विचार

नत्र कांग्रेस पनि अध्यादेशको सिकार बन्‍नेछ

कांग्रेस रोज्‍ने कि कांग्रेसको नाममा नेताको वरिपरि बसेर धमिराको काम गर्ने कांग्रेसी ?

विनोद न्यौपाने |
भदौ १९, २०७८ शनिवार ८:२ बजे

बाध्यताको सत्तारोहण र चौधौँ महाधिवेशनको प्रक्रिया सुरु भएसँगै कांग्रेस क्रियाशीलता बढ्न थालेको छ । यो क्रियाशीलतामा पार्टीको भविष्यको चिन्ता र चिन्तन भने देखिँदैन । नेतृत्वका लागि हानाथाप गर्नुबाहेक पार्टीको भावी कार्यदिशा के हुने, समयसापेक्ष पार्टी सिद्धान्तको पुनव्र्याख्या र संगठन पुनर्निर्माण तथा युवा आकर्षण बढाउने विषय भने ओझेलमा पारिएको छ ।

पछिल्ला गतिविधिले मुलुक र इमानदार कांग्रेसजनले चाहेको नेतृत्व स्थापित हुने सम्भावना क्षीण हुँदै गएको छ । साम, दाम, दण्ड र भेद प्रयोग गरेर पार्टीको सभापति त एकजना होला नै तर समकालीन राजनीतिको परिभाषाअनुकूलको व्यक्ति नेतृत्वमा पुग्ने सम्भावना देखिँदैन । 


नेतृत्व तहमा रहेका व्यक्ति इतिहासले बनाइदिएको स्थान, लोकतन्त्रको मूल्य र मान्यताप्रतिको अघिल्लो पुस्ताको निष्ठापूर्ण बलिदान र दृष्टिकोणसहितको नागरिकप्रतिको उत्तरदायित्वको सम्मानमा पूर्णतः चुकेको छ । त्यसैले यो पुस्ताबाट जोसुकै नेता भए पनि इतिहासको सम्मान हुने छैन । इतिहासलाई सम्मान गर्न नसके पनि समयसापेक्ष सिद्धान्तको पुनव्र्याख्यासहित संगठन पुनर्निर्माणलाई प्राथमिकता दिएको भए पनि कांग्रेसजन र आम नागरिकलाई एकपटक झुक्याउनसक्ने सम्भावना रहन्थ्यो ।

नागरिक, पार्टीको भविष्य र सैद्धान्तिक विषयमा कहिल्यै बहस गर्न नचाहने, खालि व्यक्तिगत लाभहानि हुने अवस्थाबाहेकको परिस्थितिको आँकलन नगर्ने क्षणिक कांग्रेसी मनोविज्ञानले कांग्रेसको उन्‍नति सम्भव छैन । सिद्धान्तहीन र विचारशून्य नेतृत्व बदल्ने परीक्षाको घडीमा आम कांग्रेसजन उभिएका छन् यतिबेला । उनीहरूको विवेकमा पार्टीको भविष्य निर्भर हुनेछ । चौधौँ महाधिवेशनमा यही अनुहार दोहोरियो भने दोषी नेतृत्वमा पुग्ने व्यक्ति होइन, आफूलाई कांग्रेसको क्रियाशील हुँ भन्‍नेहरू हुनेछन् । उनीहरूको राजनीतिक क्रियाशीलतामा पनि गम्भीर प्रश्न उठ्नेछ । 

सँगसँगै भविष्यको पुस्तालाई कांग्रेसको नाममा राजनीति गर्ने मैदान फराकिलो बनाउने कि सिद्धान्तहीन र विचारशून्य व्यक्तिको झुन्डलाई अँगाल्ने ? कांग्रेस रोज्‍ने कि कांग्रेसको नाममा नेताको वरिपरि बसेर धमिराको काम गर्ने कांग्रेसी ? यसको फैसला गर्ने जिम्मेवारी पनि निष्ठावान कांग्रेसजनको काँधमा आएको छ । यो परीक्षामा उत्तीर्ण हुने कि अनुत्तीर्ण हुने भन्‍ने कुरा पनि उनीहरूकै विवेकमा निर्भर हुनेछ । 

०४६ को परिवर्तनपछि सरकारी सेवामा प्रवेश गरेको एउटा युवा सेवानिवृत्त भइसकेको छ, तर कांग्रेस नेतृत्वको दाबी त्यतिबेलै मन्त्री भएको व्यक्तिले गरिरहेको छ । मन्त्रीको लाइनमा पनि उनै अनुहार छन् । कथित नयाँ पुस्ताको ट्याग भिरेको युवा तिनीहरूकै कित्तामा विभाजित छ । आफ्नो उपयोगिता सिद्ध गर्न नसक्ने/नचाहने युवा केका लागि राजनीति गरिरहेको छ ? तैपनि नेतृत्वको दाबी गर्ने पुस्ता र त्यसैको पछि लाग्‍ने युवा आत्मसमीक्षा गर्न तयार छैन । अनि कसरी हुन्छ नागरिकले देखाएको कांग्रेसप्रतिको आस्थाको सम्मान, इतिहासले सुम्पिएको दायित्व र भविष्यका कांग्रेसजनप्रति न्याय ? 

यति हुँदाहुँदै पनि इमानदार कांग्रेसले पार्टीको भविष्य खोजिरहेको छ । तर वर्तमानलाई भविष्यप्रति चासो र चिन्तन छैन । हो, लोकतान्त्रिक मान्यताको सम्मान गरी त्यागको भावना देखाउने हो भने अहिले पनि केही बिग्रिएको छैन । प्रभाव र दबाबका शृंखलालाई छाडेर स्वस्थ्य प्रतिस्पर्धाको भावनालाई अंगीकार गर्ने हो भने अझै कांग्रेसले आफ्नो गौरवमय इतिहासमा एउटा इँटा थप्‍न सक्नेछ । त्यसका लागि आम नागरिकको विश्वास जित्न सक्ने व्यक्ति नेतृत्वमा पुग्न आवश्यक छ । त्यो अहिलेको नेतृत्वबाट सम्भव छैन किनकि यो नेतृत्व पटकपटक ‘टेस्टेड’ भइसकेको छ । 

बेलायतमा लेबर पार्टीले सन् १९७९ देखिका तीनवटा आमनिर्वाचनमा पराजय बेहोर्‍यो । कन्जरभेटिभले लामो समय शासन गर्‍यो । सन् १९९७ मा भएको निर्वाचनमा टोनी ब्लेयरले नेतृत्व गरेको पार्टी विजयी बन्यो । हामी न्यू लेबरको नारा लिएर महत्वपूर्ण कार्यक्रम र सिद्धान्तसहित आउँदै छौँ हैँ भन्‍ने सन्देश प्रवाह गरेर जनसमक्ष गयो । निर्वाचनमा विजयी बन्यो ।

एउटा मात्र होइन, लगातार तीनवटा निर्वाचनमा लेबर पार्टीले जित हासिल गर्‍यो । पार्टी समयसापेक्ष गतिशील हुनुको परिणाम थियो त्यो । नागरिकबाट अनुमोदन पाउन पनि विश्वासिलो नेता र समयसापेक्ष नीति आवश्यक हुन्छ भन्‍ने सन्देश त्यहाँका पछिल्ला निर्वाचनहरूले दिए । 

बेलायतका प्रख्यात बुद्धिजीवी एन्थोनी गिडेन्सको सल्लाहमा ब्लेयरले नयाँ नारा स्थापित मात्र गरेनन् लगातार तीनपटकको निर्वाचन परिणाम आफ्नो पार्टीको पक्षमा पार्न सफल भए । तर नेपालमा कांग्रेसले त्यस्तो गतिशीलता देखाउनै चाहेन÷सकेन । कांग्रेस नेतृत्व निश्चित झुन्डको घेराभित्र बन्दी भएर बसेको छ । बुद्धि र विवेक भएका मान्छेसँग बहसमै आउन चाहँदैन भने नागरिकको विश्वास कसरी जित्न सक्छ ?

भएको संरचना पनि गलत कार्यशैलीका कारण लथालिंग बनाइयो । पार्टीका खम्बा मानिने तरुण दल र नेविसंघलाई उठ्नै दिइएन । अरू भ्रातृ संगठनको त अस्तित्वै नामेट पारिएको छ । नेविसंघकै जगमा आज यो ठाउँमा पुगेको नेतृत्वले स्वच्छ र स्वस्थ्य प्रतिस्प्रर्धामा उत्रन आँट गर्दैन । पार्टीको महाधिवेशन तोकिएको समयमा सम्पन्‍न नहुनुको मुख्य कारण पनि यही नै हो । नेतृत्वले त अझै पनि महाधिवेशन चाहेको छैन ।

सरकारको नेतृत्वमा छ कांग्रेस । सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । गठबन्धनका सहयात्रीको सुविधाका लागि कांग्रेसको पहिचान धुलिसात पार्ने काममा नेतृत्व क्रियाशील देखिन्छ । सरकारको कामबाट पार्टीको हित हुने अपेक्षा कांग्रेसजनले गरेको पनि छैन ।

सरकारले पूर्णता पाए पनि सरकारबाट न मुलुक र नागरिकहितमा देखिन लायक कुनै कामै हुनेछ न त कांग्रेसको उन्‍नति । प्रचण्डको सुविधामा चल्ने/चलाउने सरकारले कांग्रेसको बदनाम मात्र गराउनेछ । आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने प्रचण्डका अभिव्यक्तिले फेरि पनि निष्ठावान कांग्रेसले हँसिया हथौडामा मतदान गर्नुपर्ने अवस्था आउनेछ ।

त्यसैले पनि चौधौं महाधिवेशनमा कांग्रेसजनमात्र होइन आम नागरिकको विश्वास जित्‍न सक्ने नयाँ नेतृत्व स्थापित हुन सक्यो भने त्यसको साइनो सरकारका क्रियाकलापसँग जोडिने छैन । निर्वाचनमा जनसमक्ष मत माग्न जाने आधार पनि तय हुनेछ । यही नीति र नेतृत्वलाई दोहोर्‍याउने हो भने त्यो कांग्रेसका लागि आत्मघाती कदम हुनेछ । त्यसैले कांग्रेसजन कुनै ‘कांग्रेसी’को कित्तामा विभाजित नभई ‘कांग्रेस’ को कित्तामा उभिन सके भने त्यसले पार्टीको साख जोगाउन भूमिका निर्वाह गर्ला, नत्र इतिहासमा कालो पोतिनेछ ।

पछिल्ला निर्वाचनमा पार्टीका नाममा जति पनि मत प्राप्त भएको छ त्यो आस्थाका मतदाताको आशीर्वादको परिणाम थियो । नेतृत्वका कारण आएको होइन भन्‍ने जान्दाजान्दै पनि पुरानै नीति र नेतृत्व स्थापित हुन खोज्दा जनविश्वास हासिल हुने कुनै आधार देखिन्‍न । सत्तालाई प्रधान ठान्‍ने होइन मुलुक, नागरिक र भावी पुस्तालाई माया गर्ने नेतृत्व चाहिन्छ । इतिहासको सम्मान गर्ने, धर्मसंस्कृति, ऐतिहासिक परम्परा र सनातनदेखि चल्दै आएका रीतिरिवाजलाई आदर्श मान्‍ने नेतृत्व चाहिन्छ । अनि मात्र नागरिकको पनि विश्वास जित्न सक्नेछ । सरकार कांग्रेस नेतृत्वमा रहेकाले बाँकी डेढ वर्ष राम्रो काम गरेर जनविश्वास हासिल हुन्छ भन्‍ने भ्रममा कोही कांग्रेसजन पर्‍यो भने त्यसले पार्टीको अस्तित्व नामेट पार्नेछ । 

त्यसका लागि पनि व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिमा बहस जरुरी छ । फुटेको कम्युनिस्ट घटकको आकांक्षा पूरा गर्ने जिम्मेवारीसहित सत्ताको नेतृत्वमा रमाउने संस्कृतिले अझै प्रश्रय पायो भने कांग्रेस त सकिने नै छ, इतिहासले पनि क्षमा दिनेछैन । चौधौँ महाधिवेशनलाई दल फुटाउने अध्यादेशको सिकार बनाउने कि नबनाउने, आम कांग्रेसजनको नेतृत्व चुन्‍ने शैलीमा निर्भर हुनेछ ।


Author

थप समाचार
x