विचार

संसदीय संवाददाता डायरी- ४

प्रधानमन्त्री देउवालाई विश्‍वासको दुई मत नपुगेपछि जे भयो

हरिबहादुर थापा |
साउन १, २०७८ शुक्रबार ७:५४ बजे

२०५३ फागुन २३ को दिउँसो । शंका, आशंका र अन्यौलबीच प्रधानमन्त्री शेरबहादुर देउवा विश्‍वासको मत लिँदै थिए । उता देउवाको आफ्नै दल कांग्रेस ‘असन्तुष्टि’ले गुम्सिएको थियो । अनि गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टी र सद्‌भावना पार्टीका सांसद पनि को-कता प्रस्तुत हुन्छन् भन्‍ने अन्यौलपूर्ण अवस्था छँदै थियो । यस्तै अन्यौलपूर्ण अवस्थाकै बीच संसद्‌मा मतदान हुँदै थियो ।

सभामुख रामचन्द्र पौडेलले मतदानका निम्ति सदन सुरु गर्दासम्म कांग्रेसका दुई सांसद हराएको ‘गाइँगुइँ’ चल्दै थियो, यकिन चाहिँ थिएन । दुई सांसद अनुपस्थित रहेमा देउवाका निम्ति १०३ मत पुग्‍ने स्थिति थिएन । ती दुई सांसद चक्रबहादुर शाही र दीपकजंग शाह संसद् परिसरमा देखिनन् । देउवालाई ती दुई सांसद उपस्थित हुन्छन् भन्‍ने विश्‍वासमै बैठक सुरु भएको थियो ।


सदन सुरु भएसँगै आफूविरुद्ध सत्तारूढ र विपक्षी सांसदहरूले उठाएका सवालमा देउवाले जवाफ दिए । भने, ‘विश्‍वासको मत लिनुपर्ने संवैधानिक बाध्यता नहुँदा नहुँदै प्रजातान्त्रिक चरित्रको आधारशिला बलियो होस् भन्‍ने चाहेर प्रस्ताव राखेको हुँ ।’ 

देउवाको जवाफपछि मतदानका लागि पाँच मिनेट लामो घन्टी बज्यो । घन्टीसँगै क्यान्टिन, परिसर, संसदीय समितिमा भएका सांसदहरू भित्रिँदै थिए । एकै छिनमा भए-भरका सांसद सदनभित्र प्रवेश गरे ।

घन्टीको आवाज सकिनासाथ सभामुखले ग्यालरी बैठकका ढोका बन्द गर्न निर्देशन दिए । ती ढोका बन्द भएपछि बाहिर रहेका सांसद भित्र प्रवेश गर्न पाउँदैन थिए भने भित्रका सांसद पनि बाहिर निस्कन मिल्दैनथ्यो ।

०००
सद्‌भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह आपूर्ति मन्त्री थिए । उनी सत्तारूढ बेन्चमा आनन्दसाथ बसिरहेका थिए । मतदानको घन्टीपूर्व सिंहले आफ्ना पार्टीका सांसद हृदयेश त्रिपाठीसँग उभिँदै छोटो वार्ता गरेका थिए । त्यो वार्तापछि त्रिपाठी सदनबाट बाहिरिए । मन्त्री सिंह चाहिँ सत्तारूढ कुर्सीमै बस्‍न गएका थिए ।

उता सिंह पटक-पटक पछाडि फर्कंदै सांसदका अनुहार हेर्दै थिए । त्यो स्वाभाविक पनि थियो कि सत्तापक्षतिर सांसद पुग्छन् कि पुग्दैनन् भन्‍ने आँकलन गर्नु मन्त्रीको दायित्व पनि हो । अनि लागेकै थियो, विश्‍वासको मत प्राप्त हुँदैन कि भन्‍ने चिन्तामा सांसद गनिरहेका होलान् । त्यतिखेर तीन सदस्यीय सद्‌भावना पार्टी सत्तारूढ थियो । यद्यपि उसले ह्वीप लगाएको थिएन । त्रिपाठी मतदान घन्टी बजेपछि सदनमा प्रवेश गरेनन् ।

ग्यालरी बैठकका ढोका लागेपछि सभामुखले मतदानका निम्ति ‘रुलिङ’ गरे । सत्तारूढ र विपक्षी दुवैतिरका सांसदहरू मतदानका निम्ति आफ्ना लबीतिर जाँदै थिए ।

त्यहीबीचमा मन्त्रीको कुर्सीबाट मन्त्री गजेन्द्रनारायण सिंह एक्कासि उठे । र, भने, ‘म विश्‍वासको मतमा समर्थन गर्न सक्दिनँ ।’ 

धेरैलाई लाग्यो, त्यो त सिंहको ‘ठट्टा’ होला । सदनको ग्यालरी बैठक, जहाँ सत्तारूढ बेन्च नजिकै पत्रकारको दीर्घा पनि जोडिएको थियो । पत्रकारको हाँसो-ठट्टा सत्तारूढ बेन्चले देखिरहन्थ्यो भने सत्तारूढ दलका मन्त्री-सांसदका हरेक क्रियाकलाप संसदीय संवाददाताहरूले सहजै नियाल्ने नै भए ।

फेरि सिंहले कुर्सीबाट उठ्दै भने, ‘म मतदानमा भाग लिन्‍नँ ।’ त्यो वाक्यांशसँगै सत्तारूढ बेन्चमा हाँसो गुन्जियो । किनभने सत्तारूढ दललाई सिंहले त्यसरी ‘बहिष्कार’ गर्छन् भन्‍ने लागेकै थिएन । त्यसकारण सबैले उनको त्यो भनाइ ‘मजाक’ ठानेका थिए । सांसदहरू मतदान गरी गफिँदै-फर्किंदै कुर्सीमा बस्‍न थाले । तर, सिंह कुर्सीमै बसिरहे । अर्थात् उनको त्यो अभिव्यक्ति ‘मजाक’ रहेनछ ।

सभामुख पौडेल पटक-पटक भनिरहे, ‘मतदान गर्न बाँकी कोही माननीय हुनुहुन्छ भने मतदानमा भाग लिन जानुस् ।’ तर, सिंह चलमल गरेनन् । कुर्सीमै टाँसिएर रहे । उनकै पार्टीका श्रम राज्यमन्त्री अनिस अन्सारी सरकारकै पक्षमा हस्ताक्षर गरी फर्किए । उता अर्का सांसद हृदयेश त्रिपाठी मतदानपूर्व ‘बहिष्कार’ गरिसकेका थिए । त्यसपछि सभामुखले सांसदलाई ‘मत सच्याउन’ तीन मिनेटको समय दिए । मत सच्चिएन । त्यसपछि सभामुखबाट परिणाम घोषणा भयो, ‘विश्‍वासको मतको पक्षमा १०१ र विपक्षमा ९२ मत ।’

मतदानपूर्व बारम्बार सिंह पछाडि फर्किनुको कारण रहेछ, हराएका ती दुई सांसद आएका छन् कि छैनन् भन्‍ने पत्ता लगाउनु । किनभने कांग्रेसका दुई सांसद ‘हराएपछि’ सरकारको पक्षमा बहुमत पुग्‍ने कुनै सम्भावना नै थिएन । ती दुई सांसद नदेखेपछि सिंह मतदान गर्न नगएका रहेछन् ।

सिंहले मतदान गरेको भए, देउवाको पक्षमा १०२ मत पुग्थ्यो । यद्यपि सरकारलाई एक मत पुग्‍ने थिएन । त्यो दिन ‘हराएका’ या ‘हराइएका’ कांग्रेसका दुई सांसद दीपकजंग शाह र चक्रबहादुर शाही उपस्थित भएको भए, सिंहले त्यसरी ‘बहिष्कार’ गर्ने थिएनन् । 

यद्यपि नाटकीय रूपमा मन-मत परिवर्तन गर्नु आश्चर्यजनक रूपमा लिइयो । त्यो दिन कांग्रेसका दुई सांसद नहराएको भए, सिंहले १०४ पुर्‍याइदिन्थे । तर, दुई सांसद फरार भएपछि देउवाको मत १०१ मा झर्‍यो ।

०००

तीन सदस्यीय सद्‌भावना पार्टीमा खास मिलजुल थिएन । सिंहले त्रिपाठी र अन्सारीको सांसद पदै खारेज गर्न पटक-पटक प्रयत्न गरेकै थिए । यद्यपि पार्टी विभाजित थिएन । पक्ष-विपक्ष कतातिर मतदान गर्ने भन्‍ने संस्थागत निर्णय भएको थिएन । अर्थात्, तीन सदस्यीय सद्‌भावना ‘मनमौजी’मा थिए । 

मतदानपूर्व सदनभित्र त्रिपाठी र सिंहबीच ‘हिन्दीमा छोटो’ कुराकानी भएको देखिएको थियो । ‘कुराकानी चाहिँ के भयो ?’ यो पंक्तिकारले पछि त्रिपाठीसँग सोधेको थियो । ‘मतदानका विषयमा हाम्रा अध्यक्षबाट विचित्र भनाइ आयो’ त्रिपाठीको भनाइ थियो, ‘अध्यक्षज्यूले गिरिजाबाबुले बारम्बार सरकार गिरोस् भन्‍ने चाहनुभएको छ र उहाँले सहयोग खोज्नुभएको छ भन्‍नुभयो । त्यसकारण गिरिजाबाबुले भनेबमोजिम गर्नुपर्छ । म चाहिँ सरकारको पक्षमा संख्या पुग्‍ने भयो भने मतदान गर्न जान्छु । मत नपुगेको खण्डमा चूप लागेर बस्छु । तपाईं चाहिँ सरकारविरुद्ध मत दिनुस् ।’

‘के जवाफ दिनुभयो त ?’ त्रिपाठीले भने, ‘अध्यक्षज्यूलाई मैले भनँे कि हेर्नाेस्, त्यस्तो काम त मबाट हुँदैन । ज्यादा भन्दा ज्यादा गर्नुपर्‍यो भने अनुपस्थित भइदिन्छु । तर, सरकारविरुद्ध कुनै पनि हालतमा मत दिन्‍नँ ।’

देउवा सरकार ढलेको छ दिनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले र सद्‌भावना पार्टी सम्मिलित सरकार बन्यो । अनि त्यो सरकारमा पनि गजेन्द्रनारायण सिंह आपूर्ति र विज्ञान-प्रविधि मन्त्री बने । अर्थात्, उनलाई सरकार ढल्दा पनि कुनै घाटा लागेन । भएन ।

हुन पनि देउवासँग त्रिपाठीको घनिष्ठ सम्बन्ध थियो । त्यतिखेर त्रिपाठी लेखा समितिका सभापति थिए । त्रिपाठीले पंक्तिकारसँग भनेका थिए, ‘म शेरबहादुरजी रहून् भन्‍ने चाहन्थेँ । देउवाजीसँग मेरो व्यक्तिगत सम्बन्ध भएको हुँदा विपक्षमा मत दिन सक्ने अवस्था थिएन । त्यहीकारण म मतदानको घन्टी बज्नुअघि नै सदनबाट बाहिरिएको हुँ ।’

०००

त्यतिखेर देउवा सरकार ‘गिर्नु’को प्रमुख कारण चाहिँ कांग्रेसभित्रकै घर-झगडा थियो । सद्‌भावना र सिंह चाहिँ गौण कारण ।

देउवा प्रधानमन्त्री भइरहेको दृश्य कांगे्रेस पार्टीको संस्थापन पक्षलाई पचेको या जचेको थिएन । कांग्रेसभित्र देउवाइतर समूह, जसलाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको संरक्षण प्राप्त थियो । तिनीहरू देउवाविरुद्ध भित्रभित्रै खेल्दै थिए । 

यहाँसम्म कि कांग्रेसी नेता÷सांसदले देउवाविरुद्ध ‘तुलसी गिरी’ बनेको गम्भीर टीकाटिप्पणी बाक्लो बनाएका थिए । अर्थात्, देउवा दरबारसँग लहसिएको र दरबारलाई प्रजातन्त्र समर्पण गर्न लागेको टिप्पणी कांग्रेसभित्रै बाक्लिएको थियो ।

त्यो दिन विश्‍वासको मत लिनुपूर्व जवाफ दिने क्रममा आफ्नै पार्टीबाट आएका अभिव्यक्तिका सवालमा ठाडो जवाफ दिँदै देउवाले भने, ‘के शेरबहादुर भनेको तुलसी गिरी हो ? गिरि भनेको आफ्नै पार्टीको प्रधानमन्त्रीलाई खतम गरेर अर्को व्यवस्था आएपछि बनेको प्रधानमन्त्री हो । म प्रजातन्त्रका लागि ज्यान हत्केलामा राख्‍ने व्यक्ति हुँ । ममाथि शंका गर्नु अपराध हो ।’

कांग्रेसका पूर्वमहामन्त्री डा. तुलसी गिरीले २०१७ पुस १ को घटनापछि राजाको समर्थन गरी पञ्चायती व्यवस्थाका हर्ताकर्ता बनेका थिए । त्यो प्रकरण नहुँदासम्म देउवा, गिरिजाप्रसाद कोइरालाको खास ‘प्रतिस्पर्धी’ रूपमा देखिएका वा ठानिएका थिएनन् । तर त्यही घटनाले देउवालाई कोइराला विरोधी खेमाको ‘प्रखर नेता’मा स्थापित गराइदियो । एकाएक कोइरालाविरोधी खेमाको नेता बनाइदियो ।

अर्को त, संसदीय राजनीतिमा अन्तिमसम्म कसैको विश्‍वास नगर्नू भन्‍ने पाठ सिकायो नै । राजनीतिकर्मीले मतदानको लाइन पुगिसकेपछि पनि ‘लाभ-हानि’को हिसाब-किताब गर्दै रंग फेर्छन् भन्‍ने तथ्य स्थापित गरायो । त्यसो त, त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरूले पनि ‘फ्‍लोर क्रस’ गरिसकेका थिए ।

देउवा सरकार ढलेको छ दिनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले र सद्‌भावना पार्टी सम्मिलित सरकार बन्यो । अनि त्यो सरकारमा पनि गजेन्द्रनारायण सिंह आपूर्ति र विज्ञान-प्रविधि मन्त्री बने । अर्थात्, उनलाई सरकार ढल्दा पनि कुनै घाटा लागेन । भएन । गिरिजाप्रसाद कोइरालाले त्यो घटनासँगै देउवालाई संसदीय दलको नेताबाट बिदा गर्दै त्यो पद आफैँ लिए । 

संविधान, कानुन, नियम, पद्धति र प्रक्रियाले काम गर्ने ठाउँमा मात्र राजनीतिक विश्लेषणसहित निष्कर्षमा पुग्‍न सकिन्छ । तन्त्र परिवर्तनपछि राजनीतिको मन्त्र चाहिँ पद-पैसा र अवसरमा सीमित छ । अनि दलीय, सिद्धान्त, नैतिकता र आदर्श सिला खोज्नुपर्छ । अनि ‘पद-धन’का अघिल्तिर राजनीतिकर्मीका मत जति सुकै बेला बदलिन सक्छ । त्यहीकारण हामी कहाँ एउटा थेगो स्थापित छ, ‘अब के हुन्छ ?’

अब झन् त्यस्ता दृश्य बाक्लिएको हेर्नुपर्नेछ, त्यो दृश्य संघीय संसद्मा मात्र होइन, प्रदेश-प्रदेशमा पनि । संघीय संसद्लाई प्रदेश सभाले ‘माथ’ खुवाएको दृश्य त कैद भइसकेकै छ, हुँदै छ । दुर्भाग्यत, संस्थागत-दलीय-संसदीय अभ्यासमा अझै त्यस्ता अनगन्ती दृश्य नागरिकले कैद गर्नुपर्नेछ । 

अब त्यो दृश्य संघीय संसद् मात्र होइन, प्रदेश सभामा बाक्लो नै भइसकेको छ । अनि, ‘राजनीतिमा स्थायी शत्रु या मित्रु हुँदैनन्’ भन्‍नुको अर्थ हो, सिद्धान्तबाहिर गएर अवसर बटुल्ने नीति अख्तियार गर्नु । 

थप संसदीय डायरी पढ्नुहोस्


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x