विचार

पुष्पलाल स्मृति दिवस

भैरव रिसालको संस्मरण : पुष्पलाललाई खसीबोका व्यापारी बन्‍नुपरेको थियो

भैरव रिसाल |
साउन ७, २०७८ १४:२ बजे

कमरेड पुष्पलाललाई रौतहट झर्नु परेछ ।

१ पुस २०१७ मा राजा महेन्द्रले शिशु प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था घोषणा गरेपछि प्रजातन्त्रका लागि लडेका नेता तथा कार्यकर्तालाई मुश्किल थियो । भेटिएसम्मका जुनसुकै दलका नेतालाई जेलमा हालिएको थियो भने कम्युनिस्ट पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताविरूद्ध पक्राउको वारेन्ट जारी भइसकेको थियो ।


ADVERTISEMENT

अझ २००८ सालमा डा. केआई सिंहले सिंहदरबारमा विद्रोह गरेको, रामप्रसाद राईहरूले जेल तोडेको जस्ता घटनाको निहुँमा नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाइएको थियो । यस्तो परिस्थितिमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई काठमाडौंदेखि रौतहट जानुपरेको ।

त्रिभुवन राजपथ, चित्लाङ, मार्खु, कुलेखानी, भीमफेदीको बाटो छिचोल्ने अवस्था थिएन । त्यसैले उहाँले मसँग सोध्नुभो, रौतहट झर्ने सुरक्षित बाटोबारे । मैले ललितपुरको लेले, टुङगन (गोटीखेल क्षेत्र) हुँदै रौतहट झर्ने तुलनात्मक रूपमा सुरक्षित बाटोबारे बताएँ । त्यो बाटो कसरी छिचोल्ने भन्ने विषयमा सीमित मानिसहरूबीच गम्भीर छलफल भयो ।

मैले जुक्ति निकालेँ– मेरो भेगका रामदाइ (राम्चा ठेउला), गणेशदाइ (गणेशबहादुर राउत) मार्फत पुष्पलाललाई रौतहट उतार्ने । खसीबोका किन्ने सिलसिलामा टुङगन भेग हुँदै निकै पल्ट आउजाउ गरेकाले गणेशबहादुरले त्यताका धेरै मान्छे चिन्नुभएको थियो । उहाँसँग जाँदा खानबस्न पनि सहज हुन्थ्यो । राजनीतिक सुझबुझ भएका व्यक्ति साथमा भए अझ सहज हुने ठानी राजनीतिक कार्यकर्ता रामदाइलाई लैजाने सल्लाह भयो । सम्झना भएसम्म यो घटना २०१७ साल चैततिरको हो ।

रामेछापको भँगेरी डाँडामा जन्मेकाले हो कि पुष्पलाल नेवार भए पनि तामाङ वा क्षेत्रीजस्तो देखिनुहुन्थ्यो । स्पष्ट र खाँटी नेपालीमा बात मार्ने आकर्षक व्यक्तित्वको उहाँलाई नचिनेका मानिसले नेवार भनेर शङ्का गर्दैनथे । खसीबोकाको व्यापारमा आएको भन्दा पनि विश्वास गर्ने खालको व्यक्तित्व भएकाले सुरक्षाको खतरा कम हुने अनुमान गरियो  ।

गणेशबहादुर तत्कालीन शाही नेपाली सेनाका अवकाशप्राप्त हवल्दार । तर, मेरा जजमान र परम विश्वासिला मान्छे । छलफलमा शङ्का पनि भएको थियो– सेनाका भूतपूर्व हवल्दार हुन्, कुनै लोभले पक्राइदिने त होइनन् ? तर, मैले गणेशदाइ र रामदाइ अत्यन्त विश्वासिला छन् भनेर आश्वस्त पारेँ ।
खसीबोकाको व्यापारी आवरणमा उहाँहरू बिहान ३ बजेतिरै बाटो लाग्नुभो, उज्यालो हुँदा लेले तिलेश्वर पुग्ने गरी ।

टुङगन महाँकाल स्थाननिरका माइला पराजुलीकी बहिनीको दधिकोटका वेदनिधि ढकालसँग बिहे भएको थियो । पुरेत्याइँ पेसाका त्यहाँका पराजुलीहरूले मलाई चिन्नुहुन्थ्यो । मैले माइला पराजुलीजीकहाँ बास बस्ने सल्लाह दिएको थिएँ, त्यसै गर्नुभएछ । माइला पराजुलीको परिवारले उहाँहरूलाई उच्च आतिथ्य प्रदान गरेछ । सुरक्षाको प्रश्न नै आएनछ । एक रात बसेर उहाँहरू भोलिपल्ट बिहानै बाटो लाग्नुभएछ ।

बाटामा खसीबोकाको मोल पनि भएछ । फर्केर आउँदा खसीबोका लैजाने भन्दै गणेश दाइले एक–दुई ठाउँमा बैना पनि दिनुभएछ । दोस्रो दिन साँझ पुष्पलाललाई सुरक्षित रूपमा रौतहट पुर्याएर सम्बन्धित व्यक्तिको जिम्मा लगाई रामदाइ र गणेशदाइ उही बाटो फर्कनुभयो ।

फर्कंदा पहिले बैना दिएका र कुरा भएका ठाउँका खसीबोका किन्दै चौथो दिन दुवै दाइहरू काठमाडौं आइपुग्नुभो । १२ वटा जति खसीबोका बेचेर गणेशदाइले केही नाफा पनि गर्नुभयो, तर रामदाइलाई व्यापार नआउने हुँदा त्यो लेठो गर्नुभएन । फर्केपछि दुवैले मलाई भन्नुभएको थियो, ‘त्यत्रा ठूला नेतालाई लिएर जाँदा ठाउँठाउँमा निकै डर लाग्यो, पुलिसले समात्छ कि भनेर । उज्यालो नहुँदै लेले तिलेश्वर उत्रिएकाले त्यस्तो केही भएन । तै जिम्मेदारी पूरा गर्यौं ।’

धेरै पछिसम्म दुवैले त्यो यात्राको वर्णन गरेको मलाई सम्झना छ । उहाँहरू भन्नुहुन्थ्यो, ‘उहाँ खसीबोका व्यापारी हुनुहुन्छ भनेर गाउँका किसानलाई विश्वस्त पार्न निकै मुस्किल पर्यो । उहाँले व्यापारका कुरा, खसीबोकाको मोल गर्न जान्दै नजान्ने । गोरो, उज्यालो अनुहार, आकर्षक व्यक्तित्व भएकाले पनि गाउँघरका किसानले उहाँलाई खसीबोका व्यापारी भनेर पत्याएनन् ।

‘गाउँगाउँमा कैयौं छन्, इमानदार र जिम्मेवार मान्छे । तर, हामी उनीहरूको नजिक पुग्नै सक्तैनौं, उनीहरूलाई चिन्नै सक्तैनौं । हामी उनीहरू जस्ता गरिखानेहरूसम्म पुग्नसके नेपालमा कम्युनिस्ट क्रान्ति र साम्यवाद स्थापनाको हाम्रो सपना साकार हुन के बेर लाग्छ र ?’

पछि फर्कंदा ती बैना लिनेहरूले दाइहरूलाई सोधेछन्, ‘खोइ त त्यो नेता जस्तो मान्छे ? व्यापारका कुरै नजान्ने, मोल गर्न पनि नजान्ने । तर उनका कुरा कति मीठा, सुनिरहौँ लाग्ने । उनलाई कता पुर्याएर आयौ ?’

पुष्पलाललाई सुरक्षित गन्तव्यमा पुर्याएको कुरा गर्वसाथ दुवैले पछिसम्म मलाई सुनाउनुभएको थियो, ‘हामीले कत्रो ठूलो काम गर्न सक्यौं !’

रामदाइ र गणेशदाइमा विशेष क्षमता भएको कुरा पुष्पलालले पनि मलाई सुनाउनुभएको थियो । बाटोमा सोधेको प्रश्नमा कतै एकथरी उत्तर, कतै मान्छे र प्रश्न हेरेर अर्के उत्तर दिने दाइहरूको चलाखीलाई पुष्पलालले खुबै प्रशंसा गर्नुभएको थियो ।

पुष्पलालले मलाई पछिसम्म सन्देश पठाउनुहुन्थ्यो, ‘गाउँगाउँमा कैयौं छन्, गणेशबहादुर र राम्चा जस्ता इमानदार र जिम्मेवार मान्छे । तर, हामी उनीहरूको नजिक पुग्नै सक्तैनौं, उनीहरूलाई चिन्नै सक्तैनौं । हामी उनीहरू जस्ता गरिखानेहरूसम्म पुग्नसके नेपालमा कम्युनिस्ट क्रान्ति र साम्यवाद स्थापनाको हाम्रो सपना साकार हुन के बेर लाग्छ र ?’

(वरिष्ठ पत्रकार, लेखक तथा समाजसेवी भैरव रिसालको पुस्तक ‘उहिलेको नेपाल’बाट । दुई वर्षअघि बुक–हिलले छापेको यस किताबमा रिसालले भोगेको, देखेको, सुनेको नेपालबारे ५५ वटा छोटा–मीठा रमाइला संस्मरण छन् ।)  

    
    
    
 



Author

थप समाचार