विचार

उत्साह र विश्वासको वर्ष नयाँ वर्ष

फणीन्द्र फुयाल ज्वाला |
बैशाख १, २०८१ शनिबार २०:३७ बजे

विक्रम संवत् २०८१ साल हामीमाझ आएको छ । नयाँ वर्षको आगमनसँगै मानिसहरूमा नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी र नयाँ संकल्प पनि सुरु भएको । वर्षभरि रमाइलो होस् भन्ने कामनाकासाथ नयाँ वर्ष नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

नयाँ वर्षमा हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् । यस अवसरमा बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने चलन पनि छ ।


एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई पनि नयाँ वर्ष भनिन्छ । नयाँ वर्ष विश्वमा अलग–अलग तिथिमितिमा फरक–फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न समयमा नयाँ वर्षहरू मनाइन्छन् । तीमध्ये विक्रम संवतको नयाँ वर्षको सुरुवात वैशाख एक गतेदेखि हुन्छ । नयाँ वर्ष फरक प्रकारको उत्साह एवं विश्वासको क्षणका रूपमा मनाइने नेपाली संस्कृति रहिआएको छ । लहरा तथा रुख–बिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहूकुहू र अन्य चराहरूको चिर्बिरले सजिएको वसन्त ऋतुको मनोरम दिनहरूसँगै नवीन उमङ्ग, उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन हुन्छ ।

नेपालको राष्ट्रिय पात्रो पनि हिन्दू पञ्चाङ्गमा आधारित विक्रम संवत्अनुसार छ । यो प्राचीन हिन्दू परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (इस्वी संवतको पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरु भएको इतिहासमा उल्लेख भएको पाइन्छ । त्यसोतः नयाँ वर्षलाई नेपालमा मात्र नभएर विश्वव्यापी रुपमै विशेष उत्साह एवं उमङ्गका साथ मनाइने चलन पनि छ । अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन । तैपनि पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गन्ने चलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने चलन चलेको हो भन्न सकिन्छ । नेपालमा विभिन्न किसिमका नयाँ वर्ष मनाइन्छन् । तीमध्ये विक्रम संवत् पनि एक हो ।

विक्रमादित्यले चलाएको मानिने यो संवत् कहिलेदेखि, किन र कसले चलायो भन्ने विषयमा विद्वानहरूबीच मतैक्य भने छैन । विक्रमको अर्थ पराक्रम भएको हुँदा यो उज्जैनका विक्रमादित्यले चलाएका हुन् कि गुप्त शासकहरूमध्ये कसैले चलाएका हुन् कुनै टुङ्गो छैन । कतिपयले यो संवत् नेपालकै एक राजाबाट चलाइएको हो समेत भन्ने गरेका छन् । तर त्यसको पनि पर्याप्त आधार पाइँदैन । यसमा पनि अलि भरपर्दो के देखिन्छ भने भारतको मालवा राज्यमा गणतन्त्र आएपछि विक्रम संवत् त्यहीँबाट ईशापूर्व ५७ देखि सुरु भएको हो । विक्रम संवत् सौरमानअनुसार सूर्य १२ राशिमा प्रवेश गर्दै जाँदा मीनपछि फेरि मेष राशिमै प्रवेश गरेपछि एक चक्र पूरा हुन्छ र नयाँ वर्ष फेरिन्छ । नेपालमा भने विक्रम संवत् लिच्छवि कालतिरदेखि नै चलिआएको पाइन्छ । यो दिनलाई नेपालमा धर्म एवं संस्कृतिसँग पनि कतिपयले जोडेर हेर्ने गरेका छन् ।

नयाँ वर्षका दिन काठमाडौं उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपाको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ । त्यस्तै भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन् । यसरी नेपालीको नयाँ वर्षका रूपमा प्रचलित मेष सङ्क्रान्ति अर्थात् वैशाख संक्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ । यसले नयाँ आशा सञ्चार गराउने भएकाले पुरानो कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा नेपालीहरूले नयाँ वर्ष मनाउने संस्कृति पछ्याएका हुन् ।

नयाँ वर्षको दिन सूर्य मीन राशिबाट मेष राशिमा सर्छ । मेष सूर्यको उच्च राशि पनि हो । फेरि मेष राशिको स्वामी मंगललाई ज्योतिष शास्त्रमा सूर्यको मित्र राशि पनि मानिन्छ । यी दुई प्रक्रियालाई हेर्दा के भन्न सकिन्छ भने जसरी मित्रको घरमा गएर बस्दा आनन्द र खुसी प्राप्त हुन्छ, उच्च पदमा पुग्दा उत्सव मनाइन्छ त्यसरी नै सूर्यको अवस्थिति विचार गरेर नयाँ वर्षका दिन उत्सव एवं मांगलिक कार्य गर्ने चलन चलेको हो । नयाँ वर्षले धार्मिक स्वरूप मात्र ग्रहण नगरी सामाजिक प्रचलनलाई समेत अँगालेर समाजमा नयाँ उत्साह सञ्चार गराउँदै आएको छ ।

आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदै छ त्यसबाहेक वर्षभरिका तीतामीठा पलहरूलाई बिसाएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउने गरिन्छ । प्राचीनकालमा नेपालमा नयाँ वर्ष मनाउन विभिन्न मठ–मन्दिरमा पूजाआजा गरिन्थ्यो भने अहिले शुभकामना आदान–प्रदान गरेर तथा नयाँ कपडा लगाएर, वनभोज खाएर र रेष्टुराँ तथा क्याफेहरूमा भेटघाट गरेर पनि नयाँ वर्ष मनाउने संस्कार विकास हुँदै गएको छ । नयाँ वर्ष मनाउने सबैको आ–आफ्नै तरिका भए पनि यो उत्सव शुभ होस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ । यो दिन मानव वा कुनै पनि संघसंस्थाले गरेका वर्ष दिनको कामको समीक्षा पनि हो । त्यसैले यो दिन विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन समेत प्रयत्न गरिन्छ ।

कतिपय मानिसले नयाँ वर्षका दिनदेखि नयाँ कामको थालनी र आफ्नो कुलत (जाँड, रक्सी, चुरोट, सुर्ती, पराग) बाट छुटकारा लिने संकल्प पनि गर्ने गरेको हामी पाउँछौँ । नयाँ वर्षका दिन नेपालमा सार्वजनिक बिदा पनि दिने चलन समेत रहिआएको छ ।

यो बाहेक पनि नेपालमा अन्य विभिन्न समुदायले नयाँ वर्ष मनाउँछन् । ती के–के हुन् त ?

नेपाल संवत्: 

नेपाल संवत्लाई नेपालको मौलिक संवत् पनि मानिन्छ । यसको सुरुवात शंखधर साख्वाले गरेका थिए । नेपाल संवत् ११३३ वर्ष पहिले भक्तपुरका राजा राघव देवको आज्ञामा चलाइएको थियो । यो संवत् नेपालमा चन्द्र समशेर राणाको कार्यकालसम्म औपचारिक रूपले प्रचलनमा रहृयो । यो संवतको पहिलो दिन विक्रम संवतको कार्तिक शुक्ल पक्ष प्रतिपदाका दिनमा हुन्छ । यो दिनलाई विशेषतः नेवार समुदायले न्हुदँ अर्थात् नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । यो संवतमा एक औँसीबाट अर्को औँसीलाई एक चन्द्रमास भनिन्छ । १२ औँसीको एक वर्ष हुन्छ । त्यसैले ३५४ दिनको एक वर्ष हुन्छ । तीन वर्षमा एकचोटि अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना आउँछ ।

ल्होसार

ल्होसार नेपालमा तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातिले नयाँ वर्षको आरम्भको रूपमा मनाउँछन् । ‘ल्होछार’ शब्दमा ‘ल्हो’ को अर्थ वर्ष वा साल हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने हुन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर आदि वर्ष भनेर पशुपक्षी तथा जीवजन्तुका नामबाट राखिएको पाइन्छ । बाह्र वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । यसरी यी समुदायले बाह्र वर्षको एक युगको परिकल्पना गरेको हुनसक्छ । नेपालमा ल्होसार पनि तमु, सोनाम र ग्याल्पो गरी तीन प्रकारका छन् जुन फरक–फरक समयमा मनाइन्छन् ।

इस्वी संवत् 

इस्वी संवत् ग्रेगोरियन क्यालेण्डर वा क्रिश्चियन क्यालेण्डरमा आधारित साल हो । यसमा जनवरी १ तारिखको दिनमा नयाँ वर्षको सुरुवात हुन्छ । यो दिन विशेष क्रिश्चियन धर्मालम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्रायः सबै देशहरूमा यही दिन नयाँ वर्ष मनाउने गरिन्छ । यो संवत् विश्वमै बढी चलेको संवत् मानिन्छ । नेपालमा पनि यो संवत् अनुसारको नयाँ वर्ष धुमधामका साथ मनाइन्छ ।

हिजरी संवत् 

इस्लामी पञ्चाङ्ग वा क्यालेण्डर वा मुस्लिम क्यालेण्डरअनुसार हिजरी संवत् मनाइन्छ । यो चन्द्रमानमा आधारित क्यालेण्डर हो । ईस्लामिक धार्मिक पर्व यसै पात्रोअनुसार मनाइने हुँदा यो संवत् ईस्लामिक मुलुकहरूका साथै विश्वभर छरिएर रहेका मुस्लिमहरूले जानकारीमा राखेका हुन्छन् ।  यो संवत्अनुसार वर्षमा बाह्र महिना तथा ३५४ वा ३५५ दिन हुन्छन् । यो सौर क्यालेन्डरदेखि ११ दिन कम छ । तर यसमा ईस्लामिक धार्मिक तिथिहरू स्थिर हुन्छन् तसर्थ प्रत्येक वर्ष पछिल्लो सौर क्यालेण्डरदेखि ११ दिन पछि हुन जान्छन् । जसलाई हिजरा वा हिजरी पनि भनिन्छ । हजरत मुहम्मद मक्काबाट मदीना फर्किएको दिनदेखि हिजरी संवत् सुरु भएको मानिन्छ । इस्लामी क्यालेण्डरका महिनाहरू मुहर्रम, सफर, रबी अल अव्वल, रबी अल थानी, जुमाद अल उला, जुमाद अल थानी, रज्जब, शआबान, रमजाÞन, शआबान, धू अल किदाह र धू अल हिज्जाह हुन् । नेपनमा पनि मुस्लिम समुदायले यो संवत् मनाउने गरेका छन् ।

नयाँ वर्ष मनाउने तरिका:

विभिन्न देशमा नयाँ वर्ष मनाउने भिन्नाभिन्नै मौलिक तरिकाहरू छन् । हाम्रो छिमेकी देश भारतमा स्थानैपिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ । बङ्गालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाचगान र हाँसखेल गरिन्छ । कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुलाई उपहार प्रदान गरिन्छ । आसाममा यस दिन पशुको पूजा गर्दछन् । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रूपमा नाचगान गरिन्छ । राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन समेत रहेको पाइन्छ ।

छिमेकी देश चिनमा नयाँ वर्ष लुनार (चन्द्रमामा आधारित) पात्रोको सुरुवातसँगै सुरु हुन्छ । त्यो दिन आकाशमा नयाँ चन्द्रमा हुन्छ जुन १४ दिनपछि लालटिन पर्वसँगै अन्त्य हुन्छ । चिनियाँ पात्रो र मितिहरू चन्द्रमामा आधारित हुन्छन् । चिनियाँ नयाँ वर्ष (स्प्रीङ फेस्टिवल) विश्वभर फैलिएका चिनियाँहरूले धुमधामका साथ मनाउँछन् । बिदाको दिन साँझमा चिनियाँहरू परिवारमा जम्मा भई खाना खान आउने गर्दछन् । विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न माइत जाने गर्छन् । नयाँ वर्षको सुरुवातका पहिला केही दिनहरूमा चिनियाँहरू आफ्नो हजुरबुबा हजुरआमा, आमाबुबा साथीहरू र नातेदारहरूसँग भेटघाट गर्ने गर्छन् । वृद्ध तथा विवाहित मानिसहरू बच्चाहरूलाई रातो कागजवाला प्याकेट दिन्छन् । त्यो प्याकेटभित्र पैसा हुन्छ जुन भाग्यले दिएको विश्वास गरिन्छ ।

इन्डोनेसियामा नयाँ वर्षलाई ‘गोलुगान’ भन्छन् । त्यस दिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन् । मीठामीठा परिकार खाएर एक आमसमा बधाई तथा शुभकामना व्यक्त गर्दछन् । त्यसैगरी मङ्गोलियामा नयाँ वर्षका दिन रातभरि जागा रहेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आशीर्वाद लिने तथा मीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।

खाडी मुलुक कुवेतमा नयाँ वर्षको अवसरमा रातभरि घरमा दीपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाचगान गर्छन् । मेक्सिकोमा जनजातिको बाहुल्य भएको स्थानमा नयाँ वर्षका दिन चर्चमा गएर रमाइलो गर्छन् । यस दिन सामूहिक विवाह गर्ने चलन पनि छ । जर्मनीमा नयाँ वर्षका दिन पानीले भरिएको धातुको भाँडामा सिक्का खसालेर त्यसको आकृतिलाई नियाली भविष्यवक्ताहरूले सर्वसाधारणको भविष्यवाणी गर्ने चलन छ ।

यसैगरी पोर्चुगलमा नयाँ वर्षको दिन साँढे जुधाएर रमाइलो गर्नुका साथै सहरभरि धुनी जगाएर पटाकाबाजी गरेर धुमधामका साथ रम्ने रमाउने प्रचलन छ । बेलायतमा ३१ डिसेम्बरदेखि नै झिलिमिली बत्ती बालिन्छ । मानिसहरू नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाच्छन् भने रातको ठीक १२ बजे बढाइँ हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको भन्ने हुन्छ । 


Author

थप समाचार
x