खाली सेना एकीकरण अभियानमा हिँड्दा  त्यही मौकामा लमजुङले गोर्खामाथि आक्रमण गर्ने हो कि भनेर आधा सेना गोर्खाको रक्षार्थ छोडेर आधा मात्र लिएर हिँड्ने गरिन्थ्यो । पूर्वतिर अभियानमा हिँड्दा पश्चिमका राज्यहरूसँग मैत्री सम्झौता गरेर छोडिन्थ्यो । काठमाडौँ उपत्यका पनि सिधै जित्न गाह्रो हुने अध्ययनअनुसार पहिले नुवाकोट, मकवानापुर, सिन्धुली, सिन्धुपाल्चोक आफ्नो अधिनस्थ गरेर मात्र यहाँ आक्रमण गरिएको थियो । आक्रमण गर्नुअघि  यहाँका करिब आधा जनताले पृथ्वीनारायण शाहको समर्थन गरेका थिए । त्यस्तो वातावरण बनाउन उहाँले कति मेहनत गर्नुभयो होला कल्पना गर्न सकिन्छ ।

सकेसम्म आक्रमण नै नगरी आत्मसमर्पण गराउने रणनीति थियो । त्यसैको लागि कतै मित लगाइयो भने कतै बिहे गरेर, भारदारको बिहे गराइ दिएर ससुराली बनाइयो । कतै 'किपट सम्झौता गरियो भने कतै सामन्त राजाहरूलाई' मानार्थ राजाको उपाधि छोडियो । सबैभन्दा ठूलो कुरा उक्त समयमा अहिलेको भारतमा उग्र बन्दै गएका मुगल र अंग्रेजबाट यो भूमि जोगाएर हामीलाई सार्वभौम देशको नागरिक बन्ने सौभाग्य प्राप्त भयो ।

कतिपय राष्ट्रियता विरोधी बाटोमा हिँडेका व्यक्ति तथा झुण्डहरू उहाँको नकारात्मक कुराको प्रचार-प्रसार गरेरै आफ्नो दिनचर्चा निभाइरहेका छन् । उनीहरूलाई यस्तो गलत खुराक कसले पस्कन्छ भन्ने  रहस्य पनि पर्दाफास भइसकेको छ ।

नेपालमा वि.स १६८४ देखि नै क्याथोलिक(केपुचिन) धर्म प्रचारकहरू छिरेको पाइन्छ । सो समयमा यिनीहरूको पटनामा ठूलो अखडा थियो । यिनीहरू नेपालको बाटो हुँदै तिब्बतमा धर्म प्रचार गर्न जाने र फर्कने गर्दथे । नेपालका मल्ल राजाहरू पनि यिनीहरूलाई सम्मान गर्दथे । पछि पृथ्वीनारायण शाहले काठमाडौँलाई चारैतिरबाट घेरा हाल्दा यहाँका बासिन्दालाई भन्दा यी धर्म प्रचारकहरूलाई सम्मानजनक व्यवहार गर्नुभएको थियो । धर्मकर्म गर्ने मान्छे भनेर उनीहरूलाई गोर्खाली सेनाको घेरा बाहिर जान र फर्किन छुट दिइएको थियो यद्यपी पछि यिनीहरू अंग्रेजको सुराकी गर्ने गरेको भेटेपछि बडामहाराजजे यिनीहरूलाई देश निकाला गर्नुभयो ।

इतिहासकार सूर्यविक्रम ज्ञवाली आफ्नो पुस्तक पृथ्वीनारायण शाहमा लेख्नुहुन्छ 'पृथ्वीनारायण शाहले आरम्भमा यी धर्म प्रचारकहरूसँग यस्तो दयापूर्ण व्यवहार गरेको भएपनि पछि यिनीहरूले ब्रिटिश कप्तान किनलोकलाई नेपालको समाचार पठाई नेपाल आक्रमण गर्न उत्साहित गरेको पत्ता लाग्यो । धर्मकर्म गर्ने मान्छे होलान् भनेर छुट दिएको त राजनीतिमा भाग लिएको भेटिएपछि पृथ्वीनारायण शाहले यिनीहरूलाई नेपालबाट निष्कासित गरे । यिनीहरूसँगै यिनीहरूले क्रिश्चियन बनाएका नेपाली गरेर जम्मा ६२ जनाले देश छोड्नु परेको थियो ।'

उनीहरूसँगै निस्किने धर्म परिवर्तन गरेका नेपालीहरूले आफ्नो धन सम्पति बेचेर लिएर जाने स्वीकृति पाएका थिए । तत्कालीन कालखण्डमा अन्य देशले गर्ने कारबाहीभन्दा यो कारबाही नरम थियो । केही समय अगाडि तिब्बतले यस्तै धर्म प्रचारकहरूलाई देश निकाला गर्दा उनीहरूका शिष्य बनेका तिब्बती जनता सँगै जान स्वीकृति थिएन । साथै यी धर्म प्रचारकहरूलाई पनि अत्यन्त अपमानका साथ निकालिएको थियो ।

त्यसपछि यिनीहरूले यसरी देश निकाला गरेर अपमान गरेको बदला लिन पृथ्वीनारायण शाहको बारेमा अनेक गलत कुराहरू जोडेर अंग्रेजलाई कुरा लगाए । अंग्रेजसमेतको सहयोगमा नेपालको इतिहास भन्दै कपोकल्पित कुराहरू लेखेर बेलायत, फ्रान्स, भारतलगायत विभिन्न देशहरूमा बाँडियो । अचम्म त के छ भने वर्तमान अवस्थामा समेत तिनै भ्रामक र बदलाको भावले लेखिएका पुस्तकहरूलाई  धर्म मिशिनरी र विभिन्न एनजिओ/आइएनजिओहरूले नेपाली र अन्य स्थानीय नेपाली भाषाहरूमा समेत छापेर नेपालका विभिन्न जातजातीहरूलाई बाँडिरहेका छन् । राष्ट्रिय एकता भत्काएर आफ्नो अभिष्ट पूरा गर्न खोज्ने केही नेपालीहरू यसमा संलग्न छन् । सोझा साझा जनता यो कपोकल्पित इतिहासलाई सत्य ठानिरहेका छन् ।

पृथ्वीनारायण कुनै एक जाति विशेष, भूगोल विशेष र धर्म विशेषका मात्र राजा होइनन् समग्र नेपाल र नेपालीका एक साझा गौरभपूर्ण मियो हुन् । 'मेरा साना दु:खले आर्ज्याको मुलुक होइन सबै जातको साझा फुलबारी हो' भन्ने उहाँको आशय नै समावेशी आशय हो ।

आफ्ना सेनामा समेत उहाँले गुरुङ, मगर, खस, ठकुरी, ब्राह्मण, तामाङ आदिको समीश्रण गरेर निर्माण गरेको तथ्य छ । मनिराम गाइनेले सारंगी बजाउँदै दुस्मन राज्यमा डुलेर उनीहरूको सुराकी गर्ने गुप्तचर थिए । विशे नगर्ची दरबारमा बाजा बजाउने काम गर्थे यद्यपी उनी बडामहाराजका विशेष सल्लाहकार थिए । बेखा सिंह विश्वकर्मा, कालु सार्की र जसवीर कामी घरेलु बन्दुक बनाउने र सेनाको पोशाक तयार पार्ने जिम्मेवारीमा थिए ।

आफूले कुनै पनि सकारात्मक कार्य गर्न नसकेका हाम्रा वर्तमान राजनीतिक नेतृत्वहरू उहाँको यत्रो ठूलो योगदानको समेत अवमुल्यन गरिरहेका छन् । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा पाउनसमेत वर्तमान व्यवस्थासँग आन्दोलन नै गर्नुपर्ने अवस्था छ । जसले हामीलाई देश दियो उसैलाई सराप्दै आफ्नो राजनीतिक दुकान चलाउनेहरूबाट अब जनता सजक हुनुपर्दछ । यस्ता दुकान्दार 'यो देशमा इतिहासदेखि नै कसैले सकारात्मक कार्य गर्न सकेका छैनन् । त्यसैले हामी असफल होइनौं यो देश नै यस्तै हो' भन्ने खालको भ्रम छरेर आफ्नो राजनीतिक व्यापारको भविष्य सुनिश्चित गर्न खोजिरहेका छन् ।

तसर्थ सम्पूर्ण देशभक्त नेपालीहरूले यस्ता भ्रम चिर्दै समाजलाई उहाँको वास्तविक छवि र योगदानको शिक्षा बाँड्दै जानु आजको आवश्यकता हो । हामी एउटा २१ वर्षको ठिटोले एकीकरण अभियान सुरू गरेर सफल पारेको भूमिमा छौं र गर्वका साथ हामी इतिहासमा कहिले कसैको गुलाम बन्नु नपरेको सार्वभौम मुलुकका नागरिक हौँ भन्न पाएका छौँ । त्यो कालखण्डमा समेत उहाँको तीक्ष्ण बुद्धि, दूरदर्शिता, युद्ध कौशलता, रणनीति निर्माण, आर्थिक, सामाजिक, धार्मिक, परराष्ट्र, समावेशी सबै विधामा पूर्ण हुनु चमत्कार नै हो । नेताकै खडेरी परेको र गिरोहले देश हाँकिरहेको वर्तमान अवस्थामा बडामहाराजका दिव्य उपदेशहरू हम्रा लागि मार्गदर्शक बन्न सक्दछन् । हामीलाई देशको साथ साथै जीवन भर पुग्ने अर्ती उपदेश छोडेर जाने यस्ता राजनेता तथा महापुरुषको महिमा जति गाए पनि कमी नै रहन्छ । बडामहाराज पृथ्वीनारायण शाह सदैव अमर रहून् ।


Author

थप समाचार
x