विचार

भानुभक्तको समयका शिक्षितहरू नेपालीमा कविता लेख्नु असम्मानको कुरा ठान्थे

हरेन घोष |
असार ३०, २०७८ बुधबार १३:१ बजे

सन् १८२० मा नेपाली भाषाको प्रथम ग्रन्थ प्रकाशित भएको थियो । फोर्ट विलियम कलेजका अरबी र फारसी भाषाका साहित्याध्यापक जे. एटनले प्रथम नेपाली व्याकरणको रचना गरेका थिए । त्यसपछि वर्षौंसम्म केही काम भएन । रामायणको बालकाण्ड प्रकाशित भयो यसको एक प्रति लन्डनको ब्रिटिस म्युजियममा पनि पठाइएको थियो । तीन वर्षपछि मतिराम भट्ट (मोतीराम भट्ट) ले भानुभक्तरचित सम्पूर्ण रामायणको प्रकाशन गरे ।

भानुभक्त आचार्य प्रथम नेपाली कवि थिए, जसले जनसाधारणका लागि सहज र बोधगम्य भाषामा कविता लेखे । उनीभन्दा पहिले पनि कैयौं नेपाली कविहरूले ख्याति अर्जित गरिसकेका थिए तर संस्कृतमा कविता लेखेर । मुख्यतया शिक्षित र पुरोहित (पुरेत) वर्गलाई नै ध्यानमा राखी संस्कृत साहित्यको रचना हुने गर्दथ्यो । आज पनि काठमाडौंको वीर पाठागार वीर पुस्तकालय) मा वि.सं. १०७६ मा रचित संस्कृत ग्रन्थका धेरै पाण्डुलिपिहरू सुरक्षित छन् । संस्कृतको निकै प्रभावले गर्दा नेपाली भाषा माथि आउन सकेको थिएन । तत्कालीन शिक्षित समाज र पण्डितहरू नेपालीमा कविता लेख्नु असम्मानको कुरा भनी ठान्दथे ।


यसैकारण भानुभक्त नेपाली भाषाका प्रथम कवि र आधुनिक नेपालीको जनकका रूपमा पुजिन्छन् । जसरी अठारौं शताब्दीमा पृथ्वीनारायण शाहले स-साना नेपाली राज्यहरूलाई मिलाएर एक अखण्ड नेपालको स्थापना गरेका थिए, त्यसरी नै भानुभक्तले गोरखाली भाषालाई समृद्ध गरी समस्त नेपालीहरूलाई उपयोगी बनाइदिए । 
यसभन्दा अगाडि विभिन्‍न अञ्चलमा विभिन्‍न उपभाषा प्रचलित थियो । तर भानुभक्तको रामायण पढ्नका लागि सबैले गोरखाली भाषा सिक्न सुरु गरे र त्यसलाई स्वीकारे । पछि गएर यही गोरखाली भाषा नेपाली सरकारी भाषाका रूपमा स्वीकृत भयो र आजकाल नेपाली भन्‍नाले त्यसलाई ग्रहण गरेको मानिन्छ । नेपालको तानाहु (तनहुँ) जिल्लाको रामखा (रम्घा) गाउँमा भानुभक्तको जन्म भएको थियो । त्यसबखत अंग्रेजहरूविरुद्ध नेपाल लडाइँमा मुखिएको थियो । भानुभक्तका पिता धनञ्जय आचार्य सरकारी कर्मचारी थिए । उनलाई प्रायः सरकारी कामकाजमा हिँडिरहनुपर्दथ्यो । त्यसैले भानभुक्त आफ्ना हजुरबा श्रीकृष्ण आचार्यसँगै बस्दथे, जो संस्कृतका धुरन्धर विद्वान् थिए । 

बाल्यावस्थादेखि नै भानुभक्त संस्कृत चर्चामा भाग लिने गर्थे र त्यसै बखतदेखि उनको मनमा अंकुरित भयो- साहित्य प्रेम । धर्मप्राण बालक भानुभक्त जंगलमा एक्लै घुम्न, झरना तथा छाँगोछेउ बस्न असाध्यै मन पराउँथे । एकदिन यसै गरी वन भ्रमणको समयमा उनले घाँस काटिरहेको एकजना गोठालालाई देखे । कुरै कुरामा उसले भन्यो- ‘म ज्याला गरी घाँस काट्ने मानिस हुँ, तर केही गरी धेर-थोर रकम जम्मा गर्न सकेँ भने गाउँलेहरूका लागि एउटा कुवा बनाउने विचार गरेको छु । यसले गर्दा मेरो मृत्युपश्चात् पनि मानिसहरूले मेरो नाम सम्झिरहनेछन् ।’

यो मामुली कुराले भानुभक्तलाई अप्रत्याशित प्रभाव पार्‍यो । उनी सोच्न थाले- के म त्यस्तो कुनै काम गर्न सक्तिनँ, जसले गर्दा मेरो मरणोपरान्त मानिसहरूले मेरो नाम सम्झिराखून् । अनि त्यसै दिन उनले रामायणको अनुवादको काममा हात हाले । वाल्मीकि रामायणको अनुवादका रूपमा जसरी कवि कृत्तिवासले बंगला साहित्य, रामकथाको उद्गाताका रूपमा तुलसी दासले हिन्दी साहित्यलाई उपकृत गरे, त्यसैगरी कवि भानुभक्तले पनि गोर्खाली भाषाको उपकार गरे । उनको रचना पनि मूल रामायणको शाब्दिक अनुवाद होइन, कृत्तिवासको कृतिसरह नै भावानुवाद हो ।

भानुभक्तले बालकाण्डको अनुवाद पूरा गरेपछि सरकारी जागीर भेट्टाए । तर उनी थिए, सांसारिक विषयमा नितान्त निःस्पृह । सरकारी कामकाजमा कसरी ध्यान दिन सक्थे ? उनको अधिकांश समय दर्शन चिन्तनमा बित्दथ्यो र केही कुराको पनि राम्रो मेलोमेसो पाउँदैनथे । परिणामस्वरूप उनी सरकारी आँखाको कोपभाजन बन्‍न पुगे ।

भानुभक्त आचार्य प्रथम नेपाली कवि थिए, जसले जनसाधारणका लागि सहज र बोधगम्य भाषामा कविता लेखे । उनीभन्दा पहिले पनि कैयौं नेपाली कविहरूले ख्याति अर्जित गरिसकेका थिए तर संस्कृतमा कविता लेखेर ।

काठमाडौँको कुमारीचक (कुमारीचोक) मा ५ महिनासम्म उनी बन्दी बनाइए । यो समय उनका लागि विधाताको वरदान सिद्ध भयो । अनन्य भावले रामकथाको चिन्तन गर्ने समय उनलाई त्यहाँ प्राप्त भयो । त्यहीँ बसेर उनले अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको अनुवाद गरे । त्यसपछि युद्धकाण्ड र उत्तरकाण्ड पनि पूरा गरे ।

रामायणबाहेक पनि नेपाली साहित्यमा उनको देन छ । अनेक फुटकर कविता र धेरै काव्यग्रन्थहरू उनले रचना गरे । ‘भक्तमाला’, ‘वधूशिक्षा’ र ‘प्रश्नोत्तरी’ उनका मौलिक काव्यग्रन्थ हुन् । एक नेपाली पण्डितले ‘भक्तमाला’लाई संस्कृतमा रूपान्तर गरेका छन् । ‘वधूशिक्षा’ रचनाको पनि एउटा सानो कथा छ ।

एकपल्ट कवि भानुभक्त एक रात आफ्ना मित्र तारापतिको घरमा बास बसेका थिए । उनले त्यहाँ साथीकी स्वास्नीले आफ्नी सासूसँग मनपरी बाझेको देखे । यसले उनलाई मानसिक आघात पुर्यायो । रातभरि जाग्राम बसेर तेत्तीस श्लोकको उपदेशात्मक कविताहरू उनले लेखे । विषय थियो- सासूसँग वधूको व्यवहार कस्तो हुनुपर्दछ ?

भानुभक्तको अन्तिम घडीसम्म पनि विरत भएनन् । मृत्युशय्यामा पनि उनी राम-गीताको अनुवाद बोल्दै गए र उनका एक मात्र छोरा रमानाथले त्यसलाई टिप्दै गए ।

उनी आशुकवि थिए । कुनै पनि विषयमा कुनै पनि समय उनी पद्य-रचना गर्न सक्तथे । उनका रचनाहरूमा व्यंग्य, कौतुक एवं हास्यरसको पनि कमी थिएन । अदालती निवेदन तथा चिठ्ठीहरू उनी पद्यमा नै लेख्न मन पराउँथे । नेपाली साहित्यको अन्धकार युगमा भानुजस्तै भानुभक्तको आविर्भाव भयो । बाक्लो अन्धकारलाई छिन्‍नभिन्‍न गरी स्निग्ध आलोकधारामा उनले गोरखाली भाषालाई स्नान गराए । घर-घरमा उनको कविताको पाठ हुन थाल्यो । गरीब किसान, ज्यामी र ग्वालाहरूको झुपडीदेखि लिएर धनीहरूको प्रासादसम्म सर्वत्र उनलाई समान आदर मिल्यो । विवाहोत्सवमा पनि उनका कविता गाइन थालियो असीम जनप्रियता उनले आर्जित गरे ।

कति विचित्रको कुरा थियो भने एकै दशकपछि मानिसहरूले भानुभक्तलाई बिर्से । तर उनका कविता भने मानिसका कण्ठमा थियो । कुनै विवाहोत्सवमा एक मध्य वयस्क पुरुषका मुखबाट रामायण-गायन सुनेर एक युवकको उत्सुकता जाग्यो । उनले काव्यकार र उनका अरू रचनाहरूको सम्बन्धमा खोजकार्य र तथ्य संग्रह गर्न थाले । तीन वर्षसम्मको अक्लान्त परिश्रमपछि उनले पूरा रामायण र कविका अन्य रचनाको संग्रह गरे । ती थिए- मतिराम भट्ट (मोतीराम भट्ट) ।

भानुभक्तबारे लेखन बस्दा मतिराम भट्ट (मोतीराम भट्ट) लाई छाड्न सकिन्‍न । उनले कलकत्ता विश्वविद्यालयबाट उनले इन्ट्रेस परीक्षा पास गरेका थिए र संस्कृत, फारसी र अंग्रेजीको राम्रो ज्ञान प्राप्त गरेका थिए । प्रथम नेपाली समाचारपत्र ‘गोरखा भारत जीवन’का उनी सम्पादक थिए यसको प्रकाशन काशीबाट भएको थियो । मतिराम (मोतीराम) ले भानुभक्तकृत रामायणको बालकाण्ड प्रकाशित गरे र सम्पूर्ण रामायण र भानुभक्तको जीवनी लेखेर र उनका रचनाहरूको प्रकाशन गरेर नेपालका यी भक्तकविको देनसँग परिचित गराउने र नेपाल बाहिर उनको नाम पुयाउने श्रेय मतिराम भट्ट (मोतीराम भट्ट) लाई नै छ ।

भानुभक्तको मृत्युको सत्तरी वर्षपछि दार्जिलिङ निवासीहरूले नेपाली कविको स्मृतिमा एउटा स्मारक-ग्रन्थ प्रकाशन गरे । त्यतिन्जेलसम्म नेपाल सरकारलाई भानुभक्तसँग खास चासो थिएन, तर स्मारक ग्रन्थ प्रकाशित भएपछि उस (नेपाल सरकार) ले पनि भानुभक्तलाई ‘मान्यता’ दियो । दार्जिलिङ निवासीहरूले त माल (बजार) को मनोरम उद्यानमा कविको एउटा प्रस्तर प्रतिमा पनि स्थापित गरे ।

(हरेन घोषको पुस्तक कवि भानुभक्त आचार्य (बंग्लामा) प्रकाशित छ । जुन सन् १९९३ मा शतफूल एकाडेमी, भारतबाट छापिएको हो । २१ पृष्ठको यो पुस्तिकको मोल रु. ५ छ । यो सामग्री चाहिँ नवनीतको वर्ष २०, अंक ११ मा छापिएको थियो । हिन्दी अनुवाद सोमेश अस्थानाले गरेका हुन् भने नेपाली अनुवाद टेक बी. कार्कीले ।)

र, यो पनि


Author

थप समाचार
x