विचार

पीडकप्रति घृणा कि जे भयो भयो भनेर अब बिर्सने ?

अर्जुन अपवाद |
भदौ २८, २०७८ सोमबार ९:२७ बजे

लेख्‍ने कि नलेख्‍ने दोधारै थियो । इकागजले ‘सभामुखलाई हान्‍न माइक तानेँ, मौका मिलेन आज टाउको नै फुटाउँथेँ’ शीर्षकमा समाचार लेखेपछि त लेख्‍नैपर्‍यो भन्‍ने भो । सुरुमा केही पुराना प्रसंग । अलिकति सावधानी गराऊँ, यी प्रसंगले तपाईंलाई विचलित बनाउन पनि सक्छ ।

१.‘म १४ वर्षको थिएँ । बुबा सरकारी विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । बुबा तालिम लिन सदरमुकाम जानुभएको थियो । सदरमुकामबाट फर्किएपछि माओवादी हाम्रो घरमा आए र बुबासँग कुराकानी गरे । त्यसको २ दिनपछि रातको १० बजेतिर माओवादी हाम्रो घर आए र बुबालाई लिएर जान लागे । हामी सबै रुन लाग्यौँ । माओवादीले हाम्रा बुबालाई घरबाहिर निकालेपछि हामी पनि पछाडि लाग्यौँ । माओवादीले बुबालाई खाँबामा बाँधे ।


हामी परिवारका सदस्य सबैलाई पनि खाँबामा बाँधे र कञ्चटमा बन्दुक तेस्र्याइयो । हाम्रा अगाडि नै बुबाको घाँटी रेटेर हत्या गरियो । मलाई अहिले पनि घटना सम्झेर जीउ काम्छ । बुबाको हत्या भइसकेपछि रात हामीले दाम्लोमा नै बाँधिएर बितायौँ । बिहान गाउँले आएर हाम्रो दाम्लो खोले । माओवादी त्रासका कारण हामीले बुबाको मलामी पाएनौँ । मुस्किलले नौ जना मात्र भए ।’

२.मेरा श्रीमान् जिल्ला हुलाक कार्यालयमा काम गर्नुहुन्थ्यो । ५८ सालमा कामको सिलसिलामा सरकारी सुरक्षाकर्मीबाट उहाँको हत्या भयो । सेना पुलिसले मार्‍यौँ भने । मलाई घटना सम्झँदा अझै डर लाग्छ । त्रासकै कारण मैले श्रीमान्को काजकिरिया पनि गर्न पाइनँ । तँ माओवादीकी स्वास्नी होस् । माओवादीले नै दिन्छ भने । राज्यले केही दिएको छैन ।

श्रीमान नै गुमेपछि मलाई सुख होला त ? एक छाक नुन किनेर लैजाने क्षमता मसँग छैन । न राज्यले सहयोग गर्छ, न पार्टीले । बसेर बोले सुन्दैनन् । उठेर बोले हावाले उडाँउछ । 

तपार्ईंहरू मलाई यस्ता बैठकमा बोलाउनुहुन्छ । म एक छाक खा’र जान्छु । यसले घरमा भ’का मेरा सासू–ससुरा अघाउनुहुन्छ ? 

माथिका २ प्रसंग १० वर्षअघि आयोजित कार्यक्रमहरूमा सुनिएका हुन् । द्वन्द्वकालीन समयमा प्रत्यक्ष पीडा भोग्‍ने हजारौँ पीडितहरूले यस्तै र अझै यो भन्दा पनि गम्भीर घटना भोगे । उनीहरूले सार्वजनिक कार्यक्रममा राखेको भनाइबाट उक्त प्रसंग लिइएको हो ।  पढ्दै गर्दा पीडकहरूप्रति तपाईंमा घृणा जाग्यो वा त्यो महान् बेलाका यस्ता घटना बिर्सनुपर्छ भन्‍ने लाग्यो ? यो लेख यिनै प्रश्नहरूमा आधारित छ ।

यसो लाग्छ । अहिले जस्तै फोटो र भिडियो खिच्ने मोबाइल भएका भए माथिका घटनाहरू भिडियो खिचिन्थे । सामाजिक सञ्जालमा भाइरल बनाइन्थ्यो । आफ्नो पक्षका भए ताली र विपक्षका भए गाली गर्थ्यौँ हामी । तर पीडितलाई यस्ता कामले झन् पीडा हुन्छ । दोषीलाई कारबाही हुनुपर्छ भन्‍ने त कुरै हुँदैनथ्यो । जसरी सभामुखलाई हातपात गर्छु भन्‍ने माननीयलाई हाम्रा समाचार माध्यमले महत्व दिएर समाचार बनाइरहेका छन् । 

अब यसरी सोचौँ, यो पीडित हामी आफैँ भएको भए पीडक समाजमा छाती तन्काउँदै हिँड्दा कस्तो अनुभव हुन्थ्यो ? अझ उसैले मैले त्यसलाई यसरी हमला गरेँ भनेर सञ्चारमाध्यममै भनाइ राख्दा कस्तो हुन्थ्यो ? सञ्चारमाध्यमले यसरी पीडितलाई पीडा दिने सामग्री प्रकाशन वा प्रसारण गर्न कसरी मिलिराखेको छ ?

सभामुखको कुरा केन्द्रको भो । अलिकति छेउछाउका कुरा गरौँ । पछिल्लो समयमा भाइरल भएका केही घटना । वडाध्यक्षलाई जनताले पोलमा बाँधेर कुटे । बाटो हिलो भएपछि पालिका अध्यक्षको जनताले कठालो समाए । कठालो समाउनेले मिडियामा सगर्व अन्तर्वार्ता दिए । मिडियाले पनि कुटाइ खानु नै पर्थ्यो भन्‍ने एंगलको सामग्री प्रकाशन प्रसारण गरे । आचारसंहितामा खरो उत्रनुपर्ने मिडियाले उकेरा लगाइदिएपछि पीडकले सामाजिक सञ्जालमा त्यसरी कठालो समातेर मैले गज्जबै गरेँ भनेर लेखे । तलतिर कमेन्ट गर्नेहरू लगभग उनकै कुरामा ताली लगाइरहेका थिए । समाज अझै जंगलीराजमै छ कि २१ औँ शताब्दीमा ! 

राजनीति कुहिएर गन्हाएको छ । सबै कुरामा राजनीति मात्र जोडेर हामीले समाज अराजक बनाउन उकेरा थपिरहेका छौँ । समाजमा वडाध्यक्षलाई पोलमा बाँध्‍ने र अध्यक्षको कठालो समात्ने व्यक्ति नायक हुँदै छ । सञ्चारमाध्यम यस्तै अराजक भिडलाई नायक बनाएर प्रस्तुत गरिरहेको छ । यस्ता घटनामा राजनीति मिसाइदिएपछि त झन् सामसुम । यसैगरी अगाडि बढ्दा हामी पुग्छौँ कहाँ ? भोलिको समाज बन्छ कस्तो ?

हुन त इकागजको समाचारमध्ये सभामुख कुट्न खोज्‍ने माननीयको समाचार नै धेरै पढियो होला । त्यसमा प्रतिक्रिया जनाउनेले पनि गज्जब भने होलान् । आफूलाई लाग्‍नेबित्तिकै फैसला गरेर कानुन हातमा लिने कुरा जति गम्भीर अपराध हो, त्यसको प्रोत्साहन उत्तिकै गम्भीर अपराध हो । यस्ता अपराधमा समाजमा अलिक बौद्धिक वर्गको भूमिका बनाएका व्यक्तिहरूकै संलग्नता तथा प्रोत्साहन देख्दा भने अझै पनि हामी तालीबानी शैलीकै सोचमा छौँ । जहाँ पिटाइ खानु सामान्य हो अझ यस्तो खाले घटनामा मर्न त मरिएन नि भनेर गौरव गर्नुपर्ने हुन्छ ।

अपराध र अधिकारमा तीन अक्षर एकै छन् । ४ अक्षर भएका शब्दमा ३ अक्षर एकै हुनुले यिनीहरूले एकै अर्थ दिन्छन् भन्‍ने हैन । यी दुई विपरीतार्थक शब्द हुन् । अहिलेको नेपाली समाजमा भने यी दुई शब्द पर्यायवाची जस्तै भएका छन् । आफूलाई फाइदा हुने भएपछि धेरैले पर्यायवाची ठानिरहेका छन् । सोहीअनुसार व्याख्या पनि गरिरहेका छन् । तर यसको असर आफैँमा परेपछि भने यो कति गम्भीर विषय हो भन्‍ने थाहा लाग्नेछ । समस्या यो हो कि त्यो थाहा हुँदा अराजकताले समाज खाइसक्नेछ । 

अन्तमा, अराजकता आगो हो । यो हामीले दैनिक प्रयोग गर्ने आगोजस्तो भने पक्कै हैन । हामीले प्रयोग गर्ने आगोको सही प्रयोगले हामीलाई जीवन दिन्छ । अराजकताले केही पनि दिँदैन । यसले लिन्छ मात्रै । दिने भनेको एक चिज छ । त्यो हो खरानी । के हामीले अराजकता बढाएर खरानी दिन खोजेको हो ? सोच्‍नु पर्ने अहिल्यै हो । खरानीका थुप्रामा बसेर सोचेर के नै पो होला र ? सोच्‍न ढिला भइसकेन र ?


Author

थप समाचार
x