विचार

औषधि हो भाङ

नारायण घिमिरे |
मंसिर १२, २०७७ ८:३२ बजे

हेम्पलाई भाङ होला भन्ने सामान्य अनुमान गरिए तापनि संस्कृतमा गाँजालाई दिइएको झन्डै ५० नाममा भाङ पनि एक हो । गाँजा र भाङको कुरा गर्दा सामान्यतया गाँजामा मानिसलाई लाग्ने लठ्याउने वा हेलोसिनेसन गर्ने सार तत्त्व टिएचसीको मात्र धेरै हुन्छ । भाङका बीउहरू अथवा गेडाहरू त्यसमा विशेष गरी हेम्पका गेडा संसारमा मध्यम स्तरमा खपत हुने गर्छन् । खानामा प्रयोग हुने भाङका गेडाहरू पछिल्लो समयमा उत्कृष्ट स्वास्थ्य लाभ दिने औषधीय खाना अथवा हिलिङ फुड रहेको प्रमाणित भएको छ ।

भाङको दानामा वास्तवमै अद्भुत पोषण र औषधीय मूल्यका सारतत्त्व भेटिन्छ । यसमा पाइने औषधीय मूल्यका तत्त्वहरूमा भिटामिन ए, बी, डी र ई मुख्य मानिन्छ । यसका अतिरिक्त औषधीय मूल्यका र ओजस्वी तत्त्वहरूमा शक्तिशाली एन्टिआक्सीडेन्टहरू र कलेजोले बनाउने इन्जाइमहरूको प्रिकर्सर वा उक्त तत्त्व बनाउने अग्रदूतहरू यसमा भेटिनु उदाहरणका रूपमा उल्लेख गर्न सकिन्छ । भाङको दानाअन्तर्गत हेम्प प्रजातिको भाङको गेडा सबैभन्दा उत्कृष्ट औषधीय र ओजस्वी मूल्यका सार तत्त्वहरूको स्रोत हो । चामत्कारिक बीउको संज्ञा दिइने भाङका बीजहरू म्याग्नेसियम, जिंक र फलामको राम्रो स्रोतको रूपमा चिनिन्छ ।


म्याग्नेसियम आफैँमा प्राकृतिक तनाव नियन्त्रक रहेकाले चिन्ता र डिप्रेसन विरुध्द लड्न न्युरोनलाई मद्दत गर्छ । जिङ्कले शरीरलाई दुःख दिने स्वतन्त्र रेडिकल आयोन र ज्यान दुख्ने, पोल्ने विरुध्द आफैँले आफ्नै औषधि गर्ने शरीरको क्षमतामा वृध्दि गर्छ । फलाम आफैँ प्राकृतिक रूपमा शरीरलाई स्वस्थ अक्सिजन उत्पादन गर्ने क्रममा र रगतमा अक्सिजन घुलन गराउन सहयोग पुर्‍याउँछ ।

भाङको गेडाको पौष्टिक तत्त्व यसको खेती भएको ठाउँ अनुसार फरक फरक हुने गर्छ । तर पनि ३ देखि ५ एफएम मोटो हुने बाहिरी भुससहितको हेम्पको गेडामा औसत ३१ प्रतिशत तेल, २५ प्रतिशत प्रोटिन, ३३ प्रतिशत फाइबर, ५ प्रतिशत खरानी र ६ प्रतिशत पानी भेटिन्छ । बोक्रा फालेको गेडाको भने औसत ४७ प्रतिशत तेल, ३७ प्रतिशत प्रोटिन, ७ प्रतिशत फाइबर, ७ प्रतिशत खरानी र २ प्रतिशत पानी भेटिने गर्छ ।

पौष्टिक तत्त्वको हिसाबमा भाङको गेडालाई उच्च मात्रामा बिरुवामा आधारित प्रोटिन दिने समृध्द खुराकको स्रोत मानिन्छ । भेगन र शाकाहारीहरूका लागि यो एक प्राकृतिक प्रोटिन पूरकका रूपमा संसारभर चर्चित छ । गेडाको तेल निकालेपश्चात् हेम्पको प्रोटिन बजारमा जाने हुँदा हाल धेरै मांसाहारीहरूले समेत हेम्पको प्रोटिनलाई कम चिल्लो र कम कार्बोहाइड्रेट प्राप्त हुने प्रोटिनको विकल्पको स्रोतका रूपमा खाने गर्छन् ।

प्रायः प्लान्ट प्रोटिनहरू सामान्यतः अघुलनशील हुने गर्छन् । त्यस विपरीत भाङका गेडाहरू बात निकालिने प्रोटिनका कनसनट्रेटहरू पिएच ४.० देखि ६.० मा ७० प्रतिशतभन्दा धेरै घुलनशीलता भएको भेटिनुबाट यो प्रोटिनलाई शरीरले सजिलै पचाउन सक्ने प्रोटिन रहेको प्रमाणित बन्यो ।

भाङको दाना वास्तवमै अद्भुत पोषण र औषधीय मूल्यका सारतत्त्वहरू निर्मित भेटिन्छ । यसमा पाइने औषधीय मूल्यका तत्त्वहरूमा भिटामिन ए, बी, डी र ई मुख्य मानिन्छ । 

हेम्प प्रोटिनमा मानिसको शरीरले आफैँ शरीरभित्र उत्पन्न गर्न नसक्ने मानिसलाई नभई नहुने सबै नौ प्रकारकै एसेन्सियल एमिनो एसिड पाइन्छ । हेम्प प्रोटिनमा अर्जिनिन र ग्लुटामिक एसिड धेरै मात्रामा पाइन्छ । साथै यसमा मध्यम मात्रामा सल्फर पाइने एमिनो एसिडहरू समेत पाइने हुँदा शरीरको लागि अमृत समान मानिएको हो ।

प्रसिध्द अर्जिनिन एमिनो एसिडले शरीर भित्र नाइट्रिक अक्साइड उत्पन्न गर्छ जुन हाम्रो शरीरले आफैँ उत्पादन गर्न सक्दैन । अर्जिनिनद्वारा उत्पादित नाइट्रिक अक्साइडले रक्त प्रवाह गर्ने नसा फुलाउन र रक्तचाप घटाउने काम गर्छ । रक्तचापको स्वस्थ नियन्त्रण गरी हार्टअटेकको जोखिमलाई रोक्न सहयोगी हुन्छ । अर्जिनिनले नसाभित्र रगत जम्न रोक्ने र हृदयाघात पछाडिको समयमा छिटो निको गराउने गर्छ ।
 
अर्जिनिनले शरीरमा एमोनिया डिटोक्सिफिकेसन गर्ने हुँदा बाथ रोगमा फाइदा जनक हुने गर्छ । अर्जिनिनले गर्वको बच्चाको वृध्दिमा, मधुमेहमा रगतको इन्सुलिनको प्रतिरोध घटाउन मद्दत गरेको भेटिन्छ । ग्लुटामिक एसिडले दिमागमा न्यूरो ट्रान्समिसन वृध्दिमा महत्त्वपूर्ण भूमिका खेल्छ । अर्जिनिन एमिनो एसिडको डर्मेटाइटिस र एक्जिमा जस्ता छालाका विभिन्न रोगविरुध्द लड्न पनि जरुरत पर्छ ।

शरीरलाई आफ्नो स्वहिलिङ क्षमतामा वृध्दि गर्न चाहिने एन्टिआक्सिडन्टहरू जस्तै ग्लूटाथियोन र एन-एसिटिल सिस्टिन आफैँले निर्माण गर्न शरीरलाई सल्फर हुने एमिनो एसिडहरू अनिवार्य हुन्छ । यसका अलावा सल्फरयुक्त एमिनो एसिडहरू आफैँ शरीरका प्रभावकारी र सुरक्षित डिटोक्सिफाइङ एजेन्टहरू हुन् । शरीरमा विषाक्त धातुको असर हुँदा र रेडिकल आयोनहरूले हानि पुर्‍याउने अवस्थाविरुध्द लड्नसमेत सल्फर हुने एमिनो एसिडहरूको प्रभावकारी भूमिका रहने गर्दछ ।

भाङको तेल झन्डै ९० प्रतिशत नै असंतृप्त फ्याट्टी एसिडहरू हुन्छन् । अन्य बिरुवाका स्रोतबाट प्राप्त हुने तेलको तुलनामा भाङको तेलमा अधिक अनुपात पोली-अनस्याचुरेटेड फ्याट्टी एसिड रहेकाले अत्यन्त स्वस्थवर्धक हुने गर्छ । लिनोलिक एसिड, अल्फा‐लिनोलेनिक एसिड, ओलिक एसिड आदि अधिक हुने भाङको तेल हृदय रोग, मोटोपन, मधुमेह आदिमा औषधी हुने गरेको छ । यसले शरीर दुख्न तथा सुन्निनबाट रोक्नसमेत ठूलो भूमिका खेल्छ । किनकि यो तेलमा शरीरले आफैँ आफ्नो दर्द निको बनाउन शरीरभित्र बनाउने एइकोसानोइड्स नामक दर्द नाशक बनाउने प्रिकरसर वाईलिनोलेनिक एसिड वा जीएलए हुने गर्छ ।

भाङका गेडामा हुने अति महत्त्वपूर्ण फ्याट्टी एसिडहरू ओमेगा-६ र ओमेगा-३  हुन् । ओमेगा-६ र ओमेगा-३ फ्याट्टी एसिडहरू मुटु र मस्तिष्क स्वस्थ्य राख्न अनिवार्य रहेको प्रमाणित भएको छ । त्योबाहेक ओमेगा फ्याट्टी एसिडहरू एडीएचडीको प्रबन्ध गर्न, शरीरमा उच्च कोलेस्ट्रोल हुँदा त्यो विरुध्द लड्न, बाथ रोगमा, सुन्नेको दुखेको घटाउनसमेत सहयोगी हुने प्रमाणित भएको छ । ओमेगा एसिडहरू आफैँ शरीरभित्र गुणस्तरीय प्रोटिनहरू उत्पादनमा मद्दत पुर्याउँछन् । भाङका दानाका ओमेगा एसिडहरू माछा नखाने वा माछाको एलर्जी हुनेहरूको लागि अत्यन्त राम्रो ओमेगा एसिडहरू प्राप्त गर्ने खाना हो ।

यसो भन्दै गर्दा हेम्प ओइल र सीबीडी ओइल फरक फरक कुरा भएको बुझ्न जरुरी छ । सामान्य रूपमा बताउँदा क्यानाबिस स्याटिभा जातको भाङको बिरुवालाई हेम्प भनिन्छ । हेम्पको डाँठ, पात र फूलहरूबाट निकालिएको तेल सीबीडी तेल हो । हेम्पको गेडाबाट निकालिएको तेललाई भने हेम्पको तेल वा भाङको गेडाको तेल अथवा हेम्प ओइल भनिएको हो ।

भाङका गेडा आफैँ सुपर फुड रहेकाले भुटेको भाङका गेडा प्रतिदिन ३० ग्राम भन्दा धेरै नखान सल्लाह दिइन्छ ।

हेम्प ओइल निकाल्न हेम्पका बीज वा गेडाहरूलाई तोरी वा तिल पेले जस्तो थिचेर निक्लिएको तेललाई कसैले सिधै प्याकेजिङ गर्छन् । कसैले उक्त तेललाई थप प्रशोधन गरेर प्याकेजिङ गरिन्छ । सीबीडी तेल निकाल्न कार्बन डाइअक्साइड वा इथानोल वा ओलीव र जैतुनको तेल आदि प्रयोग गरी विभिन्न आधुनिक सोल्भेंट एक्सट्रयाकसन विधि प्रयोग गरिन्छ । सोल्भेंट एक्सट्रयाकसन प्रविधिमा हालसम्म सबैभन्दा उत्तम कार्बनडाइअक्साइड सुपर क्रिटिकल एक्सट्रयाकसन रहेको ठानिन्छ ।

जब तपाईं भाङका गेडाहरू भुट्नुहुन्छ तब भाङका बीउहरूमा क्रन्च अथवा कुरुमकुरुमपन, भुटेको स्वाद र वासनाको विकास हुन्छ । राम्ररी भुटिएको भाङको गेडाबाहिरको बोक्रा नफाली खान र यसको स्वाद लिएर मनोरञ्जन लिन सकिन्छ । बीजहरू भुट्ने क्रममा त्यसमा रहन सक्ने हानिकारक जीवाणु समेत नष्ट गर्न सहयोग गर्छ । भाङका गेडा आफैँ सुपर फुड रहेकाले भुटेको भाङका गेडा प्रतिदिन ३० ग्राम भन्दा धेरै नखान सल्लाह दिइन्छ । आफ्नो खानेबानी अनुरूप शरीरलाई अभ्यस्त बनाउन र यसको पूर्ण फाइदा उठाउन दैनिक सुरुमा १५ ग्राम वा सोभन्दा कमबाट सुरु गरी २-४ हप्तामा दैनिक बढीमा ३० ग्रामसम्म भुटेको भाङका गेडा खान सल्लाह दिइन्छ ।

नेपालमा भने भाङको गेडा अचार बनाएर खाने चलन छ । विदेशतिर भने बोक्रा फाली टोस्ट गरी वा भुटेर टुक्राई पाउडर बनाएको हेम्प सिड प्रायः जुस, आइस क्रिम, विभिन्न खानाका टपिङ, सुप, तरकारी आदि सबैमा माथि बताइए अनुरूप मिसाएर खाने गरिन्छ । डोल्पाको दुनैलाई आफ्नो कार्यक्षेत्र बनाएर अध्यापन पेसामा संलग्न हुनुभएको राज्यलक्ष्मी हमालका अनुसार सामान्यतया भाङको दानालाई भुटेर ठिक्क मात्रामा खुर्सानी, टिमुर, नुनसँग आवश्यकताअनुसार मरमसला राखेर सुक्खा छोप बनाएर मीठो गरी खाने गरिन्छ । धेरैजसो भने भुटेको भाङको दानाका साथमा टमाटर, टिमुर नुन वा स्वाद र इच्छाअनुसार जे उपलब्ध छ वा मन पर्छ, त्यो मिलाएर सिलौटोमा पिसेर चटनी बनाएर खानासँग खाने गरिन्छ । जुन वैज्ञानिक र आयुर्वेदिक दृष्टिमा वास्तवमै उत्कृष्ट रहेको निचोड निकाल्न सकिन्छ । 
 


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x