विचार

जेएनयुकी किताबी कमरेडसँग नगरकोटमा अर्को दिन

नीरज लवजू |
असोज २६, २०७८ ७:२३ बजे

अल्छीलाग्दो बिहान । हिजोआजको बिहान प्रायशः अल्छी मानेरै बित्ने गरेको छ । लकडाउनले मर्निङ वाक जाने बानी पनि चटक्क बन्द भयो । बिहानभर मोबाइलमा भएका सामाजिक सञ्जालका सबै साइट ओल्टाइपल्टाइ हेर्दै बित्छ । हेर्दा हेर्दा थाकेपछि मोबाइल ओछ्यानको एउटा कुनामा फालेर आफैलाई धिक्कार्दै उठ्छु–कस्तो खराब लत लागेछ । 

मोबाइलमा मेसेजको संकेत बज्यो । सोनप्रियाको सन्देश । त्यत्तिबेला म सोनप्रियाकै राज्यकी अरुणिता कान्जिलालको गीत सुन्दै थिएँ । अरुणिता पश्चिम बङ्गालकी हुन् भन्ने थाहा भए पछि मलाई उनको स्वर अझ सुमधुर लाग्न थालेको थियो । गीत, सङ्गीत र साहित्यको भूमिमा रवीन्द्रनाथ टैगोरको विरासत सम्हाल्ने धेरै मुनाहरू हुर्किरहेको देख्छु । 


 ‘हेलो,  मैले धेरै डिस्टर्ब गरेँ है । माफ गर । मित्रताको यो बोझको निम्ति म क्षमा माग्छु । पुनःनिर्माण प्राधिकरणको काम अधकल्चो बन्यो । महिना दिनपछि फेरि नेपाल आउनुपर्ने भयो । केही दिनमा फर्किने सोचेकी छु । फर्किंदा रुपेडिया नाका हुँदै गाडीमा जाने विचार गरेकी छु । लखनउ पसेर मात्र दिल्ली फर्कने योजना छ । लखनउमा एक जना पत्रकार साथीलाई भेट्नुछ । उसले जसरी पनि लखनउ आउन कर गरिरहेको छ ।  सम्भव भए आज भेटौँ न । ’

सलल बगेको अङ्ग्रेजीमा उनको सन्देश पढेपछि म खाटबाट जुरुक्क उठेँ । भित्तेपात्रोमा बार हेरेँ । आज बिहीबार । अफिसमा काम अलि होलो होला । उस्तै परे बिदा लिँदा पनि काममा कम मात्र असर गर्ला । कोठाको झ्याल खोलेँ । मोबाइलमा अरुणिताले पवनदीपसँग नयाँ गीत मस्कीमस्की गाउँदै थिइन् । 
 ’ओके ’ मैले दुई अक्षरको जवाफ फर्काएँ । लगत्तै सोनप्रियाले अर्को सन्देश पठाइन् । 

 ’तिमीलाई केही अप्ठ्यारो छैन भने आज हामी कतै घुम्न जाने कि ? ’ काठमाडौं भन्ने बित्तिक्कै दिमागमा पहाडी शीतलता अनुभव हुन्छ । नेपालबारे लेखिएका केही साहित्यको प्रभाव भन्नुपर्ला । त्यसैले मिल्छ भने काठमाडौं उपत्यका वरपरको कुनै पहाडी थुम्कोमा जाऔँ न ’ मैले सोनप्रियालाई भेट्ने मनस्थिति त बनाइसकेको थिएँ । तर, उनीबाट यस्तो प्रस्ताव आउला भन्ने कल्पना गरेको थिइनँ । मलाई पनि सोनप्रियाबारे थप जान्ने चाहना थियो । (सोनप्रियाबारे यसअघिका दुई भागमा लेखिएका लेखनले पाठकलाई जस्तै मलाई पनि सोनप्रियाका जीवनका केही पाटा उधिन्ने जाँगर चलेको छ ।) 

झ्यालबाट नगरकोटको डाँडो हुस्सुले छपक्कै छोपिएको देखियो । वर्षायाममा पानी परेपछि पत्रपत्रमा लहरिँदै उड्दै गरेको हुस्सुको शीतलता अनुभव गर्न नगरकोट जानुको बेग्लै मज्जा हुन्छ । अग्लो थुम्कोमा बसेर कतिबेला हुस्सुले छोपिने त कतिबेला छ्याङै उदाङ्गिने बेँसी हेर्दै बस्दा धेरैलाई मलाई जस्तै काव्यात्मक अनुभूति हुन सक्छ । 

 ’??? ’, सोनप्रिया मेरो जवाफ कुर्दै थिइन् । 
मैले उनलाई नगरकोट जाने प्रस्ताव गरेँ । 
 ’तिम्रो देश हो । तिमीले जहाँ लगे पनि जान तयार छु । पहाड होस्, खोला होस् अनि सीमाहीन सुन्दर वन होस् वश ’, उनले भनिन् । 
... .... ...  ...
रेस्टुराँ लगभग सुनसान थियो । आँगनमा दुई जना युवक बसेका थिए । चिया पिउँदै उनीहरू मोबाइलले वरपरका सुन्दर दृश्य कैद गर्दै थिए । रेस्टुराँमा काम गर्ने केटाहरू जाडोले काठको मुढाजस्तै कक्रक्क परेर भान्छामा बसेका थिए । छानाबाट झर्दै गरेको बलेँसी अझै ओभाएको थिएन । रेस्टुराँको पछाडि बनाइएको खोरबाट बेला बेला कुखुरा कराएको सुनिन्थ्यो । नगरकोट नपुग्दै परेको पानीले हामी थोरै रुझेका थियौँ । बाहिरको वातावरण मनमोहक भए पनि चिसो शरीरलाई न्यानो बनाउन हामी रेस्टुराँभित्रै पस्यौँ । 

एक क्षण त हामी बाहिर हुस्सुको भागदौड नियाल्दै बस्यौँ । वेटरले तातो पानी लिएर आयो । कति मनको कुरा बुझेको ! सिसाले छोपिएको टेबुलमाथि पारदर्शी गिलासबाट तातो पानीको बाफ उड्दै थियो । 

 ’तिमीलाई मुरी मुरी धन्यवाद है । वास्तवमा मैले यही हेर्न चाहेको थिएँ । तिम्रो देश त साँच्चै स्वर्ग हो । यो ठाउँमा त म जति बसे पनि अघाउन्नँ ’, सोनप्रियाको उज्यालो अनुहारले उनी भित्रैदेखि खुशी भएको बुझ्न मलाई धेरै मिहिनेत परेन । 
 ’तिमी त यहाँ दिनदिनै आए पनि भ्याउँछ है ’, उनको कुरा सुनेर म मुसुक्क हाँसेँ । 
 ’अनि मेरो अरू केही काम छैन, सधैँ यहीँ आउन । यहीँ बस्ने भए त मैले पनि यहाँको कुनै होटलमा काम गर्नुपर्छ । ’ 
 ‘नट ब्याड आइडिया ’, उनले जिस्किँदै त्यहीँ काम गर्ने मेरो प्रस्ताव नराम्रो नभएको बताइन् । 
रेस्टुराँको भाइ आयो र टेबुलमा दुई कप कालो कफी छोडेर गयो । सोनप्रिया सोफामा राखिएको दुई वटा कपासका चारकुने चकटी आफ्नो पछाडि राखेर बाहिर एकोहोरिन् । 

 ’साँच्चै तिमी कहिले जाने रे ? ’ हुस्सुको पत्रपत्रमै हराएकी सोनप्रियालाई सायद यो प्रश्न गरेर मैले बिथोलेको मन परेन । तथापि, शिष्टतापूर्वक उनले भनिन्, ’भ्याएसम्म भोलि नाइट गाडीमा नेपालगञ्ज जान्छु । त्यसो गर्दा म पर्सी साँझसम्म मज्जाले लखनउ पुगिहाल्छु । लखनउमा दुई दिन जति बस्छु अनि दिल्ली जान्छु । दिल्लीमा पनि हतारको काम छ । ’ 

 ‘लखनउमा पनि कोही कमरेडलाई भेट्न न जान लागेको होला ? ’ सोनप्रियाबारे थप कुरा सुन्न इच्छुक मैले सोधेँ । यो प्रश्न कति शिष्ट थियो, त्यो उनै जानुन् । 
हा  हा ’, मेरो प्रश्नको शैली सुनेर उनले हाँस्दै कफीको चुस्की लिइन् । उनी बाहिरतिरै हेर्न थालिन् । उनले कुरा भन्न नचाहेको ठानेर म चुपचाप कफी पिउन थालेँ । 
 ‘जीवनको बान्की पनि अनेक हुन्छ है ’, बेप्रसङ्गको सोनप्रियाको कुरा सुनेर मैले एकक्षण गम खाएँ । जीवनको प्रसङ्ग कहाँबाट आयो खुट्याउन म केहीबेर घोत्लिएँ । बाहिर फेरि पानी पर्‍यो । रेस्टुराँको कर्कट पाटाको छाना अझ बेस्सरी करायो । चिसो ठाउँमा कफी चाँडै चिसिन्छ । कफी र कुरा चिसो भएको मलाई मन पर्दैन ।  त्यसैले मैले कप रित्याएँ । सोनप्रियाको कप भने अझै आधा भन्दा बढी भरिएकै थियो । 

 ‘नेपालमा आएर तिमीजस्तो साथी पाउँदा खुशी लाग्यो । अब नेपाल पनि पक्कै आफ्नै जस्तो अनुभव हुने भयो ।
मलाई जसरी हुन्छ, उनको कुनै पनि वाक्यमा उनीबारे थप कुरा सुन्ने सूत्र भेटाउनुथियो । 
 ‘नेपाल पनि भन्नाले ? ’ 
 ‘ओहो ! नेपालीहरू क्या बाठा  ’ 
म फिस्स हाँसेँ । पानी पर्न कम भयो । कर्कट पाटाको हल्ला पनि सुस्त बन्यो । !
 ‘खासमा मलाई पहाडी भूगोल निकै मन पर्छ । मान्छेको मन पनि अचम्मको भन्या । आफूसँग जे छैन, त्यही बढी मनपर्ने । कोलकाता छेउछाउ पहाड छैन । मलाई त्यही पहाड मन पर्ने । ’ 

 ‘पहाड मात्र मनपरेको कि पहाडका मान्छेहरू पनि ? ’ म पनि अलि जिस्किएँ । 
सोनप्रिया पुरै अनुहार बिगारेर हाँसिन् । केही बेर हाँसो थाम्न सकिनन् । 
कफीको अन्तिम घुट्को पिउँदै कप टेबुलमा राखिन् । 
 ’खासमा लखनउमा मलाई कुरिरहेको मान्छे पनि पहाडकै हो । ’ 

 ‘ए  ए ’, मैले धेरै उत्सुकता र चासो नदेखाउन त्यत्तिमै कुरा टुङ्ग्याएँ । तर, मेरो मनमा भने लखनउ–वालाबारे कुरा सुन्न हतार भइसकेको थियो । 
मैले बाहिर कुनै उत्सुकता नदेखाएपछि उनी आफै लखनउ–वालाको विषयमा भन्न थालिन् । (मान्छेको मनोविज्ञान, अचम्म ) 
 ’खासमा ऊ मेरो प्रेमी थियो । ऊ कालिम्पोङको नेपाली हो । तर, उसलाई नेपाली बोल्न आउँदैन । हिजोआज लखनउको अङ्ग्रेजी दैनिकमा उपसम्पादक भएर काम गरिरहेको छ ’ सोनप्रियाले आफ्नो जीवनको एउटा अर्को पोका खोलिन् । 
म उत्सुकतावश उनको आँखामा नियाल्न थालेँ । ती आँखाहरूमा इमान्दारी देखिन्थ्यो । नभए कतिपय केटीहरू केटाहरूको मन बुझ्न पनि अनेक कथा बुन्न सिपालु हुन्छन् । 

 ‘उमेरले ऊ मभन्दा अलि धेरै वर्ष जेठो । हामीसँगै हिँड्दा उसका साथीहरूले उसलाई छोरी हो भनी सोध्थे ।’ सोनप्रिया बोल्दै गइन् । नगरकोटको मौसम नै त्यस्तो, हुस्सुका पत्र पत्र जस्तै मनका पनि पत्र पत्र खुल्दै जाने । 
 ‘अनि कालिम्पोङको मान्छेसँग कहाँ भेट भयो त ? कि पहाड घुम्न जाँदा बसेको माया हो ? ’ 
 ‘हा  हा  होइन । ऊ मेरो विश्वविद्यालयको प्राध्यापक थियो । समाजशास्त्र पढाउँथ्यो । ’ 
यो सुनेपछि मलाई कथाले अर्को मोड लिएको अनुभव भयो । मेरो आँखा आश्चर्यले बिस्फारित भए । सोनप्रियाको जीवनका कुरा मलाई एउटा अँध्यारो गुफामा पस्दै गए जस्तो लाग्दै थियो । उसको यो प्रेम कथाको मैले छेउ टुप्पो पत्ता लगाउन सकेको थिइँन । प्राध्यापक, प्रेम, उपसम्पादक, लखनउ, दिल्ली ... कस्तो जटिल प्रवाह ? 

 ‘अनि ? ’, सम्बन्धको यो जटिलता फुकाउन मैले यति भन्ने पर्ने भयो । 
 ‘ऊ कुनै राजनीतिक समूहमा त आबद्ध थिएन । तर, वामपन्थी विचारप्रति सद्भाव राख्थ्यो । मसँग नजिक भए पछि उसले हुन सक्छ मसँग अझ नजिक बन्न वामपन्थी साहित्य पनि पढ्यो । मलाई उपहार पनि प्रायशः वामपन्थी साहित्य नै दिन्थ्यो । जुलुस र सभाहरूमा त उसले कहिल्यै भाग लिएन । तर, सम्मेलनहरूको लागि  चन्दा दिन्थ्यो । प्राध्यापकहरूको चुनावमा पनि वामपन्थीहरूको पक्षमा मत दियो । संगठित बन्न अनुरोध गर्दा कुनै संगठनमा औपचारिक रूपमा आबद्ध हुँदा आफ्नो वैचारिक स्वतन्त्रता गुम्छ भन्थ्यो । तर, विषयगत रूपमा समर्थन वा आलोचना गथ्र्यो । उसका यस्ता कुरा सुन्दा र व्यवहार हेर्दा परिपक्व मान्छे जस्तै लाग्थ्यो । उसको बौद्धिक व्यक्तित्व मेरो लागि मात्र होइन, मेरा अरू साथीहरू पनि आकर्षक मान्थे । विश्वविद्यालयमा पढ्ने उमेरका छात्राहरूले मन पराउने खालकै थियो उसको व्यक्तित्व । ’

हुस्सु छ्याङ खुलेपछि घामले टल्किएका तल बेँसीका केही घरका कर्कटका छाना प्रष्टै देखियो । धान झुलिसकेको थिएन । तर, फाँट गाढा हरियो थियो । पहाड फोडेर बनाइएका गाउँले सडकमा पहिरो खसेको उचाइबाट अझ भयावह देखिएको थियो ।
आफ्नो कुरा भन्न न सोनप्रिया रोक्न चाहँथिन् न मेरो उत्सुकता नै मत्थर भएको थियो ।

 ‘अर्को एक चरण कफी खाऔँ ’, सोनप्रियाको सङ्गतले कफीको लती होला भन्ने पिर पर्न थालिसक्यो । तर, त्यसमा मलाई कुनै आपत्ति थिएन । छेउको खाँबोमा टाँसिएको स्वीच दबाएर घण्टी बजाएँ । अल्छी पाराले पसलमा काम गर्ने भाइ आयो । सायद ऊ सुत्दै थियो । 
 ‘कफी बनाऊ न है भाइ । अनि दुई वटा भेज थुक्पा पनि ’ मैले भनेँ । भोक थाम्न कफीले मात्र पुग्ने अवस्था थिएन । 

 ‘उसले एक दिन मलाई प्रेम पत्र पठायो । उसले त्यसको निम्ति मलाई नै किन रोज्यो, मलाई अझै पनि थाहा छैन । तर, सम्भवतः मेरो सक्रियता नै उसलाई म मनपर्नुको कारण हुनुपर्छ । पुरुषहरूलाई सक्रिय महिलाहरू मन पर्छ रे नि त है ।  प्रेम पत्रमा खास धेरै कुरा थिएन । उही हामी जीवनभर आपसमा साथ रहे प्राज्ञिक र समाजमा धेरै कुरा दिन सकिन्छ भन्ने आसयको कुरा थियो । त्यत्तिबेला मेरो जीवनका धेरै कुरा अनिर्णित थिए । अरू विषयमा तर्क गर्न खुब जान्ने भए पनि प्रेम र विवाह, त्यो पनि आफ्नै विषयमा निर्णय गर्न मैले जानिसकेको थिइनँ । केही समय म मौन बसेँ । हामी भेट्थ्यौँ । पुस्तक, राजनीतिक, विश्वविद्यालय, अन्तर्राष्ट्रिय परिघटना, भारतीय समाज आदि धेरै विषयमा कुरा हुन्थ्यो । खासमा उसले मलाई धेरै कुरा सिकायो पनि । पुस्तक पढ्ने लत उसैको सङ्गत पछि लाग्यो । पुस्तकालयमा बसेर हामीले धेरै विषयमा कुराकानी ग¥यौँ । केही महिना पछि म अघोषित रूपमै उसको प्रेमिका बनिसकेको थिएँ । मैले उसको प्रेम पत्रको कुनै औपचारिक जवाफ दिइनँ । तर, मेरो व्यवहारबाट उसले उत्तर पाइसकेको थियो । मैले पनि उसको बुझाइमा आपत्ति जनाइनँ । ’ 
कफी आयो, कुरा पनि अघि बढ्दै गयो । 

 ‘अनि कसरी त्यो प्रेमी थियोमा बद्लियो त ? ’ म कथामा नयाँ मोडको अपेक्षा गर्दै थिएँ ।
 ‘सन् २०१४ ले सब बिगार्‍यो ’, हाँस्दै उनले भनिन् । 
 ‘२०१४ ? ’ 
 ‘अँ मोदीको सत्तारोहण पछि ’ उनले अझै हाँस्दै भनिन् । 
मोदीको सत्तारोहणबाट कसैको प्रेम कसरी बिथोलिसक्छ ? म अलमलिएँ । 

 ‘मोदी सरकार बने पछि हाम्रो विश्वविद्यालयको तापक्रम दिनानुदिन बढ्दै गयो । वामपन्थीको पकड भएको विश्वविद्यालय हुनाले मोदी सरकार हाम्रो विश्वविद्यालयको विषयमा अझ बढी सजग थियो । कुनै पनि बहानामा मोदी सरकारले प्रशासनलाई अघि सार्दै प्राध्यापक र विद्यार्थीलाई दमनका गतिविधि गरिरहन्थ्यो । वामपन्थी र प्रजातान्त्रिक विचारधाराका प्राध्यापकहरूलाई आफ्नो साख जोगाउन समेत हम्मेहम्मे पर्दैै थियो । वैचारिक रूपमा दरिलो खालका प्राध्यापकलाई पेल्ने अनि अलि मध्यम वा कमजोर मान्छेहरूलाई मोदीको भक्त बनाउन धेरै खालका गतिविधि भए । 

मेरो मान्छे पनि सुुरु सुरुमा त दरिलो रूपमै प्रस्तुत भयो । मोदी सरकारका अतिवादी गतिविधिको विरोधमा एकाध लेख पनि लेख्यो । तर, पछि ऊ लोभमा फस्यो । पदोन्नति हुने लोभमा फसेर ऊ हाम्रै समूहको गुप्तचरी गर्न थाल्यो । हामीले झण्डै छ महिनापछि मात्र त्यो कुरा थाहा पायौँ । हाम्रा धेरै साथीहरू उसकै कारण पक्राउ परे । संगठनलाई उसको र मेरो सम्बन्ध थाहा थियो । मैले त्यही कारण मेरो जिम्मेवारीबाट राजीनामा दिनुपर्‍यो । मैले उसलाई केही भनिनँ । वश मैले उसलाई भेट्न छोडिदिएँ । सायद उसलाई नैतिक रूपमा निकै असजिलो अनुभव भयो । त्यसै कारण प्राध्यापक पदबाट राजीनामा दिएर ऊ लखनउमा उप सम्पादक बन्न गयो । ऊ काम गर्ने पत्रिका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ सरकारले चलाएको पत्रिका हो ’, सोनप्रियाका यति धेरै कुरा सुनेर म अवाक् भएँ । हरेक मानिस आफैमा कथाहरूको सङ्कलन हो ।

थुक्पाको बटुकोबाट धिमा गतिमा बाफ उठिरहेको थियो । मैले उनलाई थुक्पा खान संकेत गरेँ र एउटा बटुको मैले तानेँ । उनको कथा सुनेर मैले केही बोल्न सकिरहेको थिइनँ । एक क्षण सन्नाटा छायो । सोनाप्रिया पनि थुक्पा खान थालिन् । सुरुप्प सुरुप्पको एकनासको आवाज मात्र सुनियो ।
 ‘अनि तिमी किन उसलाई भेट्न जान लागेको त अहिले ? ’, सायद यो प्रश्न अलि अस्वाभाविक थियो उनको लागि । 

 ’लखनउ गएर उसले भाजपाकै युवा संगठनकी एक जना कार्यकर्तासँग विवाह गर्‍यो । तर, त्यो विवाह लामो समय टिकेन । लोभको कारण आफुलाई बेचे पनि भित्र मनमा ग्लानीले उसलाई सताइरहेको हुनुपर्छ । पहिलो विवाह असफल भए पछि उसले अर्को एक जना एकल महिलासँग विवाह गर्‍यो । उसले मलाई बारम्बार फोन गरेर आफ्नो गल्तीको लागि माफी माग्ने गर्छ । उसले प्रत्यक्ष भेटेर नै माफी माग्न चाहेको र आफ्नो परिवारलाई एक पल्ट भेट्न बारम्बार आग्रह गरे पछि अहिले म त्यहाँ जान लागेको हुँ । लखनउ गएर उसलाई भेट्छु । आफ्नै घरमा बस्ने व्यवस्था गरेको छु भन्थ्यो । तर, म उसको घरमा कदापि बस्दिनँ । त्यहाँ होटलमा बस्नेछु । मैले कोठाको अनलाइन बुकिङ गरिसकेँ ’, सोनप्रियाले उज्यालो अनुहार बनाएर भनिन् । 

पानी पर्न रोकिए पनि आकाश अझै बादलले छपक्कै छोपिएको थियो । कुनै पनि बेला पानी पर्न सक्ने सम्भावनालाई विचार गरेर हामीले फर्किने विचार गर्‍यौँ । 
 ’तिमीलाई मेरो कुरा सुनेर दिक्क लाग्यो होला है माफ गर । समय पनि देऊ, कुरा पनि सुनिदेऊ । तिमीलाई त यो भारतीय मित्र झेल्न साह्रै सकस भएको हुनुपर्छ है । राजनीतिक र वैचारिक विषयमा स्पष्ट भए पनि जीवनका धेरै व्यवहारिक पाटोबारे हामीले गम्भीर रूपमा सोच्दा रहेनछौँ । त्यसले हामीले गल्ती गरिरहेका हुन्छौँ ’, सोनप्रियाको यो कुराको गहिराई मैले बुझिनँ । तर, सायद उनले जीवनको आफ्नो भोगाइको सार बोलेकी हुुनुपर्छ । 

नगरकोट चोकमा भर्खर तलतिरबाट गाडी आइपुगेको थियो । त्यसैले व्यस्त देखिन्थ्यो चोक । नगरकोटको मुल सडकमा गाडी चल्ने भइसके पनि सडक खासमा अझै राम्रो भइसकेको थिएन । पानी पर्दा त्यो बाटो हिंड्न अझै गाह्रो भएकोले हामी वैकल्पिक बाटो हुँदै झर्‍यौँ । पारि साँखु बजारलाई डुब्न लागेको घामले चहकिलो बनाएको थियो । मनोहरा खोलामा चाँदी बगेजस्तो देखिन्थ्यो । गैरीगाउँमा मानिसहरू पानीले बिगारेको खेतको ड्याङ मिलाउँदै थिए ।

यो पनि 

- अनि सोनप्रियाले भनिन्- हेर कमरेड ! हिजोआजको पुस्तामा एउटा समस्या छ...

- जेएनयुकी किताबी कमरेड त्यो केटीसँग कीर्तिपुरमा एक दिन



Author

थप समाचार