विचार

आफ्नै नयाँ मुलुकको कथा

नारायण घिमिरे |
भदौ १६, २०७८ १५:५४ बजे

सबै मान्छेको जीवनमा आफ्नै अनुभव हुन्छ । तनहुँको बन्दीपुरस्थित याम्पा फाँटमा जन्मी हुर्केको आँबु गाविसको सत्र सयको स्कुलमा पढेको एउटा उरन्ठेउलो केटोको रूपमा स्कुले जीवन पार गरियो । ९–१० कक्षा पुगेपछि गोरखा च्याङ्लीको शिवरात्रि मेला जाने र आँबु गाविसमा रहेको तर हाम्रै गाउँ याम्पा फाँटको खेतबारी सिँचाइ हुने आँधी खोलाको मुहानका रूपमा रहेको आंदिमुलमा ठूला एकादशी जात्रा गएको स्मरण जीवन भर ताजा बस्ने रहेछ । 

धार्मिक एवं ऐतिहासिक स्थलहरूमा विभिन्न मेला र पूजा–आजा हुने नेपालमा मलाई भने हाम्रो आंदिमुल जात्रा भन्दा रमाइलो अन्त कहाँ हुनु र रु नेपाली आफू जन्मेको घर परिवेशको तुलनामा आजसमेत क्यानडाको टोरन्टो होस् कि अमेरिकाको मेनहाटन, मेरा लागि आफ्नो चिने जानेको खासै कोही नभएको, आत्मीयता नबसेको, थुप्रै मान्छे र विकासको संरचना भएको तर आफ्नो आत्मीयता नभएको स्थानको रूपमा दिउँसै चिच्याएर हिँड्ने मरुभूमिभन्दा पनि बिरानो र उकुसमुकुस लाग्ने स्थानको हैसियतमा पुग्दछ ।


हाम्रा जात्राहरूमा जम्मा हुने लगभग आठ दश हजार सहभागीमा झन्डै हजारभन्दा धेरै चिने जानेका स्थानीय आफ्नै समुदायका मानिस हुन्थे । आफैँले देखेका चिनेका, बोलीचाली नभएका तर बोली मिसाउन पाए हुन्थ्यो भन्ने रहरले बहाना गरी–गरी नजिक पुगिने तर नजिक परेपछि आफ्नै बोली नफुट्ने परिस्थिति महिनौँसम्म दिमागमा घुम्ने रमाइला पलका अनुभव हुन्थे । बहाना खोजी खोजी आफ्ना समकक्षी उमेरका महिलाहरू नजिक पुग्ने तर नजिक पर्दा केही बोल्न नसक्ने, आफ्नै मुटु ढुक–ढुक भएर भाग्न हतार हुने अनुभवहरूबाट सायदै केही सिकियो होला । तर ती अनुभवहरूले जीवन भने रसिलो र आशालाग्दो बनाएको अनुभूति हुन्थ्यो ।

जात्राहरू स्थानीयले आफैँले पकाएका खानाका परिकारहरू सेल रोटी, तरुल, भ्याकुर बटुकी, गुन्द्रुक, भट्ट, भुटेको मकै, सिस्नोको सुप, सुकुटी, लोकल कुखुराको मासु, कोदो, फापरको ढिँडो बेच्न राखेको हुन्थ्यो । भुटेको बदाम, उखु, उसिनेको सकर खण्ड, तरुल, सिँगडा, आलु चप, पकौडा, भटमास आदि किनेर खान पाइन्थ्यो । चिया र सिया दुवै मिल्ने रहेछ । आफूले त सिया त्यो पनि लोकल आदि चैँ अलि ठूलो भए पछि मात्र थाहा पाइयो । 

गाउँघरको खानामा धेरैजसो मनसुली वा बासमती धानको भात, साग र काउलीको गुन्द्रुक, खसीको मासु, लोकल कुखुराको मासु, ढिँडो, भट्ट, मस्यौरा, कर्कलो, नीयूरो, तामा आदि सामान्य नै थियो । गुन्द्रुक र भट्टको झोल तरकारी र साधेको अचार आदि मेरो अति मन पर्ने खाना नै थियो । केही समयमा विकासे योजनाहरू देखिए । तिनीहरूको प्रभावले ठूला गाह्राहरूमा तरकारी, सागसब्जी र प्लास्टिकका टनेलहरू बाक्लै हालेर बेमौसमी खेती गर्ने तरिका गाउँलेहरूले सिके । 

विकासे योजना आएपछि रैथाने तरकारीहरू बेमौसमी काउली, काँक्रा, मुला, क्याप्सिकम, गाँजर, जुकिनी फर्सी, बोडी, करेला, बन्दा, भन्टा, इस्कुस, परवर आदि सबै खेती हुन थाल्यो । लोकल गाई र मुर्रा भैँसीहरू जुर्रो नहुने धेरै दूध दिने विकासे गाईले प्रतिस्थापन गर्‍यो । लोकल कुखुरालाई बोइलरले र घाँस पराललाई दानाले पालो दियो । 

गोलभेँडाका टनेलहरू जताततै देखिन्थे । प्रगति हेर्दा केही देखिन्थ्यो । तर किसानको हातमा अनियन्त्रित विषादी, हर्मोन, इन्जाइम, विकासे मल आदि पर्‍यो । गाउँमा अब क्यान्सरबाट मर्ने, कहिल्यै नसुनेको रोग लाग्ने, स्वस्थ्य बिग्रने, दूध आदि पहिले जस्तो पोसिलो नहुने र समाजमा जे कुरा पनि निजी फाइदा र बेफाइदामा तौलिने संस्कृतिले जरो गाड्यो । अइचो पैँचो सबै कम हुँदै गयो । 

विस्तारित परिवारका रूपमा रहेको समाज एउटा व्यापारिक जनसंख्यारूपी यान्त्रिक बजारमा परिवर्तन बन्यो । शाकाहारी खाना दूध, दही, खीर, पनिर, दूध, दही, मोही, अचार, सेल रोटी, तरकारी, खीर आदि स्वाद र पोषण तत्त्व कम उहिलेका जस्तो स्वाद र पोषण तत्त्व दिने हैसियतविहीन स्थानीय उत्पादन बनिदिए । भारतबाट आयातित हुन् वा हाम्रा आफ्नै स्थानीय उत्पादनका रूपमा बजारमा खाद्यका रूपमा बिक्रीका लागि उपलब्ध हुने कम्तीमा ९८ प्रतिशत कृषिका उपजहरू उत्पादन, ढुवानी र भण्डारणमा रोग र किराबाट जोगाउन तथा उत्पादन र बिक्रीमा तौल बढाउन प्रयोग भएका छरिएका विषादी, हार्मोन, इन्जाइम, अखाद्य रङ्ग आदि मिश्रित अत्याधुनिक कृषि प्रणालीको उपजका रूपमा भान्सामा पुग्ने हाम्रो खाना बन्न पुग्यो ।

गाउँबाट स्कुल स्तरको परीक्षा एसएलसी दिएपछि अमृत क्याम्पसमा विज्ञानको प्रवीणता प्रमाणपत्रको जाँच दिनु अगाडि लामो फुर्सद मिल्यो । त्यो बेला फुर्सदको समय तास खेलेर बिताउने लत लाग्यो । बुबा कामको लागि, लत्ता कपडा, किताब कापी र खानपानका लागि जति पनि पैसा दिने तर तास खेल्ने, रक्सी खाने जस्ता काम गरेको थाहा पाए तोरीको फुल देख्ने गरी झापड हान्नु हुन्थ्यो । बुबाको आँखा छली छली तास खेल्न पर्दथ्यो । सबै सुतेपछि कुटमिरेको लाहुरे दाइ हरिलाई लिएर कान्छा जाम भन्न आइपुग्थे । 

हाम्रो बुबालाई रक्सी नपिउने, अर्काको चेली–बेटी, बुहारी माथि कहिल्यै आँखा नलगाउने लाहुरे दाइ तास खेल्दैनन् भन्ने विश्वास थियो । हरि झन् पढ्न राम्रो भएकाले लाहुरे दाइ र हरिसँग जता गए पनि केटो लाइनमा छ भन्ने लाग्ने रहिछ । कहिल्यै कता गइस् के गरिस् भनी सोध्नु हुन्थेन । बेला बेलामा लाहुरे लाई हाम्रो कान्छोले चुरोट, रक्सी खाने नखाने, तास खेल्ने नखेल्ने, तरुनी केटीको पछि लाग्ने नलाग्ने सोध्ने गर्नु हुँदो रहेछ । लाहुरेले छैन बरा के त्यसो गर्थे भनी दिने रहेछन् । 

हजुर वा नारन त चुप लागेर बस्छन् । कसैले एक दुई हात खेलौँ न त भन्दा भो बाले गाली गर्नु हुन्छ भन्छन् । घरमा एक्लै बस्न मन नलागेर हामी सँग गएका हुन् भनी दिए भन्थे । केटीको पछि लागेको वा चुरोट खाएको वा रक्सी खायो भने त लाहुरेले नै सुराकी जस्तै काम गर्दिने हुँदा सम्भव थिएन । हरि र लाहुरेबाहेक अरूसँग घर बाहिर जाने अनुमति कहिल्यै मिल्दैनथ्यो । लुकी लुकी तास खेल्नेबाहेक अन्य मनोरञ्जनको च्याप्टर भने आफ्ना लागि बन्द थियो । तास चैँ खेलिन्थ्यो । 

हाम्रो बेलामा नजिकै ठूलो पसल थिएन । खाने भनेको पिपल गेडी मिठाई, माला मिठाई, सुन्तला मिठाइ, बिस्कुट, मासु चिउरा, चिउरा तरकारी, चिया हुन्थ्यो । नजिकैको जुन सुकै पसलमा गएर जे लिए पनि खाए पनि कपीमा लेख्थे बुबाले तिरिदिनु हुन्थ्यो । फुर्मास गर्न भनी पैसा माग्ने बहाना केही हुन्थेन । किन हो कुन्नि मैले एसएलसी दिएर आएपछि आमाबाट बुबाको जानकारी बेगर महिनाको ७५ रुपियाँ फुर्मास गर्न भनी प्राप्त गर्दथे । त्यति बेला मासु चिउराको ५ रुपियाँ मात्र पर्दथ्यो । उपन्यास किनेर पढ्न त्यो पैसा मैले खर्च गर्ने गर्दथे । पछि अलि अलि तासमा खर्च हुन थाल्यो । उपन्यास किन्न पैसा त बुवाले पनि दिनु हुन्थ्यो । 

तास खेल्ने पैसाको लागि मलाई समस्या थिएन । तास खेल्न चार जना चाहिने । हामी तिन जना भई हालियो । अर्को कहिले प्राइमरी स्कुलको मास्टर, कहिले भान्दाइ, कहिले कान्छो, कहिले ज्वाइँ आदि हुन्थे । बेलुकी १२ बजे एक बजेसम्म तास खेलिन्थ्यो । तास खेल्ने घर सधैँ जेठ दाइको हुन्थ्यो । पछि थाहा भयो हरेक दिन जेठ्दाइ लाहुरे लाई तास खेल्न आउनु भन्ने रहेछन् । उनको निमन्त्रणा हार्न नसक्ने रहेछन् । त्यति बेला गाउमा बिजुली बत्ती थिएन । तास खेल्दा मट्टितेलको टुके बत्तीको धिप–धिपे उज्यालोको विकल्प हुन्थेन । 

मास्टरहरू निकै तास चोर्ने हुँदा जहिले पनि जित्दथे । दुई जना मास्टर खालमा छन् भने त कल ब्रेकमा मिलेर खेल्ने हामीलाई धुलो बनाउँथे । हरेक चार पटक खेले पछि हार जित हुन्थ्यो । जित्नेले बत्तीको भनी १ रुपियाँ दिन पर्थ्यो । जेठ दाइको कान्छी बुहारीले बिचमा १–२ पटक कालो चिया दिन्थिन । अनि जित्ने सँग मलाई जितौरी भन्दै १–२ रुपियाँ हाँस्दै लिन्थिन । तास खेल्नेले प्राय चुरोट किनेर खान्थे । मैले भने कहिले कहीँ दूध हालेको चिया र पाउरोटी अडर गर्दथे । चार रुपियाँ भएपछि सबैलाई पुग्थ्यो । 

तास खेल्ने काम सकिए पछि कसले कति मारियो कति हारियो भन्ने हिसाब गरी घर गइन्थ्यो । मानिन भरमा हिसाब गर्दा प्राय सबैले नै ४०–५० रुपियाँ हारेकै हुन्थ्यो । लाहुरे सँग जेठ दाइले भान्जा पर्छन् भनी जितौरी लिन्थेनन । जेठ्दाइ कि बुहारीलाई ए कान्छी लौ जितौरी भन्दा भो दाइ बाउले कराउँछन् भन्थी । यथार्थमा उक्त जुवा खेल्दा हामीलाई जुवाको अथित्व दिने घर मुली जेठ दाइले जितौरी समेत गरेर मासिक सय डेढ सय बनाउँथे । एसएलसी पास भए पछि कलेज गइयो । केही कूटनीतिक नियोग, सरकार र निजी क्षेत्रमा आफ्नै काम पनि गरियो । पछि थाहा भयो हाम्रो मुलुक नै त्यही जुवा घर जस्तै चलेको रहेछ । 

झन्डै आधा शताब्दीदेखि अस्तित्वमा रहेका नाफाखोर विदेशी बैंक र दातृ निकाय जस्ता जेठ्दाइहरूको घरमा मुलुकको सदैव वास हुने गरेको रहेछ । नेताहरू लाहुरे दाइको भूमिकामा रहेछन् । खेलमा जो सुकैले जितोस् जितौरी भेट्ने जेठ्दाइ कि कान्छी बुहारीको भूमिकामा रहेछन् हाम्रा कर्मचारी तत्रका टाउकेहरू । जनता भनेको म, हरि र भान्दाइ जस्तै सधैँ लुटिने । राजनैतिक पार्टीको नेताका सिफारिसमा आउने ठेकदारहरू मास्टर जस्तै खालमा जब बस्यो मिलेर हुन्छ वा तास चोरेर हुन्छ अन्य दुई सोझा खेलाडीलाई जसरी पनि लुट्ने झ्याली खेलाडी । 

 

सफल उद्यमी, व्यवसायी, प्रशासक, कुशल विज्ञ वा आफ्नो हैसियतमा उभिनेहरू राजनीतिमा जानुहुन्न भन्ने आम धारणा विकास गरिएको थियो । राजनीति यथार्थमा डाँका मार्ने पेसाभन्दा पनि छिटो रातारात अर्बौं कमाउने पेसाको रूपमा स्थापित थियो ।

समयको गतिसँगै नेपालमै स्वरोजगारमा जाने योजना तत्कालीन माओवादी जनयुद्ध नाम दिइएको सामाजिक अराजकताले फस्टाउन दिएन । ग्रामीण भेगमा भएका उद्योगधन्दा प्रायः सबै बन्द हुने मेसोमा आफ्नो उद्योग पनि बन्द हुन पुग्यो । नेपालमा गरिखाने उपाय देखिएन । मुगलान पसियो । क्यानडा आएको लामो समय यहाँको परिस्थिति बुझ्न र स्थानीय श्रम बजारमा बिक्ने खुबी र क्षमता विकासमै आफूसँग भएको सम्पूर्ण तागत, पैसा र उत्साह खर्च भयो । 

बल्लतल्ल केही सीप र अनुभवले सरकारी जागिर मिल्यो । सरकारी जागिर सुरु गर्दा अलिकति अन्यत्र भन्दा पारिश्रमिक र सुविधा धेरै त हुने तर त्यो जागिर प्राप्त गर्न अघि जरुरी हुने शिक्षा, तालिम र अनुभव प्राप्तिमा खर्च भएको अत्यन्त धेरै खर्चको सवा ब्याज र यहाँको अत्यन्त महँगो दैनिक जीविकोपार्जन गर्न चाहिने मूल्य धान्न सरकारी अफिसरको जागिरको कमाइले धौ धौ नै पर्ने बन्यो । त्यसरी त कहिले केही बचत गर्ने, कसरी घर किन्ने, बच्चाको शिक्षा स्वास्थ्यको खर्च, परिवारको खर्च सबै हेर्दा जीवन कहालीलाग्दो महसुस भयो । 

सरकारी जागिरले पारा नलाग्ने भएपछि निजी क्षेत्रको अनुसन्धान र विकासे कार्य गर्ने खाद्य तथा औषधि विज्ञानको जागिरमा हाम–फाल्न बाध्य भइयो । संसारका ओईसिडी लगायतका ७५ भन्दा बढी मुलुकमा आफ्नै मुलुकको व्यापारीको स्वामित्वमा रहेको कुनै पनि निजी क्षेत्रले इनोभेसन र कटिङऐज प्रविधि विकास तथा मुलुकको आर्थिक उन्नति गर्न प्रत्यक्ष भूमिका खेल्ने इनोभेटिब आविष्कारको काम गर्दछ भने ती कम्पनीहरूको वैज्ञानिक तथा व्यावहारिक अनुसन्धानमा संलग्न विज्ञ, वैज्ञानिक, प्रविधिज्ञहरूलाई दिने तलब र सुविधाको कम्तीमा ८५ प्रतिशत नगद क्षतिपूर्ति गरिदिने रहेछ । 

वैज्ञानिक तथा व्यावहारिक अनुसन्धानमा संलग्न विज्ञ, प्रविधिज्ञहरूलाई दिइने तलब–भत्ता आदिको ८५ प्रतिशत सरकारले नियम पु¥याएर क्षतिपूर्ति दिने हुँदा निजी क्षेत्रलाई आफ्नो जरुरत पर्ने विज्ञ, वैज्ञानिक, प्रविधिज्ञ आदिलाई उनीहरूको जीवन सहज हुने गरी पारिश्रमिक र सुविधा दिन गाह्रो नहुने हुँदा उपलब्ध जागिरले घर खर्ची सहज रूपमा धान्ने र अलिकति चैनको सास फेर्न सक्ने बनायो ।

त्यसपछि बल्ल जीवन अलि बढी अनुसन्धान र क्रिटिकल रूपमा विषयवस्तुको खोजी गर्न, विचारलाई पेसामा परिवर्तन गरी थोरै खर्च गरी विचारहरू प्राप्त गर्न त्यस माथि केही खर्च थपी प्राप्त विचार लाई व्यवसायमा ढालेर ज्यामितीय गुणात्मकतामा आम्दानी गर्न सक्ने क्षमतायुक्त बन्यो । जीवनमा तिमीले के सुनेका छौ, के पढेका छौ, कति पढेका छौ त्यो संसारको सरोकारको विषय हैन भन्ने बुझियो । तिमीसँग उत्पादनमूलक सीप के छ र त्यसले संसारका मानवको जीवन सहज गर्ने गरी कसरी त्यसलाई कसरी उपयोगमा ल्याउन सक्छौ भन्ने कुराको अर्थ रहेको अनुभूति दिलायो । 

तिम्रा ज्ञान, सम्पत्ति, पद, शक्ति, पहिचान र लोकप्रियता अरूका लागि भैँसीलाई सुनका गहना जतिकै हुन् । तिम्रा सम्पत्ति, पद र प्रतिष्ठा हैन तिमीले अरूलाई गर्ने व्यवहार नै समाजमा तिम्रो मूल्य निर्धारण हुने विषय हुन् भन्ने आत्मबोध भयो । खाद्य र औषधि विज्ञान क्षेत्रका साना ठूला झन्डै नौ सय जति वनस्पतिमा आधारित हिलिङ खाद्य, औषधि र तिनीहरूको रङ, स्वाद र वासना निर्माण गर्ने अनुसन्धान तथा इनोभेसन कार्यहरूमा प्रत्यक्ष संलग्न भएर आफूसँग भएका सीमित ज्ञान र अनुभव लाई अनुभूतिमा परिवर्तन गर्ने अवसर मिल्यो । अनुसन्धानको कलाले विकास गरेको सिप र अनुभूतिको सदुपयोग गरी कसरि आफ्नो मुलुकलाई इनोभेसनको हबमा परिवर्तन गर्दै आर्थिक रूपमा सम्पन्न पार्न भूमिका खेल्न सकिन्छ भन्ने कुराहरू प्रतक्ष अनुभूति गर्ने अवसरहरू मिल्यो । 

नेपालीमा एउटा उखान छ । बर्मा गए पनि कर्म सँगै जान्छ । आफू जहाँ पुगे पनि नेपालको वारेका घरी–घरी चाहिने नचाहिने सोचहरू दिमागमा खेली रहन्छ । नेपाल तिरको दुखद समाचार हेर्दै गर्दा, नैराश्यपूर्ण विकासका गतिविधि र अवनतिकाबीच नेता भन्नेहरू र सामाजिक अभियन्ता भन्नेहरू मुलुकले समय अनुकूल उन्नति गरिरहेको दाबी पढ्नु पर्दा अचम्म मान्नुबाहेक अन्य केही विकल्प भेटिँदैन । 

विकासको बारे कुरा गर्दा १०० वर्ष अगाडि भालु हिँड्ने बयर घारी भएको काठमाडौँ आज नव वधूको रूपमा बिजुली बल्ने, मोबाइल फोन युक्त गाडी र यातायात पुगेको सहर बनेको दाबी सुन्नु पर्दछ । संसारले के गरे र काहा पुगे, हामीले के गर्न सकियो, हाम्रो विकासको अवसर र सम्भावना के थियो भन्ने जान र त्यसैको आधारमा आफ्नो उन्नतिको चित्र कोर्न हुटहुटी न त जनता, न त नेता वा योजनाविद्हरूमै देखिन्छ । 

योजना आयोग र नीति आयोग जस्ता गरिब जनता लाई श्रीपेच उपहार दिइए जस्तो निकम्मा सरकारी ढुकुटीको काल अन्यत्र मुलुकवाट लोपोन्मुख हुँदै जाँदा हाम्रोमा हरेक प्रदेशसम्म विस्तारित भएको सुन्नु पर्छ । झन्डै आधा शताब्दी देखि हाम्रा जेठ्दाइहरूको घर बनेका नाफाखोर विदेशी बैक र दातृ निकायका पूर्व कर्मचारीहरू जो दिइएको तत्कालीन सरकारी जिम्मेवारी सकिएपछि समेत पुनः विदेशी बैंक र दातृ निकायमा नियुक्ति मिल्ने पाइप लाइनका कर्मचारीहरू अर्थशास्त्री, विषय विज्ञ, विश्लेषक र वरिष्ठ विद्वान वर्ग आदिको नाममा ती निकायका प्रमुखका रूपमा उदाएर मुलुक लाई दिन एक गुणा रात चार गुणा धराशयी बनाउन उद्यत भेटिन्छन । 

मेरा अनुभूति अनुरूप अफगानिस्तानमा भर्खरै घटेको राजनीतिक परिवर्तन वाट नेपालले समेत सिक्न पाउने अत्यन्त महत्त्वपूर्ण सन्देशहरू छन् । अफगानिस्तानमा हाम्रोमा जस्तै योजना आयोग, नीति आयोग जस्ता निकाय राजनैतिक दलका कार्यकर्ता रहेका तर कूटनीतिक नियोग फण्डडित कागती विज्ञहरूले भरिएको थियो । हाम्रोमा जस्तै आफ्ना रैथाने सिप, प्रविधि र स्थानीय अवसरहरू लाई आधुनिकीकरण गरी स्थानीय विकासको मूल धारमा जान रोक्ने चाहिने नचाहिने नीति, नियम, विनियम र संस्कार रोपिएको थियो । मुलुकलाई बिदेसी समान, विचार, धर्म र संस्कारको एकलौटी बजार बनाइएको थियो । मुलुकको हित चिताउनेहरू मुलुकभित्र एक्लो वृहस्पति बन्थे । राज्य र आतङ्ककारी दुवैतर्फबाट उत्पीडनको सिकार बन्थे । 

मुलुकवासीलाई अँध्यारोबाट उज्यालोतिर लैजाने कार्य पाएको शिक्षण संस्था, तालिम तथा अभिमुखीकरणका निकायहरू सर्टिफिकेट धारी गफास्टहरू अटाउने व्यावसायिक अनुभव हिन, विकासको अनुभव हिन, सीपहीन, इनोभेसनको भिजन हीन भुइँफुट्टाहरूको अखडा बनेको थियो । चुस्त धन कमाएका भनिने प्रवासी अफगानहरू अफगानिस्तानस्थित भ्रष्ट कर्मचारी, शासक, राजनैतिक कार्यकर्ताहरूको भ्रष्टाचारजन्य कमाइहरू चुस्त कमिसन लिएर स्विस बैंकमा जम्मा गर्न पुलका रूपमा काम गरी कमाउने धन्दामा लिन भेटिन्थे । 

विदेशमा खर्बौँ सम्पत्ति भएका भनी चिनिने प्रवासी अफगान पुँजीपतिहरू सदैव अफगानिस्तानमै भेटिन्थे । अरब र खराबभन्दा सानो कुरै गरेको सुन्न पाइन्थ्यो । सबै मुख्य राजनैतिक दलका नेताहरू र भविष्य देखिएका युवा नेताहरूसँग उनीहरूको प्रत्यक्ष सम्पर्क थियो । उनीहरूका आसेपासे र आफन्तहरू उल्लेखनीय रूपमा सरकार, योजना आयोग, बैंक, परराष्ट्र, नीति आयोग र प्रशासनका महत्त्वपूर्ण ओहोदामा नियुक्ति भएका देखिन्थ्यो ।
 
राज्य संरक्षित नेता, व्यापारी, कर्मचारीमा पिउनदेखि प्रधानमन्त्री वा राष्ट्रपतिसम्म जसरी पनि राजस्व ठगीमार्फत अचुक कमाउने मन्त्र धारी निरन्तर मुलुक चुस्ने परजीवी यन्त्रमा रूपान्तरित थिए । अन्तिम अवस्थामा पुलिस तथा सैन्य निकाय समेत चरम भ्रष्टाचारको अखडा बनेको थियो ।

इनोभेसनको नाममा पुरानो बोतलमा नयाँ रक्सी राखेजस्तो च्याउसरि विश्वविद्यालय खोल्ने नाममा स्थानीय तहसम्म भ्रष्टाचार संस्थागत बनेको थियो । मुलुकमा इनोभेसनको कल्चर विकास गर्ने न त इनोभेसन केन्द्रहरूको स्थापना गरिए न त उद्यमी अनुकूल नीति नियम नै बन्यो । सफल उद्यमी, व्यवसायी, प्रशासक, कुशल विज्ञ वा आफ्नो हैसियतमा उभिनेहरू राजनीतिमा जानुहुन्न भन्ने आम धारणा विकास गरिएको थियो । राजनीति यथार्थमा डाँका मार्ने पेसाभन्दा पनि छिटो रातारात अर्बौं कमाउने पेसाको रूपमा स्थापित थियो ।

अफगानिस्तानमा जसरी दातृ निकाय र कूटनीतिक निकायबाट प्लान्टेडहरूले मुलुकलाई तिनै दातृ निकायबाट खुलेआम लुटाउने हैसियतमा पु¥याउन सकेस विदेशी र दातृ निकायको स्वार्थ पूर्तिपश्चात् मुलुक अर्को अतिवादको चपेटा झेल्न बाध्य भएको छ, सायद नेपालको अहिलेको अवस्थाले हामी पनि निकै छिट्टै अफगानिस्तान बन्नेछैनौ भन्न सकिने अवस्था छैन ।    (खाद्य तथा औषधि विज्ञ, टोरन्टो, क्यानडा )


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x