विचार

गाँजा : रक्सीभन्दा ११४ गुणा सुरक्षित, कफीभन्दा उत्तम !

नारायण घिमिरे |
असोज १३, २०७८ १७:४८ बजे

तपाईंको आफ्नो स्वास्थ्य स्थिति र शरीरको क्षमताअनुरूप अम्मली खाद्य पदार्थले तपाईंलाई दिने विषाक्तता अरूलाई दिनेभन्दा फरक हुन सक्छ । हरेक अम्मलको रासायनिक पदार्थको हरेक व्यक्तिमा आफ्नै प्रकारको (विशिष्ट प्रकृतिको) रासायनिक विषाक्तताको जोखिम रहन्छ ।

व्यक्ति–व्यक्तिमा फरक रहेकाले विशिष्ट प्रकृतिको रासायनिक विषाक्तता भनिने अम्मली पदार्थको विषाक्तताको हदको आधारमा कुन लागु पदार्थको असर कसलाई कस्तो पर्ने गर्छ भनी यकिन गर्न हरेक व्यक्तिमै केन्द्रित रहेर परीक्षण, अनुसन्धान, विश्लेषण र अनुमानको जरुरत पर्दछ । 


मानिसको जीवन पद्धतिसँगै जोडिन पुग्ने हरेक अम्मल तथा लागु पदार्थले हरेक व्यक्तिमा दिने जोखिम समय, खर्च र प्रविधिको सार क्षमताको सन्दर्भले व्यावहारिक हुँदैन । तसर्थ कुन अम्मल, लागु पदार्थले आदिले कुनै अमुक व्यक्तिलाई कस्तो जोखिम दिन्छ भन्ने कुरा सामान्यीकरण गर्न सकिने अवस्था समेत रहँदैन । त्यसैले व्यक्तिको उमेर समूह, लिङ्ग र शारीरिक अवस्थाको (गर्भवती, दूध–चुसाउने आमा, तौल समूह आदि) आधारमा अम्मली अथवा लागु पदार्थको सुरक्षित सेवनको अधिकतम मात्रा निर्धारण गरिन्छ । 

सेन्थेटिक ओखती मुलो, उच्च प्रशोधित खानपान र अप्राकृतिक जीवन शैलीको दबदबा बढेको आजको दुनियाँमा ओखती र विषको फरक पदार्थको सुरक्षित सेवनको मात्राले निर्धारण गर्ने गर्दछ । सुरक्षित मात्राभन्दा धेरै ग्रहण गर्दा विष हुने कतिपय पदार्थ सुरक्षित सेवनको मात्रामा सेवन गर्दा औषधीय गुनको हुने गर्दछ । 
अधिक सेवन गर्दा विषाक्त हुने हरेक पदार्थको एउटा निश्चित अधिकतम मात्रा (कहिलेकाहीँ न्यूनतम मात्रा) जसलाई लक्षित गरिएको समूहको व्यक्तिले सेवन गर्दा उक्त पदार्थको विषाक्तताले हानि पुर्‍याउने जोखिम रहँदैन, त्यसलाई त्यसको सुरक्षित सेवनको मात्रा भनिन्छ ।

औषधीय तथा लागु पदार्थको वैज्ञानिक रूपमा निश्चित गरिएको अधिकतम (वा न्यूनतम) मात्रा जसको सेवनले विषाक्तताको जोखिम नगण्य रहने यकिन हुन्छ त्यसलाई औषधि विज्ञानमा टक्सिकोलोजिकल थ्रेसहोल्ड भनिन्छ । प्रायः व्यक्तिको उमेर समूह, लिङ्ग र शारीरिक अवस्थाको आधारमा लागु तथा अम्मल पदार्थहरूको टक्सिकोलोजिकल थ्रेसहोल्ड निर्धारण गरिन्छ । 

अम्मली पदार्थ एक पटक सेवन गर्दा सेवन कर्ताले कति मात्रामा सेवन गरिरहेको छ र त्यसको वैज्ञानिक रूपमा प्रमाणित भएको सुरक्षित टक्सिकोलोजिकल थ्रेसहोल्ड (विषाक्तताको जोखिम विहीनताको मात्रा) कति छ, त्यसको अनुपात अथवा रेसियोलाई उक्त अम्मलको जोखिमको हद अथवा मार्जिन अफ एक्सपोजर भनिन्छ । अम्मली पदार्थको जोखिमको हद अथवा मार्जिन अफ एक्सपोजरको रेसियो जति धेरै हुन्छ, त्यति त्यसले समाजमा विकृति भित्र्याउने सम्भावना न्यून रहने वैज्ञानिक अवधारणा छ । 

रक्सी, सुर्ती र गाँजा लगायतका अम्मलहरू समेत समावेश गरी तिनीहरूको सम्भावित जोखिमको हद मार्जिन अफ एक्सपोजरको वैज्ञानिक तरिका अपनाएर गरिएको अनुसन्धान नेचरले ३० जनवरी २०१५ मा प्रकाशित गरेको छ । जसमा सबैको आँखा खुल्ने गरी गाँजाबारेका अत्यन्त महत्त्वपूर्ण वैज्ञानिक प्रमाणित तथ्यहरू उल्लेख भएको छ ।

गाँजामा टीएचसी भनिने एउटा तत्त्व हुन्छ । जसले मानिसलाई लट्ठ तथा झुम्म अथवा हेलुसिनेसनको असर पारी एक प्रकारको नशा दिने गर्दछ । मुखबाट लिइने गाँजामा रहेको टीएचसीको टक्सिकोलोजिकल थ्रेसहोल्ड (विषाक्तताको जोखिम विहीनताको मात्रा) प्रति केजी शरीरको तौलको हिसाबमा ०.०४ मिलिग्राम हुने गर्दछ । 

मुटुको धड्कन बढाउने बैगुन निम्त्याउने सुर्तीमा पाइने निकोटिनको टक्सिकोलोजिकल थ्रेसहोल्ड ०.००८ छ । फोक्सो बिग्रेर खत बसी फोक्सोलाई दागी पारी कमजोर बनाउने लिभर सिरोसिस नामक रोगको विकास गर्ने रक्सीमा हुने इथानोलको टक्सिकोलोजिकल थ्रेसहोल्ड ०.४ रहेको छ । 

त्यस्तै गाँजा, सुर्ती वा रक्सी दैनिक पिउने वा खाने बानी परेका अम्मलीहरू गाँजाबाट टीएचसी १०–६० मिलिग्राम, सुर्तीबाट निकोटिन १.६५–१.८९ मिलिग्राम र रक्सीबाट इथानोल १३.६–५४.४ ग्राम अम्मलका रूपमा आफ्नो शरीर हुँदै रगतलाई सिञ्चित गर्ने गरेको भेटिन्छ । 

रिपोर्टमा उल्लेख भएअनुरूप प्राप्त तथ्यहरूको वैज्ञानिक विश्लेषणको आधारमा अम्मलका रूपमा दैनिक प्रयोग हुने गाँजा, सुर्ती वा रक्सी पिउने अम्मलीहरूको सम्भावित जोखिमको हद अथवा मार्जिन अफ एक्सपोजर रक्सी (दसभन्दा कम) अत्यन्त उच्च जोखिमपूर्ण, सुर्ती (दस भन्दा धेरै तर १०० भन्दा कम ) जोखिमपूर्ण तर टीएचसीयुक्त गाँजा (दस हजार भन्दा धेरै) कम जोखिमपूर्ण रहेको निचोड दिन्छ । 

प्राप्त वैज्ञानिक अनुसन्धानको नतिजाले रक्सी र चुरोट व्यक्तिको स्वास्थ्यको जोखिम र सामाजिक विकृतिका लागि उच्च जोखिमको अम्मल भएको तर गाँजा कम जोखिमयुक्त रहेको निचोड दिन्छ । 

यथार्थमा सामाजिक अनुशासन कायम गर्न तथा सामाजिक स्वास्थ्यका लागि रक्सी, चुरोट र गाँजा सबैको सेवन नगर्नु उत्तम विकल्प हुँदै हो । तुलनात्मक रूपमा हेर्दा भने गाँजाको धूमपान रक्सी पिउनुभन्दा ११४ गुणा सुरक्षित रहेकोतर्फ प्रकाशित वैज्ञानिक अनुसन्धानले इसारा गर्दछ ।

अनुसन्धानको नतिजा बाहिरिएसँगै २०१५ मै ‘डेली मेल’, ‘द इन्डिपेन्डेन्ट’ र ‘न्युजविक’ जस्ता प्रतिष्ठित अखबारहरू गाँजाको धूमपान रक्सी पिउनुभन्दा ११४ गुणा सुरक्षित रहेको समाचार लेखे । जसले संसारको ध्यान गाँजातर्फ अधिक तानिन थाल्यो । गाँजालाई गैर–अपराधीकरण गर्न, यसलाई ओखती र मनोरञ्जनका रूपमा प्रयोग गरी आर्थिक उपार्जन गर्न प्रयोग गर्न संसारभर तीव्र प्रयास चालिए ।

युएनको नेक्रोटिक विभागले समेत गाँजालाई हानिकारक उच्च जोखिमको ड्रगको सूचीबाट हटायो । क्यानडा जस्ता थुप्रै मुलुकमा औषधि र मनोरञ्जनमा समेत गाँजाको नियन्त्रित उत्पादन, प्रशोधन र व्यापार खुला गरियो । संसारभर कानुनी र गैरकानुनी रूपमा उल्लेखनीय आम्दानी हुने व्यवसायमा गाँजा स्थापित भयो । हाल अमेरिकाले समेत क्यानेडियन पथ पछ्याइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञ सल्लाहकार प्रोफेसर बेन हलले तत्कालीन समयमै भनेका थिए कि गाँजामा हुने टीएचसीको अनुमानित प्राणघातक खुराक १५ देखि ७० ग्रामको बीचमा पर्दछ । ग्राममा पिइने गाँजाले मिलीग्रामको मात्रामा मात्र टीएचसी शरीरमा उपलब्ध गराउने गर्दछ । तसर्थ अत्यन्त धेरै गाँजा पिउने गाँजा अम्मलीले समेत एक दिनमा १५ देखि ७० ग्रामको टीएचसी पुग्ने गरी गाँजाको धूमपान गर्न लगभग सम्भव हुँदैन । त्यसैले संसारमा प्राणघातक गाँजा सेवन भएको वा गाँजाको ओभरडोजबाट कुनै व्यक्ति मरेको भन्ने प्रमाणित घटना देखिँदैन । 

गाँजाको बारे संसारमा भएका २० हजारभन्दा धेरै अनुसन्धानहरूमार्फत आज गाँजाको सेवनबाट मानिसको स्वास्थ्य, मुड, अनुभूति, अनुभव तथा व्यवहार कसरी परिवर्तन हुन्छ भन्नेबारे जति गहिरो गरी लेन्स लगाएर हेरिएको छ, त्यसको एक छेउसमेत कफीको सेवनबारे अध्ययन भएको छैन । 

गाँजामा हुने सार तत्त्व इन्डोक्यानाबिनोइड एक प्रकृतिका केमिकलहरूको समूह हो । जब तपाईंलाई ठेस लाग्छ, तपाईं ऐया भन्नुहुन्छ । दुःख लाग्छ । आँसु आउँछ । केही क्षणमा शरीरले त्यसको आफैँ उपचार गर्छ । तपाईंको दर्द हराउँछ । आनन्द हुन्छ । तपाईं फेरि हिँड्नुहुन्छ । 

तपाईंको शरीरले तपाईंलाई ऐय्या भएको थाहा दिने, निको पार्ने र निको भएपछि आराम महसुस गराउने इन्डोक्यानाबिनोइड प्रणाली, जसबारे तपाईंको स्कुल र विश्वविद्यालयमा हालसम्म पढाउने गरिन्न, त्यसका लागि चाहिने इन्डोक्यानाबिनोइड लगायतका सम्पूर्ण पदार्थ तपाईंको शरीरले तपाईंको शरीरभित्र आफैँ बनाउँछ । 

शरीरको अक्षमता वा न्यून उत्पादनमा गाँजाको औषधीय प्रयोग बाट तपाईंको शरीरमा तपाईंले गाँजाको आनन्दमाइड र केनेबिनोइडमार्फत ती तत्त्वहरू उपलब्ध गराउन सक्नुहुन्छ । 

तपाईंको आफ्नो मनोवैज्ञानिक दक्षता कायम गर्न समेत ती तत्त्वहरूको तपाईंले सहारा लिन सक्नुहुन्छ । त्यसका लागि नियन्त्रित र अनुशासित उपयोगको भने पक्कै जरुरत पर्दछ । अन्यथा धेरै खाँदा लागेर तपाईंलाई लट्ठ पार्ने गाँजामा हुने तत्त्व टीएचसीले तपाईंलाई केही हानी अवश्य गर्ने छ । आखिर अक्सिजन, पानी, खाना होस् वा ओखती, निश्चित मात्राको सीमा नाघेर हसुर्नुहुन्छ भने त्यसको अन्य असर शरीरमा परिहाल्छ ।    

गाँजा सेवन गर्दा तपाईंले तपाईंको शरीरभित्रको मात्र एक समूहका वा सेटका मेटाबोलाइटहरूको कार्यमा प्रभाव र त्यसको गतिविधि उत्प्रेरित गर्ने गर्नुहुन्छ । जुन तपाईंको अत्यन्त महत्त्व पूर्ण इन्डोक्यानाबिनोइड प्रणालीको सञ्चालनसँग सम्बन्धित छ । उक्त यथार्थ अब गोप्य नरही बाहिर आएकाले गाँजाको कानुनी रूपमै गैर–अपराधीकरण गर्ने बाटोमा आफ्नै गतिमा संसार हिँडिरहेको छ । 

नयाँ वैज्ञानिक तथ्यहरूले तपाईंंले पिउने कफीले तपाईंंको रगतमा हुने ११५ फरक फरक प्रकृतिका मेटाबोलाइट्सहरूको गतिविधिहरूमा प्रभाव जमाएर परिवर्तन गर्न भूमिका खेलिदिने गरेको प्रमाणित गरिदिएको छ । हालसम्म प्रमाणित ११५ मध्ये मात्र ८२ मेटाबोलाइट्सहरूको नाम पहिचान भएको छ । साथै तिनीहरूले शरीरमा सम्पन्न गर्ने ३४ वटा विभिन्न जैविक प्रक्रियाहरूमा भूमिका खेलेको बुझ्न सकिएको छ । तर तिनको पूर्ण चित्र प्रस्ट हुन निकै समय लाग्ने देखिन्छ । बाँकी ३३ मेटाबोलाइट्सहरू न त नाम, न त तिनको शरीरमा हुने भूमिका नै बुझ्न सकिएको छ । 

१२ फेब्रुअरी २०१८ को जनरल अफ जेनेरल मेडिसिनमा प्रकाशित रिसर्च पेपरले निश्चय गरेअनुरूप मानिसको इन्डोक्यानाबिनोइड प्रणालीको इन्डोक्यानाबिनोइड रिसेप्टर मस्तिष्क प्रणाली, प्रतिरक्षा प्रणाली र इन्डोक्राइन प्रणालीमा प्रचुर मात्रामा जताततै रहने गर्दछ । इन्डोक्यानाबिनोइड रिसेप्टरले शरीरले निर्माण गरेको इन्डोक्यानाबिनोइड र बाहिरबाट प्राप्त आनन्दमाइड समेतको क्यानाबिनोइडको सहायतामा मानिसलाई दर्द हुँदा, दुःख लाग्दा वा चोट लाग्दा त्यसको स्वउपचारमार्फत आनन्दको अनुभूति दिलाउने गरेको हुन्छ । 

यदि तपाईंको दैनिक चारदेखि आठ कप कफी पिउने बानी छ भने तपाईंंको शरीरमा हुने क्याफिनले इन्डोक्यानाबिनोइड, क्यानाबिनोइड र आनन्दमाइड जस्ता केमिकलहरूको गतिविधिलाई शरीरभित्र दबाएर इन्डोक्यानाबिनोइड रिसेप्टरमा जोडिनबाट अवरोध पैदा गरिदिन्छ । जसले गर्दा तपार्र्ईंंले कम आनन्द महसुस गर्न पाउनुहुन्छ । अधिक सतर्क, निद्राविहीन र बेचैन हालतमा तपाईंको मनोविज्ञान धकेलिन्छ । 

अर्कोतर्फ क्याफिनले मस्तिष्कको एडेनोसिन रिसेप्टर्सलाई समेत प्रभावमा लिएर न्युरोनहरूको सक्रियता वृद्धि गरी तपाईंलाई अधिक सतर्क, सचेत गरी हाइपर पारिदिन्छ । यो प्रकारको तनावमा रमाउने बानी परेको मानिस निरन्तर उक्त बानीको खोजीमा हुने लत बस्छ । फलतः तपाईं पटक पटक कफी पिउने कफीको सौखिन बन्नुहुन्छ । धेरै कफी पिउने बानीले रगतमा क्याफिनको मात्रा ३२०० मिलिग्राम देखि १०,००० मिलिग्रामको पुग्यो भने मानिसको मृत्यु हुनेसम्मको उच्च जोखिम हुने गर्दछ ।

विज्ञानको ज्ञानको गहिराइको स्तर जुन बिन्दुसम्म पुगेको भए तापनि आजसम्म वैज्ञानिक रूपमा स्पष्ट बनेको चुरो यथार्थ के हो भने कफीको क्याफिन र गाँजाको टीएचसी दुवै साइकोएक्टिभ अथवा मानिसमा मनोवैज्ञानिक प्रभाव पार्ने र मानिसको मुडमा फरकपन झोसिदिने तत्त्व हुन् । गाँजाले मानिसमा छोटो समयको मनोवैज्ञानिक लत बसाल्ने गर्दछ ।

तर कफीले भने यसलाई पिउन छोड्ने क्रममा भौतिक प्रकृतिको उइदड्रल सिनड्रोम जस्तै : पखाला, चक्कर लाग्ने, दृष्टि धमिलो हुने, मुटुको धड्कन बढाउने, वाक वाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कोपर्ने, चिन्तित बनाउने, अस्थिर बनाउने, निन्द्रा हराउने र चिड़चिड़ापन बढ्ने जस्ता लक्षण देखाउँने भौतिक विकृति जन्माउने र त्यसको उपचारको लागि कफीको लत विकास गरिदिने गर्दछ । जसले गर्दा मानिसमा गाँजाको भन्दा कफीको लत छुटाउन अलि धेरै समस्या देखिने गर्दछ । 

समग्रमा आजसम्म भएको अम्मल सम्बन्धको वैज्ञानिक अनुसन्धानको नतिजामा रक्सी र चुरोट अत्यन्त जोखिमयुक्त लागु पदार्थ हुन् । गाँजा भने रक्सीभन्दा लगभग ११४ गुणाले मानिसलाई कम हानि गर्ने अम्मली पदार्थ हो । गाँजा जस्तै हाम्रो अर्को अम्मली पदार्थ कफी रहेको छ । हाम्रो शरीरमा कफीले गाँजाको लगभग विपरीत प्रकृतिको नकारात्मकता देखाउँछ ।

अधिक क्याफिनका कारण मानिसको मृत्यु हुने जोखिम रहेको भए तापनि गाँजाको सेवनबाट मानव मृत्युको न्यून सम्भावना छ । त्यो अर्थमा, गाँजाको अम्मल यथार्थमा रक्सी, चुरोट (सुर्ती) र कफीभन्दा कम जोखिमयुक्त अम्मल हो । रक्सी भन्दा ११४ गुणा सुरक्षित गाँजाको सुरक्षित र अनुशासित सेवन कफीभन्दा समेत उत्तम विकल्प हो ।
(क्यानडामा रहेका घिमिरे खाद्य तथा औषधि विज्ञ हुन् ।)


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x