विचार

सामाजिक विषय किन ऐच्छिक बनाइयो ? के समाज बुझ्नुपर्दैन् ?

चैतन्य मिश्र |
फागुन ८, २०८० मगलवार ८:१ बजे

नजिकै फेवाताल केले बनेको छ ? अनि कलम केले बनेको छ ? यो दुइटा कुरा सम्झिराख्नुहोस्  । 

एउटा कथा छ, ५० वर्ष पहिले नेपालमा एउटा दम्पत्तिले ६ जना बच्चा पाउँथे । अहिले २ भन्दा कम पाउँछन् । म जन्म र मृत्युको कुरा गर्दैछु । म जन्मेको ताका हजार जना बच्चा जन्मिए भने ४ सय जना मर्थे । तर, अहिले हजारमा २७ जना मात्रै मर्छन् ।


अब कल्पना गरौं, जन्म र मृत्यु निर्धारण गर्ने के ले हो ? हामी दैवले हो भन्थ्यौं, आपसे आप हो भन्थ्यौं, प्रकृतिले हुन्छ भन्थ्यौं । आखिर के ले हो ? यो जन्म र मृत्युमा भौतिक कारण छन्, जैविक कारण छन्,,, आदिआदि छन् ।

नेपालमा जन्ममा ४ जना अर्थात् एक तिहाई बच्चा कम भइसके । संसारमै यस्तो भइराखेको छ । मृत्युमा पनि यस्तै भइसक्यो । ४ सयमा जम्मा २७ जनामा आइसक्यो । यसमा पनि भौतिक कारण होलान्, जैविक कारण होलान्, रासायनिक कारण होलान् !

मैले आज यहाँ भन्न खोजेको कुरा, मूलतः समाजको प्रकृतिमा आएको परिवर्तको कारणले गर्दा हो । आजको विषय समाज किन पढ्ने भन्ने हो । समाज, सामाजिक शिक्षा, समाज विज्ञानलगायत समाजसँग सम्बन्धित किन पढ्छौं त ? समाज पढ्नुको महत्व के हो ? जन्म र मृत्यु समाजले निर्धारण गर्छ कि गर्दैन ? त्यो नितान्त प्राकृतिक, दैविक, जैविक कारण मात्र हो कि सामाजिक कारण पनि हो ?

समाजको चरित्र परिवर्तन हुँदा कसरी जन्म र मृत्युको जरै परिवर्तन हुन्छ ? हाम्रो बाँच्ने सम्भावना बढ्ने, घट्ने हुन्छ । समाज यति महत्वपूर्ण चिज हो । त्योबारे अध्ययन गर्नु अत्यन्तै जरुरी छ । त्यो अध्ययन नगरी हाम्रो शिक्षा पूरा हुँदैन ।

अघि तालको कुरा गरेको थिएँ नि ! त्यो ताल केले बन्छ ? ताल सतहमा हेर्दा पानीले बन्छ । त्यो ठीक पनि हो । ताल पानीले नै बनेको हो । आकासे पानीले बनेको हो, नदीले बनेको हो, आद्रताले बनेको हो । जमिनले गर्दा बनेको हो । तर, तपाईं कल्पना गर्नुहोस्, अहिले फेवतालको ठूलो झगडा छ । फेवाताल कहिले ठूलो हुने, कहिले सानो हुने, मुद्दा मामिला हुने भइरहन्छ । ठूलो बनाउने, सानो बनाउने प्रयत्न भइराखेको छ ।

हो, त्यो फेवातालको निर्माण पनि हाम्रो सामाजिक चरित्रले निर्माण गर्छ । राजनीतिक, आर्थिक चरित्रले पनि गर्छ । त्यो पानीले मात्रै बनेकै होइन । फेवाताल समाजले बनाएको हो । अहिले नियन्त्रण नगर्ने हो भने त्यहाँ घरैघर बन्छ । फेवातालमा अहिलेसम्म केही नबनेको त्यहाँ नियन्त्रण गरिएकाले हो । नत्र त्यहाँ बजार बन्थ्यो । सहर बन्थ्यो ।

फेवातालको पानीमा हामीले समाज देखेनौं भने अनर्थ हुन्छ । फेवातालको पानीमा समाज देख्न, बुझ्नलाई सामाजिक शिक्षा महत्वपूर्ण छ । यो कुरामा सामाजिक पढ्नेले, पढाउनेले ग्रहण गर्न सक्नुपर्छ । अघि एउटा कलमको प्रसंग पनि भनेको थिएँ । यसो हेर्दा कलम प्लास्टिकले बनेको छ, केमिकलले बनेको छ । भित्र मसी छ । तर, यहाँ कसैले मान्छे देख्छ ? योभित्र समाज छ ? योभित्र पनि मान्छे छ नि ! मान्छेले काम गरेर कलम बनेको हो । यो प्लास्टिक कसले बनायो ? त्यो केमिकल, त्यो मसी कसले बनायो ?

कलम बनाउँदा थुप्रै मान्छे लाग्छन् । कति जनाको लगानी लाग्छ । कति जनाको आम्दानी हुन्छ । कति जनाको परिवार चल्छ । त्यसैले कलमभित्र पनि समाज छ । यो कलमभित्र मान्छे, समाज, समाजको चरित्र र समाजिक सम्बन्ध देख्नु अत्यन्तै आवश्यक छ । यसर्थ सामाजिक शिक्षा पढ्नु भनेको देख्ने प्रयत्न गर्नु हो ।

अरू धनी देशहरूमा सामाजिक शिक्षा पढाउनेहरू टन्न तलब हुन्छ । यहाँ पढाउनेको धेरै तलब हुँदैन । सामाजिक पढाउने मात्रै होइन, अरु काम गर्नेको पनि बाहिर धेरै तलब हुन्छ । यहाँ कम हुन्छ । काम गर्ने त उही हो । उही काम गर्दा भिन्नभिन्न ज्याला किन हुन्छ संसारमा ?

अहिले क्लाइमेट चेन्ज भनिएको छ । क्लाइमेट चेन्ज भनको त ठूलो कुरा हो नि ! प्रकृतिजन्य, दैवले गर्ने भन्ने कुरा थियो । अहिले कतिपय ठाउँमा एकदमै गर्मी हुन थाल्यो, कतै कम पानी पर्न लाग्यो । धेरै बाढी आउन लाग्यो । यस्तो बाढी, पहिरो, पानीदेखि लिएर सानोसानो भूकम्पसमेत मान्छेले गर्दा हुन्छ । हामीले जे खान्छौं, जे लगाउँछौं, जे उपभोग गर्छौं त्यसले गर्दा क्लाइमेट चेन्ज हुन लाग्यो ।

हावापानीलाई पनि समाजले परिवर्तन गर्छ । हावापानी भनेको त बडा प्राकृतिक कुरा हो नि ? यो कि दैविक कुरा थियो, प्राकृतिक कुरा थियो । भनेपछि हावापानीमा आएको परिवर्तनलाई हामीले समाजको चरित्रको पक्ष भनेर बुझ्नुपर्छ । समाजले गर्दा यस्तो भएको हो ।

त्यसकारण सामाजिक शिक्षा पढ्दा, पढाउँदा हाम्रो जीवनमा यावत कुराहरू, जे परिवर्तन आएका छन् यसलाई सामाजिक चरित्रसँग जोडेर हेर्नसक्नुपर्छ । हामी प्रविधिले समाज परिवर्तन गर्छ भन्ने गर्छौं । खासमा समाजले प्रविधिको निर्माण गर्छ । समाजले प्रविधि परिवर्तन गर्छ । त्यसकारण सामाजिक शिक्षा पढ्ने, पढाउनेले समाजलाई अगाडि र प्रविधिलाई पछाडि राख्ने हो । सामाजिक पढ्ने, पढाउनेले समाज कारक हो, अरु असर हुन् भनेर बुझ्ने बुझाउने प्रयत्न गर्नुपर्छ ।

अनि यो कोभिड र समाजको के सम्बन्ध छ ? समाजले गरेर कोभिड ल्याएको हो कि ? जरुर हो । समाजमा आएको परिवर्तनले कोभिड ल्याएको हो । समाजले दूरदराजका कहिल्यै भेट नहुने, ज्युँदा वा मुर्दा जनावरहरूलाई एक ठाउँमा ल्याइदियो ।

चाहे त्यो मासु बनाएर पसलमा वा ज्युँदो रुपमा, यिनीहरू आआफ्नो रोग बोकेर आए । एउटाले अर्कोलाई रोग सारेर आए । रोग अउने मुख्यतया जनावरहरूबाट हो । हङकङजस्तो ठाउँमा धेरै क्राउड छ । त्यहाँ धेरै ठाउँबाट मान्छे बस्छन्, उनीहरूलाई उत्तरी ध्रुवको मासु पनि चाहियो, दक्षिणी ध्रुवको मासु पनि चाहियो । त्यो सम्मीश्रणबाट यो भाइरसहरू सिर्जना हुने हो । ग्लोबलाइज्ड संसार एकै ठाउँमा आउँदा, सम्पन्न मान्छेहरूले जर्महरूलाई एक ठाउँमा ल्याउँदा कोभिडको जन्म भयो । मास्क लगाउने, सोसियल डिस्टान्सिङ भनेर कोभिडबाट बच्ने उपाय पनि समाजले नै अगाडि सारेको हो ।

अर्थात् सारांशमा भन्नुपर्दा म, हामीभित्रै छौं । अंग्रेजीमा पनि ‘आई’ वी’कै भागभित्र हो । ‘म’ वर्ग, घर, देश र विश्वकै भाग हो । यो हामी र मबीचको सम्बन्ध देखाउने शिक्षा नै सामाजिक शिक्षा हो ।  म छुट्टै होइन भनेर देखाउने नै सामाजिक शिक्षा हो । त्यसकारण ‘म’ एउटा ठूलो ‘हामी’ को एक भाग हुँ भनेर बुझाउने विषय नै सामाजिक शिक्षा हो । यो विश्वको, यो ब्रह्माण्डको म एउटा अंश हुँ, यो परिवर्तनशील संसारको एउटा परिवर्तित भइराखेको अंग म हुँ भनेर बुझाउने सामाजिक शिक्षा हो । सामाजिक शिक्षा पढाउने यो भाव राखेर पढाउँदा उपयुक्त हुन्छ ।

यो इतिहास बुझाउने पनि सामाजिक शिक्षा नै हो । हामी हाम्रा पुर्खाहरूको अंश हौं । पुर्खा भन्नाले मैले मेरै वंशावली लेखेकोजस्तो होइन, सम्पूर्ण मानव पुर्खाको कुरा हो । वंशावलीमा मलाई कुनै विश्वास छैन । मानवजातिको कुरा गरेको हो । त्यो पुर्खा यहाँसम्म कसरी परिवर्तन भएर आयो ? त्यो श्रृंखलामा म कसरी जोडिएको छु ? भनेर ऐतिहासिक कालखण्डक्रम बुझ्ने पनि सामाजिक शिक्षाबाटै सुरु हुन्छ ।

शिक्षा भनेको किताबबाट जाँचमा लेख्ने कुरा होइन । शिक्षा भनेको विचार गर्ने हो । किताबमा लेखेको कुरालाई पनि जाँच्ने हो । किताबमा लेखेको कुरा त पढ्नु पर्‍यो, त्यहाँ लेखेका कुरा मनन् पनि गर्नुपर्‍यो ।

किताब मात्रै होइन, बा ले के भन्नुभयो ? आमाले के भन्नुभयो ? साथीले के भन्छन् जोड्ने र आफूले कुन ठिक रहेछ भने सत्यको खोजी गर्नु नै शिक्षा हो । किताबमा लेखिएको कुरा मात्रै सत्य हुँदैन । आफैँले विचार गर्न सिक्ने, आफैंले बोल्न सिक्ने, आफैंले लेख्न सिक्ने हो यो पढ्ने भन्ने कुरा ।

सामाजिक शिक्षा खास गरेर हामी धेरैलाई मन पर्दैन । अहिले त झन् ऐच्छिक बनाइयो । सरकारलाई मन पर्दैन, निजी स्कुललाई मन पर्दैन । अघि मैले सामाजिक शिक्षाको महत्व भनें । तर, ११, १२ कक्षाका सबै विद्यार्थीले सामाजिक शिक्षा पढ्नुपर्दैन ।

यो एकदमै नहुनुपर्ने कुरा हो । बेठिक भा’छ ।

कस्तोखाले हाम्रा नेता होलान् ? शिक्षा मन्त्रालय होला ? सचिवालय टिम होला ? प्रधानमन्त्री कस्तो होला ? देश चलाउने मान्छे कस्ता होलान् ? जसले स्कुलतहमै महत्व बोकेको सामाजिक शिक्षालाई ऐच्छिक बनाउँछ । नपढे पनि हुन्छ भन्ने गराउँछ ।

‘सामाजिक सम्बन्ध पढ्नु पर्दैन तैंले, समाज पढ्नु पर्दैन’ भन्छ । यो एकदम गलत भएको छ । सामाजिक शिक्षालाई अलि तल राख्ने सरकारमात्रै होइन, अभिभावक नै जिम्मेवार छौं । धेरैजसो हामी बाउआमालाई छोराछोरीले साइन्स नै पढ्नुपर्छ, इन्जिनियर पढ्नुपर्छ । केमेस्ट्री, फिजिक्स नै पढ्नुपर्छ, गणित नै पढ्नुपर्छ भन्ने छ । यी सबै पढ्नुपर्छ । तर, सामाजिक शिक्षा पनि नपढी हुँदैन ।

अहिले सामाजिक शिक्षा र गणितलाई ११, १२ मा ऐच्छिक बनाइएको छ । त्यो नगर्नुपर्ने कुरा भयो । गणित, फिजिक्स, केमेस्ट्रीलाई छुट्टाछुट्टै विषय बनाएर पढाइन्छ । खास यो छुट्ट्याएर पढाउनुपर्ने विषय होइन, यिनीहरू एकआपसमा जोडिएका विषय हुन् । जे ले गर्दा यो सबै बनेको छ, त्यो विषय पढ्नुपर्दैन ?

यसमा मुख्यतयाः केन्द्रीय सरकारलाई भनेको हो । तर, अब केन्द्रीय सरकारले मात्रै पढाउने होइन होला ! कोही पालिकाको नेतृत्वमा हुनुहुन्छ भने पनि यो विचार गर्नुहोस् । केन्द्रीय सरकार लेखेको पाठ्यपुस्तक मात्रै पढाउने हो कि हाम्रो प्रदेश वा पालिकालाई छुट्टै पाठ्यपुस्तक चाहिन्छ ? अथवा यसलाई ऐच्छिक नबनाउने अर्कै शैक्षिक प्रणाली चाहिन्छ ? त्यसकारण अब पालिकाले पनि ध्यान दिनुपर्ने बेला भयो ।

संसारमा राम्रा विश्वविद्यालयले स्कलरसिप माग्दा सामाजिक शिक्षा पढेकै हुनुपर्छ । ठाडो एउटामात्रै विषय पढेको भन्दा सबै विषय पढेकोले बढी महत्व पाउँछ । आफ्नोबारे, विश्वब्रह्माण्डबारे जानकारी त राख्नुपर्‍यो नि ! म र यो परिवार, म र ब्रह्माण्ड, म र मेरो टोल कसरी जोडिएको छु ? भन्ने पढ्नु परेन ? बुझ्नुपरेन ?

सामाजिक शिक्षा भनेको पढ्ने कुरामात्रै होइन, आफैंले गर्ने कुरा पनि हो । आफ्नै घरको बारेमा सोधपुछ, लेख्ने कुरा हो । बाको जीवनी, आमाको जीवनी, हजुरबुवाको जीवनी, हजुरआमाको जीवनी, उनीहरू र आफूमा भएको परिवर्तन, फरक केके छ ? किन भयो ? खोज्ने विषय हो ।

पालिका, वडामा गएर सूचना लिने, विश्लेषण गर्ने विषय नै सामाजिक शिक्षा हो । आफैंले नगर्दासम्म पढेको पूरा हुँदैन । हाम्रा पाठ्यपुस्तकमा क्रियाकलाप भनेर लेखिएको हुन्छ । तर, कति गराइन्छ ? मलाई शंका छ ।
११, १२ को सामाजिक शिक्षाको कुरामा किन जोड दिइरहेको छु भने यो विषयको कोर्स प्लान बनाउने २० जनालाई राखेर मैले पनि सँगै बनाएको हो । यद्यपि, हामीले बनाएको भन्दा त्यहाँ धेरथोर फरक छ । नचाहिने किसिमले फरक छ ।

एउटा जीवनोपयोगी शिक्षा भनेर गाभिएछ । सबै शिक्षा जीवनोपयोगी छ । जीवनोपयोगी हुन सक्दैन भन त्यो शिक्षाको के काम ? जीवनोपयोगी शिक्षा हरेक विषयमा हुन आवश्यक छ । तर, सामाजिक शिक्षामा लिएर गाभिएछ । त्यहाँ गाभ्ने विषय होइन ।

अर्को अनर्थ के भने त्यहाँ जातको कुरा छैन, वर्ग छैन, मधेशी, पहाडी छैन । पुरुष, महिला र अपांगतासम्बन्धी अलिअलि छ । मेरो टिमले कोर्स प्लान बनायो भनेर अलिअलि गर्व त लाग्छ, गर्व पनि लाग्दैन । जे भनेको त्यो त्यहाँ छैन । सबै झिकेजस्तै छ ।

कतिपय देशमा यसरी नै झिक्छन् । देश फाटेको देखाउनु हुँदैन भन्छन् । वर्ग, जातको कुरा गर्दा लुगा फाटेकोजस्तो देखिन्छ भन्छन् । त्यो फाटेको देखाउनु हुँदैन भन्ने धेरै समाजमा छ नै ! तर, यो अनर्थ पनि हो । जस्ताको तस्तै नदेखाउन खोजेको हो, ढाँटछल गरेको हो ।

दलित र नदलितको सम्बन्ध नपढाएर कसरी समाज पढाइन्छ ? हामीले हामीभित्र जे खोले छुवाछुत छ, त्यो पनि लुकायौं । हामी त स्वच्छ छौं भन्यौं, जबकि व्यवहारमा छैनौं । सामाजिक शिक्षाको मूल आधार जन्मिँदैमा फरक हुँदैन भन्ने हो । सबै मान्छे उही हो भन्ने हो । तर, त्यो कुरा पाठ्यपुस्तकले अंगिकार गरेन । हामीले सामाजिक शिक्षा होइन, पुरातनपन्थ सिकाइराखेका छौं । यसबाट जतिसक्दो चाँडो मुक्ति लिए राम्रो हुन्छ ।

किताबमा अरुको बारेमा पढेको होइन नि त । विद्यार्थीले हरेक विद्यार्थीले पढेको शब्दभित्र आफूलाई हाल्न सक्नुपर्छ । यस्तो हुँदा सामाजिक शिक्षाले समभाव सिकाउँछ । यसले म छुट्टै छैन भन्ने सिकाउँछ । अरु र आफ्नोबीचको दूरी घटाउन मद्दत गर्छ ।

अर्को भनेको जुम्लामा पढाउने र झापामा पढाउने पाठ्यपुस्तक एउटै हुनुपर्दैन । यो एकदमै गल्ती भयो । जुम्लाको समाज भिन्नै छ । ताप्लेजुङ, कञ्चनपुरको छुट्टै छ । त्यसकारण स्थानीय तथ्यतथ्यांकहरू, भावहरू समेटेर छुट्टाछुट्टै पाठ्यपुस्तक लेखिनुपर्छ । यो फिजिक्स, म्याथम्याटिक्स पढाएको जस्तो होइन ।

(पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा ‘सामाजिक शिक्षा र हाम्रो पाठ्यक्रम’ विषयक सत्रमा मिश्रले राखेको विचारको सम्पादित अंश)


Author

चैतन्य मिश्र

प्रा.डा. मिश्र समाजशास्त्री हुन् ।


थप समाचार
x