बिदा-लेख
प्राज्ञ, प्राध्यापक, सांसद अस्वीकार गरेका सादगी-त्यागी आनन्ददेव
हिजो भदौ १४ गते लेखक आनन्ददेव भट्टले ८५ वर्षको उमेरमा भौतिक शरीर बिसाए । उनी को हुन् ? धेरैका लागि अनुद्घाटित उनका केही रोचक र प्रेरक प्रसंग खोसरखासर गर्ने जमर्काे यहाँ गरिएको छ । पद र पैसाको पछि कुद्ने दुनियाँमा उनको त्याग र स्वाभिमानको कथा त्यस्तो झिल्को हो जसले हामीमा केही छिन भए पनि उज्यालोको आभा सञ्चारित गर्नेछ ।
आनन्ददेव भट्ट १५ वर्षको उमेरमा २००८ सालमा कम्युनिस्ट पार्टीसँग नजिक भए । एक वर्षपछि उनले पार्टीको सदस्यता लिए । २०१०–०१४ सालतिर उनले काठमाडौँ, भक्तपुर, धुलिखेलतिर किसानहरूबीच रहेर कम्युनिस्ट चिन्तन र संगठन विस्तारका लागि काम गरे ।
२०१० सालमै उनी भद्रगोल जेलमा चार महिना थुनिए । २०१७ सालको महेन्द्रीय कु-ताका उनी धनकुटामा प्राध्यापनरत थिए । २०२१ चैत २९ गते धरानमा विरोध जुलुस निकालेको अभियोगमा उनी पक्रिइन्छन् र तीन महिनासम्म विराटनगर जेलमा थुनिन्छन् । फेरि ०२६ सालमा चितवनमा पक्रिइन्छन् र एक महिना चार दिनसम्म जेल बस्नुपर्छ, उनलाई ।
२०३० सालमा झापा आन्दोलनका नाइकेसँग बैठक गरेको अभियोगमा गिरफ्तार गरेर वीरगन्ज जेल चलान गरिन्छ, उनलाई । त्यहाँ सवा एक महिना थुनिन्छन् । पछि नक्खु जेलमा चार महिना १९ दिनसम्म थुनामा बस्नुपर्छ, उनी । ०४६ फागुन १६ गते सरस्वती सदनमा ‘लक्ष्मी कार्की काण्ड’ (यो काण्डबारे पंक्तिकारले लक्ष्मी कार्कीसँग गरेको वार्ता समानताको अभ्यास हामीले चाहेको अवस्थामा छैन पढ्नुहोस्।) बारे कडा भाषण गर्दै विरोधसभामा अगुवाइ गर्छन् । यही अभियोगमा उनलाई चैत ६ गते घरबाटै गिरफ्तार गरेर हनुमानढोका खोरमा पुर्याइन्छ । जनआन्दोलन सफल हुनु केही घण्टाअघि २० दिनपछि छोडिन्छन्, उनी । यसरी उनी एकबारेको जुनीमा ११ पटक त थुनिन्छन् नै ।
यो त भयो, स्वतन्त्रताप्रतिको उनको सतत् संघर्षको सानो बयान । उनी कम्युनिस्ट पार्टीमा, प्रगतिशील चिन्तनमा सदा लागिरहे । आगो ओकल्ने उनका लेख खोजीखोजी पढ्ने जमात त्यतिबेला बाक्लै हुन्थ्यो । उनी सिद्धान्तमा प्रगतिशील तर व्यवहारमा पतित थिएनन् । उनी सिद्धान्तमा माक्र्सवादी र यथार्थमा मास्कवादी थिएनन् । (यसबारे तल चर्चा हुनेछ) उनी २३ वर्षे युवा हुँदा नै २०१६ सालमा प्रगतिशील लेखक संघले उनको एकल प्रवचन कार्यक्रम आयोजना गरेको थियो ।
कम्युनिस्ट विचार र संगठनमा यति धेरै योगदान गरेका उनलाई नेकपा एमालेले २०४८ सालको आम निर्वाचनमा उम्मेदवार बन्न आग्रह गर्यो । तर उनले पार्टी आफ्नो विचारमा आउनुपर्ने (उनले त्यतिबेला ‘राष्ट्रिय राजनैतिक सहमति’ पुस्तक लेखेका थिए) तर्क गरे । विचार नमिलेपछि उनले सांसदको टिकट नै अस्वीकार गरिदिए । करोड मात्र हैन, अर्बाैं रुपैयाँले चुनावी टिकट-सांसद-मन्त्री पद किन्ने यो जमानामा ३० वर्ष मात्र पहिलेको यो सत्यकथा स्वयं दन्त्यकथा भइसक्यो ।
२०४८ सालमा चुनाव नलडेका उनी ०५१ र ०५६ सालको चुनावमा भने बैतडीबाट सांसद पदको चुनाव लड्छन् तर उनको दुवैपटक हार हुन्छ । बहुदलपछि एमाले पटकपटक सत्तामा रह्यो, एकेडेमीमा भ्राताहरु भकाभक भर्ती भए, आनन्ददेवहरू भने सधैँ नेपथ्यमै रहे । एकेडेमीको आजीवन सदस्य हुनसमेत उनले मृत्युको सँघार टेक्नुपर्यो ।
जब कि पार्टी निकटका उनीभन्दा कम उमेरका, कम योग्यताका धेरै लेखनदास उहिल्यै आजीवन सदस्य बनिसकेका थिए । तारानाथ शर्मा, आनन्ददेव भट्टहरुको पालो भर्खर आएको थियो । (आधा महिना पहिले मात्रै एकेडेमीका कुलपति, सदस्य सचिवलगायतले अस्पतालमै पुगेर आनन्ददेवलाई प्रमाणपत्र टक्र्याएका थिए ।)
एकेडेमीको कुरा आइहाल्यो । उपकुलपति बनेका मदनमणि दीक्षितले आनन्ददेव भट्टलाई आफ्नो टिममा प्राज्ञ सदस्य बन्न आग्रह गरेका थिए । तर, आनन्ददेवले प्राज्ञ बन्न अस्वीकार गरेका भनेर उनका भाइ तथा प्रशासनविद् भीमदेव भट्टले ‘आनन्द दाइबारे मेरो अभिव्यक्ति’ शीर्षक लेखकमा ०६४ सालमा लेखेका छन् । यो लेख छापिँदा आनन्ददेव र मदनमणि दुवै जीवित नै थिए ।
आनन्ददेव भट्ट कतिसम्म त्यागी-स्वाभिमानी थिए भन्ने एउटा अर्काे उदाहरण पनि सुनौँ । आनन्ददेवले त्रिभुवन विश्वविद्यालयमा ३३ वर्षसम्म प्राध्यापन गरे । २०४६ सालको जनआन्दोलनपछि त्रिविमा समयाबद्ध पदोन्नतिको अवसर-सर्त जुराइयो । सर्त पूरा गर्दै-गराउँदै सबैजसो अध्यापक-कर्मचारीले भटाभट बढुवा लिए । तर, आनन्ददेवले त्रिविको त्यो निर्णयमा असहमति नजाए । उनले आफूले पदोन्नति लिन अस्वीकार गरे । चाहेको भए उनी सजिलै प्राध्यापक हुन सक्थे तर सहप्राध्यापक पदबाटै २०५० सालमा स्वेच्छिक अवकास लिए ।
एउटै गतिलो अनुसन्धान नगरेका, भूमिगत गाइड, पुस्तक र जर्नल लेख लेखेका पनि वा केही पनि नलेखेकाहरू प्राध्यापक भएका–भइरहेका हामी देखिरहेछौँ । तर, मुखमा आएको प्राज्ञदेखि प्राध्यापक, सांसदसम्म अस्वीकार गर्ने आनन्ददेव भट्टको स्वाभिमानी कथा अभिमानी सर्कलबीच कमेडी नै हो ।
धरानमा प्राध्यापन सहकर्मी सुशीला खरेलसँग आनन्ददेव भट्टको ०२१ सालमा बिहे भयो । बिहेको सम्बन्धमा सुशीलाको स्मरण छ, ‘हाम्रो विवाह बराह क्षेत्रमा भएको थियो, उहाँको प्रगतिशील दृष्टिकोण र पद्धतिअनुरूप । तत्कालीन परिवेशमा यस्तो बिहे निक्कै आलोच्य पनि भयो । किनभने भट्टजीले परम्परावादी ढंगमा जग्गे थापी होम गरेर बिहे नगर्ने निर्णय गर्नुभएको थियो ।’ आनन्द-सुशीला बिहे तत्कालीन बाहुन समुदायमा प्रगतिशील बिहे थियो ।
वैवाहिक जीवनमा उनीहरूबीच एकअर्काको कुरा नलाद्ने, दुवैले दुवैलाई बराबर सम्मान गर्ने सहमति भएको रहेछ । विवाहको प्रतिज्ञापत्र यस्तो छ ः ‘म जीवनसंगिनीप्रति सधैँ इमानदार र सहयोगी हुनेछु । मन, वचन र कर्मले दुःख दिने छैन । उनको आस्था र विचारमा कहिल्यै बाधा र विरोध गर्ने छैन तर उनी पनि मेरो काम, विचार र सिद्धान्तमा बाधक बन्न पाउने छैनन् । किनभने म व्यक्तिगत र पारिवारिक जीवनभन्दा बढी महत्व राष्ट्र र मेरो राजनैतिक विचारलाई दिन्छु ।’
अब एकछिन भट्टको साहित्य-समालोचनातिर पनि नजर लाऔँ । उनले कविता, निबन्ध, समालोचना, अनुवादमा हात हाले । वनारसबाट छापिने ‘नौलो पाइलो’मा उनले ०१२ सालमा ‘नेपाली कांग्रेस र चारतारे झण्डा’ शीर्षकमा झ्याउरे कविता लेखे । ०१३ सालमा ‘म तैयार छु’ कविता ‘इन्दे्रणी’ पत्रिकामा छापियो । साहित्य अध्येताहरूको रेकर्डमा उनका १९ वटा पुस्तकको नाम देखिन्छ ।
उनको पहिलो साहित्यिक कृति ‘९७ साल’ २०१५ सालमा छापियो । यसमा उनले स्वतन्त्रताको गीत गाएका छन्, सहिदको सम्मान–सम्झना गरेका छन् । ‘अब हिमालय बोल्छ’, ‘गुराँस’, ‘आमा बोलाउँछिन्’ उनका मुख्य कविता कृति हुन् । ‘ओमरखैयामलाई जवाफ’, ‘तिमीलाई देख्दा’, ‘साहिँली मैयाँ’, ‘युरी एलेक्सएभिच गागरिन’ उनका उल्लेख्य काव्य-खण्डकाव्य हुन् । रोचक के छ भने, उनका यति धेरै यी सबै कृति उनको उमेर २६ वर्ष नपुग्दै छापिएका हुन् ।
‘समालोचनाको बाटोतिर’, ‘हाम्रा प्रतिभाहरू’, ‘प्रतिभा पहिचान’, ‘जनताको साहित्य’, ‘व्यावहारिक समालोचना’ उनका समालोचना कृति हुन् । ‘केही आत्मपरक निबन्धहरू’ पुस्तकमा उनका ०४९ सालसम्मका निबन्ध संकलित छन् । उनले हेनरिक इब्सनको नाटक ‘एन इनेमी अफ द पिपुल’लाई ‘जनताको शत्रुका’ रूपमा अनुवाद गरे । यो नेपाल एकेडेमीबाट प्रकाशित छ ।
‘जगत्को सृष्टि र सञ्चालन प्रक्रिया’जस्तो दार्शनिक पुस्तक ०४६ सालमा छापियो । उनका वैचारिक आलेख संकलित पुस्तक ‘राष्ट्रिय राजनैतिक सहमति’, ‘भाषिक अधिकार’, ‘नेपालको भाषा नीति’, ‘नेपाली र नेपालका अन्य भाषामाझको सम्बन्ध’ विशेष छन् । यिनमा उनको राजनैतिक दृष्टि र प्रगतिशील सोच झल्किन्छ ।
उनको कृति ‘जीवनकै थुम्कोबाट’लाई त्यतिबेलाका समीक्षकहरूले ‘मुनामदन’पछिको सर्वाेत्तम कृति भनेर टिप्पणी पनि गरेका छन् । पुरस्कार, सम्मान, पाठ्यक्रमका दृष्टिले आनन्ददेव भट्ट के-के कारणले हो, सधँै ठगिए । उनका समकालीन मात्र होइन, अनुज पुस्तासमेत मञ्चमा देखिएको देखियै गर्दा उनी भने नेपथ्यमै रमाइरहे । स्मरण रहोस्, उनी प्रगतिशील लेखक संघका प्रणेतामध्येका एक हुन् ।
बैतडी मूल थलो भएका आनन्ददेव बुवाको जागिरका क्रममा जुम्लामा जन्मिए, १९९३ मा । ११ वर्षको उमेरमा उनी ६ कक्षामा भर्ना भए, पाल्पाको तानसेनमा खुलेको पद्मोदय पाल्पा पब्लिक हाइस्कुलमा । २००८ सालमा दरबार हाइस्कुलबाट एसएलसी पास गरे । त्रिचन्द्रबाट आइए र नेसनल कलेज (हाल शंकरदेव क्याम्पस)बाट बीए पास भए ।
२०१६ सालमा पटना विश्वविद्यालयबाट अंग्रेजीमा एमए गरे । पञ्चायतकालमा त्रिविका विभिन्न कलेजमा, विभागमा नेतृत्वदायी काम गर्दागर्दै उनले बेलायतको लिड्स युनिभर्सिटीबाट उच्च डिग्री लिए । लन्डन विश्वविद्यालयबाट २०४० मा ‘पाठ्यक्रम र विकासोन्मुख देशमा शिक्षा’ विषयमा एमएड पनि गरे । उच्च शिक्षित, प्रखर वैचारिक, सादगी-त्यागी आनन्ददेव भट्ट लामो समयदेखि अल्जाइमर्सले थलिएका थिए । हार्दिक श्रद्धाञ्जलि ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया