विचार

बलियो कम्युनिस्ट शक्तिबाटै समाजवाद सम्भव

फणीन्द्र फुयाल ज्वाला |
चैत २२, २०८० बिहीबार १३:३४ बजे

लोकतन्त्रका हरेक मूल्य र मान्यताको आत्मसात गर्दै समाजवाद उन्मुख संविधान कार्यान्वयनका लागि देशमा बलियो कम्युनिस्ट शक्तिको खाँचो महसुस हुन थालेको छ । त्यसको पछिल्लो उदाहरणका लागि वर्तमान सरकारलाई लिन सकिन्छ । मुलुकमा राजनीतिक स्थिरता कायम गरी संविधान तथा राजनीतिक व्यवस्था सुदृढ बनाउन पनि देशका सबै कम्युनिस्टहरू एक हुन आवश्यक छ ।

देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्माण गरेको समाजवादी मोर्चालाई अझ स्थापित गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको हो । यो मोर्चामा वर्तमान सरकारको एक महत्पूर्ण सहयात्री दल नेकपा (एमाले) पनि सहभागी भएको खण्डमा अझ यसले आफ्नो उद्देश्य र लक्ष्य प्राप्त गर्न सहज हुनेछ ।


वर्तमान सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने योजना बनाएर सोही अनुरुप नीति, कार्यक्रम, दृष्टि, रणनीति आदि बुनिरहेको छ । आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माणतर्फ अगाडि बढ्ने सरकारको योजना छ ।

समाजवाद हासिल गर्न विकास, समृद्धि, सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचो भएको हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीहरूसँगको भेटका क्रममा विकासको योजना बनाउँदा देशको बेरोजगारी समस्या पनि हल हुनेगरी योजना निर्माण गर्न सकेको खण्डमा समाजवादको बाटोमा अघि बढ्न सकिने बताउनु भएको छ ।

देशलाई समाजवादको बाटोमा अग्रसर गराउन भ्रष्टाचारको अन्त्य र राजनीतिमा शुद्धीकरणको खाँचो छ । साथै शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई हरेक राजनीतिक पार्टीले पार्टीले प्राथमिकतामा राख्नुपर्छ । नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित गत असारमा समाजवादी मोर्चा गठन भएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको छ ।

यति राम्रा लक्ष्य र उद्देश्य लिएको समाजवादी मोर्चामा अन्य दलहरूले पनि ऐक्यबद्धता जनाउँदै सामेल भएको खण्डमा सबैको सहमतिमा जारी भएको संविधान र त्यसको प्रस्तावनामै उल्लेख गरिएको ‘समाजवाद उन्मुख’ भन्ने शब्दावली चरितार्थ र व्यवहारिक बनाउन सकिने थियो ।

आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधि सहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने र गरीबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीन वटै तहको सरकारलाई क्रियाशील बनाउने विषयहरू कुनै पनि एउटा दलले चाहेर मात्र पनि सम्भव हुँदैन । यसका लागि सबै कम्युनिस्ट शक्तिहरू मिल्न सकेको खण्डमा यो योजनाले आम जनतामा परिणाम निकाल्न सक्ने छ ।

त्यसैगरी वैज्ञानिक भू–उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगिकीकरण, व्यावसायीकीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, ऊर्जा, जलस्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचना (प्रविधि) भौतिक पूर्वाधार, यातायातलगायत क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रुपमा विकास गर्ने काम पनि दलहरूबीचको सहमति, सहकार्य र एकतामै भर पर्ने विषयहरू हुन् ।

शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रुपान्तरणका लागि राज्यले प्राथमिकता दिने उद्देश्य समाजवादी मोर्चाको छ । साथै सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने एवं शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउँदै प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने मोर्चाको उद्देश्य छ । जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपत्‌का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने पनि मोर्चाको योजनामा उल्लेख छ ।

गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक प्रशासन चुस्तदुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनको परिपाटी स्थापित गर्ने, योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखापरेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिशनतन्त्र जस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने काम समाजवादको हो ।

चार वटा राजनीतिक दलहरूले निर्माण गरेको समाजवादी मोर्चामा सबै कम्युनिस्टहरू नै छन् । सबै कम्युनिस्टहरू एक भएर अघि बढ्न सकेको खण्डमा संविधानमा उल्लेख गरिएको समाजवादको लक्ष्य पक्कै पनि एकदिन भेट्टाउन सकिन्छ । फेरि पनि त्यसका लागि नेपालका कम्युनिस्ट शक्तिहरू अहंकारको एक पाइलो पछि हटेर भएपनि एकढिक्का हुनु पर्दछ । कम्युनिस्टहरूले नै देश स्वाधिनता, सँस्कृति, कला, पर्यटन, रोजगार आदि सिर्जना र संरक्षण गर्न सक्छन् र सक्षम छन् ।

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशका राजस्व तथा स्रोतसाधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवासुविधाहरू जनतामा पुर्‍याउन प्रदेश तथा स्थानीय तहलाई सक्षम बनाउँदै संघीय समाजवादी प्रणालीलाई समृद्ध गर्नु पनि संविधानतः समाजवादकै बाटोमा हिँड्नु हो । त्यो कार्य बामपन्थी तथा कम्युनिस्टहरूबाटै सम्भव छ । 

देशको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधार मानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नु, समाजको विविधतायुक्त चरित्र अनुरुप राष्ट्रिय, लोकतान्त्रिक र वैज्ञानिक संस्कृति प्रवर्द्धन गर्ने, जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावको अन्त्य गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्ने, प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्नु पनि समाजवादकै मार्ग प्रशस्त गर्नु हो ।

ज्वालाको यसअघिका लेखहरू


Author

थप समाचार
x